चितवन। कोराकका ४९ वर्षिय भीमबहादुर चेपाङको चुलो दैनिक नबलेको पाँच महिना नाघेको छ । गएको असोजमा घरको खाद्यान्न सकिएपछि मेलापातबाट आएको पैसाले एकछाक टरे पनि अर्को छाक जङ्गली कन्दमूल र सागसब्जीले टर्दै आएको छ ।
भीमबहादुर प्रतिनिधि पात्र मात्र हुन्, जिल्लाको पहाडी गाविसका अधिकांश चेपाङ समुदायको पीडा एउटै रहेको छ । वर्षभरी आफ्नैबारीमा उब्जिएको खाना पाउनेको सङ्ख्या निकै कम छ ।
सिद्धि गाविस– ४ का ज्ञानबहादुर प्रजाको परिवारलाई ६ महिना आफ्नैबारीको अन्नले पुगेपनि दुई महिना निबेक ज्यालामा दिन टर्दै आएको छ । निवेकले दुई छाक कठिन हुने बताउँदै उनले वनको गिठ्ठा, तरुल, सिस्नो, टाँकी, न्यूरो, जलुको जस्ता कन्दमूल र सागसब्जिले दैनिकी टरेको बताए ।
भूकम्पले घर भत्किएपछि अझैसम्म पालमुनि बास बसिरहेको बताउँदै प्रजाले भने, “खाने छैन, बस्ने ठाउँ पनि छैन, यो भन्दा दुःख अरु के हुन सक्छ ।” कोराक दोबाटेका ५५ वर्षीय डिल्लीराज प्रजाको आफ्नैबारी नभए पनि खेती गरेको ऐलानी जग्गाको आम्दानीले ६ महिना पनि पुग्दैन । चार छोरा र ६ छोरीका बाबु प्रजा आजभोलि छोराछोरीको निबेकले घर धान्न थालेको बताउछन् ।
उनका छोराछोरी जिल्लाकै तराईमा झरेका छन्, उनीहरुको कमाइले नै घरखर्च जेनतेन चलेको छ । जिल्लामा २९ हजार चेपाङ बसोवास गर्छन् । नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङ पहाडी क्षेत्रमा बसोवास गर्दै आएका चेपाङले निकै कष्टकर जीवन बिताइरहेको बताउछन् । उनीहरु अहिले अनिकालबाट गुज्रिरहेका छन् ।
“जिल्लामा रहेका चेपाङ समुदायमध्ये २५ प्रतिशतलाई तीन महिना मात्र आफैँले कमाएको बारीको अन्नले खान पुग्छ,” उनले भने । अध्यक्ष चेपाङका अनुसार पचास प्रतिशतलाई ६ महिना, १२ प्रतिशतलाई नौ महिना खान पुग्छ भने वर्षभरी खान पुग्नेको सङ्ख्या १३ प्रतिशत मात्रै छ ।
जिल्लाका ८५ प्रतिशत चेपाङ सुकुम्बासी छन् । बाबुबाजेको पालामा डाँडामा झुप्रो हालेर बसेका चेपाङले विसं २०२६ मा नापी हुँदा थाहा नपाएकै कारण आजसम्म सुकुम्बासी जीवन बिताउँदै आएका छन् । जिल्लाका सिद्धि, लोथर, कोराक, शक्तिखोर, काउले, चञ्डिभञ्ज्याङ, कविलास, दाहाखानी र दारेचोकमा चेपाङ समुदायको बसोवास रहेको छ ।
चैतदेखि असारसम्म मुख्य रुपमा चेपाङ समुदायले खाद्य सङ्कट झेल्ने गरेको सङ्घका जिल्ला सचिव भीमबहादुर चेपाङ बताउछन्। कोराकको किरनटार प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिलाल प्रजा अधिकांश बालबालिका भोकै स्कुल आउने गरेको बताउछन्। “स्कुलमा खाजा कार्यक्रम भएकाले बालबालिका स्कुल आउने गरेका छन्, तर घरमा अधिकांश भोकभोकै बस्छन्” उनले भने।
असोज महिनायता पहाडी क्षेत्रका प्राथमिक विद्यालयमा खाजा दिन थालिएको छ । खाजाकै कारण विद्यार्थी विद्यालय आउने क्रम बढेको छ । महिनामा एक दिन मासु, र दैनिक रुपमा पालो गरी केराउ, चना, सागपात, आलु, चिउरा, जाउलो जस्ता खानेकुरा बालबालिकालाई खुवाउने गरिएको प्रधानाध्यापक प्रजा बताउछन् ।
जिल्लाको पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता रहेको छ । धेरैजसोसित आफ्नै जग्गा छैन । चेपाङ जातीको सङ्ख्या नेपालमा ६८ हजार रहेको तथ्याङ्क छ । उनीहरुको चितवनसहित मकवानपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, बाँके र बर्दियामा बसोवास रहेको बताइएको छ ।
]]>
प्रतिक्रिया