देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिद्वारा वसन्तश्रवण

देशान्तर

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ८ः४७ बजेको शुभसाइतमा वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण भयो । 

समारोहमा राष्ट्रपतिसमक्ष हुनमान ढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।  

नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरु त्यहाँ पुगी वसन्तश्रवण गर्ने परम्परा रहिआएको छ । 

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उनका प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेखित छ । 

वसन्त पञ्चमीको दिनबाट नयाँ ऋतुको सुरुवात हुने त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने विश्वास रहिआएको छ ।    

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरुले वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरेका थिए ।  

हनुमानढोका दसैँ घरका मूल पुरोहित पुजारी पण्डित अर्यालले वसन्त पञ्चमीको महिमासम्बन्धी १२ वटा श्लोक वाचन गर्नुभएको थियो । वसन्तश्रवण भइरहँदा नेपाली परम्परागत लोकबाजा पञ्चै बाजाको धुन प्रस्तुत भएको थियो भने नेपाली सेनाबाट मङ्गलधुन प्रस्तुत भएको थियो । 

सो समारोहको व्यवस्थापन पुरातत्व विभाग, कौशितोषाखाना कार्यालय, हनुमानढोका दरबार हेरचाह अड्डा र गृह मन्त्रालयले आयोजना गरेको हो । 

]]>