देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डढेलोका कारण वन्यजन्तुले बासस्थान छाडे

देशान्तर

बाबियाचौर । डढेलोका कारण म्याग्दीका वनजङ्गलबाट वन्यजन्तुहरु विस्थापित हुन थालेका छन् । 

जङ्गलमा आगलागी भएपछि वन्यजन्तुहरु परम्परागत बासस्थान छाडेर अन्यत्र जान थालेका हुन् । डढेलोका कारण आहरा र बासस्थान नष्ट भएपछि वन्यजन्तु र पंक्षी आफ्नो बासस्थानबाट विस्थापित बनेका सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताए ।  

उनका अनुसार सुक्खा मौसम र लामो खडेरीसँगै वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेपछि वन्यजन्तुलाई बासस्थान र आहराको अभाव भएको छ । मृग, बाँदर, कालीज, दुम्सी, स्याल, चितुवालगायत वन्यजन्तु जङ्गलको बासस्थान छाडेर आहरा र बासको खोजीमा मानवबस्ती नजिक देखिन थालेका छन् । 

निस्कोट–३ छिसमा बिहीबार घाँस काट्न गएका स्थानीयले करिब एक महिनाको मृगको पाठा भेटाएर ईलाका वन कार्यालयलाई बुझाएका थिए । नजिकैको सामुदायिक वनमा डढेलो लागेपछि भाग्ने क्रममा अलपत्र अवस्थामा मानवबस्तीमा आइपुगेको उक्त मृगलाई शुक्रबार फेरि जङ्गलमै लगेर छाडिएको छ । 

वनरक्षक, प्रहरी, सामुदायिक वनका उपभोक्ता र स्थानीय अगुवाको रोहवरमा पाठोलाई जङ्गलमै लगेर छाडिएको ईलाका वन कार्यालय दरवाङका सहायक वन अधिकृत जयप्रकाश गुप्ताले जानकारी दिए ।  

मानवीय लापरबाही र राम्रो घाँस पलाउने गलत धारणाका कारण डढेलो लगाउने चलन छ । म्याग्दीका धेरैजसो सामुदायिक र राष्ट्रिय वन डढेलोका कारण उजाड भएका छन् । डढेलो लगाउनेलाई जरिवाना तिराउनेलगायत कानुनी कारबाही हुने व्यवस्था भएपनि कार्यान्वयनमा आउन सकेको छैन । 

]]>