देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थिमिका बासिन्दाद्वारा सडक कार्यालय घेराउ

देशान्तर

भक्तपुर।  भूकम्पपछि काम रोकिएको सडक निर्माणको माग गर्दै मङ्गलबार  थिमिका बासिन्दाले डिभिजन सडक कार्यालय भक्तपुर घेराउ गरे । 

    लोकन्थलीबाट सानोठिमी जाने १.८ किलोमिटर सडक तीन वर्षयता निर्माणका लागि ठेक्का परेपनि अझै काम सम्पन्न नभएपछि स्थानीयवासीले सडक निर्माण सम्पन्न गर्न माग गर्दै कार्यालय घेराउ गरेका हुन् । 

    स्थानिय राजनीतिक दलका नेताहरुको नेतृत्वमा करिब ३०० जनाको समूहमा आएका स्थानीयवासीले सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलोले र बर्खामा हिलोले निकै कष्टपूर्ण पारेको बताएका छन् । उनीहरुले तीन वर्षदेखि सडक भत्काएर राखेको छ, सडकमा खाल्डैखाल्डोले पानी पर्ने बित्तिकै हिलो र पानी जमेर आवतजावतमा समस्या पारेको र घाम लाग्दा धुलोले कष्ट पारेकोले आफूहरुले कार्यालय घेराउ गर्नुपरेको बताएका छन् । 

    मध्यपुर थिमि नगरपालिकाका वडा नं १५, १६ र १७ का स्थानीयवासीले कार्यालयमा एक घन्टा बसेर धर्ना दिएपछि सडक डिभिजन कार्यालयका प्रमुख देवेन्द्र साहले तत्कालै सडक निर्माण सुरु हुने वचन दिएपछि स्थानीयवासी फर्किएका थिए । 

    कार्यालयका प्रमुख साहले तीन वर्षअघि नै टेन्डर भएपनि ठेकेदारले काम सम्पन्न नगर्दा कारबाहीको सूचीमा राखेको बताए । गत वैशाखको भूकम्पपछि उक्त सडक बनाउने काम रोकिएको बताउँदै उहाँले त्यसपछिको इन्धन अभावले समस्या पारेपनि अबको चार दिनभित्रै उक्त सडक कालोपत्र गर्ने काम सुरु हुने बताए । 

]]>