देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदीमा बन्धक बनाइएका नेपालीको अझै उद्धार भएन

देशान्तर

साउदी अरब । साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन् । 

रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार गरिएको भए पनि उद्धारमा चासो नदिइएको पीडित नेपालीले गुनासो गरेका हुन् । उद्धारमा दूतावासले चासो नदिँदा स्वदेश फर्कन नपाएको उनीहरुले बताएका छन् । 

काठमाडौँ थापागाउँस्थित ‘अल नसिर ओभरसिजप्रालि’मार्फत २२ महिनाअघि साउदीको पश्चिमी क्षेत्र जेद्धामा रहेको ‘अम्जाद फइज अलओटाबी स्टाबिविस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका १० नेपालीको अझै उद्धार हुन सकेकोे छैन । पटक–पटक जेद्धास्थित महावाणिज्य दूतावासलाई उद्धार गरिदिन आग्रह गरिए पनि बेवास्ता गरिएको सुनसरीका कमुद्र्धिन मियाँले गुनासो गरे ।  
कम्पनीको अवस्था नाजुक बनेपछि यहाँको सरकारले रातो सूचीमा राखेकोे कारण २२ महिनाअघि साउदी आएका ती नेपाली कामदारको हालसम्म पनि आवास अनुमतिपत्र बन्न सकेको छैन । रोजगारदाता कम्पनीले परिचयपत्र लगायतका महत्वपूर्ण कागजात नबनाइदिएका कारण उनीहरु अलपत्र परेका हुन् । 

नेपाली कामदारलाई गैरकानुनी ढङ्गबाट लुकाईछिपाई अन्य कम्पनीमा काममा लगाइएको थियो । अवैध कामदारका रुपमा काममा लगाई एकातिर नेपालीले १० महिनादेखि काम गर्न पाएका छैनन् । यहाँको आवास अनुमतिपत्र नभएकै कारण बिरामी परेका उनीहरुले औषधी उपचारसमेत गर्न पाएका छैनन् । 

अवैध कामदार भएकै कारण ती नेपालीले स्वदेश फर्कनका लागि रु पाँच लाखदेखि रु छ लाखसम्म जरिवाना भुक्तान गर्नुपर्ने बताइएको छ । सो बराबरको रकम भुक्तान नगरी स्वदेश फर्कन नपाउने पीडित नेपालीले बताएका छन् । पटक पटक प्रहरीले पक्राउ गर्दै छाड्ने गरेका कारण पनि जरिवाना बढ्दै गएको छ । 

यता जेद्धास्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेल भने उद्धारको पहल भइरहेको बताउछन् ।  लामो समयसम्म गैरकानुनी रुपमा बसेका कारण पनि स्वदेश फिर्तीका लागि जरिवाना तिर्नुपर्ने कानुनी बाध्यता भएकाले समस्या देखिएको उनको भनाइ छ । 

]]>