देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सागका नाममा खेलकुदमा मस्ती

देशान्तर

काठमाडौं । भारतमा केही दिनपछि आयोजना हुने तय भएको दक्षिण एसियाली खेलकुद (साग) नेपालका वर्तमान खेल पदाधिकारीका लागि भने दसैं सावित भइरहेको छ । खेलाडी लगेर विदेशमा छाडेको आरोपमा कुनै बेला कारबाही हुने तयसमेत भएका ब्यक्तिलाई साग खेलको डेपुटी सेफ दि मिसन बनाइनुले त नेपाली खेल क्षेत्रमा एमाले कस्तो रूपमा उत्रँदै छ भन्ने पुष्टि हँुदैछ । धर्म श्रेष्ठ नाम गरेका जुडोका एक पदाधिकारीलाई राम्रो आर्थिक लाभ दिने उद्देश्यले वर्तमान एमाले खेल नेतृत्वले जिम्मा दिएको बुझिएको छ ।

विदेशमा लगेर खेलाडी बेच्नमा माहिर मानिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको विशेष पहलमा ती व्यक्तिलाई खेलकुदमा यति ठूलो जिम्मेवारी दिएको बुझिएको छ । धर्म र जीवनरामबीच विगत लामो समयदेखि खेलकुदबाट हुने विभिन्न लाभमा गठबन्धन हँुदै आएको छ । विगतमा जीवनराम सदस्यसचिव हुँदादेखि नै धर्मले खेलकुदमा हालिमुहाली सुरु गरेका हुन् । त्यतिमात्र होइन एमालेका अन्य दर्जनांै खेल अधिकारी र पदाधिकारीका साथै एमालेसँग सम्बन्धित दर्जनांै नेता तथा कार्यकर्ता भत्ता र सुविधासहित भारत जाने तयारीमा छन् । केहीलाई राष्ट्रिय खेलकुद परिषद्ले भत्ता र सुविधा प्रदान गर्ने तयारी गरिरहेको छ ।

एकातिर अर्थ मन्त्रालयले रकम दिएन भनेर गुनासो गर्ने राखेपले अर्कोतिर यसरी अन्धाधुन्ध रकम उडाउने काम गरिरहेका छन् । वैदेशिक प्रशिक्षणमा खेलाडी पठाउने नाममा पनि राखेप सदस्यसचिव विष्टसहितको मिलेमतोमा व्यापक आर्थिक अनियमितता भइरहेको बुझिएको छ । वैदेशिक प्रशिक्षणको नक्कली बिलसमेत बनाउने काममा नेपालका खेल संघ र पदाधिकारीमात्र होइन खेलकुद परिषद्का कर्मचारी पनि लागिपरेका छन् । नेपाली कांग्रेसको नाममा राखेपमा स्थान बनाएका पदाधिकारी पनि यतिबेला आफ्नो नैतिक धरातल बिर्सेर एमालेले फालेको हड्डी चुस्नमा व्यस्त देखिएका छन् । आफुलाई कांग्रेस भन्ने केही पदाधिकारी त लाभ लिनका लागि राखेप नेतृत्वसँग बार्गेनिङ गरिरहेको पनि बुझिएको छ । यसका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघको जिम्मा लिएर राखेपमा आफ्नो हैकम जमाउन खोज्ने केही कर्मचारी पनि लागिपरेको बुझिएको छ । साग खेलकुदका दौरानमा अत्यधिक लाभ हुने विषयहरूमा खेलाडीको खेल सामग्री अर्थात् किट्समा सबैभन्दा बढी नाफा हुने भएकाले सदस्यसचिव र राखेपका केही कर्मचारीको टिमले त्यसमा दाँत गाडिरहेका छन् । खेलाडीको सुविधा, भत्ता, टिकट खर्चलगायतमा पनि व्यापक नाफा निकाल्न सकिने भन्दै एमालेका केही नेता त्यसको तयारीमा पनि जुटेको बुझिएको छ ।

टेण्डी तनावमा

यता राखेप उपाध्यक्ष लामा टेण्डी शेर्पा भने यस पटकको सागमा पनि आर्थिक लाभ लिन नसक्ने भएपछि बिदेसिएका छन् । विभिन्न कार्यक्रमको बहाना बनाएर टेण्डी युरोप हानिएका हुन् । तर उनी बिदेसिनुमा सागमा जिम्मेवारी नपाउनु प्रमुख कारण भएको बुझिएको छ । १५ लाख रुपैयाँको विविध शीर्षक पनि आफ्नो  जिम्मेवारीमा नआएपछि टेण्डी तनावमा देखिएका हुन् । उनी अब नर्वेमा हुने युथ ओलम्पिक्समा जीवनराम पुत्रसहितको टोलीसँगै त्यता पुग्ने बताइएको छ ।

सदस्यसचिव विष्टको खाता रोक्का

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राखेप सदस्यसचिव केशव विष्टको बैंक खाता रोक्का गरेको छ । पदीय दुरुपयोग गरेको आरोप उनी माथि अख्तियारले लगाएको छ । उनलाई नै नियुक्ति गरेको विषयमा तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आफ्नो पदबाट हात धुनु परेको थियो । विष्टले भने अहिलेसम्म आफूलाई विभिन्न हथकण्डा प्रयोग गरेर जोगाउन सफल भएका छन् । अदालतको शरणमा पनि विष्ट पुगेका छन् । तर उनी धेरै समय जोगिन सक्ने सम्भावना नरहेको अख्तियार स्रोतको दाबी छ । नैतिक रूपमा बैंक खाता रोक्का भएको व्यक्तिले पदबाट राजीनामा दिनुपर्ने हो तर सदस्यसचिव विष्टले भने आफूलाई नैतिक रूपमा बलियो भएको दाबी गरिरहेका छन् ।

 

]]>