देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापा, मोरङ र सुनसरीलाई नटुक्र्याउन गच्छदारको चेतावनी

देशान्तर

विराटनगर । उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ठूला दल र मधेसवादी दललाई आफ्नो अडान छोडी लचिलो भएर वार्तालाई सफल बनाउन अग्रसर हुन आग्रह गरेका छन् ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मोर्चालाई अतिवादी सोचाइलाई त्यागेर सीमाङ्कनको विषयमा लचिलो हुन आग्रह गरे ।
  
सीमाङ्कनको विवाद समाधानका लागि झापा, मोरङ र सुनसरीलाई टुक्र्याउन नहुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले यी जिल्लालाई टुक्र्याएको खण्डमा आफ्नो पार्टीले शान्तिपूर्ण आन्दोलन गर्ने  बताए ।
  
उनले मधेसवादी दलको मागलाई पूरा गर्न र पूर्वी क्षेत्रका जनताको भावनालाई समेट्न झापा, मोरङ, सुनसरी र सिरहाको केही भागसमेत गरी आठ प्रदेश बनाउनु नै उत्तम विकल्प रहेको धारणा प्रकट गरे ।

उनले पश्चिमको कैलाली र कञ्चनपुरलाई तल्लो तथा पाल्पा, गुल्मी र अर्घाखाँचीलाई उत्तरतर्फको प्रदेशमा मिलाउनुपर्ने सुझाव पनि दिए ।

मुलुकका सामु धेरै सङ्कटपूर्ण समस्या रहेको चर्चा गर्दै उपप्रधानमन्त्री गच्छदारले सरकारले जनतालाई सुविधा दिनका लागि तत्पर भएर कार्य गरिरहेको जानकारी गराए ।

सरकारसँग कुनै जादुको छडी नरहेको भन्दै उनले कठिन परिस्थितिमा सरकार बनेकाले क्रमिक रुपमा समस्या समाधानका लागि जनताका साथै सबै दलको सहयोग अपरिहार्य रहेको बताए ।

]]>