देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेल र देउवा दुवैले अनौपचारिक उम्मेदवारी घोषणा गरे

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका कार्यबहाक सभपाति रामचन्द्र पौडेल र  बरिष्ठ नेता शेरवहादुर देउवाले अनौपचारिक रुपमा विहिबार सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।   देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा र पौडेलले अनामनगरस्थित सम्पर्क कार्यालयबाट उम्मेदवारी घोषणा गरेका हुन् । दुवै नेताले औपचारिक घोषणा भने पछि हुने बताए । देउवाले उम्मेदवारीसहित आफ्नो अभियान घोषणा गरेको जानकारी पाएपछि पौडेलले पनि पत्रकार भेटघाट आयोजना गरी त्यस्तै जानकारी गराएका थिए ।

देउवाको कार्यक्रम भन्दा ५ घण्टापछि आयोजित पत्रकार भेटघाटमा पौडेलले औपचारिक घोषणा पछि हुने भन्दै आफ्नो उम्मेदवारीको औचित्वबारे संचारकर्मीलाई जानकारी गराएका थिए । उम्मेदवारीका कारणबारे दुबैले दिएका तर्क र धारणा करिव समान छन् । दुवै नेताले संचारकर्मीलाई अनौपचारिक भेटघाट भन्दै बोलाएका थिए । तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३ औं दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने पार्टी निर्णय अनुसार दुवै पक्षले भेटघाटलाई अनौपचारिक रुपमा लिन आग्रह गर्दै आफ्ना धारणा राखेका थिए ।  देउवाले पार्टी नेतृत्वमा सहमति कायम गर्न कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा सहयोग गर्ने प्रस्ताव गरेको बताए ।  

‘म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्रीमा बस्दा पार्टी एकताको सन्देश पनि जान्छ र पार्टी एकढिक्का पनि हुन्छ’ संचारकर्मीमाझ देउवाले भने, ‘सहमतिकै लागि रामचन्द्रजीलाई प्रधानमन्त्रीमा सहयोग गर्न म चाहन्छु ।’

ठिक उस्तै शैलीमा पौडेलले पनि आफ्नो क्रियाशीलता पार्टीमै आवश्यक रहेको बताए । उनले भने, ‘बरु देउवाजीले नै प्रधानमन्त्री या राष्ट्रपतिमा बसेर मलाई सहयोग गर्नुहोस्, त्यसरी पनि सहमति हुन सक्छ ।’ पौडेलले प्रधानमन्त्रीको लोभ लालचमा आफू नफस्ने बताए ।   पार्टीको १३ औं महाधिवेशन नजिकिदै गर्दा दुवै नेताले आ आफ्नो उम्मेदवारीको औचित्व पुष्टी गर्ने प्रयास थालेका छन्।  देउवाले पार्टीलाई एक बनाउने र अहिलेका राष्ट्रिय मुद्दालाई सम्वोधन गर्ने प्राथमिकताकासाथ आफू सभापति हुन चाहेको धारणा राखेका थिए ।  ‘हिजो को कहॉ थियो भन्ने आधारमा होइन, योग्य, क्षमतावान सवै साथीहरुलाई म समेटेर अघि बढ्छु ।

कसैलाई काखा र पाखा गर्दिन’ पार्टी एक बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै देउवाले भने,‘हिजोजस्तो पार्टीलाई अनिर्णयको बन्दी हुन म दिन्न, समयमा निर्णय गर्न नसक्दा सरकारबाट मनोनित हुने सांसद गुमाउन पुग्यौ, भूकम्पले पुर्‍याएको क्षतीको पुर्ननिर्माण गर्ने प्राधिकरणका सिईयो गुमाउन पुग्यौ ।’

पौडेलले पनि योग्य र क्षमतावानालाई ठाउँ दिएर पार्टीभित्र मौलाएको भागबण्डाको अन्त्य गर्ने आफ्नो मुख्य योजना रहेको बताए । विगतमा आफ्नो मध्यमार्गी भूमिकाका कारण दुवै पक्षका नेता तथा कार्यकर्ताका लागि आफू सहज हुने तर्क उनको थियो । ‘अहिलेको मुख्य आवश्यकता नै एकताको छ । पार्टीमा भएको भागबण्डा अन्त्य गरी एक बनाउन मेरो हस्तक्षेपकारी भूमिका हुनेछ’ पौडेलले भने ।   संविधान निर्माणको नेतृत्व कांग्रेसले गरेको र त्यसलाई कार्यन्वयन गर्ने दिशामा पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको ठम्याई देउवा र पौडेल दुवैको थियो । सरकार बाहिर रहेरपनि सविधान कार्यन्वयनको नेतृत्व दिन सक्ने सवल र सक्षम पार्टी बनाउने अठोट दुवै नेताले राखे । आवश्यक परेमा सरकारको नेतृत्व समेत लिन सकिने आशय उनीहरुको थियो ।  

देउवाले मधेस, थारु, महिला, जनजाति, दलितलगायतको समस्या समाधानका लागि आफ्नो तत्परता र अग्रसरता रहने बताए । भने,‘राष्ट्रिय मुद्दाहरुलाई समाधान गर्दै देशलाई एक बनाउने काम म गर्न सक्छु ।’ सवै राजनीतिक दललाई मिलाएर अघि बढाउन आफ्नो कार्यशैली र लचकताले काम गर्ने बताउदै देउवाले सीमाकंनका बिषयलाई पनि मिलाएर लैजाने अठोट राखे । पौडेलले संविधानले ल्याएको परिवर्तनलाई कार्यन्वयन गर्नका लागि आफ्नो क्रियाशीलता अघि बढाउने बताए । औपचारिक घोषणा गर्दा आफ्नो उम्मेदवारीसंग आफूले लिने नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्ने उनले बताए ।  

महाधिवेशनको मुखमा आफूइतर पक्षबाट केही पूर्वाग्रही आरोपहरु आएको बताउ‘दै देउवाले त्यसको पनि खण्डन गरे । दरबारमा लगेर प्रजातन्त्र बुझायो भन्ने आरोपको खण्डन गर्दै देउवाले त्यतिबेला चुनाव सार्ने पक्षमा स्वयं तत्कालिन सभापति सुशील कोइराला र गोविन्दराज जोशीको पनि हस्ताक्षर भएको बताए । चुनावको मिति सारेकै कारण तत्कालिन राजा ज्ञानेन्द्रले ‘कु’गरी शासन सत्ता लिएको आरोप देउवा माथि लाग्दै आएको छ । ‘आरोपको पनि एउटा हद हुन्छ । हु‘दै नभएको आरोप अहिले मलाई किन लगाईदैछ रु देउवाले भने, ‘निर्वाचित सरकारले अपदस्थ भएको वीपी र मेरै पालामा हो । त्यसो भए वीपीलाई पनि प्रजातन्त्र राजालाई बुझयो भन्ने ?’

निर्वाचित सरकार अपदस्थ गरी राजाले सवैभन्दा बढी जेल आफैलाई हालेको प्रशङ उल्लेख गदै देउवाले सीमा नाघेर आफूमाथि पूर्वाग्रही नभईदिन आग्रह गरे । उनले पार्टीभित्रको विभाजनको प्रभावलाई मेटाएर एक बनाउन नै आफू अघि बढेको बताउदै मधेस, पाहड र हिमाललाई जोड्न सक्ने नेता भएर देखाउने अठोट लिए । ‘यो ऐतिहासिक पार्टीलाई एक नबनाई हुन्न । कांग्रेस एक भयो भने मात्रै मुलुकको एकता बलियो हुन्छ’ देउवाले थपे, ‘त्यसैका लागि मेरो उम्मेदवारी हो ।’ कान्तिपुर दैनिकमा समाचार छ।  

]]>