देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरियाका दाता राष्ट्रहरुको सम्मेलन लन्डनमा

देशान्तर

लन्डन । सिरियालाई सहयोग गर्दै आएका विश्वका विभिन्न दाता राष्ट्रहरुको सम्मेलन लन्डनमा हुने भएको छ । 

आगामी बिहीबार सो सम्मेलन हुन लागेको जनाइएको हो । उक्त सम्मेलनमा सिरियाली गृहयुद्धमा परेका नागरिकलाई सहयोग गर्दै आएका देशहरुको सहभागिता हुने जनाइएको छ । 
उक्त सम्मेलनमा सिरियाका दशौंलाख शरणार्थीको सहयोगका लागि आवश्यक रकमको प्रतिबद्धता व्यक्त हुने र आवश्यक रकमका लागि छलफल हुने पनि जनाइएको छ । 
सिरियाका दशौँ लाख नागरिक विगत लामो समयदेखि शरणार्थीका रुपमा बाँचिरहेकोले उनीहरुका साथै युरोपमा छिरेका अन्य शरणार्थीका लागि सो सम्मेलनमा कम्तीमा पनि नौ अर्ब अमेरिकी डलर रकमको प्रतिबद्धता आउने बताइएको छ । 
सो बैठक सिरियाली दाताराष्ट्रहरुका रुपमा यो चौथो पटक बस्न लागेको हो । यस पटकको बैठकमा सिरियाली नागरिककै लागि कम्तीमा पनि ७ अर्ब ७३ करोड अमेरिकी डलर बराबरको रकम जम्मा गर्ने विषयमा छलफल हुने बताइएको छ । 
सिरियाली शरणार्थीकै लागि कम्तीमा पनि त्यति रकम आवश्यक रहेको संयुक्त राष्ट्रसंघले पनि बताउदै आएको छ । 
साथै यस बैठकमा सिरियाबाहेकका अरु देशका शरणार्थीको सहयोगका लागि पनि आवश्यक परामर्श हुने जनाइएको छ । 
केही समययता युरोपका पनि कैयौँ देशमा शरणार्थीको ओइरो लागेको बताइन्छ । जसका कारण त्यहाँ पनि शरणार्थीका लागि आवश्यक सहयोग पुग्न सकेको छैन । 
सोही कारण पनि ती देशका शरणार्थीका लागि तत्कालका लागि करिब १ अर्ब २३ करोड अमेरिकी डलर रकमका लागि दाताहरुले प्रतिबद्धता गर्नेछन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सो बैठकको आयोजना गरेका हुन् । उक्त बैठकमा विश्वका कम्तीमा पनि ७० देशका नेताहरुको सहभागिता हुने जनाइएको छ । 
उक्त सम्मेलनमा जर्मन चान्स्लर एन्गेला मार्केल, संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुन, लेबनानी प्रधानमन्त्री तम्मम सलाम र चिनियाँ विदेशमन्त्री वाङ यि को सहभागिता रहने छ । 
सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलनले त्यसको दुई वर्षपछि नै सिरियामा गृहयुद्धको रुप लिएको थियो । 
सो गृहयुद्धमा परी कम्तीमा पनि २ लाख ६० हजार सिरियालीको ज्यान गइसकेको छ । लाखौँ नागरिक घरबारबिहीन भएका छन् । 
सो गृहयुद्धले गर्दा सिरियाका करिब ४५ लाख नागरिकले घर छोडेका छन्। । उनीहरु छिमेकी देशहरुमा शरण मागेर बसिरहेको समाचारमा जनाइएको छ । 
गृहयुद्धका कारण घर छोडेर भाग्न बाध्य लाखौँलाख शरणार्थी छिमेकी देशहरु जोर्डन, लेबनान, टर्की, इराक, इजिप्टलगायतमा शरणार्थीका रुपमा बस्न बाध्य भएका छन् । 
भोकमरीकै कारण त्यहाँ लाखौं जनता प्रभावित भएको विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन् । विद्रोही र सरकारी सेनाको चुपुवामा परेका नागरिकहरुको साहयताको लागि सयुक्त राष्ट्र संघले पनि अपिल गरेको छ । 

]]>