तेजप्रसाद सिटौला
संयोग नै भन्नु पर्यो दुई महापुरुषहरूको सम्बन्ध पुस महिनासित जोडिन पुगेको छ । पहिलो त्यस्तो महापुरुष हुन्– श्री ५ पृथ्वीनारायण शाह । पुस २७ गते उनको जन्ममिति पर्दछ र केही पहिलासम्म उक्त दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाइन्थ्यो । नेपाल राष्ट्रको एकीकरणका नायक श्री ५ पृथ्वीनारायण शाह एक देशभक्त, दूर दृष्टि राख्ने, परिपक्व व्यक्तित्व हुन् । इतिहासमा उनलाई जर्मन राजकुमार विस्मारक अथवा इटलीका देशभक्त जनरल ग्यारीवाल्डीसित तुलना गरिन्छ । भारतका राजा–रजौटाहरूलाई एकएक गरी समाप्त गर्दै अंग्रेजहरूले आफ्नो कब्जामा लिन थालेपछि नेपालका सानासाना राज्यहरूलाई एकीकृत गरी एक विशाल राज्यको, जो कालान्तरमा गएर, नेपाल नामले चिनियो, उनै पृथ्वीनारायण शाहको अतुलनीय योगदान थियो । आज ती महान् सपुतलाई भुल्ने काम भएको छ, उनको जन्मदिनमा बिदा दिइन्न । वर्तमान नेतृत्व, अझ भनौं २०६२/०६३ पछिको नेतृत्व यति हठधर्मी, अदूरदर्शी र कृतघ्न बन्यो त्यसले नेपालको इतिहासलाई नै अवमूल्यन गर्यो । जुन राष्ट्रले आफ्नो धर्म, संस्कृति र इतिहासलाई भुल्दछ त्यो राष्ट्र पनि अन्तत: अस्तित्वमा रहँदैन । हो उनीपछिका उनका उत्तराधिकारीहरू नालायक थिए– उनका कान्छा छोरा बहादुर शाहलाई छोडेर । राजतन्त्रलाई दाउमा लाउने काम त स्वयं राजा महेन्द्रले नै गरे– पुस १ गते २०१७ मा प्रजातन्त्रको हत्या गरेर । अन्तत: राजा ज्ञानेन्द्रले महेन्द्रपथको अनुसरण गर्दै राजतन्त्रलाई देशबाट नै बिदा गरे; नेपाल गणतन्त्र बन्यो ।
राजतन्त्र सकिँदा एकीकरणका महानायक पृथ्वीनारायण शाहलाई अपमान गर्नुपर्ने, या उनको सालिक तोड्नुपर्ने कारण के ? उनलाई विस्तारवादी या झूर विजेताको रूपमा चित्रण गर्न खोज्नेहरू स्वयं इतिहासका खलनायकहरू हुन् । उनी यथार्थमा बुद्ध पछिका महान् सपुत हुन् । पुस २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजकत्वमा पुन: उनको जन्मजयन्ती मनाउने काम हुँदैछ– यो काम स्तुत्य छ । आयोजकलाई मुरीमुरी धन्यवाद । आज भलेही यो देशका शासक र नेताहरूले उनलाई अपमान गरेका छन् तर नेपाल रहेसम्म उनी अमर रहनेछन् । इतिहासमा उनको मूल्यांकन उज्ज्वल नक्षेत्रको रूपमा बनिरहनेछ ।
नेपालको इतिहासमा पुस महिनासित जोडिन पुगेका अर्का महापुरुष हुन्– विश्वेश्वरप्रसाद कोइराला । प्रजातन्त्रका यी अथक योद्धा सिर्फ मृत्युसित हारे– बाँकी कहिल्यै हारेनन् । जसले उनलाई हराउन खोजे अन्तत: ती आफैं सकिए । पुस १६, २०३३ यस्तो दिन हो जसले नेपालमा प्रजातन्त्रको पुनस्र्थापनार्थ जग बसायो । त्यो मितिमा राष्ट्रिय मेलमिलापको नीतिको उद्घोष गर्दै उनी प्रवासबाट स्वदेश आएका थिए । उनले आफ्नो जीवनलाई जोखिममा राखेर पनि नेपाली जनताको सम्मान र नेपाली जनताका अधिकारका लागि देशभित्रबाटै लड्ने अठोट गरे । उनले भने– प्रजातन्त्र भएन भने देश रहँदैन ।… राजा आफ्नो स्वार्थका कारणले पनि राष्ट्रवादी हुन्छ । त्यसबेलाको सन्दर्भमा राजतन्त्रलाई एउटा पृथक् पहिचान र राजालाई एकताको प्रतीकको रूपमा उनले आत्मसात् गरे र भने– राष्ट्रियताको सबालमा मेरो गर्धन राजासित जोडिएको छ तर प्रजातन्त्रको सवालमा मेरो लडाइँ यथावत् छ ।
बीपी कोइरालाले अहिलेका नेताहरूको जस्तो सस्तो लोकप्रियताको राजनीति गरेनन् । उनले जहिले पनि देश र जनतालाई सर्वोपरि मानेर, दूरगामी सोचका साथ राजनीति गरे । आज पनि देश अस्तव्यस्त छ । राजनीतिक स्थिरता आउन सकेको छैन । संकीर्ण सोच र विवादका कारण देशको अस्तित्व नै संकटमा परेको छ । त्यस्तो नेता छैन जसले सबल नेतृत्व दिन सकोस्; जसलाई जनताले विश्वास गरोस् । बीपी कोइरालाको पार्टी नेपाली कांग्रेस आज भीड बनेको छ । मूल्य–मान्यताको, त्यागको राजनीतिको अन्त्य भएको छ । नेपाली कांग्रेसको समष्टिगत रूप सकिएर व्यक्तिव्यक्तिमा विभाजित भएको छ । यी सबका बाबजुद पनि नेपाली कांग्रेस अहिले पनि देशको सबैभन्दा ठूलो दलको रूपमा स्थापित छ र त्यसको कारण कांग्रेसलाई आज पनि– बीपी, गणेशमान, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईको पार्टी भन्छन् । आज देशमा विद्यमान जो समस्याहरू छन्– तिनको समाधान अहिले पनि राष्ट्रिय मेलमिलापको नीतिलाई अघि सारेर खोज्न सकिन्छ; अर्थात् राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकता आज पनि त्यत्तिकै छ ।
]]>
प्रतिक्रिया