देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम राखिने

देशान्तर

काठमाडौँ ।  मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाम राख्ने तयारी थालेको छ । 

‘नेपाली काँग्रेसको विधान, २०१७’ को प्रस्तावनामा पार्टीका संस्थापक तथा अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम उल्लेख गरी उनीहरुको योगदानबारे चर्चा गरिएको छ । तर प्रस्तावनामा पार्टीको स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व गर्नुका साथै पार्टीलाई आर्थिक रुपमा भरमग्दुर सहयोग गरेका संस्थापक नेता सुवर्णको नाम उल्लेख छैन । पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शमशेरको नाम उल्लेख गरिन्छ र उनका योगदानलाई पनि सम्झिइन्छ । 

पार्टीको १३ औँ महाधिवेशनको तयारीका लागि विधानमा आवश्यक संशोधन गर्न हाल पार्टीका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित विधान संशोधन समितिले प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम राख्ने बारेमा छलफल अघि बढाएको छ । 

स्थापनाकालदेखि नै पार्टी र प्रजातन्त्रका लागि अतुलनीय योगदान पुर्याएका नेता सुवर्णको नाम राख्ने बारेमा सुझाव आएको र सोहीअनुसार प्रस्तावनामा उनको नाम राख्ने बारेमा छलफल भएको समितिका सदस्य जीवन परियारले बताए । 

तत्कालीन अन्योलपूर्ण राजनीतिक अवस्थामा नेता सुवर्ण नेतृत्वको सरकारले नै २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा काँग्रेसले दुईतिहाइ भन्दा बढी बहुमत प्राप्त गरी बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । 

जिल्ला कार्यसमिति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट विभिन्न सुझाव आएकाले सोहीबमोजिम विधान संशोधन गर्न तयारी थालिएको नेता परियारले बताए । “प्रस्तावनामा नेता सुवर्णको नाम छुटेको रहेछ, त्यसलाई समेट्न प्रस्तावनादेखि नै विधान संशोधन गर्ने तयारी थालेका छौँ” – नेता परियारले भने । 

समितिले प्रस्तावनामा सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामै मुलुकमा संविधानसभाबाट पहिलो पटक संविधान जारी भएको ऐतिहासिक कार्यलाई पनि समावेश गरिने भएको छ । विसं २००३ माघ १२ गते गठन भएको नेपाली राष्ट्रिय काँग्रेस र २००५ साल साउनमा गठन भएको नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणपछि २००६ सालमा नेपाली काँग्रेसको स्थापना हुँदासम्म नेता सुवर्णले अतुलनीय योगदान गरेको काँग्रेसको इतिहास लेखेका नेता पुरुषोत्तम बस्नेतले बताए । 

विसं २००३ मा स्थापित राष्ट्रिय काँग्रेसले जहानियाँ राणा शासनविरुद्ध अहिंसात्मक आन्दोलन थालेको थियो । आन्दोलन प्रभावकारी नहुँदा नेता सुवर्ण अधिनायकवादी सरकारविरुद्ध सशस्त्र आन्दोलन नगरेसम्म सफल नहुने भन्दै प्रजातन्त्र काँग्रेस स्थापनामा लागेका थिए । 

सोहीअनुसार पछि दुवै काँग्रेसको एकीकरण र सशस्त्र युद्धले मात्र राणाशासन अन्त भई प्रजातन्त्रको स्थापना भएको नेता बस्नेतले बताए । नेता बस्नेतले सुवर्णको नाम प्रस्तावनामा छुट्न नपर्ने हो भन्दै अब थप्न सुझाव दिए । 

नेता सुवर्णले २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेपछि बिपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा हुँदा राजाको उक्त कदमविरुद्ध बाहिर बसेर निरन्तर आन्दोलनको नेतृत्व गरेको । त्यसबारेमा बिपी कोइरालाले आफ्नो आत्मवृतान्तमा धेरै कुरा उल्लेख गरी सुवर्णको भूमिकाको प्रशंसा गरेका छन् । 

समितिका सदस्य डा प्रकाशशरण महतले प्रस्तावनामा नेता सवुर्णको नाम, उनले पार्टी र मुलुकलाई गरेको योगदान उल्लेख गर्न छुटेकाले समावेश गर्ने तयारी भइरहेको बताए । सात सालको अधिकांश सशस्त्र मोर्चाको कमान्डरसमेत रहेका संस्थापक नेता सुवर्णका सुपुत्र रुक्मशमशेर राणाले प्रस्तावनामा सबै संस्थापक नेताको नाम र उनका योगदानबारे उल्लेख गरी सुर्वणको नाम मात्र छुट्नु पक्षपातपूर्ण भएको बताए । 

“मसँग कुरा गर्दा सबै नेता ठिकै छ भन्छन्, बुबाको योगदानको चर्चा पनि गर्छन्, तर व्यवहारमा त्यो देखिएन,” राणाले भने । १७ सालमा बिपी जेल परेपछि आफ्नो जीवनको अन्तिम क्षणसम्म नेता सुवर्णले काँग्रेसको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको २०३४ सालमा निधन भएको थियो । 

प्रजातान्त्रिक आन्दोलनका क्रममा नेता सुवर्ण प्रवासमा जाँदा उनको कतिपय जग्गा जमिन तत्कालीन सरकारले हडपेको थियो । केही सम्पत्तिपछि राष्ट्रियकरण गरियो । हालको नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास र प्रधानन्याधीशको निवास रहेको जग्गा एवम् घर पनि उनकै थियो ।

 

]]>