देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विनाशमा बिट मार्ने नेपाली उद्यम र विकास

देशान्तर

डा. विदुरप्रसाद चौलागाई
हरेक नेपाली जो जुनसुकै पेसा व्यवसायमा लागेको किन नहोस्, उनीहरूमा एउटै विस्मात पाइन्छ– नेपालमा विकास भएन, गरेनन् वा गर्न सकिएन । नेपालमा विकास किन भएन भनी खोजी पस्नुअघि नेपाली मानसिकताले बुझेको विकास के हो भन्ने कुरा बुझ्नु पनि महत्वपूर्ण हुन्छ । सर्वसम्मत मान्यतामा विकासको अर्थ कुनै पनि पदार्थ वा संयन्त्रको समयक्रमसँगै उन्नति, प्रत्युन्नति र गुणात्मक अनि संख्यात्मक वृद्धि भएर विशिष्ट चरणहरू पार गर्दै विस्तारित भएर जानु हो । कच्चा पदार्थहरूको कुशल संयोजनवाट कुनै वस्तु, सायन्त्र वा विषयको निर्माण, उत्पादन र प्रयोगमा विशिष्टीकरण ल्याएर मानिसको जीवनयापन सुखमय बन्न सघाउनु देश विकासको उद्देश्य हो । 

विकाश दिगो हुनलाई आवश्यक पर्ने कच्चापदार्थहरू स्थानीय स्रोतमा आधारित भए आफैंले निर्वाध रूपमा उत्खनन, उत्पादन र उपयोग गर्न सकिने वा बाह्य स्रोतको भए पनि सहज र सुलभ रूपमा उपलब्ध हुनुपर्दछ भने निर्माण र व्यवस्थापनमा आफ्नै बुद्धि बर्कत र ढंगले थेग्ने गरी हुनुपर्छ । हाम्रो हकमा भने आधुनिक नेपालको राजनीतिक, सामाजिक र भौतिक विकास र सञ्चालनका कुनै पनि विषयमा स्थानीय ज्ञान र स्रोतमा आधारित निरन्तरको उत्खनन, उत्पादन, परिमार्जन र निर्माणलाई प्राथमिकता दिनुको सट्टा बाहिरबाट सहज आयातमात्रै गरिएका तर सञ्चालनमा कुशलता, विज्ञता र स्थानीयकरणसहितको विशिष्टता समावेश गर्न वा परिमार्जन गर्न नसकेको पाइन्छ ।

नेपालीले विकासका नमुनाहरू त अरूभन्दा पहिला भित्र्याउने गर्छन् तर दिगो र भविष्य उन्मुख बनाउँदैनन् । नेपालमा आयात गरेर स्थापित गरिएको ‘विकासको’ विकास नभएको एउटा मूल उदाहरणको रूपमा चन्द्रज्योति विद्युत् उद्योगलाई लिन सकिन्छ । विद्युत् उत्पादन र उपयोग आजको समृद्ध मानव सभ्यताको कोसेढुंगा र विकासको जग हो । नेपालमा चन्द्रज्योतिको उत्पादनसँगै विद्युत् उत्पादनको सय वर्ष नाघेको इतिहास छ र जुन समयमा आजका कतिपय मध्य– विकसित राष्ट्रहरूमा समेत बिजुली पुगेको थिएन । तर आज विद्युत्को विकास र उपयोगको तुलनामा भने नेपाल संसारकै सबैभन्दा अविकसित देशहरूको हारमा छ । यसो हुनु भनेको नेपाली मानसिकताले विज्ञान प्रविधि र विकासको मर्म नबुझेको र यसको गति समात्न नसकेको हो । विकासमा सम्पूर्ण नेपाली समाज पछाडि पर्नुको कारणमा नेपाली मानसिकतामा भएको खोटलाई नहेरी एकांकी कारकहरू राणाकाल, पञ्चायती–शाहकाल, बीपी–गिरिजा प्रजातन्त्रकाल, प्रचण्ड–माओवादी जनयुद्ध, संविधानसभा संक्रमणकालदेखि अहिलेको मधेस–पहाड–भारतको त्रिशंकु संकटलाई दोष देखाउनु वास्तवमा अरूलाई हिलो छरेर आफू चोखो देखिने नेपाली मौलिक उपायमात्रै हो भने हुन्छ ।

यही चन्द्रज्योतिको उत्पादन गर्दा पनि यसको उपयोगले मान्छेको स्वास्थ्यमा असर पार्छ र भूतप्रेत लाग्छ भनेर अन्धविश्वाससहित दोधार र रमाइलोमै यसको आयात भएको अनुमान गर्न सकिन्छ ।  राणाहरूले आफ्नो दरबार झलमल्ल पार्न छोडेर जनताको हितको लागि बिजुली प्रविधि देश भित्र्याए होलान् भनेर पत्याउने कुरै भएन । सुरुमा बिजुली उत्पादनको पहिलो उपयोग फपिङको कुनै किसानको घरमा जबर्जस्ती गर्न लगाइएको इतिहास रहेछ । उक्त किसानले पनि बिजुलीले ल्याउन सक्ने सम्भावित अनिष्टदेखि डराएर बिजुलीबत्ती घरभित्र नबाली बाहिर बालेर चन्द्रशमशेरको हुकुममात्रै पालना गरेको कुराहरू सुनिन्छ । यसको मतलव चन्द्रशमशेर सरकारले बिजुलीको अहम् महत्व बुझेरभन्दा पनि यसको चमकबाट लोभिएर जादुमय प्रकाश हेर्ने सौखले यो प्रविधि भित्र्याएको देखिन्छ । 

तर केही समयपछि बिजुलीले केही खराब असर नगर्ने कुरामा राणाहरू विश्वस्त भए अनिमात्रै विस्तारै उनीहरूको दरबारमा बिजुली जोडिन पुगेको हो । यसबाट के भन्न सकिन्छ भने त्यत्रो महँगो बिजुली प्रविधि आयात गरेर उत्पादन गर्न सक्नेले किन पहिला बिजुली उत्पादन र उपयोग भएको देशमा यसले मानिसमा के कस्तो असर पारेको छ भनेर खोजबिन नै नगरी उक्त प्रविधिको आयात र उत्पादन गर्नुपरेको होला ? यसको निष्कर्ष भनेको मनले चाहेको खण्डमा जति नै बल र धन खर्चिन पनि नेपाली शासकहरूले सक्ने रहेछन् तर किन र कसो भनेर प्रकृतिका घटनामा मन लगाएर विश्लेषण गर्ने बानी भएको समाज स्थापित हुन/गराउन सक्ने रहेनछन् । यसरी कार्य र कारणको प्रश्न गर्न आधारभूत रूपमै चुक्ने बानी वा प्रवृत्तिले गर्दा यस्तो पछौटे अवस्थामा नेपाली समाज आजसम्म पनि रहन गएको हो । यसको नतिजामा सय वर्षभन्दा पुरानो विद्युत् उत्पादनको इतिहास भएको देश आज सहरी क्षेत्रमा दैनिक ११ घन्टा बिजुली कटौतीको मारमा छ भने गाउँ देहातका बहुसंख्यक जनता बिजुलीको पहुँच बाहिर बस्न बाध्य छन् ।

राणाहरूलाई विकास नबुझेको वा प्रतिक्रियावादी भनेर गाली गरेर र विकास र सुविधालाई जनता वा रैतीसम्म जान नदिने आततायी भनेर आरोप लगाइए पनि त्यसपछिका राजनीति हातमा लिनेहरूले के गरे त भनेर खोजी पसे पनि हात लाग्ने नतिजा उत्तिकै दु:खलाग्दो छ । नेपालमा बिजुलीको उपयोगमा आधारित २२ किमि लामो  तारबाटो (रोपवे) को स्थापना पनि चन्द्रशमशेरकै पालोमा सन् १९२२ मा भएको र अमेरिकाको सहयोगमा सन् १९६४ मा ४२ किमिसम्म लम्बाएर हेटौंडासम्म पुर्‍याएको देखिन्छ । तर यो अहिले पूर्णरूपले क्षतिग्रस्त र बन्द छ । नेपालजस्तो विकट पहाडी संरचना भएको, बिजुली उत्पादनको सयवर्षे इतिहास र प्रचुर उत्पादनको व्यावहारिक रूपमा नै सम्भावना भएको देशमा त्यस बखतमा जनजीवीका, उद्यम र व्यापारलाई आवश्यक भनेर स्थापना गरिएको संयन्त्रको आज विनाश भएको छ । तारमार्गको विकास र विस्तारको फाइदा र गुञ्जायस कुनै नेपाली हर्ताकर्ता र व्यापारी व्यवसायीले देखेनन् र स्थापना भएको एउटा संयन्त्रलाई विदेशीको चमत्कार र आफ्नो आँट बाहिरको उद्यम ठानेर थप विस्तार र विकासमा नलागी वा सरकारलाई नघचघचाई रामरमिता हेरेर दिन बिताए । 

चन्द्रशमशेरपछि आएका विभिन्न सत्ताका खेलाडीहरूले त भएको त्यही एउटा संयन्त्रलाई पनि दुरुपयोग गरेर थिलथिलो पारे । तर त्यस प्रविधिलाई ज्ञानमा लिएर अर्को कुनै उच्चस्तरीय तारबाटो बनाउने हिम्मत गरेनन् वा  सकेनन् । यसमा  उक्त प्रविधिको महत्व बुझ्ने रणनीतिकारको कमी, प्रविधि मजबुत बनाउन र विस्तार गर्न आवश्यक पर्ने प्राविधिक शिक्षा र तालिममा बेवास्ता र लगानीमा सरकारी र निजी क्षेत्रको उदासीनता स्पष्ट कारणहरू हुन् । उक्त तारबाटोको स्थापना भएको कयौं वर्षपछि बल्ल निजी क्षेत्रको लगानीमा अर्को केबुलकार स्थापना भयो कुरिनटारमा– विस २०५५ सालमा । यो केबुलकारको जम्मा लम्बाई तीन किमिको छ भने स्थापनाको उद्देश्य यातायात, उत्पादनमूलक उद्यम व्यवसायलाई संवद्र्धन गर्नेभन्दा तीर्थ–मनोरञ्जनलाई प्राधान्यता दिएर भएको हो । यो केबलकार स्थापनाकालदेखि नै पूर्ण क्षमतामा र प्रचुर मुनाफामा  चलेको र प्रविधिको सफलतम उपयोग भएको प्रमाणित हुँदाहुँदै पनि आजसम्म यस्ता खालको प्रविधिको विकास र देशव्यापी   संख्यात्मक विस्तारमा लागेको पाइँदैन । उद्योग व्यवसायीहरू आँखामा पट्टी बाँधेर बसेका छन् ।

उदाहरणमा, यो केबुलकार प्रविधिको यस्तो फलिफाप, नाफा र उपयोगिता हुँदा पनि यसको विविधीकरण र विस्तार नेपालमा नहुनु भनेको वा सम्भावना नदेख्नु भनेको नेपालको राजनीतिक, प्रशासनिक संयन्त्रमा खोट भएको कारणले मात्र नभएर सम्पूर्ण नेपाली समाजको विकाससम्बन्धी मानसिकतामा खोट भएकोले हो भन्ने प्रमाणित हुन्छ । यदि उक्त केबुलकार उद्यमी वा अन्य धनधान्यले सक्षम लगानीकर्ता व्यापारीहरूले देशको अन्य स्थानहरूमा थप नयाँ केबुलकारहरू स्थापना गरेर आधुनिक प्रविधिले विकासलाई डोर्‍याउन प्रयास गरेको भए खुला बजार र प्रजातन्त्र भएको देशमा स्थापित न्याय–कानुनविपरीत गएर कुनै इन्द्रको बाउ चन्द्रले पनि भाँजो हालेर रोक्न सक्ने अवस्था थिएन र छैन ।  तर यो तारमार्ग प्रविधिले यत्रो अन्तरालमा जम्मा फड्को मारेको भनेको ललितपुरको भट्टेडाँडा केबुलकार हो । त्यसैगरी पर्वत जिल्लामा नेपाली श्रम र सीपमा चलेको यान्त्रिक पुल कम्पनीले स्थापना गरेको ०.६ किमि लामो कुश्मा–बलेवा केबलकार हो । पछिल्लोले चाहिँ दिनमा एक हजारजना यात्रु ओसार्ने वा त्यत्तिकै अनुपातमा सरसामान ढुवानी गर्ने क्षमता राख्दछ र स्थानीयको लागि ठूलो भरथेग गरेको छ । यसबाहेक अन्य अति छिटपुट रूपमा तारमार्ग र पुलहरू स्थापना भएका छन् ।

देशविदेशका मुख्य लगानीकर्ता, उद्योगी व्यवसायी र दलालहरूको काम र प्रगति भनेको विद्युत् योजना वा तारमार्गको निर्माणमा विशेषाधिकार आफ्नो हातमा पारेर ठाउँ र अधिकार ओगटी बस्नेमात्रै भएको छ । यसरी आफ्नै पुँजी, श्रम र सीपमा पनि गर्न सकिने, आवश्यकताअनुसार उपयोगी र टिकाउ उच्च प्रविधि भित्र्याउन पनि मिल्ने, सबै दृष्टिकोणबाट उपयुक्त र फलदायी तारमार्ग व्यवसायलाई पक्रेर विकास र विस्तारमा जान नसक्नु भनेको नेपालीलाई विकासको मार्गमा जाने कर्ममै नलेखेको उखान जस्तो चरितार्थ हुन गएको छ । सरकारमा बस्ने र राज्यकोषको योगदानमा योजना बनाउनेहरूमा जाँगर नचले पनि लगानी गरी नाफा कमाइ खाने उद्यमी व्यापारीवर्ग समेत सुतेर बस्नु भनेको नेपालीहरूलाई सुहाउँदो विकास ढाँचा अहिलेसम्म न त कुनै विदेशीले आविष्कार गरे न त नेपालीले देशभित्रै पहिल्याउन सके भने जस्तो भएको छ ।

स्थापित उद्योगधन्दालाई विकास गरेर व्यापारमा लगी जनजीवीकासँग निरन्तर जोड्नुको सट्टा विनाशमा पुर्‍याइएका उदाहरणहरूमा चीनको अनुदानमा बनेको ट्रलीबस सेवा, जापानको सहयोगमा चलेको साझा यातायात सेवा, कृषि सामग्री यन्त्र कारखाना आदि हुन् । कालान्तरमा यिनीहरू सफलतापूर्वक चलाउनु र विस्तार गर्नुको सट्टा व्यवस्थापकीय दुरुपयोग गरेर र स्रोत मासेर–चुसेर नासिए । यस्तै गरेर चुरोट कारखाना र चिनी कारखानाको हालत भयो, जुन उद्योगहरू पूर्ण नाफावाट सम्पूर्ण रूपमा धराशायी पारिए । स्वदेशी कच्चा पदार्थमा आधारित धागो कारखाना, कपडा कारखाना, छाला जुत्ता कारखाना पनि नेपाली विनाश कर्मका सिकार भए । उत्पादन बढाउने, उद्योगमा जनताको लगानी आस थपेर उद्योगको उत्पादनमा जनताको निगरानी बढाउने, उत्पादन क्षमता वृद्धि गर्ने, प्रविधिमा नयाँपन र संख्यामा विस्तार गर्ने कुनै काम भएनन् । भएका कलकारखाना र सेवा क्षेत्रहरूलाई व्यवस्थापकीय कुशलतामा लैजानुको सट्टा तहसनहस बनाई अरूको थाप्लोमा विनाशको दोष थोपरेर आफू जिम्मेवारीबाट उम्कने राजनीतिक र प्रशासकीय संस्कार स्थापित भएको छ ।

यी उद्योगहरू पञ्चायतकालका धरोहर थिए र पूर्ण नाफामा चलेका थिए । तर यिनीहरूको अन्य ठाउँमा विकास र विस्तार गर्ने जाँगर पञ्चायतलाई त जुरेन नै । फेरि यता पञ्चायतलाई निरकुंश र जनता र विकास विरोधी भनेर धारेहात लगाउनेहरूले प्रजातन्त्रकालमा आएर यिनै चालू हालतका उद्योग कारखानाहरूको हुनुसम्मको विनाश गरिदिए । चीन, भारत, रुस, युरोप, अमेरिकामा फापेको उद्योगधन्दाहरू नेपालको हकमा भने फापेन । यसको मतलव नेपाली मोडेलको विकासको खोट राजनीतिक दर्शनमा नभएर नेपाली समाजको मानसिकता छ भन्न सकिन्छ ।

आज साना र मझौला खालका विद्युत् योजना छनोट र निर्माणमा नेपालीहरूकै क्षमता विकास भएको छ र आफ्नै सीप र बुतामा बनाउन सक्ने प्रमाणित पनि भएको छ । यस सीपलाई उन्नति प्रगतिका साथ पुँजीकृत गरेमा भविष्यमा विदेशीसँगको साझेदारीमा अझै ठूला आयोजना बनाउन सक्ने क्षमता विकास हुन जान्छ । तर नेपाल राज्यको उद्देश्य आफ्नो जनशक्तिलाई स्वावलम्बी, क्षमतावान् र प्रतियोगी बनाउने खालका साना र मझौला योजनालाई मूर्तरूप दिलाउनभन्दा पनि नेपालीको आर्थिक र प्राविधिक हैसियतले नभ्याउने बहुर्राष्ट्रिय खालका विशाल विद्युत् आयोजनको लागि ऋण थाप्न र छिमेकी गुहार्न व्यग्र हुन्छ । चाहेमा त सकिनेरहेछ भन्ने कुरा उता गृहयुद्धताका बिग्रेका तोप र ट्यांकहरूलगायतका कबाडी फलाम पुनर्उपयोग गरेर सुरु भएको दक्षिण कोरियाका फलाम र स्टिल उद्योगहरूबाट सुरु गरेर अहिले स्टिल उत्पादन, इलेक्ट्रोनिक्स र पानीजहाज उद्योगहरूका लागि विश्वमा सर्वोत्तम श्रेणीमा पुगेका छन् ।

नेपालमा कम्प्युटर र इन्टरनेट–इमेल भित्रिँदा भारत पनि नेपालभन्दा कुनै कारणले अघि थिएन । तर पनि उसले यो अवधिमा कम्प्युटर–इन्टरनेटअन्तर्गतको सफ्टवेयरमा विश्ववजारमा मानवशक्ति र सेवा उत्पादन गरेर महत्वपूर्ण भाग ओगटेको । नेपालमा भने कम्प्युटर–इन्टरनेटको काम भनेको सरकारी उच्चपदस्थ सचिव वा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको टेबल सजाउनेदेखि दर्ताफाँटको टेबल ओगट्ने साधनमात्रै भएको देखिन्छ । आफ्नो टेबलमा भएको कम्प्युटर चलाएर आफू मातहतको कार्य सञ्चालन गर्ने, संगठनको सूचना प्रणालीमार्फत अध्ययन अनुसन्धानमा संलग्न हुन, कुनै गतिविधि हेर्न वा निगारानी गर्नै सक्दैनन् । यस्तै कुनै पनि निजी तथा सार्वजनिक अड्डा, स्रोत, सूचना तथा शिक्षा केन्द्र गएर कुनै नेपालीले केही गहकिला सूचना तथा अध्ययन र तथ्यांक खोजेमा अनुसन्धानकर्ता वा सर्वसाधारणले आफैंले वा त्यस कार्यालयको सहयोगमा कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर कुनै सूचना लिने दिने क्षमता र दक्षताहरू छैन । न त नेपालका बारेमा अध्ययन अनुसन्धान गर्न खोज्नेले विश्वको कुनै देशमा वसेर इन्टरनेट बेभसाइटमा खोजेरै सूचना र ज्ञान पाउन सक्ने आधार निर्माण भएको छ ।

नेपालमा उद्योगधन्दा, शैक्षिक, स्वास्थ्यलगायत अन्य सेवा व्यवसाय संस्थागत भएर ती संस्थाहरूले गुणात्मक फड्को मारी विस्तार भएर देशव्यापी बनेका नमुनाहरू अति नै नगन्य छन् । यसको एउटा कारण समाजमा कुनै पनि विकास प्रक्रियाहरूलाई संस्थागत स्मरणमा राख्ने चलन नभएर पनि हो । युरोपका चर्चहरूले जन्मदर्तादेखि परिवारका वंशावली लिखित स्मरणमा राखेको कारण कतिपय नृपशास्त्रीय, समाजशास्त्रीय र स्वास्थ्य तथा अनुवांशिक अध्ययनहरू गर्न सजिलो भएको छ । नेपालमा पनि यस्तो टिपोट पारिवारिक पुरोहित पण्डितहरूले पहिले पहिले वंशावलीका रूपमा राख्ने गरेको पाइन्छ । तर हाल यो परम्परागत चलन पनि लोप भएर गइसकेको छ । बरु, जात र थरका नाममा विभिन्न संघसंस्था खोलेर देश र समाजलाई नजानिँदो किसिमले खण्डित गर्दै लैजाने बाटोमा लागेका तर यस्ता महत्वपूर्ण टिपोटहरूलाई भने व्यवस्थित गर्ने र सूचना प्रणालीमार्फत संस्थागत गर्ने गरी एकीकृत नयाँ प्रणाली स्थापित र कम्प्युटरकृत भने गरिएका छैनन् । 

स्रोत परिचालन, उद्यम र प्रणाली विकास भन्यो कि मुन्टो बटार्ने सरकारी योजनाहरू, पैसा टिप्न टपरटुइँया खाले उद्योगी व्यापारी, अनुत्पादक क्षेत्रमा मात्रै बढी हुने श्रम र समय खर्च गराउने रोजगारी भए जस्तै प्लेन चढेर विदेश भाग्ने बौद्धिक तथा शारीरिक श्रमशक्तिले देशमा ठूलो र अपूरणीय खाडल खनेको छ । यसको रोकथाम र उपचारको अस्त्र भनेको स्रोत, सूचना र ज्ञानमा आधारित व्यवसाय सञ्चालन र प्रविधि व्यवस्थापनमा दक्ष नयाँ पुस्ताको निर्माण गर्ने हो । यो पुस्ता तयार नभएसम्म देश र जनतालाई नयाँ शिक्षा, प्रविधिको ज्ञान र सूचना र स्रोत व्यवस्थापनमा नयाँ कुरा सिक्नलाई विदेशी साझेदार वा उद्यमी व्यवसायीलगायत विश्वविद्यालयहरूलाई देशको राष्ट्रियता र मौलिकतामा आँच आउन नदिने गरी नेपालमा आफ्नो सेवा व्यवसाय विस्तार गर्न ढोका खुला गरिदिनु आवश्यक देखिन्छ ।

(डा. चौलागाईंले ल्याबोरेटोरी मेडिसिनमा दक्षिण कोरियाबाट पीएचडी गरेका छन् भने द कोरिया र डेनमार्कबाट पोस्टडक्टरेट । उनी हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज् एन्ड टोक्नोलोजी (हिकास्ट) का संस्थापक सदस्य एवं सहप्राध्यापकसमेत हुन् । प्रस्तुत लेखमा उल्लेख भएका तथ्य तथा विचारका लागि लेखक स्वयम् जिम्मेवार रहनेछन् ।)

 

]]>