देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्रीको दिल्ली भ्रमणले एमाले र राप्रपा नेपालबीच खटपट

देशान्तर

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको भारत भ्रमणलाई लिएर सत्तारूढ एमाले र र राप्रपा नेपालबीच अविश्वास बढ्नुका साथै खटपट सुरु भएको छ । राप्रपा नेपालका अध्यक्ष एवं परराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्रीको भारत भ्रमणलाई सत्ता नेतृत्व गरिरहेको एमालेले गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री केपी ओलीसमक्ष गम्भीर आपत्ति प्रकट गरेपछि सत्ता साझेदार दुई दलबीचको आपसी अविश्वास र खटपट सुरु भएको हो । एमालेले प्रधानमन्त्रीको भ्रमण तयारीका लागि अर्थमन्त्री पौडेल नयाँ दिल्ली गएको भनी ‘गलत प्रचार’ गरेको भन्दै परराष्ट्रमन्त्री थापाले असन्तुष्टि प्रकट गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई नै भेटेर अर्थमन्त्रीको भारत भ्रमणलाई गलत ढंगले किन प्रचार गरिएको हो प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेको जानकारी उनी निकट स्रोतले बताए ।   उनले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी आफ्नो मन्त्रालयले गरिरहेका बेला अर्थमन्त्रीको भ्रमणको प्रचार गलत ढंगले गरिएको र यसले दुई मुलुकबीचको सम्बन्धसँगै सत्ता साझेदार दलबीचमा समेत असहज स्थिति आउन सक्नै भन्दै गम्भीर आपत्ति जनाएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।  स्रोतका अनुसार अर्थमन्त्री पौडेलले नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि आफू भारत जान लागेको उल्लेख गर्दै आफ्नो भ्रमणले प्रधानमन्त्रीको भ्रमणका एजेण्डा तय गर्ने बताएपछि परराष्ट्र मन्त्री थापा थप गम्भिर बनेका हुन् ।  

नेपाल–भारत सम्बन्धको आर्थिक पक्ष र भूकम्पमा ध्वस्त संरचनाको पुर्ननिर्माण कार्यबारे दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रालयले नै तय गरिदिएको अर्थमन्त्रीको भ्रमणलाई सरकारको नेतृत्व गरिरहेको दलले गलत प्रचार गरेको भन्दै थापाले आपत्ति जनाएका हुन् । थापाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले संयुक्त रुपमा गरिरहेको सार्वजनिक रुपमा भन्दै प्रधानमन्त्रीको भारत भ्रमण प्रति आशंका नगर्न आग्रहसमेत गर्दै आएका छन् । ‘अर्थमन्त्रीको भ्रमण उपप्रधान तथा परराष्ट्रमन्त्रीको सुझावमा दुईपक्षीय आर्थिक सहकार्यका लागि भएको हो । तर सत्ताको नेतृत्व गरिरहेको दल र उनका मन्त्रीहरुबाट आएको धारणा भ्रमणको भावना विपरित छ,’ उपप्रधान तथा परराष्ट्र मन्त्रीका सल्लाहकार मोहन श्रेष्ठले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणबारे आएको हल्ला र अर्थमन्त्रीको भारत भ्रमणको प्रचारलाई उपप्रधानमन्त्रीले गम्भिर रुपमा लिनुभएको छ ।’  प्रधानमन्त्रीको भारत भ्रमणप्रति शंका नगर्न भन्दै परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहको समेत उनले स्पष्ट पारे ।

अर्थमन्त्रीका साथमा परराष्ट्र सचिव शंकरदास बैरागीसमेतको सहभागिताले पनि भ्रमणमा परराष्ट्र मन्त्रालयको गाम्भिर्यता स्पष्ट रहेको ति अधिकारीले बताए । ‘अन्यथा सरकारले सम्वन्धित डेस्कका उपसचिवलाई प्रतिनिधीको रुपमा पठाउन सक्थ्यो’ परराष्ठ्रका अर्का एक अधिकारीले भने ।  पुर्ननिर्माणको लागि भारतीय पक्षबाट सहयोगको प्रतिवद्धता भएअनुरुप नै कसरी योजना अघि बढाउनेदेखि दुई पक्षीय आर्थिक सहकार्यको साझा संयन्त्र खोजी गर्न अर्थमन्त्रीको भ्रमण केन्द्रित रहेको भए पनि यसलाई प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि भनिनु आश्चर्यजनक हो’ परराष्ट्रका एक अधिकारीहरुले भने ।

ती अधिकारीका अनुसार अर्थमन्त्रीको भ्रमणमा भारतले नेपाललाई दिने भनिएको सहुलियत ऋण, भुकम्प पछिको पुर्ननिर्माणको लागि भारतीय सहयोगको प्रतिवद्धता र नियमित सहयोगका विषयमा अर्थ छलफल केन्द्रित छ । अर्थमन्त्री पौडेलको सोमबार भारतीय वित्तमन्त्री अरुण जेट्लीसंग हुने भेटवार्ता पछि सहयोग मोडल नै तय हुनेछ ।  यो भ्रमण प्रधानमन्त्री ओलीको भ्रमणको अघि पर्नु संयोगमात्र भएको पनि उनीहरु बताउछन् । उनले प्रधानमन्त्रीको भ्रमणको तयारीको सिलसिलामा भएको भन्ने प्रचारले गर्दा यसमा परराष्ट्रमन्त्री बढि नै संवेदनशिल बनेको उनी निकटस्थले बताए ।  

उपप्रधानमन्त्री थापाको चीन भ्रमणको अन्तिम समयमा कानुन मन्त्री अग्नि खरेललाई पठाएदेखि नै सत्तासझेदार दलबीचको अविश्वास सतहमा आउन थालेको थियो । दलिय रुपमा सरकारलाई अघि बढाउने गरि प्रचार र काम भएको भन्दै यसअघि पनि थापाले असन्तुष्टि ब्यक्त गरेका थिए । उनले चीन जानु अघिल्लो दिन आफ्नो टोलीमा कानुनमन्त्री खरेलको नाम आएकोमा कान्तिपुरले जिज्ञासामा उपप्रधानमन्त्री थापाले भनेका थिए, ‘खरेलजीको नाम आएको मैले पनि भर्खर सुने । किन र कसरी थाहा छैन ।’ यद्यपी अहिले भने उनले मन्त्री खरेल आफूसँग चीन जादा असहज केही नभएको र अहिले प्रधानमन्त्रीको भारत भ्रमणलाई पनि शंकाले नहेर्न आग्रह गर्दै आएका छन् ।

प्रधानमन्त्रीका सहयोगीले परराष्ट्रमन्त्रीको दुईपटक भारत भ्रमण भइसकेकाले सरकारले पौडेललाई भारत पठाएको बताए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले आफ्नो भ्रमण अगाडि जसलाई पनि तयारी गर्न पठाउन सक्ने उल्लेख गर्दै भने, ‘उपप्रधानमन्त्री दुईपटक भारत गइसक्नु भएकाले उहाँकै सल्लाहमा आर्थिक सहकार्य र विकास साझेदारीको विषयमा छलफलका लागि अर्थमन्त्रीलाई भारत पठाइएको हो ।’ कान्तिपुर दैनिकमा समाचार छ । 

]]>