देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर वर्षा, मङ्गलबारदेखि मौसममा सुधार आउने

देशान्तर

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसँगै देशभर वर्षा भएको छ । 

काठमाडौँ उपत्यकासहित देशभर गए रातिदेखि आज मध्याह्नसम्म हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी डडेल्धुरामा २५ मिलिमिटर र ताप्लेजुङमा फाटफुट वर्षा भएको छ । राजधानी काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ । 

मौसम बदली र वर्षासँगै उपत्यकामा बिहानीपख बढी चिसो महसुस भएको थियो । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदली भई देशभर वर्षा भएको र अहिले मौसममा क्रमिक सुधार आएको मौसमविद् सुजन सुवेदीले  जानकारी दिए । 

उनका अनुसार पश्चिमी वायुको प्रभाव बढी मात्रामा पश्चिमी क्षेत्रमा परेको र अहिले उक्त क्षेत्रको मौसममा केही सुधार आएको छ । अहिले मध्य र पूर्वी भेगमा बदली छ । मध्यमा साँझ र पूर्वी भेगमा भोलि मङ्गलबारदेखि मौसम सुधार आउनेछ ।

वर्षासँगै अब क्रमशः जाडो हट्ने मौसमविद्को भनाइ छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २३।५ डिग्री सेल्सियस रहेको छ । 

]]>