देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उचित मूल्यांकन र संस्थागत पद्धति मेरो अभीष्ट

देशान्तर

रामचन्द्र पौडेल, नेपाली कांग्रेस सभापति पदका प्रत्याशी

१३ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व लिन तयार हुनुभएको छ । तपाईंको पक्षमा मतदान गर्नुपर्ने आधार के के हुन् ?

रामचन्द्र पौडेलको नेतृत्वमै नेपाली कांग्रेस सुरक्षित हुन्छ भन्ने आम कार्यकर्ताहरूको विश्वास नै मेरो जितको पहिलो आधार हो । विपक्षसँग बोल्न सक्ने हैसियत राख्ने व्यक्ति पौडेल नै हो भन्ने आम कांग्रेस कार्यकर्ताको बुझाइ नै मेरो जितको आधार हो । अर्को मैले यति बेलासम्म कुनै पनि पदमा बसेर आफ्नो जिम्मेवारीबाट पन्छेको छैन । सबै कार्य इमानदारीको साथ पूरा गर्दै हिँडेको छु । पार्टीप्रति २०१८ देखि लगातार लागेको व्यक्ति हो भन्ने आम पार्टी पंक्तिमा छ भन्ने लागेको छ । कांग्रेस समस्या पर्दा आफूलाई जोखिममा राखेको छु, तर पार्टी र राष्ट्र्रलाई कहिल्यै जोखिममा राखेको छैन । यो पनि मुख्य आधार हो । कांग्रेसलाई संकट परेको बेलामा पार्टी र प्रजातन्त्रका लागि मात्र नभई मुलुककै लागि अपरिहार्य रहेको पुष्टि मेरा अतीतले स्पष्ट पार्छ । त्यही विश्वास बोकेर जितको आशा गरेको छु । बोल्न सक्ने र गर्न सक्ने नेतृत्वको खाँचो छ । सशक्त पार्टी र समृद्ध नेपालका लागि विचार, निष्ठा, सिद्धान्त र निष्कलंक नेतृत्व आवश्यक छ ।

अर्को कुरा मैले भन्नै पर्छ । राजनीति अहिले अपमानित भएको छ । राजनीतिज्ञहरू अपमानित भएका छन् । म राजनीतिलाई सम्मानित बनाउन चाहन्छु । लोकतान्त्रिक आचरणसहित इमानदारिता र निष्ठापूर्वक राजनीतिलाई सम्मानित बनाउँछु । राजनीतिलाई सम्मानित बनाउनका लागि पहिला राजनीतिज्ञ इमानदार हुन जरुरी छ । राजनीतिज्ञको जीवनमाथि प्रश्न खडा भएकाले पनि राजनीति अपमानित भएको हो । अर्को भागबन्डा गुटमा होइन मूल्यांकनका आधारमा पार्टी अगाडि बढाउन पनि मैले सक्छु । मेरो नेतृत्वको कांग्रेसले सक्छ ।

तपाईं गुटतन्त्र र भागबन्डाको अन्त्य गरेर मूल्यांकनका आधारमा पार्टी अगाडि बढाउँछु भन्नुभयो । तर यही महाधिवेशनमा पनि गुटगत राजनीति नै हाबी भएको छ ?

पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दा एउटा पक्ष त बन्ला । तर गुट, उपगुट र भागबन्डाको आधारमा चल्ने राजनीति स्वीकार्य हुँदैन । चुनावमा सबैले सहज अनुभव गर्न सक्ने प्रकारको नेतृत्व आओस् भन्ने नै हो । त्यसमा म मध्यमार्गी धार बोकेर हिँडेको व्यक्ति हुनाले त्यही अनुरूप काम गर्न सक्छु । निर्वाचनमा त्यस्तो नेतृत्व आवश्यक छ, जसले सबैलाई सहज रूपमा राख्न सकोस् । म सधैं मध्यमार्गीको रूपमा उभिएको छु । त्यस रूपले म पार्टी जीवन्त बनाएर अघि बढाउन सक्छु । अझ जिम्मेवारीपूर्ण ढंगले क्रियाशील बनाएर सशक्त र जिम्मेवार बनाउन आवश्यक छ । पार्टीमा नयाँ शक्ति र ऊर्जा दिन भिजनसहितको मिसन आवश्यक छ । दृष्टिकोणसहितको लक्ष्यमा अघि बढ्न जरुरी छ । उपदेश दिएरमात्र चल्दैन । त्यसमा म सक्षम रहेको भनिरहँदा देशभरिबाट मलाई आवश्यकताको रूपमा रोजेका हुन् । त्यही भएर सभापतिमा उठ्न लागेको हुँ । जो विश्लेषण गर्न सक्छन्, उनीहरूले त्यो तय गर्नेछन् ।

तपाईंले गुटको अन्त्य गर्छु भन्नुभयो तर आम मतदातालाई रामचन्द्र पौडेल सभापति भएपछि सिंगो कांग्रेस बन्छ भन्ने आधार के हो ?

हामीलाई बीपी कोइरालाले कुनै समयमा केही साथीहरूले पार्टी छोडेर जाँदा मूल कांग्रेस कुन हो भन्दा एउटा जवाफ दिनुभएको थियो कि गणेशमानजी, किसुनजी र म जहाँ छौं त्यही मूल कांग्रेस भन्नुभएको थियो । हो अहिले यो महाधिवेशनमा जाँदा पनि सर्वोच्च नेता लौहपुरुष गणेशमान सिंहको राजनीतिक विरासत धानेको प्रकाशमानजी, जननायक बीपी कोइरालाको राजनीतिक विरासत धानेको डा. शशांक कोइराला, शान्तिनायक गिरिजाप्रसाद कोइरालाकी सुपुत्री नेत्री सुजाता कोइराला र किसुनजीको विरासत हामीसँगै छ । त्यसकारणले कांग्रेस अहिले यही टिमले चलाउन सक्छ र कांग्रेस सिंगो पनि यसैगरी हुन्छ । किसुनजीलाई मैले सधैं साथ दिए, किसुनजी पञ्चायतविरुद्धको आन्दोलन नेपालमा बसेर सम्भव छ भन्नुहुन्थ्यो म त्यो बेला किसुनजी सँगै थिए । म पनि नेपालमा नै बसेर पञ्चायत विरुद्धमा आन्दोलनमा थिए । म पनि नेपालको जेलमा बसेको थिएँ । त्यही कारणले अहिले बीपी, गणेशमान, गिरिजाप्रसाद र किसुनजीको राजनीतिक विरासत एकै ठाउँमा हुँदा सिंगो कांग्रेस बन्छ । आम कांग्रेस नेता कार्यकर्तासमेत यो कुरामा विश्वस्त हुने ठाउँ छन् ।

तर विगतमा पार्टी विभाजन गर्दा त तपाईंकै कारण पार्टी विभाजन भएको भन्ने आरोप छ नि ?

यहाँ सूर्यलाई हत्केलाले छेक्नेसमेत प्रयास भएको छ । पार्टी विभाजन कस्ले गरेको कसरी भएको भन्ने विषयमा मैले भन्दै हिँड्नु पर्दैन, आम कार्यकर्तालाई जानकारी छ । यो विषयमा म धेरै टिप्पणी गर्न चाहन्न । तर मैले यति चाहिँ भन्न जरुरी छ । पार्टी फुटेको बेलामा मैले रोक्न गिरिजाबाबुलाई भनेको हो । त्यो बेलामा गिरिजाबाबुले के भन्नुभयो भने कुनै न कुनै दिन शेरबहादुरजीले पार्टी अवश्य अलग गर्नुहुन्छ । त्यो ढिलो चाँडोमात्रै हो अहिले रोकियो भने पनि फेरि अर्को कुनै समयमा पार्टी विभाजन गर्नुहुन्छ । त्यही भएर बानेश्वरमा भएको भेला रोक्न जरुरी छैन भन्नुभयो । मैले त्यो बेलामा गिरिजाबाबुलाई भनेको थिए, बानेश्वरमा त्यो समयमा भेला भएका पनि कांग्रेस नेता कार्यकर्ता हुन उनीहरूको सम्मानका लागि भए पनि पार्टी एक गर्नका लागि जाऔं भनेको थिए । योभन्दा बढी यो विषयमा मलाई टिप्पणी गर्न छैन । किनकि यो विषय जगजाहेर भएको विषय हो ।

गुट–उपुगटमा विभाजित हँुदा वामपन्थीको वर्चस्व बढेको टिप्पणी कांग्रेसभित्र सुनिन्छ, महाधिवेशनले कांग्रेसको त्यो समस्या चिर्न के गर्छ ?

हो, मैले पनि भनेको त्यही हो । कांग्रेस यति राम्रो दल, यति राम्रो सिद्धान्त हुँदाहुँदै पनि किन कांग्रेस हारिरहेको छ । म त्यही भन्दैछु । २०५२ देखि मैले त्यसको जवाफ खोजी गरेको छु । कांग्रेस हार्नुको मुख्य कारण हो यसभित्रको गुट, उपगुट र अकर्मण्यता । मूल्यांकन र संस्थागत पद्धतिको अभाव । अनि स–साना कुरामा अल्मलिने हुँदा पछि परेको छ । साँच्चैको नीति तथा कार्यक्रम लिएर जाने हो भने प्रतिपक्षलाई निकै पछाडि पार्न सकिन्छ । त्यही विश्वास लिएर म अघि बढेको छु । त्यही विश्वासमा लागेर म नेतृत्व लिन अघि बढेको हो ।

यति हुँदाहुँदै पनि नेपाली कांग्रेसभित्र जो संस्थापन भनेर देखिएको छ, त्यहाँ नै किन सहमति हुन सकेको छैन ?

हाम्रो टिम नै सबैलाई मिलाएर जान सक्ने र यसैभित्र पार्टीका सबै नेता कार्यकर्ताको भविष्य सुरिक्षत हुन्छ । हामी सबैलाई समेटेर जान समर्थ छौ । हामीले सबैलाई मिलेर जाउँ भनेर बारम्बार भनेको हो । सबै विषयमा सहमति खोज्ने अधिकतम प्रयास भयो । गरियो । अझै पनि हामी सबैलाई समेटेर जानुपर्छ भन्ने मान्यतामै छौं । अब साथीहरू कसरी समेट्ने भन्नेमै लागेको छु । सबै नेता कार्यकर्ताको भविष्य र सुरक्षा यही पार्टीमा एकजुट भएर गर्नुपर्छ । त्यसमा कसैलाई पाखा र कसैलाई काखा गर्नुपर्ने आवश्यकता छैन । मूल्यांकन र संस्थागत पद्धतिकै आधारमा सबैलाई समेटेर जाने कुरामा कुनै कञ्जुस्यार्इं हुँदैन । 

१२ औं महाधिवेशनमा एउटै टिममा रहेका तपाईंहरू अहिले दुई ठाउँमा बाँडिनुभएको छ नि ?

हामीले उहाँ (कृष्णप्रसाद सिटौला) लाई पनि सँगै लिएर जान खोजेका छौं । त्यही भएर अझै छलफल जारी राखेका छौं । उहाँलाई ‘इग्नोर’ गरेका छैनौं, उहाँ काम गर्ने व्यक्ति हुनाले भूमिका दिनेमा सबै तयार थियौं तर उहाँले के सोच्नुभयो के गर्नुभयो । उहाँलाई मिलाएर लैजानेमा कुनै समस्या थिएन । उहाँलाई हामीले रोजेको भूमिका दिएका हौं । विचार, निष्ठा, सिद्धान्तले पार्टीलाई सशक्त बनाएर सबै नेता कार्यकर्ताको सहभागितामा लोकतान्त्रिक मूल्यमान्यता बोकेको कांग्रेस जस्तो देशकै पुरानो र ठूलो लोकतान्त्रिक पार्टीलाई हामीले अघि बढाउनुपर्छ ।

पार्टी चुस्त बनाउन र एकीकृत गर्न के गर्नुहुन्छ ?

नेतृत्व दिने व्यक्तिm कार्यकर्ता सही छनोट गर्न आवश्यक छ । भएन भन्नेहरूले पनि अब सबल नेतृत्व दिन आवश्यक छ । काम गर्न आए भनेर हँुदैन । काम गर्ने अनुभव भएको र अतीतले प्रमाणित गरेकाले नेतृत्व गर्न आवश्यक छ । अब पार्टीमा नयाँ थिति र परिवर्तन आउँछ र कार्यक्रम लिएर काम गर्न थालिन्छ । काममा खटाउन र जिम्मेवारी पाएपछि सबै कांग्रेसमा लाग्नेछ । केन्द्रीय सदस्यको समेत कार्यविभाजन हुनेछ । जिम्मेवारी दिने र त्यसको ‘मोनिटर’ गर्न आवश्यक छ । त्यसमा मूल्यांकन गर्न आवश्यक छ । कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्न आवश्यक छ । सधैं नेताले कार्यकर्ताको मूल्यांकन भएन भन्नु हुँदैन । दोहोरो हुन्छ, मूल्यांकनको परिपाटी पनि । गुटको नेतालाई जयजयकार गरेर हिँड्ने प्रवृत्ति राम्रो होइन, म त्यो मान्नेवाला छैन । कार्यकर्ताले पनि कुन नेता सही हो भनेर मूल्यांकन गर्नुपर्छ ।  अनि नेताले पनि कार्यकर्ताको उचित मूल्यांकन गर्नुपर्छ र गर्छ ।

 

]]>