देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोलखा कांग्रेसको स्थानिय नेतृत्वमा अधिकांश युवा

देशान्तर

चरीकोट । कांग्रेसको तल्लो तह गाउँ तथा वडामा अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन्। पार्टीको जिल्ला निर्वाचन समितिले दिएको विवरण अनुसार जिल्लाका ४८ गाउँ र २ नगरका २४ वडामा सम्पन्न अधिवेशनहरुबाट प्राय तरुण युवाहरु निर्वाचित भएका छन्। गाउँ तथा नगर वडामा प्राय बुढापाकाले सम्हालेको नेतृत्व यस पटक युवामा हस्तान्तरण हुदै गएको देखिएको छ।

पार्टीको जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिमा समेत अधिकांश युवा साथै नयाँ अनुहार आएका छन्। काटाकुटी गाविसमा २६ वर्षीया उर्मिला कार्की सभापति बनेकी छिन्। गौरीशंकरमा २८ वर्षीय सुजन गुरुङ सभापति बनेका छन्। मालु गाउँमा २९ वर्षीय युवा गोपाल तिमल्सिना सभापति निर्वाचित भएका छन्।  भीमेश्वर नगरपालिका–१ मा हरिशरण शिवाकोटी, ५ मा लोकशंकर चौलागाई, ३ मा बिराजमान श्रेष्ठ, ७ मा ध्रुव सापकोटा, १० मा राजु थापा, चिलंखा गाविसमा मधुकर गुरुङ, लादुकमा नउस खड्का, ओराङमा श्यामकृष्ण ठकुरी, हावामा शिव सुनुवार, शैलुङ्गेश्वरमा मानबहादुर थपलिया, लाँकुरीडाँमा बलमान तमाङ, झुलेमा नानीकाजी तमाङ सभापति चुनिएका छन्। उनीहरु सबै ३५ वर्ष मुनीका हुन्।  

गाउँका कार्यसमितिहरु समेत तरुण युवाले भरिएका छन्। बाबरे गाउँ समितिमा २३ बर्षीय चन्द्रकुमार श्रेष्ठ सचिव बनेका छन्। जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्न आउने मध्ये क्षेत्रीय प्रतिनिधिसमेत युवा नै बढी छन् । दक्षिणी भेगका गाउँहरुबाट जिल्ला अधिवेशनमा भाग लिन आउने क्षेत्रीय प्रतिनिधि मध्ये ४० प्रतिशत ३५ बर्ष मुनीका युवाहरु छन् । उत्तर, पुर्व र पश्चिमका गाउँहरुमासमेत नयाँ अनुहार र तरुण युवा बढी आएपछि जिल्ला अधिवेशनका आकांक्षीहरु उनिहरुलाई फकाउन नयाँ रणनिती बनाउन लागिपरेका छन्। मालु गाउँबाट खुल्ला तर्फका क्षेत्रिय प्रतिनिधिमा सबै ३० बर्षका मुनिका युवाहरु आएका छन्।  

अधिकांश गाउँमा नयाँ अनुहारसमेत आएका छन्। केही ठाउँमा अन्य पार्टीबाट संविधान सभा निर्वाचनमा कांग्रेस भित्रिएकाहरु सभापति बनेका छन्। अधिकांशले जिल्ला अधिवेशनमा भाग लिने क्षेत्रीय प्रतिनिधि बनेका छन् । नेविसंघको राजनीतिमा संलग्नहरु भीरकोटबाट महेश काफ्ले, मालुबाट भीम खड्का, शहरेबाट भुवन केसी, सुरज केसी, नाम्दुबाट राजु लामा, गौरीमुदीबाट सुवास लामालगायत बिद्यार्थी राजनितिमा संलग्नहरु अधिवेशन प्रतिनिधि बनेका छन्। हालका जिल्ला सभापति ताराबहादुर कोइरालाले गाउँ समितिका नेतृत्व पुस्ता हस्तान्तरणमा गएको बताए। ‘गाउँ अधिवेशन पछिको अवस्था हेर्दा अधिकांश स्थानमा नयाँ अनुहार देखिन्छ, जुन सकरात्मक हो’ उनले भने, ‘यसले गाउँमा पुस्ता हस्तान्तरण हुन थालेको संकेत देखिन्छ ।’ 

]]>