देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अति भो, दुई दुना पाँच भो

देशान्तर

श्रीआचार्य 

‘चिसोले कठ्याङ्ग्रिएर मान्छेहरू मरिरहेका छन् । यसरी मर्नेको संख्या दिनहुँ बढ्दो छ । दोलखामा मात्रै ४० जनाभन्दा बढी मरिसके । तिनलाई राहत पुगेन….तिनले जाडो छेक्ने यौटा कम्बल पनि पाएनन्…।’ पत्रपत्रिका र टी.भी. रेडियोमा यस्ता समाचार दिनहुँ आइरहेका छन् । तर ती समाचार सरकार पढ्दैन, सुन्दैन वा पढेर, सुनेर पनि बुझ्दैन । अर्थात् उसले यस्ता समाचार एक कानले सुनेर अर्को कानले उडाइरहेको छ । सायद समाचार र सरकारको कुनै साइनो हुँदैन । समाचार प्राय: जनताको हुन्छ र सरकार सिंहदरबारमा रमाउनेहरूको मात्रै । सिंहदरबारमा रमाउनेहरू र जनताबीच यहाँ, यो मुलुकमा कहिल्यै न्यानो सम्बन्ध भएन । किन भएन, हुन सकेन –यस्तो सोच्दै थिएँ । यसैबीच अर्को समाचार आयो : ‘नेपालका पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री हुनुभएको छ । बेलायतको एउटा पत्रिकाले उहाँलाई उत्कृष्ट अर्थमन्त्री छनोट गरेर पुरस्कारसमेत दिँदैछ …।’ कुनै दिन उहाँ त्यो सम्मान लिन जानु हुनेछ । सतहमा सुन्दा राम्रै हो । 

तर, यी दुई समाचारका दुई दिशा छन् । म कुन दिशा फर्कुं । एकतिर दु:ख र विस्मात, अर्कोतिर हर्ष र गौरव । अन्योलमा छु । एकातिर देशका जनता गरिबी र अभावको पीडामा छट्पटाउँदै छन् । चिसोले काट्ठिएर मरिरहेछन् । अर्कोतिर त्यही देशमा लगभग दुइ दशकभित्र पटकपटक अर्थमन्त्री भएका व्यक्ति राम्रो अर्थमन्त्रीको हैसियतले पुरस्कृत हुँदै हुनुहुन्छ । अझ संयोग कस्तो भने, ती दुवै समाचारमा गत वैशाखमा नेपालमा आएको भुइँचालो सम्बद्ध छ । मर्नेहरू भुइँचालेले बेघर बनाएका पीडितहरू हुन् । जो यो पुसको ठिहीमा टिनको छानोमुनि गुन्द्रीमा आफ्नो नियतिसँग जुँधिरहेका छन् । उता त्यही भुइँचालोले पुर्‍याएको क्षति अन्तर्राष्ट्रियकरण गर्न र सहयोग जुटाउन सफल भएको भन्ने आधारमा पूर्वअर्थमन्त्री महत उत्कृट हुनुभा’छ । प्रकृतिको कस्तो विधान ! त्यही भुइँचालो जनतालाई दुष्ट यमराज बन्यो र आजसम्म मृत्यु बााँडिरहेछ भने तत्कालीन सत्ताका खजाञ्चीलाई इष्ट बनेर मानमाथि सम्मान दिइरहेछ । विधिको विधानका कुरा नगरौं । यसले न्याय अन्याय केही हेर्दैन । राजादेखि रैती सबै उसका लागि समान हुन् । धनी–गरिब, सानो–ठूलो जात–वर्ण–लिंग उसले केही फरक ठान्दैन । भेद गर्दैन । यो विभाजन र भेदको रेखा सब हामीले कोरेको हो । अत: त्यसको समाधान वा न्याय अन्याय छुट्याउने पनि हामी आफैंले हो । प्रकृतिले गर्दैन । घाम—पानी, जाडो–गर्मी सबैलाई आउँछ ।

त्यसैले राजा–राष्ट्रपति, राजनीतिक शासन पद्धति, सरकार–मन्त्री, सेना–प्रहरी–प्रशासन, न्याय–शिक्षा–स्वास्थ्य–उद्योग–व्यापार आदि इत्यादिका रोजीरोजी क्षेत्र छुट्याएर जिम्मा लगाइएको छ, हुन्छ । जहाँसुकै त्यस्तै छ । हिजो थियो, भोलि पनि रहनेछ । राखिन्छ । संसार यसरी नै चलेको छ । चल्छ । तर यो चल्छ भन्नुको अर्थ प्रकृति झैं आफ्नो ढंग–शैली र गतिमा चल्नु होइन । अर्थात् शासन पद्धतिको सिद्धान्त–मूल्य–मान्यता र आदर्श एकातिर, अर्कोतिर सरकार वा शासकहरू हुनु होइन । तिनले अर्थात् राजनीति चलाउने र सत्ता–सरकार समाल्नेले हामीले बनाएको विधि–विधानअन्तर्गत जनताको पक्षमा काम गर्नै पर्छ । मान्यता यही हो । कुनै पनि देशको सरकारको वा त्यो सरकार अन्तर्गतका अनेकानेक निकायको वा मन्त्रीहरूको सफलता वा असफलता त्यहाँका जनताको अवस्थामा निर्भर हुन्छ । देशका जनताको हैसियतले नै सरकार वा सम्बन्धित मन्त्रीको उत्कृष्टता निकृष्टताको परिचय दिन्छ । यथार्थ यही हो । यो पारोमा राखेर तिनको मूल्यांकन हुन्छ । हुनुपर्छ । तर भएन । बेलायतको ‘म्यागजिन’ले पनि नेपालको मन्त्रीको मूल्यांकन गर्दा नेपाली जनताको यथार्थ हैसियत हेरेन । यद्यपि महतले सम्मान पाउँदा यो पंक्तिकारलाई कुनै टाउको दुखाइ छैन । कसैलाई पनि दुख्दैन । व्यक्तिगत रूपमा यहाँको जनता कसैलाई केही हानी हुँदैन । भएको पनि छैन । यो भुइँचालो गएको हैन । भुइँचालोसँग सम्बन्धित समाचारमात्रै हो । तर गुदी कुरा के भने, प्रजातान्त्रिक शासन पद्धतिका सरकार र तिनका मन्त्रीहरूको कार्य–क्षमता र मूल्यांकनका शाश्वत सूत्रहरू तोडिए । त्यो पनि प्रजातन्त्रको जननी भनिने देशका ‘पण्डित’ गोराहरूबाटै र हामीलाई बेवकुफ ठानियो । चासो यत्ति हो, चिन्ता हैन । अहा, तर दुई दुना पाँच मरे भनिन्न, मान्निन ।                 

मान्ने हो भने, चिसोले मान्छे मरेको समाचारबारे यसो भनौं न त : यो चिसो बढ्ने मौसम हो । चिसो नेपालभर बढ्दो छ । हरेक वर्ष यतिबेला चिसो बढ्छ । कतै हिउँ पर्छ, हिमपात हुन्छ । कतै तुषारो झर्छ । कतै कुहिरोले मुत्छ । कतै शीतलहरले सताउँछ । हरेक वर्ष चिसोले मान्छे मर्छन् । भूकम्प नआएको साल पोहोरपरार पनि मान्छेहरू चिसोले मरेका थिए । मर्छन्, नौलो समाचार हैन । उसै पनि भूकम्प र चिसो दुवै सरकारले ल्याएको हैन । प्रकृतिलाई कहाँको सरकारले काबुमा राख्न र मृत्यु छेक्न सकेको छ र यस्ता समाचारको पछि लाग्ने । जनता कहिले बाढीपहिरोमा परेर मर्छ त कहिले चट्याङ लागेर पनि मर्छ । कोही दैलोमा ठेस लागेर मर्छ । जन्मेपछि मर्नै पर्छ । मृत्यु असामयिक, आकस्मिक र जतिसुकै पीडादायी लागे पनि त्यो नियमित हो । जसले जति रोइधोइ गरे पनि मृत्युले छोड्दैन । कविशिरोमणि लेखनाथले यो पंक्ति त्यसै लेख्नु भएको होइन : आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।  पत्रकारहरू बिनासित्तै जे पायो त्यही लेख्छन् । सत्य बुझ्दै नबुझी लेख्छन् । मान्छेहरू त्यस्तै समाचारको पछि लगेर कुरा काट्छन् । सत्य कवि शिरोमणिले लेख्नु भएको कवितांश हो । मान्छेको नियति मान्छे स्वयंले लिएर आएको हुन्छ । यसमा कसैले फेरबदल गर्न सक्दैन । सरकारले पनि सक्दैन । मर्ने र जन्मने प्रकृतिको नियमित क्रम चलिरहन्छ । यसमा सरकारलाई दोषारोपण गर्नुको तुक छैन ।

यो सरकार संविधान संशोधन गर्न सक्छ, यसका विशेषता बाँड्न सक्छ । जो गरिरहेछ । तर जनतालई राहत बाँड्ने र उसको हैसियत बढाउने काम सरकारले र तिनका मन्त्रीले किन गर्नु । पूर्व भएपछि पश्चिमाबाट पुरस्कार, सम्मान मिलिहाल्छ । तिनलाई के को टाउको दुखाइ । उसै पनि राहत बाँड्दैमा थोडै चिसो नआउने र मृत्यु रोकिने हुन्छ र ! कसो, अब दुई दुना पाँच भन्ने होइन त । मन लागे भन्नुस्, म त भन्दिनँ । अहा ज्यान गए भन्दिनँ । जनतालाई चिसोबाट जोगाउने दायित्व सरकारको हो, हो, हो । यसमा यो सरकार असफल भएकै हो ।  

 

]]>