देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको श्रद्धाञ्जलीमा उर्लियो मानव सागर

देशान्तर

धन्कियो नारा : ‘संविधानका पिता, सुशील’दा अलबिदा !

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा मंगलबार हजारौँले श्रद्धाञ्जली दिएका छन् । कोइरालाको निधन भएको महाराजगन्जस्थित निवास, सानेपास्थित कांग्रेसको पार्टी कार्यालय र त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर हजारौँले श्रद्धाञ्जली दिएको आजको नया पत्रिका दैनिकले समाचार छापेको छ ।

सोमबार राति १२ बजेर ५० मिनेटमा निधन भएका कोइरालाको पार्थिव शरीरलाई राति नै उनी बस्दै आएको महाराजगन्जस्थित निवास परिसरमा राखिएको थियो । कोइरालाको निधन भएको खबर ढिलो गरी पाएकाहरू भने केही ढिलै पुगेका थिए । बिहान साढे चार बजेसम्म महाराजगन्जमा करिब दुई दर्जन कांग्रेस नेता, कार्यकर्ता र शुभेच्छुक मात्र उपस्थित थिए ।

अधिकांश केन्द्रीय नेता जिल्लामा

सोमबार १३औँ महाधिवेशनअन्तर्गत देशभर जिल्ला कार्य समितिको निर्वाचन कार्यक्रम रहेकाले अधिकांश केन्द्रीय नेता आ–आफ्ना जिल्लामा थिए । निधनको खबर पाएपछि सबै आ–आफ्ना जिल्लाबाट राजधानी फर्किए । बिहान सबेरै भने काठमाडौंमा उपलब्ध नेता–कार्यकर्ता मात्र महाराजगन्ज पुगेका थिए । उज्यालो भएपछि भीड बढेको थियो ।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य नरहरि आचार्यलगायतका नेता राति नै पुगेका थिए । तनहुँमा रहेका पार्टी उपसभापति रामचन्द्र पौडेल खबर पाउनेबित्तिकै काठमाडौंका लागि हिँडेका थिए ।

बिहान ८ बजे पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ८ बजे महाराजगन्ज पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसक्रममा प्रधानमन्त्री ओलीले संविधान निर्माणमा कोइरालाको अतुलनीय योगदान रहेको भन्दै उनलाई सम्पूर्ण नेपालीले सम्मानका साथ स्मरण गर्ने प्रतिक्रिया दिए । लोकतान्त्रिक आन्दोलनमा पनि कोइरालाको योगदान स्मरणयोग्य र प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

केही मन्त्री तथा अन्य राजनीतिक दलका नेताले पनि बिहानै महाराजगन्ज पुगेर श्रद्धाञ्जली चढाएका थिए । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री एवं एमाओवादी नेता शक्ति बस्नेतले पनि बिहानै महाराजगन्ज पुगेर श्रद्धाञ्जली चढाए ।

महाराजगन्जपछि सानेपामा श्रद्धाञ्जली

कोइरालाको पार्थिव शरीरलाई बिहान ८ बजेर ५० मिनेटसम्म महाराजगन्जस्थित निवासको प्रांगणमा राखिएको थियो । त्यसपछि पार्थिव शरीरलाई केन्द्रीय कार्यालय सानेपातर्फ लगिएको थियो । महाराजगन्ज, लाजिम्पाट, रत्नपार्क, सहिदगेट, त्रिपुरेश्वर, कालीमाटी हुँदै शवलाई १० बजे सानेपा पुर्‍याइएको थियो ।

सानेपा पुर्‍याएपछि सुरुमै पूर्वराष्ट्रपति डा। रामवरण यादवले कोइरालाको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसपछि तीन घन्टासम्म पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो । त्यसक्रममा कांग्रेसका सयौँ नेता–कार्यकर्ता, अन्य विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा सर्वसाधारणले कोइरालाप्रति श्रद्धाञ्जली चढाए ।

दिउँसो साढे दुई बजे रंगशालामा

दिउँसो एक बजेपछि पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपाबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालातर्फ लगिएको थियो । नेता, कार्यकर्ता, शुभेच्छुकको लस्करसहित पार्थिव शरीर रंगशाला पुर्‍याउँदा दिउँसोको साढे दुई बजेको थियो । सानेपादेखि दशरथ रंगशालासम्म शवयात्रा पुग्न डेढ घन्टा लागेको थियो ।

यात्राका क्रममा कांग्रेस नेता–कार्यकर्ताले कोइरालालाई ‘संविधानका पिता, सुशील‘दा अलबिदा’ भन्दै नारा लगाएका थिए । रंगशाला पुर्‍याएपछि कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायतले सामूहिक रूपमा पार्टीको झन्डा ओढाए ।

प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा

तीन बजेर ११ मिनेटमा प्रधानमन्त्री ओलीले कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाए । लगत्तै राष्ट्रपति विद्या भण्डारीले पुष्पगुच्छा अर्पण गरिन् । त्यसअघि दुई बजेर ५२ मिनेटमा सभामुख ओनसरी घर्तीले श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री, सरकारका उपप्रधानमन्त्री एवं मन्त्रीहरू एकैपटक रंगशालाबाट बाहिरिएका थिए । श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री एवं मन्त्रीहरू एक घन्टाअघिदेखि नै रंगशालामा कुरेर बसेका थिए । मुख्यसचिव डा। सोमलाल सुवेदी, तीनवटै सुरक्षा निकायका प्रमुख, अन्य उच्च पदस्थ सरकारी अधिकारीले पनि रंगशाला पुगेर श्रद्धाञ्जली अर्पण गरे ।

भारत, चीन, अमेरिका, बेलायत, युरोपियन युनियनसहित अधिकांश नेपालस्थित कूटनीतिक नियोगका प्रमुखले श्रद्धाञ्जली अर्पण गरे । यस्तै, मधेसी मोर्चामा आबद्ध नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादवलगायतले पनि रंगशाला पुगेर श्रद्धाञ्जली अर्पण गरे ।

पार्थिव शरीर रातभर रंगशालामै
कोइरालाको पार्थिव शरीरलाई रातभर रंगशालामै राखिएको छ । त्यहाँ राति अबेरसम्म पनि सर्वसाधारणको घुइँचो रहेको छ । पार्थिव शरीरलाई बुधबार दिउँसो २ बजेपछि शवयात्रा गरी पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ । उनको राजकीय सम्मानका साथ बुधबार साँझ अन्त्येष्टि गरिनेछ ।

३ फागुनसम्म कांग्रेसका कार्यालय बन्द
पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि कांग्रेसका सबै कार्यालय ३ फागुनसम्म बन्द रहने भएका छन् । केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले ३ फागुनसम्म कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । बैठकले सभापति कोइरालाप्रति श्रद्धाञ्जली र उच्च सम्मान प्रकट गर्दै विभिन्न शोकका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

९ फागुनसम्म पार्टी झन्डा आधा झुकाउने
कांग्रेसले २६ माघदेखि ९ फागुनसम्म केन्द्रीय कार्यालय र देशभरका पार्टी कार्यालयमा पार्टीका झन्डा झुकाउने भएको छ । यस्तै, यो अवधिमा कांग्रेसले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, २६ माघदेखि ३ फागुनसम्म केन्द्रीय कार्यालयसहित सम्पूर्ण कार्यालय र भ्रातृ संस्थाका कार्यालय बन्द गर्ने निर्णय गरिएको कार्यबाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिए । कार्यबाहक सभापति पौडेलको अध्यक्षतामा बसेको बैठकको सुरुवातमा दिवंगत सभापति कोइरालाप्रति मौनधारण गरिएको थियो ।

९ फागुनमा सबै जिल्लामा श्रद्धाञ्जली सभा
केन्द्रीय कार्य समितिको बैठकले ९ फागुनमा सबै जिल्लामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ । सोही दिन केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौं, भक्तपुर र ललितपुरको सहभागितामा दिउँसो १ बजे काठमाडौंमा संयुक्त श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको छ । बैठकले १३ दिनसम्म देश तथा विदेशमा रहेका पार्टी कार्यालयमा शोकपुस्तिका राख्ने र १३औँ दिन ७५ वटै जिल्लामा अन्तिम संस्कारपछिको अस्तु विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।

]]>