देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिबी न्यूनीकरणका लागि सहकार्य जरुरी

देशान्तर

काठमाडौँ। सामाजिक, आर्थिक र क्षेत्रीय विकास एवम् गरिबी न्यूनीकरणका लागि सहकार्य गरी अध्ययन तथा अनुसन्धान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । 

त्रिवि, आर्थिक विकास तथा प्रशासन केन्द्र(सेडा) र दक्षिण कोरियाको चोमनाम राष्ट्रिय विश्व विद्यालय, क्षेत्रीय विकासका लागि क्षेत्रीय केन्द्र (सिआरडी)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सामाजिक अर्थशास्त्र, क्षेत्रीय विकास र गरिबी न्यूनीकरण’ विषयको अन्तर्राष्ट्रिय गोष्ठीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले गरिबी न्यूनीकरणका लागि दक्षिण एसियाली क्षेत्रले निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गर्दै आपसी सहकार्यमा नयाँ रणनीति अवलम्बन गर्नुपर्ने बताए ।  

तीनखम्बे अर्थतन्त्रको अवधारणमार्फत नेपालले समावेशी सामाजिक एवम् आर्थिक विकासको रणनीति बनाएको उल्लेख गर्दै उनले सहकारीको माध्यमबाट समावेशी विकासलाई तल्लोस्तरमा पुर्याउन सकिने धारणा राखे ।  

त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले पर्याप्त बजेटको अभावमा विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालयले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको उल्लेख गर्र्दै त्यसका लागि सेडामा बजेट बढाउनुपर्ने बताए ।  

सिआरडीका निर्देशक प्रा डा जुमोङ नाले यस क्षेत्रका अनुसन्धान केन्द्रले आपसी अन्तक्र्रिया र सहकार्य गरेर गरिबी न्यूनीकरण एवम् क्षेत्रीय विकासको रणनीति बनाउन सक्ने बताए ।  भारतको दक्षिण एसियाली विश्वविद्यालय, अर्थशास्त्र विभागका डिन प्रा डा सन्तोषचन्द्र पाण्डेले क्षेत्रीय विकास र सामाजिक अर्थशास्त्रका विषयमा आपसी सहकार्य जरुरी रहेको र त्यसका लागि प्रभावकारी रणनीति बनाउनुपर्नेमा जोड दिए ।  

त्रिविका रेक्टर अध्यक्ष प्रा डा सुधा त्रिपाठीले गरिबी न्यूनीकरणका लागि सामाजिकरुपमा रहेका जातीय, वर्गीय एवम् लिङ्गीय विषयमा सूक्ष्म अध्ययन गरेर रणनीति तयार गर्नुपर्ने बताइन् ।  एकदिने गोष्ठीमा गरिबी न्यूनीकरणको रणनीतिका लागि आर्थिक वृद्धि र पुनःवितरण तथा गरिबका लागि सोच तथा भौतिक उद्यमशीलताका विषयमा बृहत छलफल गरिने छ । बहसमा नेपाल, भारत र दक्षिण कोरियाका अर्थशास्त्री एवम् प्रतिनिधिसहित ५० जनाको सहभागिता छ । 

]]>