देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसी मोर्चामा उपेन्द्र र राजेन्द्रको टकराव

देशान्तर

काठमाडौं । ६ महिनायता जारी मधेस आन्दोलनको मुख्य वाहक मधेसी मोर्चाभित्र असमझदारी चुलिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’को वकालत गरिरहेका छन् भने सद्भावना अध्यक्ष राजेन्द्र महतो ‘मधेसी महागठबन्धन’ को ।

दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा यादवले राजनीतिक प्रतिवेदनमै मधेस–पहाड जोड्ने गरी संघीय गठबन्धन बिस्तार गर्नुपर्ने प्रस्ताव गरे । अघिल्लो वर्ष निर्मित संघीय गठबन्धनमा यसअघि नै चार मधेसी र पाँच पहाडी जनजाति पार्टी आबद्ध छन् ।

यादवले संघीयता पक्षधरको गठबन्धनमार्फत आन्दोलन अघि बढाउने जानकारी दिए । यादवद्वारा प्रस्तावित गठबन्धनमा मधेसी मोर्चाका चार दलसहित पहाड केन्द्रित लिम्बुवान पार्टी, भर्खरै नयाँ शक्तिमा आबद्ध नेपास् राष्ट्रिय पार्टी, पासाङ शेर्पाको सामाजिक लोकतान्त्रिक पार्टी, परशुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक जनमुक्ति पार्टीलगायत छन् ।
सद्भावना अध्यक्ष महतोले मंगलबार बिहान विराटनगर शान्तिचोकस्थित आफ्ना एक कार्यकर्ताको घरमा तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्तालाई भेटदै प्रस्तावित महागठबन्धनमा आउन आग्रह गरे । मोर्चा आबद्ध दलहरूले संघीय गठबन्धनमै अरू शक्तिलाई समेट्न सकिने अडानविपरीत महतोले छुट्टै महागठबन्धन बनाउने प्रस्ताव गरेको आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

महागठबन्धनमा गुप्तासहित शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकसमेत समेट्ने महतोको योजना छ । यी तीन साना दलले गुप्ताको संस्थासँग मिलेर भर्खरै संघीय समावेशी मधेसी गठबन्धन निर्माण गरेका छन् ।
मधेस आन्दोलन सुरु हुँदाको समय यसप्रति आलोचनात्मक दृष्टि राख्ने गुप्तासँग महतोले सहकार्य प्रस्ताव अघि बढाएकामा मोर्चा आबद्ध दलहरू उनीसित रुष्ट छन् । भर्खरै बिहारमा सम्पन्न चुनावमा लालुप्रसाद यादव र नितीशकुमारले भारतीय जनता पार्टी हराउन चर्चामा ल्याएको महागठबन्धनकै सिको गर्दै महतोले आगामी चुनावसम्म लक्षित गर्ने गरी यस्तो प्रस्ताव गरेको मोर्चा उच्च स्रोतले बतायो । महतो–गुप्ता पक्षले भने ‘नेपाली–हिन्दीको एकै खालको देवनागरी लिपि र भाषाशैली हुने भएकाले शब्द मिल्नु अनौठो नभएको’ भन्दै बचाउ गरेको छ ।
महतोले प्रस्ताव गरेको महागठबन्धनलाई फोरम अध्यक्ष यादवले सीधै अस्वीकार गर्ने गरेको मोर्चा स्रोत बताउँछ । आन्दोलन गलत दिशामा लैजाने, कालान्तरमा दिशाहीन बनाउने डिजाइनअन्तर्गत महागठबन्धन प्रस्ताव गरिएको यादवको बुझाइ छ । ‘त्यो वास्तवमा महागठबन्धन होइन, गठबन्धन मात्रै हो, लोकतन्त्रमा सबैलाई आ–आफ्नो दल, मोर्चा, गठबन्धन बनाउने छुट छ,’ यादवले टेलिफोनमा भने, ‘जेपी गुप्ताजीको कुनै पार्टी छैन, केका आधारमा सहकार्य गर्ने ? व्यक्तिसँग सहकार्य गर्ने कुरा भएन ।’

गत वर्ष असोज १ गते गुप्ता, महतो र नेकपा (माओवादी) संयोजक मातृका यादवबीच अलग्गै गठबन्धन बनाउने समझदारीमा हस्ताक्षर भएको थियो । मोर्चालाई थाहै नदिई यस्तो हस्ताक्षर गरेको भनेर सहकर्मी दलले महतोको आलोचना गरेका थिए । गुप्ताका अनुसार सोही समझदारीलाई संस्थागत रूप दिने सहमति मंगलबार बिहान भएको छ । ‘१ सय ६४ दिन आन्दोलन भइसक्दा पनि राज्यले समग्रतामा हाम्रा मुद्दा सम्बोधन गर्न चाहेन,’ महतोले गुप्तालाई प्रस्ताव गरे, ‘त्यसैले मोर्चा, गठबन्धन, थरुहटलगायत पहिचानवादीको महागठबन्धन बनाउनुपर्‍यो ।’

महागठबन्धन निर्माण गर्नेबारे महतो बढी सकारात्मक र प्रतिबद्ध रहेको गुप्ताले बताए । ‘महन्थ ठाकुरजी दिल्लीबाट फर्केपछि उहाँसँग कुरा गर्ने महतोजीले बताउनुभएको छ,’ उनले थपे, ‘अब मोर्चा र गठबन्धनका अलग–अलग आन्दोलनको ठाउँमा एकै प्रकारको कार्यक्रम आउँछ ।’

के फरक छ त यादव र महतोले प्रस्ताव गरेका अलग–अलग गठबन्धनमा ? स्रोतका अनुसार यादवकै प्रस्तावलाई बिस्तार गरेर महागठबन्धन बनाउन साना मधेसी दल तयार छन् । तर उनीहरूका तीन सर्त छन्– पहिलो, मधेस आन्दोलनका सबै पक्षले उठाएका मागहरू हेरेर संश्लेषित रूपमा एउटै मागपत्रको निर्माण गर्नुपर्ने । दोस्रो, आन्दोलनका फरक–फरक कार्यक्रमका ठाउँमा भावी कार्यक्रम एउटै खालको आउनुपर्ने । तेस्रो, अहिलेजस्तो एउटाले सरकारसँग वार्ता गरेपछि अरू मोर्चा र गठबन्धनले बाध्य भएर त्यसैलाई पछ्याउने अवस्था अन्त्य हुनुपर्ने । ‘मधेसी मोर्चाले वार्ता गर्ने, अरूले निष्कर्ष सुनेर बस्नुपर्ने अवस्थाको अन्त्य चाहेका छौं,’ गठबन्धनका अर्का नेताले भने, ‘अब एउटै वार्ता टोली निर्माण हुनुपर्छ ।’

यतातिर यादव आफूबाट फुटेर गएका शरतसिंह भण्डारी, जेपी गुप्ता, राजकिशोर यादवलगायतले नेतृत्व गर्ने दललाई प्रस्तावित संघीय गठबन्धनमा स्पेस दिन तयार त छन्, तर सबै साना दल मिलाएर बन्ने त्यस्तो छाता मोर्चा संघीय गठबन्धनको एक हिस्साका रूपमा मात्रै सीमित हुनुपर्ने उनको तर्क छ । उता महतो आफूबाट फुटेर गएका नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झालगायतलाई महागठबन्धनमा स्पेस दिन चाहँदैनन् । दुई नेताबीच व्यक्तित्व टकरावको व्यवस्थापन गर्न मोर्चालाई हम्मे परेको छ । ‘यादव र महतोजी मोर्चामा केही कुरा राख्नुपर्‍यो भने महन्थजीलाई राख्नुहुन्छ, अनि छलफल हुन्छ,’ मोर्चाका एक उच्च नेताले भने, ‘दुई नेताबीच टक्कर छ भन्ने कुरा मधेसमा एक–एकलाई थाहा छ ।’

बौद्धिक पृष्ठभूमिका यादवसँग पहिलो मधेस आन्दोलनको लिगेसी छ । मधेसको पुरानो पार्टी सद्भावनाका नेता महतो मधेसमा गुमेको वर्चस्व फर्काउने धुनमा छन् । एकताका मोर्चामै रहेका, तर काठमाडौंमा चार ठूला दलबीच १६ बुँदे सहमतिसँगै बाहिरिएर गएका साना दलका नेताहरू यादव र महतोबीचको असमझदारीबाट फाइदा उठाउने धुनमा छन् । प्रस्तावित महागठबन्धनमार्फत महतो यादवलाई किनारामा धकेल्न चाहन्छन्, संघीय गठबन्धनमार्फत यादव महतोलाई साइजमा राख्न चाहन्छन् । आन्दोलनकै बीच दुवै नेता मधेसमा आफ्नो दलको संगठन विस्तारलाई तीव्र रूपमा अघि बढाइरहेका छन् । आन्दोलन पार लगाउनुपर्ने बेला दलीय संकीर्णता देखाएको भन्दै तमलोपा र तमसपाका नेताले दुवै नेताको आलोचना गर्ने गरेका छन् ।

यादव नेपाल–भारत सीमानाका धर्नाले तस्करीतन्त्र संस्थागत हुँदा मोर्चाकै बदनामी भएको भन्दै राजधानी, सदरमुकाम केन्द्रित कार्यक्रम चर्काउनुपर्ने बताइरहेका छन् । महतो भने सीमानाकामै बस्नुपर्ने अड्डीमा छन् । संसद्मा यादवसँग १५ सिट छ, महतोसँग ५ । तीमध्ये महतो पक्षधर एक सांसद पहिल्यै निलम्बित भइसकेका छन् ।
हाल संघीय गठबन्धनमै रहेको मधेसी मोर्चासँग संसद्मा ३४ सांसद छन्, महागठबन्धनका लागि आतुर संघीय समावेशी गठबन्धनसँग भने ५ सांसद । सरकारले दुवै मोर्चासँग पालैपालो वार्ता गरे पनि स्वतस् उपेन्द्र यादव, महन्थ ठाकुरलगायतको मोर्चाले प्राथमिकता पाइरहेको छ । दुई मोर्चाबीच यसकारण बेला–बेला असमझदारीसमेत उत्पन्न भइरहन्छ, काठमाडौंदेखि सीमानाकासम्मै ।

आफ्नो दल र मोर्चा सदन र सडक दुवै ठाउँमा आन्दोलनरत भए पनि गुप्ताको उपस्थिति कतै नदेखिएको मोर्चा नेताहरू बताउँछन् । यता संघीय समावेशी गठबन्धनका नेताहरूले आफूद्वारा केही महिनाअघि नै महागठबन्धनको प्रस्ताव भए पनि मोर्चाले नसुनेको आरोप लगाए । ‘एकीकृत आन्दोलनका लागि महागठबन्धनको आवश्यकता छ, तर मोर्चाभित्र यसबारे सबै सहमत छैनन्,’ संघीय गठबन्धन आबद्ध रामसपा प्रवक्ता केशव झाले भने । उनको भनाइ पुष्टि गर्दै मोर्चा आबद्ध सद्भावना महासचिव मनीषकुमार सुमनले भने, ‘मधेसमा अहिले पनि साझा आन्दोलन छ । त्यसैलाई महतोजीले महागठबन्धनमार्फत संगठित रूप मात्रै दिन खोज्नुभएको हो ।’

 

]]>