देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवरोध छिचोल्दै मधेसमा कांग्रेस ​अधिवेशन

देशान्तर

काठमाडौं ।  आन्दोलनरत संयुक्त मधेसी मोर्चाको अवरोध र धम्कीका बाबजुद पनि मध्यपूर्वी मधेसमा कांग्रेस अधिवेशन धमाधम भइरहेको छ। सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा मोर्चाले कांग्रेसको अधिवेशनमा अवरोध पुर्यािउन खोजेका थिए। मोर्चाका अवरोध छिचोल्दै कांग्रेसले मधेसका जिल्लामा चुनावी प्रक्रियाबाटै आफ्ना प्रतिनिधि चुनिरहेको छ। मोर्चाको विरोधका बाबजुद कांग्रेस सप्तरीको गाउँदेखि नगरस्तरसम्मको अधिवेशन सफलतापूर्वक सकिएको छ।

अधिवेशनमा पहिला जस्तो चहलपहल र उत्साह भने यसपालि देखिएन। ुलोकतान्त्रिक पद्धतिलाई मान्नेहरूले कम्तीमा एकअर्काको राजनीतिक कार्यक्रम बिथोल्ने कार्य गर्न सुहाउँदैन,ु कांग्रेस सप्तरी सभापति दिनेशकुमार यादवले भने, 'हामीले सुरुदेखि नै अधिवेशन आफूहरूको नियमित प्रक्रिया रहेको भन्दै यसमा प्रतिरोध नगरिदिन मोर्चालाई आग्रह गरेका छौं, यद्यपि गाउँदेखि नगरस्तरसम्म उनीहरूको अवरोधात्मक कार्य भन्ने रोकिएको छैन।'  मोर्चाको अवरोधका कारण कतिपय गाविसमा अत्यन्त गोप्य तरिकाले अधिवेशन सम्पन्न गरिएको छ भने कतिपय गाविसमा विरोधबीच चुनाव गरिएको छ। निर्धारित कार्यतालिकाबमोजिम माघ १५ गते सप्तरीका ८१ वटा गाविस र पाँच नगरपालिकासहितका सबै वडामा अधिवेशननिम्ति ठाउँ निर्धारण गरिएको भए पनि दुई दर्जन गाविसमा असहज परिस्थिति भन्दै सूचनै टाँसेर अधिवेशन स्थगित गरिएको थियो। तर, त्यसै राति ती सबै ठाउँमा गाउँस्तरका प्रभावशाली कांग्रेस नेताको घरमै अधिवेशन सम्पन्न गरी प्रक्रिया पुर्या,इएको कांग्रेसनिकट स्रोतले जनाएको छ।

कतिपय स्थानमा असहज परिस्थिति देखिएपछि प्रहरीले मोर्चाका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर समेत अधिवेशन गरिएको छ। सोमबारै हुने भनिएको राजविराज नगरपालिकाको अधिवेशन मोर्चाका नेता–कार्यकर्ताको प्रतिवादकै कारण मंगलबार मात्रै सम्पन्न भयो। मोर्चाको विरोधलाई प्रतिवाद गर्न कांग्रेसी युवासमेत तयार भएपछि अधिवेशन सम्पन्न भएको हो। सोमबारै विरोध गर्न गएका मोर्चाका युवा तथा विद्यार्थीलाई कांग्रेसी युवा विद्यार्थीले अधिवेशनस्थलबाट हातपात गर्दै लखेटेका थिए। त्यसक्रममा विद्यार्थी फोरमका केन्द्रीय नेता तारकेश्वर यादव घाइतेसमेत भएका थिए। यता, मंगलबारसमेत अधिवेशनस्थलबाहिर मोर्चाका नेता–कार्यकर्ताले विरोध प्रदर्शन थालेपछि प्रहरीले झन्डै दुई दर्जनलाई नियन्त्रणमा लिएको थियो। मधेसी मोर्चाको छिटफुट अवरोधका बाबजुद महोत्तरीको गौशाला नगरपालिकामा कांग्रेसको नगरस्तरीय अधिवेशन सम्पन्न भएको छ। गौशाला नगरपालिका–६ मा वडास्तरीय अधिवेशनक्रममा मोर्चाले अधिवेशनस्थलमा तोडफोड गरेर अवरोध गरे पनि मंगलबार अधिवेशन सम्पन्न भएको कांग्रेस महोत्तरी सभापति महेन्द्रकुमार रायले बताए ।

बर्दिबासनगर र जलेश्वरनगरको नगरस्तरीय अधिवेशन अझै पनि जारी रहेको नेता रायले जनाएका छन्। बर्दिबासको नेतृत्वनिम्ति बैकुण्ठ कोइराला र मानकीराज काफ्लेबीच प्रतिस्पर्धा देखिएको छ भने जलेश्वरमा श्यामनन्दन साह र अशोक साह प्रतिस्पर्धी हुन्। ‘कतै–कतै अवरोध भयो तर अधिवेशनमा सहभागी हुने कार्यकर्ता नै बढी भएकाले मोर्चाको अवरोधको खासै प्रभाव परेन,’ सभापति रायले भने, ‘जलेश्वर क्षेत्रमा हुनसक्ने अवरोधलाई हेरेर हामीले सुरक्षामा ध्यान दिएका छौं।’  मोर्चाको अवरोध र नेतृत्व विवाद हुँदा पनि महोत्तरीको ६५ मध्ये ६० गाविसमा कांग्रेसले गाउँस्तरीय अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन सम्पन्न हुन बाँकी रहेका ५ गाविस मोर्चाको अवरोध र नेतृत्व विवाद रहेकाले अधिवेशन सम्पन्न हुन नसकेको पार्टीले जनाएको छ।

पिगौना, पर्सापतैली र सिस्वाकटैया नेतृत्व विवादका कारण गाउँस्तरीय अधिवेशन सम्पन्न हुन सकेको छैन भने हतिसर्वा र एकरहिया गाउँमा मोर्चाको विरोधका कारण गाउँस्तरको अधिवेशन सम्पन्न हुन नसकेको सभापति रायले जानकारी दिए। देशको प्रमुख तथा पुरानो पार्टी कांग्रेसले महोत्तरीको अधिकांश गाउँ र नगरमा कागजमै अधिवेशन सम्पन्न गरेकोमा स्थानीयस्तरमा आलोचना हुन थालेको छ। महोत्तरीमा ६ निर्वाचन क्षेत्र, ३ नगरपालिका तथा ६५ गाविस रहेको र ६ हजार ५ सय क्रियाशील सदस्य रहेको महोत्तरी कांग्रेसले जनाएको छ। धनुषा कांग्रेसले पनि मोर्चाको अवरोध झेल्दै गाउँ र नगरको अधिवेशन आंशिक रूपमा सम्पन्न गरेको छ। माघ १६ सम्म गाउँ र वडा तथा १७ गतेसम्म नगरको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने तालिका भए पनि आन्दोलनकारीको अवरोधको कारण प्रभावित भएको हो। गाउँ र नगरको वडा अधिवेशन गराउन जिल्लामा कूल एक सय ५६ निर्वाचन अधिकृत परिचालन गरिएकोमा माघ २० सम्म जम्मा २५ जना निर्वाचन अधिकृतले आफूलाई अधिवेशन सम्पन्न भएको प्रतिवेदन बुझाएको केन्द्रबाट खटाइएका अधिवेशन प्रतिनिधि परशुराम कोइरालाले जानकारी दिए।  

उनले जिल्लाको ५ बाहेक १ देखि ७ नम्बर निर्वाचन क्षेत्रमा ४ दिनअगावै निर्वाचन अधिकृत पठाइसके पनि बुधबार साँझसम्म २५ ठाउँको अधिवेशन मात्रै सम्पन्न भएको जानकारी प्राप्त भएको उनले बताए। धनुषा–५ मा भने आन्तरिक तयारीमा ढिलाइ भएकाले अहिलेसम्म निर्वाचन अधिकृत पठाउन नसकिएको कोइरालाले बताए। कांग्रेसका स्थानीय नेताले भने गुटगत विवादका कारण ५ नम्बर क्षेत्रको अधिवेशनलाई ओझेलमा पारिएको गुनासो गरेका छन्। 'देशैभर तीव्र गतिमा गाउँ र नगरको वडा अधिवेशन भइरहेका छन्। धनुषाकै अन्य क्षेत्रमा पनि धमाधम अधिवेशन भइरहेको छ। तर, यहाँ एउटा गुटको प्र्रभाव अधिवेशनमा पार्ने उद्देश्यले ढिलाइ भइरहेको छ,' धनुषा–५ का निर्वाचित सांसदसमेत रहेका कांग्रेस नेता चन्द्रमोहन यादवले भने। नागरिक दैनिकमा समाचार छ । 

]]>