जाजरकोट। मध्य पहाडी लोकमार्ग निर्माणको जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा जाजरकोट खण्डको निर्माणकार्य अलपत्र परेको छ।
जाजरकोटको कुदुदेखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर सडक निर्माणको काम अलपत्र भएको छ । दुई वर्षभित्र यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाएको पश्चिम लोकमार्ग आयोजना ठेकेदारका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।
जिल्लाको कुदुदेखि दैलेखको सुयाडासम्मको ८२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम विभिन्न ठाउँमा अलपत्र छ । स्तरोन्नतिको काम पनि अगाडि बढ्न सकेको छैन । बीस किलोमिटर बढी सडक निर्माणको जिम्मा लिएका तीनवटा निर्माण कम्पनीले सम्झौताअनुसारको काम पाँच वर्षदेखि नगरेका कारण सडक निर्माणको कार्य अलपत्र परेको आयोजना कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।
आयोजनाको जगतीपुरको कुदुदेखि दसेरा र झाप्रा गाविसको सिमानामा पर्ने थलह बजारसम्मको सडक निर्माणको काम अहिले रोकिएको छ । कार्कीगाउँदेखि झाप्रा गाविसको बीचमा सडकको ट्रयाक नै खुलेको छैन । सडक निर्माणको काम रोकिएपछि सर्वसाधारण मात्र होइन, सरकारी लक्ष्यसमेत अप्ठ्यारोमा परेको छ । निर्माण कम्पनीमध्ये स्पेक्स खानी धुलिखेल जेभी, कन्काइ कविर थापा जेभी तथा अनक रोड एन्ड व्रिज कविर जेभीले जिम्मा लिएको काम रोकिएको आयोजनाले जनाएको छ ।
अर्काको फर्म लिएर काम सुरु गर्ने पछि बीचमै कामै छोडेर भाग्ने चलनका कारण आयोजनाको काम अल्झिएको हो । स्पेक्स खानी धुलिखेल जेभीको फर्म खलङ्गा–२ का प्रकाशजंग शाहले लिएर काम सुरु गरेको तथा अन्य दुई वटा फर्म कविर थापा र गोरे तामाङले प्रयोग गरेर काम गरेका थिए । शाहले झाप्रा विद्यालयदेखि थलह बजारसम्म पाँच किलोमिटर, थापाले कुदुदेखि चौखे ढुङ्गासम्म साढे आठ किलो मिटर र तामाङले दसेराको वडावनदेखि जेवासम्मको साढे पाँच किमी सडक निर्माणको जिम्मा लिएका थिए ।
उनीहरुमध्ये शाहले पाँच वर्षदेखि काम नगरेको र अन्य दुई जनाले तीन वर्षदेखि कामै नछोएको आयोजनाले जनाएको छ ।
एक पटक सम्झौता गरेपछि त्यसको म्याद १५ महिनाको हुने गरे पनि लामो समय काम छोड्ने माथि कुनै कारबाही नभएको सरोकारवालाहरुको गुणासो रहेको छ । पटकपटक ताकेता र फर्म कालो सूचीमा राख्ने चेतावनी दिएपछि केही समयपछि काम सुरु गर्ने गरी वाचा गर्ने गरेका छन् ।
ठेकेदारलाई कालो सूचीमा राख्न ताकेता गर्ने तथा चेतावनी दिनेबाहेक केही गर्न नसकिने आयोजनाको भनाइ छ । जाजरकोटको भूभागभित्र ८२ किलोमिटर सडक निर्माणका लागि विभिन्न १५ वटा निर्माण कम्पनीले काम गरिरहेको र तीमध्ये तीन वटाले चार वर्षदेखि काम छोडेका कारण पूरै योजना अलपत्र पर्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ । जिल्लामा एक दर्जन गाविसमा सडक पहुँच पु¥याउन रु ५६ करोड बजेट विनियोजन भएपनि काम पूरा हुन सकेको छैन ।
सरकारले गल्ती गर्नेलाई कारबाही गर्न नसकेका कारण ठेकेदारले बेइमानी गरेको आयोजनाको आरोप छ । जनताको नाममा आएको बजेट र कार्यक्रम गलत नियत राख्नेहरुबाट बर्सेनि दुरुपयोग हुने र योजना अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
]]>
प्रतिक्रिया