प्रा.डा.यज्ञप्रसाद अधिकारी
राजनीतिक विश्लेषक एवं चिन्तकको रूपमा परिचित हुनुहुन्छ । उहाँका झन्डै एक दर्जन जति सामाजिक न्याय, लोकतान्त्रिक समाजवाद एवं सुशासनजस्ता विषयहरूमा अनुसन्धानमूलक पुस्तकहरू तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौं लेखहरू प्रकाशित भइसकेका छन् । अधिकारीलाई बीपी. कोइराला, सीके. प्रसार्इं, प्रदीप गिरीपछिको पुस्तामा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउन निरन्तर क्रियाशील व्यक्तित्वको रूपमा पनि लिने गरिन्छ । उहाँकै सम्पादनमा पछिल्लो समयमा प्रकाशित ‘नेपालमा समाजवाद : सिद्धान्त र व्यवहार’ नामक पुस्तक चर्चित छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसको नेतृत्व, नीति र संगठनका सम्बन्धमा अधिकारीसँग देशान्तरले गरेको कुराकानीको सम्पादित अंश :–
भिएको छ । पार्टीको नीतिका सम्बन्धमा भन्दा नेतृत्वको बहस बढी भएको देखिन्छ । यसलाई तपार्इं कसरी हेर्नुहुन्छ ?
नेपालको राजनीतिक विकासमा नेपाली कांग्रेसको योगदान सधंै उल्लेखनीय रहँदै आएको छ । झन्डै सात दशक लामो यसको इतिहासलाई हेर्दा यो पार्टी सबैभन्दा जेठो पार्टीमात्र नभएर राजनीतिक एवं सामाजिक रूपान्तरणको संवाहक पनि रहँदै आएको देखिन्छ । मानिसहरूले नेपाली कांग्रेसको नीति र कार्यक्रम नै छैन भनेर हल्का टिप्पणी गरेको पनि सुनिन्छ, तर त्यो होइन । यो दलले २००७ सालको सेरोफेरोमा अवलम्बन गरेका आदर्शहरू आज वामपन्थी र दक्षिणपन्थी दुवैका लागि मार्गदर्शकको रूपमा रहेका छन् । विचारको प्रष्टता भएन भन्नु मलाई त्यति उचित लाग्दैन । लोकतन्त्र, राष्ट्रियता र समाजवाद यसले अवलम्बन गर्दै आएका आदर्शहरू हुन । यिनै आदर्शहरूको सेरोफेरोमा रहेर नीतिनिर्माण गर्ने गरेको देखिन्छ । हिजो यो पार्टीले संवैधानिक राजतन्त्रलाई मान्यता दिएको थियो तर राजतन्त्र कहिल्यै पनि लोकतन्त्रको पक्षधर हुन सकेन । कांग्रेसले त्यसलाई छोड्यो । नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय नगरेको भए र गणतन्त्र स्थापना गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश गिरिजाप्रसाद कोइरालाले निर्माण नगर्नु भएको भए केवल वामपन्थीहरूका नाराका आधारमा नेपालमा गणतन्त्र कदापि स्थापित हुन सक्ने थिएन । संघीयता नेपाली कांग्रेसले सुरुदेखि नै अवलम्बन गरेको विषय होइन । बदलिँदो परिवेशअनुरूप स्वीकारिएको हो । लोकतन्त्र, संघीयता र गणतन्त्रलाई वर्तमान संविधानले संस्थागत गरेको छ । संघीयता, लोकतन्त्र र गणतन्त्रको मान्यता अनुरूप आफ्ना नीतिहरू निर्माण गर्ने र कार्यान्वयन गर्ने दिशातिर नेपाली कांग्रेस लागेजस्तो लाग्दछ । तर केही समययताको अनुभवले के देखाएको छ भने विधान संशोधन, नीतिनिर्माण र नेतृत्वचयन जस्ता विषयहरू एउटै अधिवेशनमा गर्नु नहुने रहेछ । म राजनीतिशास्त्रको विद्यार्थीको हैसियतले गाउँ, क्षेत्र र जिल्ला तहका अधिवेशनहरू अवलोकन गरेँ । तपाईंले भन्नु भएका विषयमा निश्चितरूपले सत्यता छ र त्यो सत्यता पनि हो । भावी नीति निर्माणको गम्भीरताको अभाव छ ।
समग्र लोकतन्त्र र कुनै पनि पार्टीको आन्तरिक लोकतान्त्रिक जीवनमा त्यतिखेर मात्र प्रभावकारिता आउन सक्छ, जतिखेर संगठन सञ्चालकले नीति, नेतृत्व र संगठन निर्माणको पक्षलाई सँगसँगै लान सक्तछ । यी तीनै पक्षको त्यत्तिकै महत्व हुन्छ । आवधिक अधिवेशनहरूले यी तीनै पक्षलाई गम्भीरताका साथ सम्बोधन गर्नुपर्दछ । गाउँगाउँदेखि नै नीति तथा कार्यक्रमका विषयमा छलफल हुँदै गर्दा एउटा जीवन्त नीति बन्थ्यो । तर यो पनि फेरि स्वाभाविक हो नेतृत्व र नीति एकै पटक कांग्रेसमा मात्र हैन कुनै पार्टी कुनै पनि संघ संस्थामा पनि बन्न सकेको छैन हामीले पनि देखेका छैनौ ।
राजनीतिक विश्लेषकका हिसाबले नीतिगत विषय ओझेलमा पर्दा नेपाली कांग्रेसले भविष्यमा कस्तो कार्यदिशा निर्धारण गर्ला ? कतै भविष्य अन्योलमा त पर्दैन ? कांग्रेसले नीतिगत विषयलाई कम महत्व दिन्छ भन्ने पनि आमकार्यकर्ताको बुझाइ रहेको छ ।
वर्तमानमा केही नवीन मुद्दाहरू अगाडि आएका छन । संघीयता मेहनतका साथ निर्माण गर्ने विषय हो । संघीयतालाई व्यवहारमा उतार्न त्यति सजिलो छैन । आफूले जिम्मा लिएका विश्वविद्यालयहरूका संरचनासम्म निर्माण गर्न नसक्ने राज्यले संघीयतालाई व्यवहारमा उतार्न त्यति सजिलो छैन । तर यो पार्टीको जन्मकालदेखि आजसम्म नेपालको राजनीतिक विकासको जसरी नेतृत्व गर्दै आयो त्यसलाई हेर्दा भविष्यमा यो पार्टीले बाटो बिराउला जस्तो लाग्दैन । नीति र कार्यक्रमको विषयमा गम्भीर छलफल र बहसको थालनी भने हुनै पर्दछ । नेपाली कांग्रेसले इतिहास हेर्दा पनि कुनै एउटा महाधिवेशन कुनै एउटा समयमा नीति सिद्धान्तका हिसाबले अलि कमजोर देखिँदैमा भविष्य नै अन्योलमा पर्यो भन्ने हुँदैन । मैले अगाडि पनि भने बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने पार्टीका जुन आदर्श स्थापना गर्नुभयो । यसैको जगमा रहर नेपाली कांग्रेसले आफ्नो नीति तथा सिद्धान्त तय गर्ने गरेकाले कुनै एउटा समयमा नीति सिद्धान्त कमजोर देखिए पनि भविष्य नै अन्योलमा पर्ने भन्ने हुँदैन ।
कांग्रेस पार्टीको सांगठानिक संरचना कस्तो बनाउने भनेर पार्टीको विधान संशोधनको विषयमा छलफल भइरहेको छ । तपाई्रंको विचारमा विधान कस्तो बन्नुपर्दछ ?
जननायक बीपी कोइराला प्रधानमन्त्री र पार्टी सभापति भएको बेलामा निर्मित नेपाली कांंग्रेसको विधान २०१७ लाई पटकपटक संशोधन र परिमार्जन गरी वर्तमान अवस्थासम्म आएको छ । नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनले आफ्नो विधानलाई विभिन्न जातजाति, भाषाभाषी, धर्म, वर्ग र क्षेत्रका जनताको सहभागिताका लागि समावेशी बनायो । समावेशी चरित्रका दृष्टिले नेपालका कुनै पनि राजनीतिक दलहरूले यस किसिमको विधान निर्माण गर्न सकेका छैनन् । यो समावेशी चरित्रको व्यवस्थालाई यस पटकको विधान संशोधनले अरू व्यापक तुल्याउने प्रयास गरिरहेको मैले बुझेको छु । जहाँसम्म विधान कस्तो बनाउने भन्ने तपाईंको प्रश्न छ– नेपाली कांग्रेसको विधान यसको जन्मकालदेखि नै लोकतान्त्रिक र जनमैत्री रहँदै आएको छ । यसलाई अझ लोकतान्त्रिक र बदलिँदो परिवेशका चुनौतीहरूलाई सामना गर्न सक्ने किसिमले यसको संशोधन हुुनु जरुरी छ । संगठनको संरचना केन्द्रमा मात्र होइन गाउँगाउँसम्म पुरानो पार्टी आमनेता कार्यकर्तालाई सम्मान दिने खालको बनाइनुपर्छ । त्यही अनुरूपमा विधानमा व्यवस्था गरेर विधान संशोधन गर्न आवश्यक छ । बीपी कोइरालाले त्यो बेलामा एकजना दलितलाई महामन्त्री बनाएको, सुदूरपश्चिमको एकजना महिलालाई पहिलो जननिर्वाचित सरकारमा मन्त्री बनाएको, गणेशमान सिंहदेखि रामनारायण मिश्रसम्मलाई सँगै लिएर हिँडेको नेपाली कांग्रेसको विधान आज अझै समावेशी हुनुपर्यो, आज अझै फराकिलो हुनुपर्यो । बीपी कोइरालाको अवशानसँगै नेपाली कांग्रेसले पञ्चायतका बेलामा पञ्चायतका विरुद्धको संघर्षमा बढी केन्द्रित भयो । त्यही भएर हो या नेताहरूले नचाहेर हो बीचको केही समयमा नेपाली कांग्रेसले बीपीले व्यवहारमा उतारेको समावेशी, सहभागितामूलक व्यवस्थालाई व्यवहारमा उतार्न सकेन । वास्तवमा लोकतन्त्र वा प्रजातन्त्र भनौं यो व्यवस्था आफैंमा समावेशी सहभागितामूलक व्यवस्था हो । यो व्यवस्थामा समावेशी सहभागितामूलक व्यवस्थाको ग्यारेन्टी विधानमा, संविधानमा गर्न जरुरी नै थिएन । तर हामीले कार्यान्वयन गर्न नसक्दा वैधानिक ग्यारेन्टी गर्नका लागि संविधानमा, विधानमा व्यवस्था गरिएको हो ।
संघीय संरचनामा मुलुक गइरहेको छ । तर पार्टीले त्यस अनुरूप विधान बनाउन सकेको छैन, भनिन्छ नि ?
संघीय संरचना अनुरूप विधानमा संशोधन गर्ने प्रयास भइरहेको भन्ने मैले सुनेको छु । त्यही विषयमा केन्द्रीय समितिमा छलफल भएको भन्ने मेरो जानकारीमा छ । केही समयभित्रै तपाईंले संघीय संरचना अनुरूपको नेपाली कांग्रेसको विधान आएको देख्न सक्नु हुनेछ । आफ्नै नेतृत्वमा बनेको संविधान अनुरूपको विधान कांग्रेसले बनाउनुपर्छ । संविधान जारी भएपछि पहिलोपटक अधिवेशन गर्ने नेपाली कांग्रेसले आफ्नो विधानलाई प्रादेशिक संरचनामा लैजानै पर्छ । मेरो जानकारीमा आएसम्म अहिले नेपाली कांग्रेसले संविधानमा भएको व्यवस्थाअनुसार विधान संशोधन गरेर १३ औं महाधिवेशनसँगै संगठनको संरचना त्यस्तै बनाउने तयारी थालेको छ ।
अन्त्यमा, पार्टीको नेतृत्वमा देखिएका प्रतिस्पर्धीमध्ये कांग्रेसका लागि को उत्तम देख्नुभएको छ र किन?
मेरो विचारमा मुल प्रतिस्पर्धा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाकै बीचमा हुने देखिन्छ । नेपाली कांग्रेसको समग्र एकता र सबलीकरणका लागि दुबै नेताको बीचमा समझदारी गरेर सरकार र पार्टीको नेतृत्व लिँदा उपयुक्त हुन सक्तथ्यो । तर त्यो समझदारी क्षीण हुँदै गएको महसुस भएको छ । वर्तमान अवस्थामा संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गम्भीर चुनौतीको रूपमा आएका छन् । नेपाली कांग्रेसले यी चुनौतीहरूको सामना गरी मुलुकलाई दिशा दिनुपर्ने अवस्था छ ।
म लोकतान्त्रिक समाजवादमा विश्वास राख्ने व्यक्ति हुँ । परम्परावादी साम्यवाद अबको भविष्य हुन सक्तैन । पुँजीवादले विश्व आर्थिक प्रक्रियामा आफ्नो जतिसुकै वर्चस्व स्थापित गर्न सफल भए पनि पुँजीवादी प्रक्रियाको माध्यामबाट धनी र गरिबबीचको कहालीलाग्दो खाडल पुरिन सक्ने सम्भावना पनि देखिँदैन । पिछडिएका क्षेत्र र वर्गका नागरिकहरू हिजो जहाँ थिए आज पनि त्यही छन् । गरिबी, निरक्षरता र बेरोजगारी पिछडिएका वर्ग र क्षेत्रका नागरिकको घरआँगनमै बढी छ । सीमित वर्ग र क्षेत्रको सुविधा र अवसरमा निरन्तर पहुँच बढिरहेको देखिन्छ भने त्यही अनुपातमा पिछडिएका वर्ग र क्षेत्रमा रहेको विपन्नता र वञ्चितीकरणको अवस्था खासै घट्न सकेको छैन । ठूलो र सानो, हुने र नहुनेको विभेदबाट नेपाली समाज अहिले पनि आक्रान्त छ । समाजमा विद्यमान सबै जातजाति, वर्ण, वर्ग र क्षेत्रका मानिसले आर्थिक, सामाजिक एवं राजनीतिक जीवनका प्रक्रियाहरूमा आफ्नो क्रियाशील सहभागिता र संलग्नताको समान रूपमा अनुभव गर्न पाउनुपर्दछ भन्ने लोकतान्त्रिक समाजवादको मान्यता हो ।
अब दुवैजना सम्मानित नेता हुनुहुन्छ । मलाई कुनै एकजनामध्ये एउटा रोज्न समस्या पर्ने विषय हो । तर नेपाली काग्रेसको नेतृत्व पंक्तिलाई हेर्दा मैले अगाडि भनेका मान्यताप्रतिको प्रतिबद्धता कार्यवाहक सभापति रामचन्द्र पौडेलमा देखिन्छ । वैचारिक स्पष्टता उहाँको पहिलो सबल पक्ष हो । नेपाली कांग्रेसभित्र उहाँलाई सादगी, सरल र कार्यकर्ताहरूको सहज पहुँच हुन सक्ने व्यक्तिको रूपमा हेरिन्छ । यो उहाँको अर्को पक्ष हो । सांगठनिक क्रियाशीलताको दृष्टकोणले बाह्रौं अधिवेशनले व्यवस्थित गरेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकको रूपमा नेपाली कांग्रेसलाई जीवन्त र क्रियाशील राख्न विगतका दिनहरूमा दिएको योगदानलाई बिर्सन मिल्दैन । वर्तमान अवस्थामा यसभन्दा पहिले जस्तै स्वाभाविक एवं न्यायको दृष्टले पनि पार्टीको नेतृत्व उहाँमा जानुपर्दछ भन्ने लाग्दछ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले यसको न्यायपूर्ण छिनोफानो गर्ने नै छन । यो अर्थमा शेरबहादुर देउवालाई बाइपास गर्नुपर्छ भनेको होइन । पार्टी सञ्चालनमा पौडेलले गरेका गतिविधि हेर्दा उहाँ सक्षम हो भन्ने लाग्छ । तर शेरबहादुर देउवासँग सरकार सञ्चालन गर्ने राम्रो अनुभव छ ।
तपाईंको नजरमा कांग्रेस सभापतिका दुईजना उम्मेदवार पौडेल र देउवाका सबल र दुर्बल पक्ष के के हुन् ?
म दुवै नेता आदरणीय भएकाले यो महाधिवेशनको मुखमा आएर नेताहरूको दुर्वल पक्षको व्याख्या गरेर कसैलाई नग्यांउने र कसैलाई उचाल्ने काम म गर्न सक्दिनँ । दुवैजना नेताको चरित्र स्वभाव, क्रियाशीलता आमकार्यकर्तालाई जानकारी छ । आमकार्यकर्ताहरूले उहाँहरूको स्वभाव, क्रियाशीलता, चरित्र भोगेका छन् । त्यसैले मैले सबल र दुर्बल पक्षको व्याख्या गर्नेभन्दा पनि आमकार्यकर्ताले न्याय गरेर नेतृत्वको चयन गर्दछन् भन्ने लाग्छ ।
प्रतिक्रिया