देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेस्थित कोइरालानिवास सुनसान

देशान्तर

नेपालगन्ज । कांग्रेस सभापति सुशील कोइरालाको निधनपछि सबै आफन्त काठमाडौं लागेकाले नेपालगन्ज–११ स्थित निवास सुनसान छ । कोइराला निवासमा कान्छी बुहारी जया मात्र घर कुरेर बसेकी छन् ।

सभापति कोइरालाको मृत्युको खबर सुन्नासाथ कान्छा भाइ विजय, काइँली बुहारी किरण र भतिजा सुधांशु काठमाडौं गएका हुन् । सुशीलका भाइ तथा बाँके कांग्रेसका तत्कालीन सभापति अरुणको भने गत वर्ष नै निधन भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

पार्टी सभापति कोइरालाको मृत्युको खबर सुनेर श्रद्धाञ्जली दिन शुभचिन्तक र कांग्रेस कार्यकर्ता आउने क्रम भने रोकिएको छैन । कोइरालानिवासमा श्रद्धाञ्जलीका लागि उनको फोटो राखिएको छ । कोइरालानिवासमा भेटिएकी परिवारकी एक मात्र सदस्य जयाले भनिन्, ‘मलाई छोडेर सबैजना काठमाडौं गए, म घर कुर्न बसेकी छु ।’ सुशील प्रधानमन्त्री हुँदा पनि आफू बालुवाटार नगएको उनले बताइन् । त्यतिवेला पनि उनी नेपालगन्जको घर कुरेर बसेकी थिइन् । कान्छी बुहारी जयाले भनिन्, ‘हाम्रो घरको के कुरा गर्ने देश नै सुनसान भएको छ ।’

उनले सुशीलदा’को निधनबाट राष्ट्रलाई ठूलो क्षति भएको बताइन् । उनीजस्तो त्यागी र इमान्दार नेता भेटाउन गाह्रो हुने उनको भनाइ छ । ‘हामीले आफ्नो दाइ गुमायौँ, तर देशले अति नै आदर्शवादी नेता गुमाएको छ,’ जयाले भनिन् ।

आफ्नो स्वास्थ्यको बारेमा खासै चासो नराख्ने बानीका कारण सुशीलको स्वास्थ्य बिग्रिएको उनको भनाइ छ । ‘तीन दिनपहिले उहाँले मेरो स्वास्थ्य बारेमा जिज्ञासा राख्नुभएको थियो,’ जयाले भनिन्, ‘अरूको स्वास्थ्यबारे सोधखोज गर्ने उहाँ आफ्नो स्वास्थ्यबारे भने खासै चिन्ता लिनुहुन्नथियो ।’

 

]]>