देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमान दुर्घटना जाँचबुझ आयोग गठन

देशान्तर

काठमाडौं । सरकारले आज म्याग्दीमा तारा एयरको हवाइजहाज दुर्घटनामा परेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ‘हवाई दुर्घटना जाँचबुझ आयोग’ गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको मन्त्रालय सचिव पे्रमकुमार राईले जानकारी दिए ।
 
आयोगका सदस्यमा नेपाली सैनिक विभागका इन्जिनियर दीपक बास्तोला, सिम्रिक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला, नेपाल वायुसेवा निगमका क्याप्टेन सुवास रिमाल र मन्त्रालयका सहसचिव सुरेशमान आचार्य रहेको छ । पोखराबाट आज बिहान ७ः५० बजे जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको विमान दाना, सोलिघोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटना हुँदा चालक दलका तीन सहित २३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त
 
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रले पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले विज्ञप्ति जारी गरी विमान दुर्घटनामा दिवङ्गत चालक दलका तीन सदस्यसहित २० यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
 
विज्ञप्तिमा भनिएको छ– “वायुयानमा कुल २० यात्रुमध्ये १८ वयस्क, दुई नाबालक थिए,  वयस्कमध्ये १६ नेपाली तथा एक एक कुवेती र  चिनियाँको मृत्युप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछौं ।” केन्द्रले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आवश्यक प्राविधिक उपकरणसहित उद्धारका लागि परिचालन भइसकेको जनाएको छ ।

]]>