देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लियो

देशान्तर

लुम्बिनी । चार महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलद निर्माणको कार्यले पुनः गति लिएको छ ।

मधेस बन्द र नाकाबन्दीका कारण निर्माण सामग्री तथा इन्धन अभावमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको काममा केही ढिलाइ भएको हो । पछिल्लो हप्तादेखि कामले पुनः गति लिएको आयोजनाले जनाएको छ । हालसम्म विमानस्थल निर्माणको १४ प्रतिशत काम सकिनुपर्ने कार्यतालिका भए पनि चार प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

अहिले धावनमार्ग निर्माण तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण भइरहेको परियोजना निर्देशक ओम शर्माले जानकारी दिए । धावनमार्ग निर्माणअन्तर्गत अहिले टप स्वाइल रिमुभ्ड (सतहको घाँस हटाउने) कार्य भइरहेको छ । “ अहिलेसम्म एक हजार ६०० मिटर सतहको घाँस हटाउने कार्य सम्पन्न भइसकेको छ” उनले भने ।

विसं २०७४ पुस मसान्तसम्म निर्माण सकिने लक्ष्य राखिएकामा अहिले सोही लक्ष्यअनुसार निर्माण सक्ने गरी काम अगाडि बढाइएको छ ।

इन्धनको कमी हुन दिइँदैन
विमानस्थल निर्माणका लागि आवश्यक सुरक्षा व्यवस्था र इन्धनको सहजताका लागि स्थानीयस्तरबाट दरिलो प्रबन्ध मिलाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

इन्धन र सुरक्षाको कमी हुन नदिने उनको भनाइ छ । अहिले परियोजनाको काम शतप्रतिशत रुपमा सुरु गर्न दैनिक १२ हजार लिटर इन्धनको आवश्यकता रहेको छ । स्थानीयस्तरमा नदीजन्य पदार्थ उपलब्ध नभएका कारण  निर्माण कार्य प्रभावित भएको छ ।  

धावनमार्ग निर्माणका लागि एक लाख २० घनमिटर माटो आवश्यक रहेको र त्यो मर्चवार क्षेत्रमा पाइने भए पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकिएको उनले बताए । यसैगरी करिब छ लाख घनमिटर नदीजन्य पदार्थ बालुवा, ढुङ्गा, गिट्टी आवश्यक पर्ने भए पनि अहिले त्यो पनि नपाइएको निर्देशक शर्माको भनाइ छ ।

नदीजन्य पदार्थका लागि स्थानीय प्रशासन हँुदै मन्त्रालयमा माग गरेको भए पनि मन्त्रालयबाट अझै टुङ्गो लागेको छैन । सम्बन्धित मन्त्रालयले परिपत्र गरी जिविसबाट तोकेको रकम तिरी सिधै नदीजन्य पदार्थ ल्याउन सकिए निर्माणमा सहयोग पुग्ने शर्माले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले तोकिएको समयभित्रै विमानस्थल निर्माण सम्पन्न हुने बताए । उनले त्रिभुवन विमानस्थलपछिको यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भएको बताए ।

यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि उपाध्क्ष डा खतिवडाले आयोजनासँग सम्बन्धित व्यक्ति तथा रुपन्देहीका प्रजिअलाई निर्माणको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए ।

समयावधिभित्रै विमानस्थल निर्माण सक्न सरकारकातर्फबाट कुनै पनि कमी हनु नदिने गरी आफूले पहल थालेको उनले बताए । विमानास्थल निर्माणअन्तर्गत अहिले निर्माण भइरहेको धानवमार्ग १ दशमलव २५ मिटर उँचाइ, तीन हजार मिटर लम्बाई तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइको दुवै किनारमा १५÷१५ मिटर ठाउँ छाडिने छ भने स्तरोन्नतिपछि यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा प्रयोग गरिने छ ।

अहिले विमानास्थलको धावनमार्ग एक हजार ५२४ मिटर लम्बाइ तथा ३० मिटर चौडाइ रहेको छ । स्तरोन्नतिपछि बोइङ, एयरबस जस्ता ठूला विमान पनि भैरहवामा अवतरण गर्न सक्ने कार्यक्रम निर्देशक शर्माले बताए । पहिलो चारणमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, तीन हजार मिटरको धावनमार्ग र त्यसकै सामानान्तरमा ट्याक्सी मार्ग, कन्ट्रोल टावर र प्रशासकीय भवन, मुख्य सवस्टेसन, नहरलगायत पूर्वाधारको काम हुनेछ ।

एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा विमानास्थलको स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई जिम्मा दिएको हो । कुल करार मूल्य रु छ अर्ब २२ करोड, ५१ लाख २० हजार २२८ रहेकामा एसियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत ऋण, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानास्थलको स्तरोन्नति हुँदैछ ।

]]>