देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लाप्राक पुनःनिर्माणमा एनआरएनले सघाउने

देशान्तर

गोरखा। गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त भएको गोरखाको लाप्राक गाउँ पुनःनिर्माणमा गैर आवासीय नेपाली संघ (एनआरएन)ले सघाउने भएको छ । 

अस्टे«लियाली सिनेटर श्याम पास्टोरी, पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठ, अस्टे«लियाका लागि अवैतनिक वाणिज्यदूत दीपक खड्कासहितको टोली लिएर सोमबार लाप्राक पुगेका एनआरएन अध्यक्ष शेष घलेले लाप्राक गाउँ पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

श्रीएअरका दुईवटा हेलिकप्टरमा गएको उक्त टोलीले गुप्सीपाखा र पुरानो लाप्राक गाउँ पुगेर भूकम्पपीडितको अवस्था र इच्छाबारे बुझेको थियो ।

“सरकारले अनुमति दिन ढिलाइ गरेपछि हामीले घर बनाउन पाएनौँ”, घलेले भने, “हामी छिट्टै व्यवस्थित लाप्राक बनाउन चाहन्छौँ ।” एनआरएनले लाप्राक गाउँमा ५०० वटा भन्दा धेरै व्यक्तिगत घर, विद्यालयलगायत सार्वजनिक महत्वका भवन निर्माण गर्ने तयारी गरे पनि सरकारले अनुमति दिएको छैन । 

पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठले प्राधिकरणले फटाफट काम सुरु गरेकाले सकेसम्म बर्खाअघि नै नयाँ घर बनाउन अनुदान दिने बताए । कस्तो जमिनमा घर बनाउने भन्नेबारे एक पटक भूगर्भविद्लाई अध्ययन गर्न पठाएर मात्रै पुनःनिर्माणको काम सुरु हुने उनको भनाइ छ । 

भूकम्पपीडितहरू राज गुरुङ, बिसबहादुर गुरुङ र शिक्षक भविराज गुरुङले बर्खाअघि नै घर निर्माण सक्नेगरी अनुदान रकम दिन आग्रह गरेका छन् । छ सय १७ घरधुरी रहेको लाप्राक गाउँ ध्वस्त भएपछि १२ वैशाखदेखि गाउँलेहरू गुप्सीमा शिविर बनाएर बस्दै आएका छन् । 

सरकारले लाप्राकीलाई गुप्सीमा घडेरी दिने निर्णय गरिसकेको छ भने केही भूकम्पपीडित भने पुरानै गाउँ लाप्राक फर्किसकेका छन् ।

]]>