देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुकभर काँग्रेस जिल्ला अधिवेशन हुँदै

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनअन्तर्गत मुलुकभर जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज जिल्ला अधिवेशन सुरु भएको छ । 

काँग्रेसले ७५ वटै जिल्ला कार्यसमितिको अधिवेशन गर्न यही माघ २५ गतेका लागि समय निर्धारण गरेको भए पनि आज ६२ जिल्लामा मात्र जिल्ला अधिवेशनको प्रक्रिया सुरु भएको छ । डडेल्धुराको अधिवेशन भने निर्धारित समयको एकदिन अगावै आइतबार सम्पन्न भइसकेको छ । 

आज अधिवेशन हुन नसकेका १२ जिल्लामध्ये अधिकांश जिल्लामा मधेस केन्द्रित दलको अवरोध र कतिपय जिल्लामा भने आन्तरिक विवादका कारण निर्धारित समयमै प्रारम्भिक तहका अधिवेशन नभएकाले जिल्ला अधिवेशनमा ढिलाइ भएको काँग्रेसले जनाएको छ । 

बारामा फागुन २ गते क्षेत्रीय र ७ गते जिल्ला अधिवेशन हुने निर्वाचन समितिले बताएको छ ।  

सप्तरीमा माघ २८ गते जिल्ला अधिवशेन हुने सभापति दिनेश यादवले बताए ।  त्यस्तै महोत्तरीमा माघ २७ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न हुने र त्यसपछि मात्रै जिल्ला अधिवेशनको मिति तोकिने सभापति महेन्द्रकुमार रायले जानकारी दिए । 

सिराहामा आज सोमबार क्षेत्रीय अधिवेशन तोकिएको छ भने क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन हुने बताइएको छ । धनुषामा सातमध्ये एक निर्वाचन क्षेत्रमा मात्र क्षेत्रीय अधिवेशन सम्पन्न भएको र सबै क्षेत्रको अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन तोकिने सभापति स्थानिय नेताहरुले बताएका छन् ।  

सर्लाहीमा क्षेत्रीय अधिवेशन आज सोमबार हुँदैछ भने आगामी फागुन २ गते जिल्ला अधिवशेन हुनसक्ने सभापति लक्ष्मण रायले जानकारी दिए । रौतहटमा क्षेत्रीय अधिवेशन भइरहेको र दुई÷तीन दिनमै जिल्ला अधिवेशन हुने सभापति कृष्णप्रसाद यादवले बताएका छन् ।  पर्सामा यही माघ २८ गते क्षेत्रीय अधिवेशन हुने र त्यसपछि मात्र जिल्ला अधिवेशन तोकिने निर्वाचन समितिले जानकारी दिएको छ ।  

सिन्धुपलाञ्चोकमा सदरमुकाम चौतारा र बाह्रबिसेमध्ये कुन स्थानमा जिल्ला अधिवेशन गर्ने भन्ने विवाद भएपछि अनिश्चितकालका लागि अधिवशेन स्थगन भएको छ । दाङमा भोलि मङ्गलबार जिल्ला अधिवेशन हुने भएको छ । दाङको क्षेत्र नं ३ को अधिवशेनमा फर्जी मत खसेको भन्ने विवाद भएपछि आज पुनः निर्वाचन भएकाले ढिलाइ भएको हो । 

भक्तपुरमा क्षेत्रीय अधिवेशन गर्न ढिलाइ भएकाले माघ २८ गतेका लागि जिल्ला अधिवशेन तोकिएको भने सोलुखुम्बुमा पनि गाउँ नगर अधिवेशनको ढिलाइले मङ्गलबार जिल्ला अधिवेशन हु्ने कार्यतालिका छ ।  

केही जिल्लाको अधिवेशन गर्न ढिलाइ भए पनि आगामी फागुन पहिलो सातासम्ममा सबै जिल्लाका अधिवेशन सम्पन्न भइसक्ने केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । यही माघ १५ गते गाउँ र नगर वडा तथा नगरको अधिवेशन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको थियो । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । 

काँग्रेसले अन्य जिल्लामा माघ २२ गते क्षेत्रीय अधिवेशन निर्धारण गरिएको भए पनि एक मात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लामा भने माघ २५ गते नै क्षेत्रीय र जिल्ला अधिवेशनसँगै हुने तालिका तय गरेको थियो । 

जिल्ला अधिवेशनमा एक सभापति, एक सचिव र एक कोषाध्यक्षको निर्वाचन हुन्छ । जिल्ला सदस्यको निर्वाचन क्षेत्रीय अधिवेशनबाटै हुन्छ भने बाँकी पदाधिकारी तथा सदस्य मनोनित हुन्छन् । जिल्ला सभापतिले विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था काँग्रेस विधानमा छ । 

]]>