देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस महाधिवेशनमा भित्तेलेखन र पोस्टर प्रयोग नगरिने

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनको प्रचारप्रसारका लागि पार्टीले भित्तेलेखन र पोस्टर प्रयोग नगर्ने भएको छ । उही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि सहर बजारलाई कुरुप र फोहर बनाउने खालका प्रचारका उपाया नअपनाउने निर्णय गरिएको काँग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचार समितिका सदस्य बद्री पाण्डेले भने ।

दलहरुले गर्ने भित्तेलेखन र पोस्टरिङले सार्वजनिकस्थल फोहर र प्रदूषित देखिने निष्कर्ष निकाल्दै काँग्रेसले देशभरका मुख्य मुख्य ठाउँलाई रङ्गीचङ्गी बनाउने खालका प्रचारका उपाय अपनाउने तयारी गरेको छ । साथै विद्युतीय प्रचारलाई बढी जोड दिने तयारी छ ।  समितिले महाधिवेशनको सूचना सञ्चारमाध्यमलाई सहज र शीघ्र तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र सूचना केन्द्रलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने तयारी समेत गरिरहको छ ।  सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतलाई अधिकतम सदुपयोग गरिने महाधिवेशन प्रचार समितिका प्रमुख डा मीनेन्द्र रिजालले जानकारी दिए । ‘भित्तेलेखन र पोस्टरिङको विकल्पमा मुख्य चोकमा सूचनापाटी, स्वागतद्वार, फ्लेक्स आदि प्रयोग गरिनेछ’– डा रिजालले भने ‘रेडियो, टेलिभिजन र अनलाइनको पनि सहयोग लिने भएका छौँ ।’ महाधिवेशनको उद्घाटनसत्र, बन्दसत्र र घोषणासभाका मुख्य प्रसङ्गको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिने बताइएको छ ।  

काँग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि बनाएको छ । वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कवीर राणाको संयोजकत्वमा सूचना केन्द्र, कृष्ण केसीको संयोजकत्वमा प्रविधि, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरिएको छ ।

 प्रचारप्रसारका क्रममा काँग्रेसले महाधिवेशनको मूल नाराका रुपमा छुट्टै नारा पनि बनाएको छ । महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौँ संविधानः समृद्ध राष्ट्रनिर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरिएको छ ।  काँग्रेसको प्रचार समितिको संयोजकमा काँग्रेस प्रचार विभाग प्रमुख डा रिजाल र सदस्यमा केन्द्रीय सदस्य पाण्डे, अजयकुमार चौरसिया र सुरेन्द्रराज पाण्डे छन् । 

 

]]>