देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी कार्यालयमा सेवाग्राहीको भीड

देशान्तर

वीरगन्ज । मधेस आन्दोलनका कारण प्रत्यक्षरुपमा प्रभावित बन्न पुगेका बारा र पर्साका सरकारी कार्यालय निर्बाधरुपमा सञ्चालनमा आएपछि सेवाग्राहीको भीड ह्वात्तै बढेको छ । 

सरकारी कार्यालय सञ्चालनमा आएपछि बारा र पर्साका जनतालाई राहत भएको छ । मधेस केन्द्रित दलको आह्वानमा विगत ६ महिनादेखिको निरन्तर बन्द र हडतालका कारण सरकारी कार्यालय सञ्चालन हुन नसक्दा यस क्षेत्रका सेवाग्राही मर्कामा परेका थिए भने विकास निर्माण कार्य पूर्ण रुपमा ठप्प भएका थिए । 

आन्दोलनका कारण कार्यालय सञ्चालनमा आउन नसक्दा भन्सार, मालपोत, आन्तरिक राजस्व कार्यालय, यातायात, विद्युत्, टेलिफोन र खानेपानी लगायतका बढी राजस्व असुली हुने कार्यालयको असुलीसमेत प्रभावित भएको थियो । 

सरकारी कार्यालयमा बिहीबारदेखि सञ्चालनमा आएपछि त्यहाँ बिहानैदेखि सेवाग्राहीको भीड लागेको छ । कतिपय सरकारी कार्यालयमा कामका लागि सेवाग्राहीको लाममा बसेको देखिन्छ । विद्युत्, टेलिफोन, यातायात, मालपोत र खानेपानी महसुल बुझाउने जनताको आज ठूलो लाम लागेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले सात दिनभित्र महसुल बुझाएमा आन्दोलन अवधिको जरिवाना नलिने सूचना जारी गरेपछि त्यहाँ महसुल बुझाउने सेवाग्राहीको भीड बढेको हो । सेवाग्राहीको उर्लंदो भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । 

सेवाग्राहीको भीडलाई दृष्टिगत गरेर केन्द्रले महसुल बुझाउनका लागि ६ वटा काउन्टर सञ्चालनमा ल्याएको छ । 

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै सरकारी कार्यालय बुधबारदेखि खोल्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय बिहीबारदेखि खुलेका हुन् । 

]]>