देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आठ वर्ष जेल काटेपनि चरेसकै धन्दा

देशान्तर

काठमाडौं । अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर २० वर्षदेखि चरेसको कारोबार गर्दै आएका दिलबहादुर डिबी गुरुङ ९० केजी चरेससहित पक्राउ परेका छन्। किताब तथा जुत्ताभित्र लुकाएर तस्करी गर्न लागेको चरेससहित गुरुङका पाँचजनाको समूहलाई लागुऔषध नियन्त्रण ब्युरो एनसिबीले पक्राउ गरेको हो। आठ वर्ष जेलसमेत बसिसकेका गुरुङ नेपालमा लागुऔषध कारोबार गर्ने गिरोहका नाइके भएको ब्युरोका एसएसपी गणेश केसीले बताए।  

‘उनले भारत हुँदै चीन, हङकङ र युरोपसम्म चरेस पठाउने गरेको खुलेको छ,’एसएसपी केसीले भने, ‘चिनियाँ सिमकार्ड तथा डलरसमेत बरामद भएकाले उनी अन्तर्राष्ट्रिय गिरोहमा प्रत्यक्षमा रूपमा आबद्ध भएको देखिन्छ।’ प्रहरीले उनका सहयोगीहरू हेरमान तामाङ, अक्कलबहादुर तामाङ, धनबहादुर गुरुङ र नरबहादुर गुरुङलाई पनि पक्राउ गरेको छ। हेरमान र अक्कललाई बूढानीलकण्ठको नारायणस्थान चोकबाट सोमबार पक्राउ गरेको हो। हेरमानकै डेराबाट ९० केजी ५६ ग्राम चरेससहित उनीहरू पक्राउ परेका थिए।

बरामद चरेस भारत पठाउने जिम्मेवारी नरबहादुर र धनबहादुर गुरुङले पाएका थिए। दिलबहादुरले पैसा दिएर उनीहरूलाई धादिङबाट चरेस काठमाडौं ल्याउन लगाई भारत पठाउने जिम्मेवारी दिएका थिए।  ०५४ देखि दिलबहादुर चरेस कारोबारको आरोपमा प्रहरी छानबिनमा तानिएका व्यक्ति हुन्। ०५४ मा थानकोट बसपार्कबाट प्रहरीले ना अ ख ३११५ नम्बरको ट्याक्सीबाट ५० केजी चरेससहित दीपेन्द्र मगर र रामबहादुर हमाललाई पक्राउ गरेको थियो।

अनुसन्धानको सिलसिलामा दिलबहादुरले उनीहरूलाई चरेस ओसार्न लगाएको खुलेको थियो। मुद्दामा फरार रहेका उनलाई यही वर्ष जेठमा प्रहरीले पक्राउ गरेको थियो। जसमा उनी दुई लाख धरौटी राखेर छुटेका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>