देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका पूर्वमन्त्री, सांसद र केन्द्रीय नेता वडामै पराजित

देशान्तर

काठमाडौं । १३ औँ महाधिवेशनअन्तर्गत १५ माघमा सम्पन्न कांग्रेस गाउँ र नगरको निर्वाचनको नतिजा धेरै नेतालाई अप्रिय भएको छ। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका र प्रभावशाली पदमा पुगिसकेकाहरूलाई गाउँ र नगरका कार्यकर्ताले असफल बनाइदिएका छन्। जिल्ला, केन्द्रको राजनीतिमा राम्रै प्रभाव बनाएका केही नेता, पूर्वसांसद र  पूर्वमन्त्री महाधिवेशनसम्म पुग्ने भर्‍याङको रूपमा रहेको बुथ प्रतिनिधि हुनबाटसमेत वञ्चित भएका छन्।

वर्तमान केन्द्रीय समितिका आमन्त्रित केन्द्रीय सदस्य केशव सिंहले गृहजिल्ला डडेलधुरामा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्न प्रस्तावक र समर्थक नै पाएनन्। वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा प्रस्तावक र समर्थक बस्ने नपाएपछि उनी उम्मेदवार नै बनेनन्।  आमन्त्रित केन्द्रीय सदस्य बुथ समितिबाटै आउनुपर्ने प्रावधान कांग्रेस विधानमा छ।

 यस्तै ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा ऊर्जाराज्यमन्त्री रहेका चन्द्रसिंह भट्टराई कैलालीको क्षेत्र नं. १ मा पर्ने टीकापुर नगरपालिकाको वडामै पराजित भएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुन्। ०५६ को प्रतिनिधिसभामा कैलाली–१ की सांसद तथा ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी सुशीला स्वाँर पनि टीकापुर नगरपालिकाको वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन्।

त्यसैगरि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका वेला ०५६ मा राष्ट्रिय सभाको सांसद बनाइएका हीरादत्त भट्ट पनि कैलालीमा वडाबाटै पाखा लागेका छन् ।  ०६४ सालको पहिलो संविधानसभामा समानुपातिकतर्फकी सभासद् उर्मिला थापा तनहुँको घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित भएकी छिन् । ०४८ मा कञ्चनपुरबाट प्रतिनिधिसभाको सांसद जितेका गंगादत्त जोशी इकाइमै पराजित भए। उनी किसान संघका पूर्वसभापति हुन्।

०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट जितेका गंगाबहादुर कुँवर क्षेत्र नम्बर–१ को बुथमै पराजित भएका छन्। ०५६ मा बाँके–३ बाट प्रतिनिधिसभा सदस्य जितेका कैलाशनाथ कसौधनले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता गर्न नै पाएनन्।  भवानीयापुर बुथ इकाइमा उनलाई उम्मेदवारी दर्ता गर्नै दिइएन। नेपालगन्ज–४ का बासिन्दा कसौधनले भवानीयापुरमा क्रियाशील सदस्यता सारेर क्षेत्रीय प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेपछि उनलाई कार्यकर्ताले रोकेका हुन्।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>