देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हलिउड हिरो बन्न चाहन्थे सुशील’दा

देशान्तर

काठमाडौं । तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था सुरुवात गर्दा देशबाट प्रजातन्त्र मात्रै लुटिएन, सुन्दर सपना बुनिरहेका किशोर सुशील कोइरालाको सपना पनि तुहियो । त्यतिवेला सुशील कांग्रेसका सामान्य सदस्य मात्रै थिए । राजनीतिक भविष्यबारे न उनले कल्पना गरेका थिए न नेता बन्ने सपना पालेका थिए।

लक्का जवान सुशील त रंगमञ्चको हिरो बन्न चाहन्थे, त्यो पनि नेपाली अथवा हिन्दी फिल्मको होइन, सीधै हलिउडको । त्यसका लागि उनले भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर प्रारम्भिक तयारी पनि गरिसकेका थिए । ‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा थिए । अमेरिकाको भिसासमेत आइसकेको थियो । तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कु’ गरेपछि बिपी कोइरालासहित कांग्रेसका शीर्ष नेता जेल परे । बिपीले आफ्नो परिवारको संरक्षण गर्ने जिम्मा दिएर सुशीललाई यतै बस्न लगाए । उनी अमेरिका उड्न पाएनन्, नेपालमै बस्न र राजनीतिमा लाग्न बाध्य भए ।

सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कु’ गरेको भए पनि उनी अमेरिका पुगिसकेका हुन्थे । पुगेका भए या त जेम्स बोन्डको भूमिका पाउँथे या संघर्ष गरेर पसिना पुछ्दै नेपाल फर्किन्थे । कोइराला परिवारको भएकाले नेपाल फर्किएपछि पनि राजनीतिमा लाग्ने सम्भावना थियो । तर, महेन्द्रले गर्दा उनले राजनीतिमा लाग्न अमेरिकाको फेरो मार्नुपरेन ।

रंगमञ्चको हिरो बन्ने सपना तुहिए पनि राजनीतिमा भने सुशील हिरो भए । सुशीलसित लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार रंगमञ्च र फोटोग्राफी सुशीलको पहिलो रोजाइ थियो । राजनीतिक यात्रा बाध्यात्मक उपज मात्रै हो । ०१६ अघि नै सुशीलले बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए । उनले लामो समय बनारसमा बिताएका थिए । ‘सुशील’दाको हलिउडमा खेल्ने साह्रै ठूलो धोको थियो,’ बस्नेत भन्छन्, ‘तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार विघटन गरेसँगै उहाँ अमेरिका जान रोकिनुभयो ।’

केही वर्षअघि अन्तर्वार्ता दिँदै सुशीलले हलिउड चलचित्रमा खेल्ने आफ्नो धोको पूरा नभएको बताएका थिए । तपार्इं राजनीतिमा नआएको भए कुन पेसामा हुनुहुन्थ्यो भन्ने प्रश्नमा कोइरालाले भनेका थिए, ‘म हिरो हुन्थेँ, हलिउडमा खेल्ने मेरो इच्छा थियो । राजनीति मेरो पहिलो रोजाइ होइन ।’

बिपी र गिरिजाप्रसादसँगै आन्दोलनमा सुशील यसरी समर्पित भए, हलिउडको हिरो बन्ने सपना मात्रै होइन, आफ्नो जवानीसमेत बिर्सिए । देशमा प्रजातन्त्र पुनस्र्थापना हुँदासम्म उनको उमेर ढल्किसकेको थियो ।

सुशीलले वेलावेला भन्ने गरेका थिए, ‘मैले प्रजातन्त्रसँग विवाह गरेँ ।’ तर, पनि कहिलेकाहीँ उनका कुराबाट विवाह गर्ने समय आन्दोलनमा बिताएकोमा पछुतो मानेको संकेत पाउन सकिन्थ्यो । ‘विवाह गर्न त मन थियो, आन्दोलनमा लाग्ने समयमा विवाह गरेको भए परिवार बालबच्चा कसले हेरिदिन्थ्यो ?,’ सुशीलको भनाइ थियो, ‘विवाहभन्दा मैले आन्दोलनलाई रोजेँ ।’

थर कोइराला भए पनि सुशील र बिपीको एउटै पुख्र्यौली होइन । बिपी र सुशीलका आमाहरू दिदीबहिनी हुन् । सुशीलकी आमा बिपीकी आमाकी बहिनी हुन् । कांग्रेस नेता पुरुषोत्तम बस्नेत भन्छन्, ‘बुबापट्टिभन्दा उहाँहरूको आमापट्टिको नाता नजिकको हो ।’ कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली झरेका थिए । भन्सारको ठेक्काको काम थालेका कृष्णप्रसादले आफ्नो व्यापारका लागि आवश्यक कामदार पनि आफ्नै गाउँबाट ल्याएका थिए । सोही क्रममा सुशीलको परिवार पनि रंगेली झरेको हो ।

पछि जागिरका क्रममा सुशीलका पिता बोधप्रसाद नेपालगन्ज पुगेका थिए जहाँ उनले जिल्ला वन अधिकृतका रूपमा लामो समय बिताए । ‘डिएफओ भएर उहाँ ९बोधप्रसाद० लामो समय नेपालगन्ज बस्नुभयो, सुशील’दासहित उहाँहरू उतै बस्न थाल्नुभयो,’ कांग्रेस नेता बस्नेतले भने । सुशीलका दुई दाइ र तीन भाइ छन् । दुवै दाइको केही वर्षअघि निधन भइसकेको छ । भाइ अरुण र विजय नेपालगन्जमै बस्दै आएका छन् भने अशोक विराटनगरमा छन् । अरुण र अशोक कांग्रेस राजनीतिमा सक्रिय छन् ।

पहिला पनि बोली प्रस्ट थिएन

कांग्रेस सभापति स्व। सुशील कोइरालाको बोली पहिले पनि एकदमै प्रस्ट होइन । ०६२÷६३ को दोस्रो जनआन्दोलनलगत्तै जिब्रोमा क्यान्सर भएको पत्ता लाग्यो । उपचारका क्रममा उनको जिब्रोको केही भाग काट्नुपर्‍यो । त्यसपछि कोइरालाको बोली थप नबुझिने भएको हो ।

दोस्रो जनआन्दोलनलगत्तै कोइराला सामान्य सडक दुर्घटनामा परेका थिए । उनी चढेको गाडी काठमाडौंको गैह्रीधारामा अर्को सवारीसँग ठोक्किएको थियो । दुर्घटनामा हात–खुट्टासहित दाँतमा पनि चोट लागेको थियो । शिक्षण अस्पतालमा दाँतको चेकअप गर्दा उनलाई जिब्रोको क्यान्सर भएको पत्ता लागेको थियो ।
 ‘दोस्रो जनआन्दोलनलगत्तै उहाँ दुर्घटनामा पर्नुभएको थियो । हात–खुट्टामा सामान्य चोट लागेको थियो,’ कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले भने, ‘त्यसपछि शिक्षण अस्पतालमा उपचार गर्दा दाँत दुख्यो हेरिदिनुहोस् भन्नुभयो । डाक्टरले चेक गर्दा उहाँको जिब्रोमा क्यान्सर भएको पत्ता लाग्यो ।’
अप्रेसनका लागि उनलाई अमेरिका लगियो । ०६३ सालमा उनको जिब्रोको शल्यक्रिया गरियो । अमेरिकाको न्युयोर्कस्थित सोल्यन केटरिङ क्यान्सर सेन्टरमा उनको शल्यक्रिया गरिएको थियो । – आजको नयाँ पत्रिका दैनिकबाट

 

]]>