देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजश्वमा लक्ष्यको ७६ प्रतिशत मात्र प्रगति

देशान्तर

काठमाडौँ। चालु आर्थिक वर्ष २०७२÷७३को राजश्वमा लक्ष्यको तुलनामा करिब ७६ प्रतिशत मात्र प्रगति भएको छ । 

चालु आवका लागि राजस्वको कूल लक्ष्य रू ४७५ अर्ब एक करोड प्रक्षेपण गरिएकोमध्ये २०७२ पुस महिनासम्मको लक्ष्य रु २१६ अर्ब ५९ करोडमा रू १६४ अर्ब ३३ करोड सङ्कलन भई लक्ष्यको तुलनामा करिब ७६ प्रतिशत मात्र प्रगति भएको हो । 

आव २०७१÷७२ को पुससम्ममा रू १८५ अर्ब ४८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू १९० अर्ब ५२ करोड सङ्कलन भई लक्षको तुलनामा १०२.७२ प्रतिशतले प्रगति भएको थियो । चालु वर्षमा पुस मसान्तसम्म राजस्व सङ्कलनमा लक्ष्यभन्दा करिब रु ५२ अर्ब कमी आएको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव मुकुन्दप्रसाद पौड्यालले जानकारी दिए । 

यो कमीका कारण प्रक्षेपित खर्चका लागि स्रोतको अभाव हुन नदिन वैकल्पिक स्रोत परिचालनका उपाय अवलम्बन गरिएको छ । यसैमध्ये वैदेशिक सहायतातर्फ लामो समयसम्म सोधभर्ना हुनबाँकी रहेको रकम मध्येबाट पुस मसान्तसम्म रु २३ अर्ब ५१ करोड सोधभर्ना प्राप्त गरिएको छ । 

सार्वजनिक खर्चको अवस्थालाई हेर्ने हो भने यही पुस मसान्त सम्ममा चालुतर्फ रु १२६ अर्ब, पँुजीगत खर्चतर्फ रू १३ अर्ब ६३ करोड र वित्त व्यवस्थातर्फ रू १९ अर्ब ७६ करोड गरी जम्मा रु १५९ अर्ब ४० करोड अर्च भएको छ । पुस मसान्तसम्ममा सरकारको सञ्चित कोषमा रू ४८ अर्ब ८ करोड बचत रहेको छ । गत वर्षको फ्रिज रकम रू ३३ करोड ८१ लाख जोड्दा कुल बचत रू ८१ अर्ब ८९ करोड पुगेको छ । गतवर्ष यो अवधिमा रू ७२ अर्ब १५ करोड बचत रहेको थियो । 

प्रवक्ता तथा सहसचिव पौड्यालका अनुसार आव २०७२÷७३ को पुस महिनासम्मको बजेट विवरण सार्वजनिक भइसकेकको अवस्थामा बजेटको मध्यावधि मूल्याङ्कन गर्ने कार्य भइरहेको छ । त्यसैगरी अर्थ मन्त्रालयबाट २०७२ पुससम्ममा प्रधानमन्त्री तथा दैवीप्रकोप उद्धार कोषमा रू ९ अर्ब ५० करोड निकासा भएको छ । 

]]>