श्रीआचार्य
सबैको ध्यान नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनतर्फ तानिएको छ । अब त्यो पार्टीको नेतृत्व कस्तो व्यक्तिको हातमा जान्छ– मूलत: चासो धेरैतिरको यही हो । छिमेकी राष्ट्रहरू, अन्य मित्र राष्ट्र, यहाँका विदेशी नियोग– सबैले आ–आफ्नै स्वार्थका आँखाले कांग्रेसको आसन्न महाधिवेशन र भावी–नेतृत्वको सम्भावना नियाल्दै छन् । कसलाई कुन रूपमा सहयोग गर्ने र कसलाई जिताउँदा आफ्नो बोली बिक्छ– त्यसअनुसार उनीहरूले प्रत्यक्ष–अप्रत्यक्ष दुवै पारामा चाल चलाउन थालिसकेका छन् । त्यो अर्कै पाटो हो । अन्य पार्टीको महाधिवेशन र नेतृत्व चयनको वेला पनि तिनले त्यस्तै गर्छन् । तिनका स्वार्थमा नेपाली जनताको भावना मिल्दैन । जे गरून्, त्यता नलागम् ।
कांग्रेसको महाधिवेशन र त्यसबाट छानिने नयाँ नेतृत्ववारे जहाँसम्म नेपाली जनताको चासो–चिन्ता र रुचि प्रकट भएको देखिन्छ– त्यसमा कहिल्यै कुनै स्वार्थ हुँदैन । त्यो शुद्ध प्रजातन्त्र अर्थात् राजनीतिक स्वतन्त्रतासँग गाँसिएको राष्ट्रिय चासोको विषय हुन्छ । यद्यपि यो पार्टीले पनि नेपाली जनतालाई खासै दिएको केही छैन । लिएका यसका नेता र धूर्त कार्यकर्ताले मात्र छन् । हो नै, २०४६ सालको आन्दोलनपछि सबैभन्दा बढी नेपाली कांग्रेसले सत्ताको नेतृत्व लियो । त्यसपछि अहिलेसम्म कांग्रेसले पटकपटक गरेर लगभग १६ वर्षभन्दा बढी काल शासन गर्यो होला । तर जनताको पीर–मर्कामा यसले साथ दिएको अनुभव गर्न सकिएन । जनताले पञ्चायतको पीडाबाट जो मुक्ति र प्राप्तिको आशा गरेको थियो– त्यो पूरा भएन । देश भनसुनमा नै चल्यो । आफन्त, नातावादको घेराबाट नेताहरू बाहिर निस्कनै सकेनन् । अन्याय, अत्याचार, भ्रष्टाचार पहिला जस्तो थियो अहिले पनि उस्तै छ । न्याय, प्रशासन, प्रहरीको सोच र कार्यशैलीमा परिवर्तन आएन, उही जंगी मानसिकता । तर पनि सुधारको सबै ठेक्का तिनै न्याय, प्रशासन र प्रहरीका उच्च रिटायर्डहरूलाई । नयाँ केही नगर्ने, नेताहरूलाई सत्ता भए पुग्यो । परिणामत: मुलुक झन् गरिब र जनता झन् दु:खी हुँदैछन् । शिक्षा, स्वास्थ्य, यातायात, पानी–बिजुली, खेती–पाती, उद्योग–व्यापार आदि–इत्यादि– हरक्षेत्र अस्तव्यस्त र भद्रगोल छ ।
अर्थात्, आजसम्म जति पटक जो जस्को नेतृत्वमा सत्तामा बसे पनि कांग्रेस पार्टी शासनमा सफल भएन । यो पार्टीका नेतामा सुशासन गर्ने र देश हाँक्ने क्षमता छैन– जनता यही भन्छ । यो भनाई सोह्रै आना सत्य हो । तथापि, कांग्रेसले जनताको हितमा पटक्कै काम गरेन भन्ने मान्दामान्दै– नेपाली जनताले यो पार्टीलाई सत्तामा रहन र आन्दोलनमा पनि पटकपटक साथ दिएको छ । किन ? किनभने, राजनीतिक रूपमा प्रजातन्त्रको रक्षा गर्ने पार्टी जनताले कांग्रेसलाई ठान्छ । यो पार्टी प्रजातन्त्रको मामलामा कहीँ कसैसँग पनि सम्झौता गर्दैन भन्ने जनताको विश्वास छ । जनताको त्यो विश्वास पार्टीका कर्तव्यनिष्ट र अनुशासित कार्यकर्ताले मात्र बचाउन सक्छन् । अनुशासनहीन र दागीले सक्दैनन् । तुलसी गिरीहरूको समकक्षमा पुगेका व्यक्तिलाई अब प्रजातन्त्रवादी मतदाताले पत्याउँदैनन् । कार्यकर्ताहरूलाई जनताको माया र विश्वास चाहिन्छ कि पैसावाल नेताको संरक्षण– आफंै ख्याल गरून् ।
कुरा जति गरे पनि उही हो । नेपालको कथित उच्च वर्गीय सामाजिक सोच अत्यन्तै स्वार्थ केन्द्रित छ र त्यही खराबीको कारण राजनीतिक व्यवस्थाले दिगो रूप लिन सकेको छैन । प्रजातन्त्रको भविष्य अझै सुनिश्चित छैन । प्रजातन्त्रकै खोल ओढेर आफ्नो स्वार्थको दुनो सोझ्याउनेहरू जताततै जहिले पनि सल्बलाएको सल्बलायै छन् । राजतन्त्रका हिमायती राणा, शाह, तिनका चौतारिया थापा, काजी, पाण्डे खलक र दरबारियाहरू जो जुन पेसामा भए पनि ती सधंै प्रजातन्त्र र कांग्रेस विरोधी हुन्– तिनको कुरै छाडौं, कांग्रेसभित्रै पनि त्यस्ता तत्व पहिलेदेखि अहिलेसम्म छन् । २००७ सालमा क्रान्ति सफल भएर राणाशासन समाप्त भएपश्चात् नै कांग्रेसभित्र त्यो तत्व देखिएको हो । जनताको डर त्यही हो : कतै कांग्रेस त्यस्तै तत्वको हातमा नपुगोस् ।
अनुभवै छ, त्यो तत्व बेलामौकामा कहिले मातृका कोइराला, कहिले तुलसी गिरी त कहिले शेरबहादुर देउवाको रूपमा देखिन्छ, भेटिन्छ । पार्टीका निर्णय नाघेर–नमानेर प्रजातन्त्र दरबारमा बुझाउन घुँडा टेकेर जुम्लाहात राजासामु निहुरिन पुग्छ । तव हुन्छ, महेन्द्रोदय र ज्ञानेन्द्रोदय । भएकै हो । इतिहास सिद्ध यथार्थ घटना हुन् ती । एकथरी अर्का छन्, जो कांग्रेसभित्र र बाहिरबाट त्यसको नेतृत्वमा रहने आधिकारिक सबलधारलाई निर्बल बनाउन सधैं लागिरहन्छन् । आजसम्म तिनको काम नेतृत्वमा रहेको र आउन चाहने ‘कोइराला’हरूको विरोध र बदनाम गर्नु थियो, गरिरहे । न ती भट्टराईका मान्छे थिए न त देउवाका मान्छे हुन् । नेपालका केही चर्चित ‘रोयल प्रोडक्ट पत्रकार’ जो दिल्लीको दिशा हेरेर समाचारको खेती गर्छन्– तिनीहरूसमेत त्यो कार्यमा सामेल थिए र छन् । तिनका बारेमा अब हलेँदो कोट्याएर औंला पहेँलो बनाउनु जरुरत छैन । नेपाली कांग्रेसका नेता एवं सभापति सुशील कोइरालाको निधनपछि कांग्रेस कमजोर बनाउने त्यो तत्वको भूमिका एक किसिमले अन्योलमा थियो । कोइरालाहरूको विरोध गरे झै रामचन्द्र पौडेलको विरोध गर्नु तिनलाई सजिलो थिएन । तर ती दुवैथरीले यतिबेला देउवाको पक्षमा ‘कोइराला थर’ खोज्दै हिँडेर आफ्नो कित्ता स्पष्ट पारिसकेका छन् । यति भइसकेपछि कांग्रेसका प्रतिनिधिको चेत खुल्नुपर्ने हो– कांग्रेस र यो मुलुकको प्रजातन्त्र संस्थापनको नेतृत्वमा सुरक्षित रहन्छ कि ‘तान्त्रिक’ को ?
स्वाभाविक रूपमा निकै लामो समयपछि कांग्रेसको नेतृत्व कोइराला इतरमा जाँदैछ । रामचन्द्र पौडेल त्यसको हकदार देखिएका छन् । भाग्यले उनलाई त्यो स्थानमा पुर्याएको हो । ल्याकतले हैन, खुबी पछि पारख होला । नत्र देउवा कम थिएनन् । देउवाले आफैं बाटो बिराएका हुन् । पार्टीको निर्णय नाघेर दरबारको बाटो उनी आफैं लागेका हुन् । कसैले धकेलेको हैन । सबैको सामुन्ने आएको यथार्थ यो छ कि : रामचन्द्रले १७ पटकसम्म पार्टीको एउटै निर्णय ननु नच नभनी शिरोपर गरे । जनस्तरमा उनको आलोचना भयो, खिल्ली नै उडाइयो । हार्ने थाहा हुँदाहुँदै पनि उनी प्रम पदको उम्मेदवार बनिरहे । किनभने, उनलाई पार्टीले उठ भनिरह्यो । उठे । जनताले पद–लोभी भन्यो । आलोचनाको विष पिइरहे । तर देउवा पार्टीले गरेको यौटा निर्णय आफ्नो पक्षमा नहुँदा पार्टी फुटाउन र दरबारमा प्रजातन्त्र बुझाउन पुगे । दुईबीचको अन्तर यही हो । यहाँ, पौडेल र देउवाको नाम पार्टीको निर्णय मान्ने र नमान्ने व्यक्तिको उदाहरणमा टिपिएको हो । कुरा प्रवृत्ति र नियतको हो, व्यक्ति विशेषको होइन । कांग्रेस पार्टीका निम्ति पौडेल अनिवार्य र एकमात्र योग्य व्यक्ति हुन् वा होइनन्– यो खोजिपस्नु पंक्तिकारको चासोको विषय हैन । त्यहाँका संस्थापनहरू आफैं मिलेर खोजून् । तर देउवा जनस्तरमा प्रजातन्त्रप्रतिको विश्वास गुमाएका व्यक्ति हुन्– यो चै भन्नै पर्दैन, सबैलाई थाहा छ । केही कार्यकर्ताले चोख्याएर उनी चोखिँदैनन् । जिते पनि चोखिँदैनन् । बरु उनले प्रायश्चित्त स्वरूप संस्थापन पक्षलाई निर्विरोध दिँदा हुन्छ, जस्लाई होस् ।
राजनीति गर्नु भनेको पार्टीको सिद्धान्तलाई व्यवहारमा उतार्नु हो भने त्यसका लागि सत्तामा पुग्नै पर्छ र सत्तामा जाने अभीष्ट राख्ने कुनै पनि राजनीतिक पर्टीले जनताको नजरमा गिरेको र कुनै पनि दरबारको प्रिय व्यक्ति नेतृत्वमा जबर्जस्ती थोपर्नु हुँदैन । पछि महँगो पर्छ । सत्तामा पुगिन्न । तर जनताले कांग्रेस–महाधिवेशनको यो पूर्वसन्ध्यामा यस पार्टीको अबको नेता को हुन्छ– सत्ताको सन्दर्भमा हैन, प्रजातन्त्रको पहरेदार पार्टीको विश्वासको आधारमा हेरेको छ । जनताको विश्वासमा कांग्रेसका कार्यकर्ताले धोका नदियून् । नियतवश कुबाटो लागेकाहरूलाई सुबाटोमा फर्काउन त हुन्छ तर पथ–प्रदर्शक बनाउन हुँदैन । बनाए धोका पाइन्छ, यसमा सन्देह छैन ।
]]>
प्रतिक्रिया