देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइराला–सिंह परिवार संयोजनको सन्देश

देशान्तर

केदार सुवेदी  
चलिरहेको तेह्रौं महाधिवेशन बीपीको विचार र गणेशमानको बलिदानको सुखद ऐतिहासिक संयोजन हुन गयो जसले समग्र कांग्रेसीजनमा एउटा नयाँ उत्साह र तरंग पैदा गर्‍यो जसले यो कालखण्डदेखि एउटा नयाँ युगको प्रारम्भ भएको मनायो । यो ऐतिहासिक आवश्यकता थियो र भयो । यो संयोजन सामान्य होइन । यसले एउटा इतिहासको सम्मान गरेको छ र यो परिवारको यो पुस्ता राजनीतिमा परिपक्व भइसकेको भन्ने बुझाउछ ।

तेह्रौं महाधिवेशनको पहिलो दिन अर्थात् प्रारम्भ यसपछिको इतिहासमा सधंै लेखिने वा भनौं लेखिनैपर्ने ऐतिहासिक बन्यो । खासगरी आपसमा राजनीतिक मेलमिलाप र तर्कसंगत निष्कर्षबाट । यस्तो मौका सधैं आउँदैन र आएको खण्डमा त्यसलाई गुमाउनु हुँदैन । मोका आयो करिब करिब ऐतिहासिक नै भएर र त्यसको उपयोग पनि त्यही रूपमा भयो । त्यसकारण यसलाई दोस्रो पुस्ताको सुझबुझ मानिएको हो जसको काँधमाथि अबको कांग्रेसको भविष्य निर्भर छ । यो किन पनि भने बीपी र गणेशमान तथा किसुनजी बिनाको कांग्रेसलाई कांग्रेसीहरूले कल्पनासम्म गरेका हुँदैनन् । ‘म, गणेशमान र किसुनजी जहाँ हुन्छौं कांग्रेस त्यहीँ हुन्छ ।’

बीपीको यो भनाइ यो महाधिवेशनमा यसरी प्रकट भयो । उहाँहरूका उत्तराधिकारी वा भनांै विराशद बोकेकाहरूबाट आफ्नै पहलमा यो परिवार एक ठाउँमा बस्ने काम औपचारिक रूपमै सम्पन्न भयो । त्यसकारण पनि यसलाई विशेष नै मानिएको हुनुपर्छ । यो दिन बीपी र गणेशमान परिवार एक भएको दिन हो । बीपीको विचार र गणेशमानको बलिदान नै नेपाली कांग्रेस हो र आजको पुस्ताले पढेको इतिहास पनि । कोइराला–सिंहको यो दुई परिवार कम्तीमा प्रजातन्त्र पुनस्र्थापनापछि विभाजित थियो । कारण जेसुकै रहुन् । यो समय धेरै लामो नै रह्यो करिब अढाइ दशक । २०४८ देखि २०७२ सालको समय गनौं । महाधिवेशनको हिसाबले आठौंदेखिको कुरा हो यो । प्रजातन्त्र पुनस्र्थापनापछिको केही वर्ष यो परिवारमा खटपट सुरु भएको थियो जो यो महाधिवेशनले विधिवत् रूपमा मेटेको छ ।

यो परिवारको मिलन सेतु हुनुभयो रामचन्द्र पौडेल । उहाँको सभापतित्वमा कोइराला परिवारका शशांक र सिंह परिवारका प्रकाशमान अबको कांग्रेस हाँक्न तयार हुनु भए । पौडेलको सभापति उम्मेदवारी घोषणाक्रममा देखिएको दृश्य हो यो । यो संयोगलाई आदरणीय नेता गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले पनि पूर्ण समर्थन गर्नुभयो भने राजनीतिमा क्रियाशील कोइराला परिवारकै अर्का शेखर कोइरालाले पनि पूर्ण समर्थन जनाउनु भयो । यसको सन्देश हो, यी दुई परिवारबीच यो कामका लागि कम्तीमा क्रियाशील राजनीति गरिरहनु भएकामध्ये कोही पनि बाहिर हुनुहुन्न । अझ भन्ने हो भने यस्तो संयोजनका लागि सुजाताको भूमिका झनै अहम रह्यो । त्यागका हिसाबमा पनि त्यस्तै । कोइराला र सिंह परिवारबाट पहिले सभापतिको नै दाबी थियो । सुजाता कोइरालाले त उम्मेदवारी घोषणा नै गरिसकेको अवस्था थियो । प्रकाशमानको दाबी पनि करिबकरिब घोषणाकै तहमा पुगेको थियो भने बाँकी द्वय कोइराला अर्थात् डा.हरूको महामन्त्रीसम्मको दाबी पनि त्यस्तै । तर यो परिवार मिलाउने क्रममा कसैको पनि त्यस्तो हठ रहेन जसले कांग्रेसको नयाँ युगका लागि नयाँ सन्देश दियो । सिंह पुत्र प्रकाशमान यसका योजनाकार हुनुभयो । सबैभन्दा पहिले उहाँले कोइराला र सिंह परिवारको संयुक्त स्वरूपलाई नेतृत्व दिन तत्कालीन सभापति सुशील कोइराला जीवित नै रहेको बेला प्रस्ताव गर्नुभएको थियो । यो सार्वजनिक नै भइसकेको कुरा हो । यो प्रस्तावको ओजन थियो तर सवाल थियो अघिल्लो पुस्तालाई कसरी व्यवस्थापन गर्ने । त्यो पुस्ता नेतृत्वको आकांक्षी रहेको बेला यो प्रस्तावले आकार पाउन त्यति सहज थिएन । परिस्थितिले यो परिवारबाट धेरै सुझबुझसहितको निर्णय गर्न लगायो । यो समय वास्तवमै यो परिवारबाट राजनीति गरिरहेको यो पुस्ताको वास्तवमै परीक्षणको घडी पनि थियो । कसैको अलिकति चुकले नेतृत्व यो सेरोफेरोभन्दा बाहिर पनि जाने खतरा थियो । अरूका लागि जेहोस् कम्तीमा यो परिवारका लागि यो त्यसकारण पनि एउटा मोड नै हो । यो संयोजनले एउटा ठूलो सन्देश दियो नेपाली कांग्रेसका लागि र यो परिवारका लागि पनि । नेतृत्व स्थापित हुने भनेको आफैंमात्र नेतृत्वमा रहेर मात्र हँुदैन । अरूको नेतृत्व पनि मान्नुपर्ने हुन्छ । त्यो काम यो परिवारबाट भयो । त्यसैकारण यो चरणमा यो परिवारको यो पुस्ता उत्तीर्ण भएको मानिएको हो । एकपटक सम्झौं त जव यो परिवारबाट जे जति दाबी भइरहेको थियो त्यसले कार्यकर्ता तहमा कस्तो छटपटी पैदा गरेको थियो ।

यो संयोजनमा त्यागको अंश पनि छ । अघिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित सिंहपुत्र प्रकाश यतिबेला केन्द्रीय सदस्यमा मात्र बस्न तयार हुनुभयो । पछि के होला अलग कुरा हो । सुजाताले दिइसकेको उम्मेदवारी फिर्ता लिनु । शेखर धेरै पहिले, सुशील कोइराला जीवित रहेकैबेलादेखि रामचन्द्र पौडेलको दाबीलाई नेतृत्वको स्वाभाविक प्रस्ताव मानिरहनु भएको थियो । पौडेलको सभापतिमा उम्मेदवारी हुँदा उहाँको महामन्त्रीत्व स्वाभाविक थियो । तर उहाँबाटै प्रस्तावित हुनुभयो शशांक । यसरी प्रकाश–शेखर–शशांक–सुजाता सबै नै यो सन्दर्भमा आवश्यक परेको बेलामा सही प्रकारको राजनीतिक कदम चाल्न तयार रहनेमा गनिनुभयो । महाधिवेशन भनेको निर्वाचनबाट नेतृत्व छनोटको काम पनि हो । निर्वाचन भनेपछि त्यसको परिणाम जस्तो पनि आउन सक्तछ । यो निर्वाचन पार्टीभित्रकै हो र यसलाई आफूअनुसारको योगदान पुर्‍याएकाहरू नै यस्तो नेतृत्वको तहअनुसारको दाबेदार हुनुहुन्छ । यी दृश्यहरू चाहिँ तत्कालीनमात्र होइनन् । त्यसकारण यसलाई यहाँ उल्लेखनीय मानिएको हो ।

यो संयोजनले यो युगमा फेरि एउटा नयाँ प्रस्ताव गरेको छ । विचार र बलिदानको । यो परिवारको दोस्रो पुुस्ताले त्यस्तो पहिलो पुस्तालाई आफ्नो नेतृत्व मान्यो जो आफैंमा विचारक हुन् । रामचन्द्र पौडेललाई बीपी र गणेशमानले नै विचारक मान्नुहुन्थ्यो । पौडेलका बारे बीपीले धेरै भन्ने गर्नुहुन्थ्यो– पौडेल पार्टीका हात, मुख र खुट्टा हुन् । सिंहको भनाइ पनि करिबकरिब त्यस्तै हुने गरेको थियो । रामचन्द्र पार्टीलाई विचार दिने व्यक्ति हो । जहाँ जाँदा पनि उसलाई साथमै लानुपर्छ विचार भएन भने हिँडेरमात्र कहीँ पुगिँदैन । यतिखेर यो कुरा यो परिवारको दोस्रो पुस्ताले पनि मान्यो । सर्तहरू होलान् । कसैले पनि राजनीतिमा सर्त राख्छ नै । त्यसमाथि महाधिवेशन जस्तो बेला जसले व्यक्तिको स्थान निर्धारण गर्छ । त्यसलाई त्यसै छाडियो भने कोही कहीँ पुग्ने अवस्था रहँदैन । तर जुनबेला परिस्थितिले बलिदान खोज्छ त्यो बेला त्यसको परिचय दिन सकियो भने कालजयी दृष्टिकोण भनेको त्यही हो । यो पक्षबाट यो पटक यही कुरा स्थापित भयो । अर्थात् विचार र बलिदान मिल्यो । आफ्ना हातमा आइसकेको पद त्याग्नु भनेको पनि वलिदान नै हो । यो परिवारले त्यो कुरालाई आत्मसात् गरेको अवस्था हो यो । यो संयोजनले बुझाउन खोजेको कुरा पनि यही हो । कम्तीमा यो परिवारका लागि ।

एउटा महाधिवेशन समयको हिसाबले कुनै ठूलो र कसैको जीवन नै समाप्त हुने गर्ने कुरा होइन । पाँच वर्षमा फेरि यही दिन आउँछ जसरी बाह्रौं महाधिवेशन आयो र गयो । एउटा महाधिवेशनले अर्को महाधिवेशनको रूपरेखा कोर्नुपछ नेतृत्वका लागि । त्यसो भयो भने मात्र नेतृत्वले सहजता पाउँछ अर्थात् नयाँ पुस्ताको जन्म हुन्छ । यो महाधिवेशनले त्यस्तै संकेत गरेको छ । राजनीति त नयाँ पुस्तामा गयो नै । यसको सबैभन्दा सहज अनुकरणीय पक्ष हो अघिल्लो अर्थात् यो बेलासम्मको शीर्षलाई सम्मान गर्नु । कोइराला–सिंहका उत्तराधिकारीहरूबाट रामचन्द्र पौडेललाई आफ्नो नेता मानियो । पौडेल नेपालको राजनीतिमा यो बेलासम्म सक्रियमध्येका सबैभन्दा शीर्ष हुन् । सुजाता कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता गर्दाको क्षणमा यही कुरा सम्झाउनुभएको थियो । पौडेल त्यस्ता व्यक्ति हुन् जसले १५ वर्षको उमेरमा राजनीति गर्न थाले र यो ७२ वर्षको उमेरसम्मको करिब ६ दशकको क्रियाशीलतामा जहिले पनि आफूभन्दा शीर्षलाई सम्मान नै गरिरहे । सबैमा यस्तो धैर्य पाइँदैन । आफ्ना शीर्षलाई सम्मान नगर्नेले आफ्ना कनिष्ठलाई पनि कहिल्यै मौका दिँदैन भनिन्छ । त्यस्तो देखिएको पनि छ । यो परिवारको यो कामले अग्रजलाई सम्मान गरेको बुझाउछ ।

तर यी कुरा केवल चुनावी परिदृश्यमा मात्र सीमित हुन हुदैन । यस्तो परिपक्वता देखाउनुपर्ने बेलामा यसरी नै यो कुरा प्रकट भयो भने यो ऐतिहासिकताले मूर्तरूप पाउनेछ । तर यो बेला भने नेतृत्व छनोटकै कुरा अहम् हो । सबैभन्दा ठूलो र देश विदेशले मानेको एउटै मात्र लोकतन्त्रवादी दल हो नेपाली कांग्रेस । संविधानसभाबाट संविधान घोषणा भएपछि यो दलको पहिलो महाधिवेशन सम्पन्न हुँदै छ । संविधानसभाबाट संविधान घोषणा गराउन र त्यसको पहिलो चरणको कार्यान्वयन गराउन यो दल र यसको नेतृत्व सफल भयो । संसदीय पद्धतिको विरोध गर्नेहरू कांग्रेसकै एजेन्डामा आए र संसदीय पद्धतिअनुसारको संविधान पनि आयो, करिब डेढ वर्षको अवधिमा नै । यो सामान्य कुरा होइन । आफ्नै नेतृत्वमा संविधान आयो मात्र होइन त्यो संविधानको कार्यान्वयनसमेत गरेर लोकतान्त्रिक पद्धतिअनुसार सत्ता हस्तान्तरण पनि गर्‍यो, पद्धतिगत रूपले नै । त्यसैकारण संविधानको परिपालनको कुरा उठेको हो, जुन काम कांग्रेसको नेतृत्वले मात्र गर्न सक्तछ र गर्छ पनि । संविधानको पहिलो प्रयोगमा कांग्रेसले के गर्‍यो, अरू दलले के भन्ने हेर्दा पुग्छ ।

यो अवस्था त्यतिखेर मात्र आउँछ जब यो दलको नेतृत्व स्वाभाविक रूपमा स्वाभाविक व्यक्तिको हातमा स्वाभाविक तवरले छानिन्छ । यसका लागि पहिलो कुरा त व्यक्तिको चयनमा पनि हुन्छ । यसो किन भने व्यक्तिले नै हो यसको प्रयोग राम्रो नराम्रो रूपले गर्ने । गलत व्यक्तिको हातमा नेतृत्व गयो भने परिणाम पनि त्यस्तै आउँछ जुन माथि भनिसकियो । क्रियाशीलता, समर्पण निस्वार्थ सेवा राजनीतिका मूलभूत कुरा हुन जसले आम नागरिकमा यस्तो व्यवस्थाप्रति विश्वास बढाउँछ । नेपाली कांग्रेसका करिब ३२ सय महाधिवेशन प्रतिनिधिसामु यतिखेर यो चुनौती आइपरेको छ । नेतृत्व छान्दा अपनाउने विवेकले भविष्यलाई निर्धारण गर्नेछ । त्यसकारण सही बेलाको सही निर्णयले मात्र यो दल र यसको भविष्य तय हुने हो । त्यसकारण नेतृत्व पनि स्वाभाविक हुनुपर्छ र छनोट पनि । त्यस्तो स्वाभाविकताले मात्र परिणाम सुखद र स्वाभाविक हुन्छ, बनाउँछ । व्यक्तिकै व्यवहारका कारण कतिपय राम्रा व्यवस्थाहरू पनि घोर अलोकतान्त्रिक जस्ता भएर पतन भएका छन् । अलोकतान्त्रिक व्यक्तिले लोकतन्त्रको कुरा गर्दा त्यो शब्द नै अपाच्य भएका उदाहरण थुप्रै छन् । उदाहरणका लागि राजाले प्रजातन्त्र भन्ने शब्दलाई आफ्नो निरंकुशता टिकाउन प्रयोग गर्दा यो शब्द नै बिटुलो भयो र त्यसका ठाउँमा लोकतन्त्र आयो । यसमा व्यक्तिको विगत र व्यवहार पनि पनि जोडिन्छ । छुटाउने बेला पनि यही हो र कम्तीमा आउँदो आधा दशकसम्म त यहीमात्र हो । यो बेलाको सानो त्रुटिले देश, देशको संविधान र नेपाली कांग्रेसजस्तो लोकतन्त्रवादी दलकै गन्तव्यमा प्रभाव पार्छ । हिसाक किताक गरांै र विवेकको सही प्रयोग पनि । यो भनेको कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला हो ।

 

]]>