देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगठन सदृढीकरण मेरो पहिलो प्राथमिकता: डा शंशाक कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा संशाक कोइरालाले संविधान आएको छ अब अस्थिरतातिर नजाउँ भन्ने आफ्नो  धारणा भएको बताएका छन् ।  शशांक कोइरालाले पुनरावलोकन भनेको पछाडि फर्कने, राजा ल्याउने हो भनेर व्याख्या गर्छन् । त्यो त मैले भनेको होइन नि, मेरो आसय त्यो होइन । आधा शब्दमात्र लिएर पूरै विचारलाई मारिदिने ? यो त राम्रो भएन नि । म त के भन्छु भने, झन्डै ६० वर्ष भयो देशमा अस्थिरता रह्यो । अब कति अस्थिर भइरहने ? स्थिरतामा मात्रै विकास हुन्छ । जनतालाई विचारसँग कुनै मतलव छैन । 

सर्वप्रथम त नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई छ । महामन्त्रीको जिम्मेवारी पाउँदा कस्तो लागिरहेको छ ?
जिम्मेवारी बढेको छ । थुप्रै चुनौतीहरू अगाडि छन् । महामन्त्रीको हैसियतले मेरो मुख्य र पहिलो जिम्मेवारी पार्टीप्रति नै छ । झन्डै ३२ सय महाधिवेशन प्रतिनिधिहरूले जुन मत जाहेर गरेका छन् त्यसलाई मध्यनजर गर्दै पार्टीका विद्यमान समस्याहरू समाधानतिर जानुपर्छ भन्ने मलाई लागेको छ । पार्टीभित्रको मुख्य मुद्दा भनेको अहिलेसम्म पार्टीभित्र रहेको कथित ६०÷४० को भागबन्डाको अन्त्य हुनुप¥यो । महाधिवेशन प्रतिनिधिहरूले पार्टीभित्रको एकताकै लागि मत जाहेर गरेको मेरो विश्लेषण छ । 
दोस्रो कुरा,  नयाँ संविधानअनुसार हाम्रो पार्र्टीभित्रको संरचनामा पनि परिवर्तन आवश्यक छ भन्ने धेरै साथीहरूको माग रहेको छ । तसर्थ पार्टीको संरचना परिवर्तन गर्नुपर्छ । साथै पार्र्टीलाई कसरी शुद्धीकरण गर्ने हो ? अहिलेको हाम्रो पार्टीको जुन संरचना छ, जसमा अधिकार केन्द्रीकृत नै छ । केही हदसम्म क्षेत्रलाई अधिकार दिएको थियो । तर अबको महासमितिमा यस विषयमा छलफल हुनुपर्ने आवश्यकता म देख्छु । छिटोभन्दा छिटो महासमितिको बैठक बस्नु पर्ने मेरो व्यक्तिगत धारणा रहेको छ । केन्द्रीय समितिले पूर्णता पाइसकेपछि त्यहाँ पनि छलफल हुन्छ । यसमा अरू साथीहरूको धारणा के रहन्छ त्यसपछि निर्णयमा पुग्ने कुरा आउँछ । 
तेस्रो, पार्र्टीसँगै राष्ट्र र जनताको समस्यालाई पनि मध्यनजर गर्नुपर्ने आवश्यकता छ । त्यसैले पार्टी र अरू पार्टीहरूसँग समन्वयको कुरा पनि छ ।  जस्तो मधेसमा उठेको समस्याको विषय जल्दो बल्दो छ । यो पनि पार्र्टीसँग सम्बन्धित कुरा नै हो । यसमा पनि पार्र्टीले स्पष्ट धारणा बनाउनुपर्ने आवश्यकता छ । मेरो विचारमा पार्र्टीले राजनीतिक स्थिरताका लागि काम गर्नुपर्छ । पार्र्टीभित्रको गुटबन्दीको कुनै पनि तुष बाँकी हुनुहुँदैन । 
एउटै प्यानलबाट चुनाव लड्नुभयो तर सभापति गुमाउनुभयो । तपाईले रोजेको प्यानलबाट महामन्त्री कोषाध्यक्ष निर्वाचित भएका छन् । कस्तो लागिरहेको छ ?
हुन मलाई एउटा समूहले सहयोग त गरेकै हो । तर पनि अव त्यतातिर जानुभन्दा पनि अगाडिको  सोचौं । त्यो समूह वा त्यो ६०÷४० को कुरा नगरौं । रामचन्द्र दाइ हाम्रो नेता हो । मैले सदैव उहाँलाई नेता मानेको हो, भोलि पनि म नेता नै मान्छु । उहाँलाई पनि हामीले अगाडि ल्याउनै पर्छ । यत्रो योगदान गरेको मान्छेको अनुभव त हामीले प्रयोग गर्नुप¥यो नि । हामीले सबैलाई मिलाएर जानु त छ नै । अब गत वर्षका तुषहरू वा गिरिजाप्रसाद र कृष्णप्रसादको विवाद, ३६÷७४, काठमाडौं, बनारस, कलकत्ताका समूहहरू त्यो हुन्छ राजनीतिमा नहुने होइन । यो यथार्थ हो । तर पनि जहिले पनि हामीले पार्टीलाई सोच्नुपर्छ, सिद्धान्त, विचारलाई सोच्नुपर्छ । त्यसैले भोट हाल्दैगर्दा पनि म त्यही विचारसँग आबद्ध छु भनेर भोट दिनुप¥यो र भोट गर्दैगर्दा म स्वतन्त्र छु भनेर अनुभूति गर्नुप¥यो । यदि आफंै जञ्जिरमा भएको मान्छेले अरूलाई स्वतन्त्र कसरी बनाउन सक्छ । यो हो यक्ष प्रश्न । 
महाधिवेशनमा चुनाव हुँदै गर्दा एकपटक पनि तपाई कार्यकर्ताको बीचमा भोग माग्न जानु भएन भन्ने गुनासो आयो नि ? 
पहिलो कुरा त मैले कसैसँग पनि भोट मागिनँ, प्यानल थियो, आफूलाई सुरक्षित राख्नको लागि एउटा निश्चित घेरा पनि चाहिँदो रहेछ । मैले पहिलेदेखि नै भन्दै पनि आएको थिए कि यो ६०÷४० को घेरामा नबसौं भनेर । जुन केही हदसम्म भयो पनि केही हदसम्म भएन पनि । त्यसैले अव त्यो विगतका दिनहरू भए । अब नयाँ दिनहरू आएको छ । अब हामीले अगाडि बढ्नु छ न कि पछाडि फर्किने । हामी किन व्यक्तिहरूले गरेका गल्तीहरूमात्र हेर्छौं ? अगाडि पनि त हेर्नुप¥यो । गल्तीहरू कोट्याउँदा कोट्याउँदा यति अप्ठेरो पारिदिन्छन् कि त्यसको कुनै लेखाजोखा नै छैन । गल्तीहरू मान्छेमा हुन्छन्, स्वभाविक हो । जहिले पनि सकारात्मक हुनुपर्छ व्यक्तिको बारेमा । गल्ती गरेको मान्छेले यही जीवनकालमा सजाया भोग्छ । ऊ आफैंमा कुण्ठित हुन्छ भनेपछि हामी पनि किन त्यसमा नै लाग्नुप¥यो ? यो १३ आंै महाधिवेशन उत्साहका साथ सम्पन्न भयो । म ती सबैलाई धन्यवाद दिन चाहन्छु जसले आफूले सक्दो यसको भव्यता बढाउन शोभा बढाउनमा सहयोग पु¥याए । यद्यपि यसमा केही त्रुटिहरू पनि भएका छन् । महाधिवेशन नचाहिँदो पाराले भड्किलो पनि भएको छ जुन हुनुहँुदैन थियो । अर्को अधिवेशनमा सुधार गर्नुपर्छ ।
गुटबन्दीकै कुरा गर्दा महाधिवेशनमा तपाईंहरू स्पष्टरूपमा प्यानलसहित चुनावमा जानुभएको थियो, यसलाई मेट्नको लागि तपाईंको के भूमिका हुन्छ ?
मेरो त यसमा मुख्य भूमिका हुन्छ । किनभने महाधिवेशनमा जाँदै गर्दा मैले सबै साथीहरूसँग मिडियामा पनि भनेको छु कि, पार्टीमा भागबन्डाको अन्त्य हुनुप¥यो । तर तपाईंले भनेजस्तो, प्यानलको कुरा लोकतान्त्रिक पार्टीमा स्वाभाविक हुन्छ । जब चुनाव हुन्छ समूहहरू बन्छन् । यो कुरा अमेरिकाजस्तो लोकतान्त्रिक अभ्यासको उदाहरणीय मुलुकमा पनि हुन्छ । अधिवेशन सम्पन्न भइसकेपछि स्वाभाविक रूपमा त्यो प्यानलको औचित्य समाप्त भएर जानुपर्छ । यसैको तुष बाँकी रहीरहने हो भने त्यो पार्टीको लागि हितकर हुँदैन । 
चुनावको समयमा निश्चित मुद्दामा समूह बन्नु स्वाभाविक भए पनि कांग्रेसभित्र दुईवटा समूहले स्थायी रुपमा निरन्तरता पाउँदै आयो । यसको अन्त्यको लागि तपाईंको के भूमिका रहन्छ ?
यस्तो स्थायी प्रकृतिको गुट र समूह अब रहनु हुँदैन । तर पनि पहिले केन्द्रीय समितिको संरचना कस्तो आउँछ, भोलि गएर हाम्रो सभापति शेरबहादुरजीको विचार के हो ? त्यसमा पनि यो कुरा निर्भर रहन्छ भन्ने लाग्छ । किनभने सभापति भनेको त सबैभन्दा मुख्य व्यक्ति हो । उहाँको मनशाय के हो यसबारेमा ? उहाँको अहिलेको अभिव्यक्ति पनि पार्र्टी एकता कायम गर्नुपर्छ भन्नेमा नै रहेको बुझेको छु । सबैलाई समेटेर जानुपर्छ भन्नुभएको छ । मैले पनि त्यही भनेको छु । तर भोलि व्यवहारमा सभापति कसरी प्रस्तुत हुनुहुन्छ त्यो हेर्न बाँकी छ । भोलि केन्द्रीय समितिले पूर्णता पाउँदै गर्दा नै सभापतिको बोलि र व्यवहारबीच तदाम्यता हुन्छ कि हुँदैन प्रष्ट हुँदै जान्छ । केन्द्रीय समितिलाई पूर्णता दिनका लागि मनोनित गर्नुपर्ने हुन्छ । त्यसपछि गएर पार्र्टीभित्रको विभाग गठनको कुरा आउँला । त्यसैले यी सबै जिम्मेवारी पूरा गर्दैगर्दा पार्र्टी एकता गर्नेमा सभापति र मेरो जिम्मेवारी रहन्छ । मलाई लाग्दैन उहाँ पनि चाहनु हुँदैन कि पार्र्टी एक नहोस् भनेर । उहाँ (शेरवहादुर देउवा)ले पनि पार्टी फुटेको पीडा त भोग्नुभएको छ नि । अहिले राष्ट्रिय राजनीतिमा देखा परेका चुनौतीहरूको सामना गर्नका निम्ति पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन । 
तपाईंको विचारमा पार्र्टीभित्रको एकतामा मुख्य भूमिका सभापतिको हुन्छ, हैन ? 
हो र सहयोगीका रूपमा मेरो पनि उत्तिकै भूमिका हुन्छ । तर पनि यसको लागि प्राथमिक दायित्व त सभापतिजीकै हुन्छ नि । किनभने सभापति पद ठूलो हो नि । तर पनि पार्टीभित्र सामूहिक प्रयासको जरुरी रहेको छ । किनभने थपडी त एउटै हातले मात्रै बझ्दैन । त्यसकारण हामी सबै मिलेर जानुपर्छ भन्ने मेरो धारणा हो । यद्यपि सभापतिजीले त्यसको वातावरण सिर्जना भने गर्नुपर्छ । 
एउटा संक्रमणकाल पार गरेको छ देशले र अर्को संक्रमणकाल सुरु भएको सन्दर्भमा नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको छ । मुख्य रुपमा यतिबेला नयाँ संविधान कार्यान्वयनको चुनौती छ । संविधान कार्यान्वयनको सन्दर्भमा के कांग्रेसले के गर्छ ?
यो त महत्वपूर्ण प्रश्न हो । हामीले नयाँ संविधान ल्याएका छौं जसले एक प्रकारको राजनीतिक स्थिरता पनि ल्याएको छ । यही संविधानलाई टेकेर हामी अगाडि बढ्नुपर्छ । यही संविधानको जगमा टेकेर नै हामीले तमाम समस्यालाई सम्बोधन पनि गर्न सक्नुपर्छ । यो चुनौतीको घडी हो । संविधान कार्यान्वयनको सबालमा के कठिनाइ रहेछ भने, स्वीकार र ग्रहण गर्नको लागि केही समय लाग्दो रहेछ । हामी त्यही दिशातिर हिँड्नुप¥यो जसले संविधानको स्वीकार्यतालाई बढाओस् । जस्तो कि प्रान्तकै कुरा गरौ । त्यसको संरचना बनाउँदै गर्दा, त्यसलाई अधिकार सम्पन्न बनाउँदै गर्दा पार्र्टीको कुन संरचना हुन्छ ? संविधान प्रतिविम्बित हुने गरेर नै हामीले सांगठनिक संरचना निर्माण ग¥र्यौैं भने हामीलाई त्यसमा झन् सहयोग पुग्छ । किनभने त्यसले कार्यान्वयनको पक्षमा निरन्तरता दिन्छ । पार्र्टीको पनि धारणा र हाम्रो संविधानको धारणमा मेल खानुपर्छ । पार्र्टीले यसलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ । यसै सन्दर्भमा अन्तरपार्र्टी समन्वयको कुरा पनि आउँछ । किनभने संविधान कार्यान्वयन भनेको एकल प्रयासबाट सम्भव हुने कुरा होइन । त्यसकारण हामीले अरू पार्र्टीहरूसँगको सम्बन्धलाई अझै प्रगाढ गर्दै जानुपर्छ । 
तपाईंले अन्तरपार्टी समन्वयको कुरा पनि गर्नुभयो, कांग्रेसमा नयाँ नेतृत्व आउनेबित्तिकै नयाँ सरकारको पनि चर्चा चलेको छ नि ?
यसबारेमा मेरो स्पष्ट धारणा रहेको छ । नयाँ संविधान जारी भइसकेपछि एउटा प्याराडाइम सिफ्ट भएर आएको छ । यस्तो अवस्थामा अर्थात् संविधान कार्यान्वयनको सवालमा सरकारको एक खालको भूमिका हुन्छ भने राजनीतिक दलहरूको अर्को भूमिका हुन्छ । मैले अगाडि पनि भने, अब राष्ट्रलाई अस्थिर नगरौं । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्र्टी हो त्यसैले सरकारको नेतृत्वमा हाम्रो दाबी हुनु स्वाभाविक हो । नेपाली कांग्रेसले नै सबैलाई मिलाएर जान सक्छ । अहिलेका प्रधानमन्त्रीले पनि मेरै नेतृत्वको सरकारमा सबै आउँछन् भन्नुभएको छ । त्यस्तै हामी पनि भन्छौं । तर यही कुरामा वादविवाद गरेर देशलाई सधैं अस्थिरताको बन्दी बनाई राख्नु हुँदैन । यही कारणले फेरि संविधान नै खतरामा नपरोस् । यदि हामीले ंसंविधानको सफल कार्यान्वन गर्न सकेनौं भने यो त खाली कागजको खोस्टोमात्र बन्न जान्छ । त्यसैले त्यसो हुन नदिन सबैको प्रयास जरुरी छ । संविधान बनाउन झन्डै आठ वर्ष लाग्यो । यसबीचमा धेरै विवाद आए र सहमतिहरू पनि बने । अन्त्यमा संविधान राम्रो बनेको छ । यसमा सबैका अधिकारहरू सुरक्षित भएका छन् । यद्यपि केही त्रुटिहरू होलान् । तर पनि ती युगअनुसार परिवर्तन हुँदै जालान् पनि । आखिर संविधान ईश्वरले दिएको दस्तावेज त होइन नि । यो त मनुष्यले बनाएको दस्तावेज न हो । त्यो पनि परिमार्जित हुँदै जान्छ । तर पनि हाम्रो एकमात्र आधारशिला भनेको लोकतन्त्रमात्र हो । यसलाई बचाउनु पो प¥यो हामीले । त्यसकारण हामीले अतिवादी सोच र अस्थिरता सिर्जना हामीबाट हुनु हुँदैन । मलाई डर के छ भने भर्खर संविधान आएको छ, केही अतिवादी शक्तिहरू छन् यसमा अलिकतिमात्र गडबडी हुनेबित्तिकै उनीहरू हाबी हुन्छन् । कति अस्थिर बनाउने यो राष्ट्रलाई ? त्यसकारण यो मेरो नितान्त व्यक्तिगत धारणा भयो । अब पार्र्टीको धारणा नयाँ केन्द्रीय समितिबाट छलफल भएर जे आउँछ त्यही हुन्छ । 
तराई—मधेसमा अहिले पनि आन्दोलन छ । तपाईंले पनि निर्वाचित भएपछि मधेस प्रजातन्त्रको मुहान हो म त्यसको समाधान गर्नमा लाग्छु भन्नुभएको थियो । मधेस समस्या कसरी समाधान हुन्छ जस्तो लाग्छ तपाईंलाई ?
अहिले मधेसमा जुन पार्टीहरू छन् उनीहरूका भिन्न मत रहेका छन् । प्रारम्भिक चरणमा हामीले ती मधेसका पार्टीहरूसँग वार्ता गर्नुपर्छ । उनीहरूका भावनाहरू समेट्ने गरी र अरूलाई वञ्चित नहुने गरी एउटा सहमतिमा जानुपर्छ । यो अधिवेशनपछि त झन् हाम्रै अग्रसरतामा मधेस समस्या समाधान गर्नुपर्ने दायित्व आएको छ । यसमा समय लाग्ला तर पनि छिटोभन्दा छिटो सीमांकनको विषय टुंगो लगाउनुपर्नेछ । तर यहाँ समस्या के छ भने मधेसमा पनि स्पष्ट दृष्टिकोण बनेको छैन । त्यहाँ पनि विभिन्न दलहरूका चाहनाहरू भिन्न रहेका छन् । हुनत यस्तो हुनु अस्वाभाविक होइन । पूर्वी तराईको  एउटा परिस्थिति छ, मध्य तथा पूर्वमा अर्को समस्या छ । यो सबै स्थितिलाई एक ठाउँमा राखेर छलफल गर्नुपर्छ । त्यसपछि सीमांकनको टुंगो कहाँ गएर लाग्छ ? म त ईश्वर होइन के गर्दा सन्तुष्ट हुन्छन् भनेर भन्ने । पहिला के कुरामा उहाँहरूलाई आश्वस्त पार्नुप¥यो भने, कि तपाईंहरूको अधिकार हनन् हुँदैन तर तपार्इंहरूको अधिकार स्थापित हुँदै गर्दा अरूको अधिकारमा पनि हनन् हुनु भएन । मलाई लाग्छ अरू दलहरूले यसमा राम्रोसँग बुझेका छन् । त्यसैले अहिले संविधान कार्यान्वयनको पक्षमा यसमा सहमति मेलमिलाप नै अन्तिम अस्त्र हो । नत्र यसले फेरि अर्को अस्थिरता जन्माउने सम्भावना हुन सक्छ । 
कांग्रेसमा नेतृत्व परिवर्तनसँगै सरकार परिवर्तनको कुरा आएको छ । सरकार परिवर्तनभन्दा पनि यही सरकारलाई राखेर स्थिरतातर्फ जानुपर्छ भन्ने तपाईंको विचार हो ?
हैन । मैले भनेको छैन कि, यही सरकारले निरन्तरता पाउनुपर्छ भनेर । नेपाली कांग्रेसको केन्द्रीय समितिले पूर्णता पाइसकेपछि गहन छलफल हुनुप¥यो । यदि यो सरकार हटाउने हो भने कारण पनि त हुनुप¥यो नि । यो सरकारले यो यो काम गर्न सकेन र हामीले त्यो काम गर्न सक्ने सरकार बनाउनुप¥यो भनेर बताउन सक्नु प¥यो । पहिलो कुरा हामीले पनि अस्थिरता निम्त्याउने गरी जानु भएन । 
शेरबहादुर देउवा कांग्रेसको सभापतिमा निर्वाचित हुनेबित्तिकै सरकार परिवर्तनको कुरा ज्वलन्त रूपमा उठेको छ नि ?
त्यो किन पनि स्वाभाविक छ भने, हामी कांग्रेसजनलाई के लाग्छ भने हाम्रो नेतृत्वमा संविधान बनायौं हामी सरकारमा गयौं भने हामी सबैभन्दा राम्रोसँग कार्यान्वयन पनि गर्छौ । तर त्यो बोलेरमात्र त भएन नि । कार्यान्वयनमा जाँदै गर्दा, यावत् चुनौतीहरू सामना गर्दै गर्दा तपाईंले अरू दलहरूसँग समन्वयन गर्नुपर्छ कि पर्दैन ? गर्नु त प¥यो नि । नत्र भए फेरि संख्याले सरकार ढाल्ने र बनाउने  खेलमा मात्र लाग्दा फेरि पनि हामीले बाटो बिराउँछौ नि । एकातिर कार्यान्वयनको पक्ष छ जुन महत्वपूर्ण जिम्मेवारी पनि हो । अहिलेको सन्दर्भमा संविधान कार्यान्वयन सरकारभन्दा पनि बढी महत्वपूर्ण पक्ष हो हाम्रो लागि । 
हामीले अर्को सरकार निर्माण गर्दैगर्दा संविधानको कार्यान्वयनको पक्षमा केही तलमािथ हुन सक्छ कि सक्दैन ? जस्तो कि कांग्रेस, माओवादी र मधेसी मिलेर कार्यान्वयन सहज हुन्छ भने सरकार बनाउन सजिलो भयो । अथवा एमाले र कांग्रेसको संयुक्त सरकारले कार्यान्वयनको पक्ष बलियो पार्न सक्छ कि ? यो समीकरण तब स्पष्ट हुन्छ पहिलो त हाम्रो केन्द्रीय समितिले पूर्णता पाउनुप¥यो, हाम्रोबीचमा छलफल हुनुप¥यो, स्पष्ट धारणा बनाउनुप¥यो अनिमात्र अरूहरूसँग गएर छलफल गर्नुप¥यो । एकआपसमा धारणाहरू आदानप्रदान गर्नुप¥यो । केके कुरामा हामी मिल्न सक्छौं ? यदि नमिलेर बस्ने हो यो राष्ट्र नै अस्थिरताको भुँमरीमा फस्न सक्ने खतरा हुन्छ । त्यसैले हाम्रो पहिलो कार्यभार के हुन्छ भने अरू पार्र्टीहरूसँगको समन्वय नै हो । र अब निर्णय लिँदा यस्तो नहोस् कि दुई वर्षपछि पछुताउनु नपरोस् । 
कांग्रेसको १३ औं महाधिवेशनमा हिन्दुत्वको मुद्दा उठाउँदै आउनुभएका खुमबहादुर सहभागी भएको प्यानलबाट सभापति निर्वाचित हुनुभएको छ । यसले गर्दा अबको राजनीतिक कोर्समा कुनै फेरबदल आउन सक्ने आशंका गरिएको छ । यसमा तपाईंको टिप्पणी के छ ?
संविधानलाई हामीले ग्रहण गरिसकेका छौं । यद्यपि यो विषयमा छलफलै हुन नसक्ने चाहिँ होइन । हाम्रो केन्द्रीय समितिभित्र छलफल त हुन सक्छ । खुमबहादुरजीको कुराहरू पनि छलफलमा आउँछन् । तर फेरि पनि म भन्छु । त्यो विषय जुनसुकै होस्, चाहे हिन्दुको होस् चाहे मधेसीको होस् अथवा अरू नै केही होस् त्यसमा छलफल गर्दैगर्दा त्यसैले फेरि मुलुकमा अस्थिरता ननिम्त्याओस् । राजनीतिमा एजेन्डाहरू धेरै हुन्छन् । केही विषय दबिएको हुन्छ र समय आएपछि फेरि प्रकट हुन्छ । केही विषय राजनीतिक दलहरूले सिर्जना गर्छन्, परिस्थिति हेरेर । तर पनि त्यो विषय ल्याउँदा देशमा अस्थिरता बिल्कुलै हुनु भएन । म त झन् यस्तो क्षेत्रबाट प्रतिनिधित्व गर्छु जहाँ मठमन्दिरमात्र छन् । त्यहाँका मानिसहरू मलाई हरेक दिन भन्छन् हिन्दु राष्ट्र हुनुप¥यो भनेर । जनमतसंग्रहका कुराहरू गर्छन् । भोलि त यी सबै रणनीतिहरू कहिले बन्न सक्छ भने जब केन्द्रीय समितिको पूर्ण बैठक बस्छ । मैले पहिले पनि भनेको थिएँ कि, १३ औं महाधिवेशनले, हामीले २००३ सालदेखि आजसम्मको ७० वर्षको इतिहासलाई टेक्दै गर्दाखेरी पुनरावलोकन, पुनर्विचार गर्दैगर्दा हामीले अगाडिको बाटेहरू रोज्नुपर्छ । इतिहासमा टेकेर बाटो रोज्नुपर्छ । 
हिन्दू धर्मबारे पुनरावलोकन, पुनर्विचारसम्बन्धी यहाँको धारणा अलिक विवादित पनि बन्यो नि ?
यसमा के हुन्छ भने नि, इतिहासलाई नटेकिकन कुनै पनि निर्णय गर्न सकिँदैन । हामीले कुन कालखण्डमा कुन निर्णय गर्छांै त्यसलाई पूरा बिर्सेर हामी अगाडि बढ्नै सक्दैनौं । मैले के भनेको हो भने, यो १३ औं महाधिवेशन भनेको एक किसिमको रिट्रिट पनि हो । बीपीले त्यो बेलामा गरेको निर्णयहरू ठीक थिए कि थिएनन् ? यदि गलत थियो भने त्यसमा पनि प्रश्न गरिनुपर्छ भन्ने मेरो मान्यता हो । मान्छेहरूले बुझेका छैनन् मेरो आसयलाई । उहाँले गरेका सबै गलत भयो भन्ने होइन । पुनर्विचार गर्न जो डराउँछ नि उसले त राजनीति नै नगरे हुन्छ । यदि मैले जीवनमा कुनै गल्ती गरेको छु भने आत्माआलोचनाको पनि समय त आउँछ नि । के हामी आत्माआलोचना गर्न डराउने ? गल्ती गरेका छौं भनेर डराउने ? २०२७ सालमा बन्दुक उठाउने बीपीको निर्णय सही हो कि गलत हो भनेर आज नसोच्ने ? भन्दाखेरी हरेक कुराको हामीले पुनरावलोकन त गर्नैपर्छ । यस्तो गर्ने त्यही समय थियो १३ औ महाधिवेशन । तर हामीले कति ग¥यौं, कति गरेनौं आफ्नो ठाउँमा छ । यसरी मैले बोल्दै गर्दा अरुहरुले आफ्नो अनुकूलतामा मेरो धारणाको आशय परिवर्तन गरिदिए । 
मैले धेरै चोटी भनिसकेको छु कि संविधान आएको छ अब अस्थिरतातिर नजाउँ भनेर । तर के हुँदोरहेछ भने जब आफ्नो प्रतिकूलतामा स्थिती आउछ अनि यो शशांक कोइरालाले पुनरावलोकन भनेको पछाडि फर्कने, राजा ल्याउने हो भनेर व्याख्या गर्छन् । त्यो त मैले भनेको होइन नि, मेरो आसय त्यो होइन । आधा शब्दमात्र लिएर पूरै विचारलाई मारिदिने ? यो त राम्रो भएन नि । म त के भन्छु भने, झन्डै ६० वर्ष भयो देशमा अस्थिरता रह्यो । अब कति अस्थिर भइरहने ? स्थिरतामा मात्रै विकास हुन्छ । जनतालाई विचारसँग कुनै मतलव छैन । अहिले जुम्लाहुम्लामा गयो भने त्यहाँको जनताले हेर्दैनन् कि, बीपी कोइरालाको सिद्धान्त के थियो भनेर । उनीहरूलाई त औषधि चाहियो, शिक्षा चाहियो समृद्धि चाहियो न भन्छन् । त्यो त राजनीतिक स्थिरताले मात्रै दिन सक्छ । विकास नै हो सबैलाई चाहिने । जनता त परिणामसँग सरोकार राख्छन् । उनीहरूलाई कुनै पार्र्टीको इतिहास, विरासतसँग के सरोकार रह्यो र ? 
अन्त्यमा, सधैं महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद उत्पन्न हुने गर्दछ । यो क्रियाशील सदस्यताको विवाद अन्त्य गर्न के पहल गर्नुहुन्छ, महामन्त्रीको हैसियतले ?
क्रियाशील सदस्यताको विवाद अर्को महाधिवेशनको मुखमा रहन्छ भन्ने लाग्दैन । किनकि विधान संशोधन गरी संविधान अनुरूपको बनाउनका लागि पनि हामीले महासमिति बैठक बोलाउनै पर्छ । त्यही महासमितिको बैठकमा क्रियाशील सदस्यताका विषयमा छलफल हुनेछ । त्यहीँबाट एउटा टुंगोमा पुगिन्छ भन्ने लाग्छ  ।

]]>