देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाले आफू हारेर देशलाई जिताउनुभएको छ : कार्यवाहक सभापति पौडेल

देशान्तर

अकस्मात नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भयो, त्यो पनि महाधिवेशनको मुखमा । अब पार्टीको महाधिवेशन के हुन्छ ?
पार्टी सभापति सुशील कोइरालाको निधनपछि हामीले महाधिवेशनका प्रक्रिया फागुन १ गतेसम्मका लागि स्थागित गरेका छौं । उहाँको निधनलगत्तै बसेको केन्द्रीय समितिको बैठकले तत्काल महाधिवेशनमा प्रक्रिया फागुन १ गतेसम्मका लागि स्थागित गर्ने निर्णय गरेको हो । तर फागुन १ गतेसम्मका लागि महाधिवेशनका प्रक्रिया स्थागित गरेर हामीले पार्टीमा तोकिएको समयमा महाधिवेशन नगरे पर्ने वैधानिक संकट मध्यनजर गर्दै सभापतिको सम्मानमा महाधिवेशन यताउता गर्न सक्ने अवस्थामा छैनांै । अहिले हामीमा सभापतिको निधनले एउटा वज्रपात भएको छ भने अर्कोतर्फ अहिले तोकिएको समयमा नै महाधिवेशन गराउनुपर्ने अर्को बाध्यात्मक अवस्था छ । 
सभापतिको निधनले आमनेपाली कांग्रेसका नेता कार्यकर्तामा एउटा जिज्ञासा अनि एउटा निराशा पनि छ । त्यो के भने, अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ । तपाईं कार्यवाहक सभापति पनि हुनुभयो, के भन्नुहुन्छ आम नेता कार्यकर्तालाई ?
नेपाली कांग्रेसमा सभापतिको निधनले एउटा गम्भीर क्षति भएको छ । उहाँको आकस्मिक निधनले सिंगो पार्टीलाई मात्र नभएर देशले नै एउटा अभिभावक गुमाएको छ । यो अवस्थामा आमकांग्रेसका नेता, कार्यकर्ता तथा भ्रातृसंस्था शुभेच्छुक संस्थालाई म धैर्य गर्न आग्रह गर्दछु । अनि म सबैलाई विश्वास दिलाउन पछि चहान्छु कि हामी उहाँले हिँडेको बाटोमा कहीँ कतै विचलित नभइकन नेपाली कांग्रेस पार्टी र मुलुकलाई सम्हाल्नेछांै । हिजो संकटको बेलामा गिरिजाबाबुको निधन भयो । त्यो बेलामा पनि हामीले पार्टी र देशलाई सम्हालेका थियौं । उहाँसँगको निकटताका कारण उहाँबाट सिकेको धेरै विषय हामीलाई मुलुक र पार्टी सम्हाल्नका लागि मार्गदर्शन बनेका थिए । आज पनि हामी त्यही अवस्थामा छौं । पार्टीका सबै साथीहरूको साथ लिएर हामी सुशील कोइरालाले अँगालेको बाटोमा हिँड्दै उहाँले पूरा गर्न बाँकी कामलाई अगाडि बढाउँछौं । 
खासगरी सुशील कोइरालाले छोडेका जिम्मेवारी मुलुकमा के के हुन् र पार्टीमा के के हुन् भन्ने लाग्छ ?
उहाँको नेतृत्वमा संविधान आयो । तर त्यही संविधानका कारण तराई मधेसमा असहजता देखियो । उहाँ संविधान निर्माणपछि मुलुकलाई आर्थिक उन्नतिको बाटोमा लैजानुपर्छ भन्ने गर्नुहुन्थ्यो । तर उहाँले तराई मधेसको असहज अवस्था अन्त्यका लागि कठिन परिश्रम गर्नुभयो । तराई मधेसको समस्या समाधानका लागि उहाँले आफू हारेर मुलुकलाई जोगाउनुभयो । प्रधानमन्त्री पदमा उम्मेदवार बन्दा शेरबहादुरजी प्रस्तावक र म सर्मथक भएर उहाँ प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो । उहाँले व्यक्तिगत स्वार्थ हेरेको भए त पार्टीमा एमालेसँग सहमति भएको हो भन्दा त राष्ट्रपति पद सुरक्षित थियो । तर त्यो बेलामा सुशील कोइराला राष्ट्रपति हुने अनि एमाले नेतृत्वको सरकारमा कांग्रेस जाने हुँदा आज मधेसको अवस्था कहाँ पुग्दथ्यो । त्यसो भएकाले उहाँले आफू हारेर मुलुकलाई जिताउनुभएको छ । उहाँले तराई मधेसको समस्या समाधान गरेर जनतालाई राहत दिलाउन सहयोग गर्नुभएको छ । तराई मधेसको असहज अवस्थालाई सहज बनाउन कठिन परिश्रम गर्नुभयो । समस्या समाधानमा लागि परेर जनतालाई राहत दिलाउन सहयोग गर्नुभयो । एउटा संयोग भनौं, आपूर्ति सहज बनाउने उहाँको अठोट पूरा भएको छ । रक्सौल नाका खुलेर आपूर्ति सहज भएपछि उहाँको निधन भयो । त्यसो भएको हुनाले उहाँको नेतृत्वमा आएको संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी हामीहरूको का“धमा आएको छ । उहाँको सपना पूरा गर्नु हाम्रो कर्तव्य हुन आएको छ । त्यो जिम्मेवारी हामी पूरा गर्छौं । मुलुकका लागि उहाँको सपना भनेको संविधान कार्यान्वयन गर्ने र आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउने नै हो । 
पार्टीमा पनि त केही अझै गर्ने इच्छा थियो होला, सभापति कोइरालाको । अन्तिम समयमा त्यो पनि कसैलाई भन्न पाउनुभएन ?
हो उहाँले अन्तिम अवस्थामा पार्टी र मुलुकका लागि आफ्ना सपना साथीहरूलाई भन्न पाउनु भएन । तर मैले अघि नै भने मुलुकका विषयमा सधैं एउटै चिन्ता भनेको संविधान कार्यान्वयन र आर्थिक समृद्धिको बाटोमा आगाडि बनाउने भन्ने थियो । त्यसैगरी पार्टींमा पनि उहाँको सधैंको चाहना थियो, पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउने भन्ने । तर १२ औं महाधिवेशनपछि बनेको कार्यसमितिमा त्यो सम्भव भएन । उहाँले सुरुमा नै पार्टीलाई विधि र विधानअनुसार चलाउने प्रयत्न गर्नुभएको हो । विधि र विधानअनुसार पार्टी चल्दा नै संस्थागत हुन्छ भन्ने उहाँको ठम्याइँ थियो । त्यो ठीक पनि हो । तर उहाँको प्रयासलाई केन्द्रीय समितिले रोक्यो । त्यो के हो भने हाम्रो विधानमा दुई महिनाभित्र पार्टीका सवै संरचनालाई पूर्णता दिने भन्ने थियो । त्यहीअनुसार उहाँले उपसभापति र महामन्त्रीको मनोनयनका लागि केन्द्रीय समितिमा प्रस्ताव गर्नुभएको थियो । उहाँ लेनदेन गरेर होइन मतदानबाट टुंगो लगाउने अनि पार्टीलाई विधान भन्दा एकरत्ति पनि तलमाथि हुन नदिने पक्षमा देखिनुभएको थियो । तर केन्द्रीय समितिका सवै साथीहरूले केन्द्रीय समितिमा मतदानको अवस्थामा लैजानु हुँदैन भनेर उहाँलाई रोके । मतदान हुँदा पार्टी दुई भागमा विभक्त हुन्छ भनेर सबैले भनेपछि उहाँ सहमत हुनुभयो । तर पार्टी विभक्त हुनबाट भने रोकिएन । मतदानबाट टुंगो नलागेपछि लेनदेनबाट उपसभापति र महामन्त्री मनोनयनको विषय टुंगो लाग्यो । १२ औं महाधिवेशनपछि सभापतिको चाहना विपरीत लेनदेनको राजनीति सुरु भयो अनि कांग्रेसमा भागबन्डाको राजनीति पनि कायम रह्यो । उहाँले पार्टीलाई संस्थागत रूपमा सञ्चालन गर्ने र १३ औं महाधिवेशन गर्ने जिम्मा छोड्नुभएको छ । त्यो पनि हामी पूरा गरेर छोड्छौ । 
अर्को कुरा कोइरालाको निधनले मुलुकलाई अपूरणीय क्षति पु¥याएको छ । हाम्रो पार्टीलाई मात्र होइन सिंगो मुलुकलाई नै क्षति भएको छ । कोइराला सरकारकै नेतृत्वले मुलुकमा संविधान जारी गरेको र जारी संविधान कार्यान्वयन गर्न कोइरालाले नै वातावरण सहज बनाउँदै लग्नु भएको थियो । अब हामी सवैले कोइरालाप्रति सम्मान गर्ने हो भने संविधानको कार्यान्वयनका लागि इमानदारिता देखाउन जरुरी छ । म संसद्भित्र र बाहिर रहेको राजनीतिक दलहरूलाई आग्रह गर्दछु, उहाँको सपना पूरा गर्ने उहाँलाई सम्मान गर्ने हो भने हामीले उहाँको वार्षिक तिथि अगाडि नै संविधान कार्यान्वयनको पाटोमा धेरै अगाडि बढ्ने काम गरांै । जारी संविधान सफल कार्यान्वयनका लागि कोइरालाले खेलेको भूमिका नबिर्सिई उहाँको सपना साकार पार्न म र नेपाली कांग्रेस सधंै नेतृत्वदायी भूमिका खेल्न तयार छौं । 
महाधिवेशन तोकिएको समयमा नै गर्ने त भन्नुभयो । तर पार्टीको सभापतिको निधन भएको छ उहाँको सम्मानमा केही दिन सार्ने अवस्था छ कि छैन ?
हामीलाई संवैधानिक संकट हुँदैनथ्यो भने हामी हाम्रो सभापतिको सम्मानमा उहाँको वार्षिकीसम्म पनि सार्न तयार थियांै । तर अहिले हामीलाई त्यो समय छैन । हामीले फागुनभरिमा नयाँ कार्यसमितिको चयन गरिसक्नुपर्छ । त्यसकारण पनि हामीले समयमा नै महाधिवेशन गराउनुपर्छ । फेरि उहा“को सपना पनि १३ औं महाधिवेशनलाई भव्य र सभ्य बनाउने भन्ने थियो । महाधिवेशनलाई हामीले भव्य बनाउँदा पनि उहाँको सम्मान हुन्छ । 
सभापति सुशील कोइराला अब रहनुभएन । उहाँ भएको अवस्थामा तपाईंहरू तीनैजनाले नै विश्राम लिनुपर्छ र नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्ने पनि बलियो आवाज आइरहेको थियो नि ?
नयाँ नेतृत्वको खाँचो भन्ने हो भने नयाँ भनेको के ? नयाँ भनेको विचारले हुने हो । त्यो परीक्षण नभएको हुनुप¥यो । पहिलो व्यक्ति भएर काम गर्न नपाएको कारण पनि म नयाँ हुँ । अर्को, आजको परिवर्तन जुन संविधानले परिकल्पना गरेको छ, त्यो परिवर्तनको नेतृत्व गर्न सक्ने कांग्रेस बनाउन सक्ने क्षमता पनि मसँग छ । नयाँ भन्नेबित्तिकै आम नेता कार्यकतामा पनि सर्वस्वीकार हुनुप¥यो । कांग्रेसजस्तो पुरानो पार्टीको नेतृत्व एकैचोटी नया“ भन्दैमा झ्याप्पै त्यति सजिलो हुँदैन । नेतृत्व ममा आएपछि म हुँदै नयाँमा जानुपर्छ । नयाँ पुस्ता नेतृत्वमा आउन सुरु भएको छ । अहिलेको अधिवेशनमा गाउँगाउँबाट नयाँ र युवा साथीहरूले नेतृत्व गरेर आउनुभएको छ । नयाँ पुस्तामा नेतृत्व जाने प्रक्रिया  त सुरु भएको छ । यसरी नै नेतृत्वको विकास हुने हो । सिंगो पार्टीमा अहिले हेर्नुस् त हिजोसम्म इतिहास बोकेको पार्टीमा २००७ सालको संर्घषको पुस्ता थियो केन्द्रीय समितिमा अहिले २०४६ सालपछिको पुस्ता पनि केन्द्रीय समितिमा आएको छ । 
तपाईंले अहिले पार्टीमा देखेका कमजोरी के के हुन् जस्तो लाग्छ र, के के सुधार गर्दै जानुपर्छ जस्तो लाग्छ ?
अहिलेसम्म पार्टीको पहिलो व्यक्तिको कार्यशैली नै पार्टी कार्यशैली भन्ने बुझिँदै आएको छ । हामीले यो कार्यशैली बदल्नुपर्छ । यो भएन । मैले अस्ति भन्दै आएको छु वार फुटिङमा काम गर्नुपर्ने बेला हो । यस्तो अवस्थामा नेतृत्वले १० वटा कुरा सोचेर ११ वटा निर्णय गरी काम गर्नेे क्षमता राख्नुपर्छ । तर हामीले मन्द र सुस्त पाराले काम गरेर देशमा संकट परेको बेलामा पार कसरी लाग्छ ? संकट परेको बेलामा संकट निवारण गर्न सक्नेले अवसर पाउनुपर्छ ।
नेपाली कांग्रेस स्थापनाकालमा नै दुईवटा पार्टी मिलेर बन्यो अनि बीपीको पालादेखि नै दुई धारमा विभक्त कांग्रेस अहिले तलैसम्म विभाजित छ । यहाँले अब कसरी मिलाएर लानु हुन्छ ?
बीपी कोइरालाले सुवर्णशमशेरसित सल्लाह गरी जसरी सरकार र पार्टी बनाउनुभयो नि, त्यो कति समावेशी र चार जात छत्तीस वर्णको फूलबारी थियो ? पार्टीका गुट, उपगुटलाई र समुदाय सबैलाई मिलाएर बनाउनुभयो । सबैलाई समेटेर बनाउनुभयो । त्यो बेलाको सरकार अनि पार्टीको पनि संरचना हेरौं त । त्यसबेला तयार पारेका मधेसी, दलित, जनजाति र थारू समुदायका नेताहरूलाई हेरांै त । जस्तो बीपीले बनाउनुभएको थियो त्यस्तै कांग्रेस म बनाउँछु । साँच्चिकै बीपीको कामलाई, अनुयायी भनेर नाराको लागि मात्र भनेको होइन, उनको सोच, बीपीको चिन्तनलाई व्यवहारमा उतार्ने मान्छे म हुँ र म उतार्न चाहन्छु । मलाई विश्वास छ म बनाउन सक्छु । बनाएर देखाउँछु । 
सभापतिको निधन भयो । पार्टी पनि संकटमा परेको बेला पार्टीको नेतृत्व अबको महाधिवेशनले सर्वसम्मत रूपमा चयन गर्ने सम्भावना देख्नुभएको छ ?
मैले यो कुरा सबै साथीहरूसँग राख्छु । सबै साथीहरूसँग सल्लाह गरेर निर्विरोध सभापतिका लागि म पहल गर्छु । तर मलाई नै पनि यो सम्भव होला जस्तो चाहिँ लागेको छैन । 
यहाँको सभापति हुने आधार के हो ?
मेरो सभापतिमा उम्मेदवार बन्ने तीनवटा आधार छन् । एउटा नेपाली कांग्रेसमा जति नेता छन्, उनीहरूमध्ये म सिनियर मानिस हो । सिनियर म उमेरको कुराले होइन । काम गर्न थालेको समयले मात्र होइन । म कामले सिनियर हुँ । मैले काम गरेको छु, पार्टीमा संघर्ष गरेको छु । धेरै ठूला जेलजीवन बिताएको छु । अर्को कुरा, अहिले पार्टीलाई जे आवश्यकता छ त्यसको परिपूर्ति र सम्बोधन मैले नै गर्न सक्छु । आज पार्टीलाई सशक्तरूपले वैचारिक धरातलमा उभ्याउन जरुरी छ । त्यसका लागि सोच्ने, बोल्ने र गर्ने व्यक्तिको खाँचो छ । त्यो खाँचो पूरा गर्न र कांग्रेसको आवश्यकता पूर्ति गर्न सक्ने क्षमता मसँग छ । साथीहरूले पनि ममा त्यो क्षमता देख्नुभएको छ । त्यसैले सबै साथीहरू म सभापति भएको देख्न चाहनुहुन्छ र म पनि उहाँहरूको चाहनाको उपेक्षा गर्न सक्दिनँ । मैले भन्दै आएको पनि छु नेपाली कांग्रेसलाई अब प्रतिस्पर्धी पार्टीहरूमा ओरल्ली (बोलेर) मोरल्ली (उच्च नैतिकवान् बनेर) र पोलिटिकल्ली (राजनीति एजेन्डा) पनि प्रतिस्पर्धामा उत्रने पार्टी हुनुपर्छ । त्यो सम्भव बनाउने एजेन्डा मसँग छ । 
तपाईं लामो समयदेखि संसदीय बोर्ड र संगठनको नेतृत्वमा रहेर काम गर्नुभयो । यहाँले सबै निर्वाचनमा टिकट वितरण पनि गर्नुभयो । तपाईंको लागि बोल्ने त कोही पनि देखिँदैनन् । 
अघिल्लो अधिवेशनमा के भएको हो भने, पार्टीका दुईजनामध्ये कसलाई सभापति बनाउने भनी हिसाब गर्दा मैले सीधै सोचेँ सुशील कोइरालालाई । मैले कुनै सर्त राखिनँ र हिस्सा पनि मागिनँ । मैले सर्त राख्नु उचित ठानिनँ । किनभने अरूले जस्तो स्वार्थको राजनीतिले पार्टीलाई कल्याण गर्छ भन्नेमा मलाई कहिल्यै विश्वास थिएन । यो पटक पनि सभापति सुशील कोइरालासँग १३ औं महाधिवेशनमा को सभापतिको उम्मेदवार बन्ने भन्नेमा छलफल भइरहेको थियो । उहाँले त म आफैं उमेदवार हो भनेर पनि भन्नुभएको थिएन । पत्रपत्रिकाले सुशील कोइराला कोइराला परिवारको विरासत जोगाउन आफंै उम्मेदवार बन्ने भनेर त उहाँले भन्नुभएको थिएन । बैठकमा पनि म मेरो सुझाव राख्दा वा कसैलाई समर्थन गर्दा उसको गुण र दोषको आधारमा गर्ने गरेको छु ।  को उपयुक्त छ कस्को विचार उपयुक्त छ भनेर मात्र सहयोग र विरोध गर्दथे । मूल्यांकन गर्नुपर्छ भन्ने धारणा नै राखेँ । तर अरू साथीहरूले आफ्नै तालले आफ्नै किसिमले आफ्ना मान्छेहरू भागबन्डामा राख्ने कोसिस गरेँ । मैले त्यही दिन संसदीय बोर्ड बैठकमा भनेको थिएँ, हामी यहीबाट पार्टीलाई विभाजनामा लाँदैछौं । यसरी बोल्दा बोर्डका एकदुई जनाबाहेक सबै स्तब्ध भएका थिए । १४ जना बोर्ड सदस्यमा ११ जनाले मेरो कुरा ठीक हो । तर, के गर्ने अब धेरै अगाडि बढिसकियो भनेका थिए । म भागबन्डाको राजनीतिमा नलागेको कारण मेरो र तेरो भनिनँ । म अहिले पनि भन्दै छु भागबन्डाले नै कांग्रेसलाई सखाप पारेको हो । 
सभापति कोइरालालाई कसरी सम्झनुहुन्छ ?
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उनका योगदान युगौंसम्म अविस्मरणीय रहनेछ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रहिरहनुभयो । त्यागी र निष्ठावान् नेताका रूपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए ।  उहाँले भन्दै आएको विषय भनेको पार्टीलाई संस्थागत गर्ने, सहमति सहकार्य, मेलमिलाप र एकताबाट अगाडि बढ्ने भन्ने आदर्शबाट हामी कहिल्यै विचलित हुने छैनौं ।  राजनीतिका क्रममा डेढ दशक निर्वासन जीवन व्यतीत गरेका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए । नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेतासँग निकट रही काम गरेका उहाँसँग धेरै अनुभव थियो । 

]]>