देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिका संक्रमणप्रति अन्तर्राष्ट्रिय आपत्‌काल

देशान्तर

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले लामखुट्टेजन्य जिका भाइरसको संक्रमणलाई लिएर अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको छ । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ । नेपालमा जिकाको सम्भावित संक्रमण पहिचान गर्न स्वास्थ्य सेवा विभागले डब्लूएचओको सहयोगमै किट ल्याउने प्रक्रिया सुरु गरेको छ । हालसम्म मुलुकमा जिका भएरनभएको जाँच्ने सुविधा छैन । विभागकी महानिर्देशक डा. पुष्पा चौधरीका अनुसार तत्काल एक हजार किट मगाउने प्रक्रिया अघि बढाइएको छ ।

तर त्यसअघि संक्रमण आशंका गरिए परीक्षण गर्न भारतमा पठाइने उनले बताइन् । हाल भारतको पुनास्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलजीले जिका परीक्षण गर्छ । जिकाको विषयमा केन्द्रित रही सोमबार भएको डब्लूएचओ आकस्मिक समितिको बैठकमा प्राप्त सल्लाहअनुसार डब्लूएचओकी महानिर्देशक मारग्रेट चानले आपत्कालीन स्थिति घोषणा गरेकी हुन् । १८ विशेषज्ञ र सल्लाहकार सम्मिलित समितिको बैठक टेली कन्फरेन्सबाट आयोजना गरिएको थियो ।

डब्लूएचओले जिकासँग जुध्न अन्तर्राष्ट्रियस्तरमा गरिने प्रयासहरूमा तीव्रता ल्याउनसमेत भनेको छ । डब्लूएचओ दक्षिणपूर्व एसियाका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल सिंहले यो क्षेत्रका मुलुकमा जिका भाइरसको निगरानी बलियो बनाउनुका साथै बचाउका उपाय अपनाउन आग्रह गरेकी छन् । उनले मंगलबार जारी गरेको विज्ञप्तिमा यस क्षेत्रका धेरै ठाउँमा जिका भाइरस फैलाउने एडिस एजेप्टी लामखुट्टे पाइने र यहाँ रोग प्रतिरोधक क्षमता कम भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । विगतमा थाइल्यान्ड र माल्दिभ्समा फाट्टफुट्ट जिका संक्रमण देखिएको उनले उल्लेख गरेकी छन् । संकटकाल घोषणामा डब्लूएचओले जिका प्रभावित राष्ट्रको यात्रा वा व्यापारमा कुनै पनि प्रकारको प्रतिबन्ध सिफारिस भने गरेको छैन । ‘अहिले लामखुट्टेको संख्या नियन्त्रण गर्नुका साथै जोखिममा रहेका व्यक्तिसँगै खासगरी गर्भवती महिलाहरू लामखुट्टेको टोकाइबाट बच्नु जरुरी छ,’ चानले भनेकी छन् ।

नेपालमा जिका प्रभावित राष्ट्रबाट सिधै वा भारत भएर आउनेबाट यो रोग फैलिने सम्भावना छ । ‘जिका फैलिन संक्रमित व्यक्ति मुलुकमा आउनुपर्छ र यहाँ एडिस ९दिउँसो टोक्ने० लामखुट्टेले त्यस्ता व्यक्तिलाई टोकेर अरूलाई टोक्नुपर्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।बाबुराम मरासिनीले भने । विश्वभरि आतंक मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरु भएर २४ मुलुकमा फैलिसकेको छ । जिका जन्मदोष र मस्तिष्कसम्बन्धी विकारमा जिम्मेवार छ । गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउकोसहित जन्मिन्छ ।

यो भाइरसका कारण ज्वरो भएकाहरूको जीउ दुख्छ, जोर्नी दुख्छ, शरीरमा बिमिरा देखिन्छ, आँखा सुनिन्छ । हालसम्म जिकाको कुनै खास उपचार वा खोप छैन ।  सन् १९४७ मा युगान्डास्थित ‘जिका’ को जंगलमा बाँदरमा देखिएको यो भाइरसको संक्रमण सन् १९५४ मा पहिलो पटक मानिसमा भेटिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>