काठमाडौँ । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत राज्य पुनःसंरचनाको सीमाङ्कन टुङ्ग्याउन सहमत भएको छ । प्रमुख तीन राजनीतिक दल र मोर्चाको संयुक्त कार्यदलको बैठकमा मोर्चाले राजनीतिक समितिमार्फत समस्याको समाधान गर्न तयार देखिएको हो । तर मोर्चाले त्यसका लागि प्रष्ट कार्यविधि बनाउनुपर्नेमा जोड दिएको छ । प्रमुख राजनीतिक दलले राज्य पुनःसंरचनाको सम्बन्धमा देखिएको विवाद हल गर्न तीन महिनाको समय दिएर उच्चस्तरीय समिति बनाउने प्रस्ताव अगाडि सारेका थिए ।
विज्ञ सम्मिलित टोलीले तीन महिनाभित्र सीमाङ्कनको विषय टुङ्ग्याउने र त्यसलाई वैधानिकता दिने विषयमा प्रमुख दलका तर्फबाट यसअघि नै अगाडि सारिएको प्रस्तावमा मोर्चाले सर्तसहित सहमति जनाएको अवस्थामा वार्ता फलदायी हुने दिशामा केन्द्रित रहेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । प्रमुख दलका तर्फबाट भएको छलफल र त्यसमा भएका प्रगतिकाबारे मोर्चालाई जानकारी गराइएको थियो । व्यास्थापिका–संसद्को बैठक यही माघ ५ गते बोलाइएको सन्दर्भमा त्यस अगावै सहमति जुटाउन भने दुवै पक्ष सहमत भएका छन् । बैठकमा सहभागी सङ्घीय समाजवादी फोरम नेपालका नेता डा मङ्गलसिद्धि मानन्धरले वार्ता सकारात्मक दिशामा अगाडि बढेको र विवाद साघुरिँदै गएको जानकारी दिए । उनले दुवै पक्ष अत्यन्तै लचकताका साथ वार्तामा प्रस्तुत भएकाले सहमति निकट रहेको र आफूहरुले उठाउँदै आएको विषयमा सहमति जुट्ने विश्वास बढेको बताए ।
तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले पनि वार्ता सकारात्मक दिशामा अगाडि बढेको र ठूला दलको तर्फबाट वार्ता र प्रगतिका बारेमा जानकारी गराइएको बताए । विराटनगरको जोगवनी नाकामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कुटिएपछि कार्यदलको बैठकमा सहभागी नभएको सो पार्टीसमेत बैठकमा सहभागी भएको थियो । सो पार्टीका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण बैठकमा सहभागी थिए ।
]]>
प्रतिक्रिया