देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेल विक्रीमा लाभकर लिन मिल्ने कि नमिल्ने ?

देशान्तर

काठमाडौं । नेपालमा विगत तीन वर्षदेखि सर्वाधिक कर तिर्ने कर्पोरेट कम्पनी एनसेलको विदेशी लगानीकर्ता कम्पनी रेनोल्ड होल्डिङ जहाँको त्यहीँ रही सो कम्पनीको मूल डोएरकर्ता कम्पनीको डोएर परिवर्तन भएको विषय अहिले चर्चामा रहेको छ । यो चर्चा पाउनुको मूल कारण विदेशी कम्पनी टेलियासोनेराबाट एनसेलको स्वामित्व एक खर्ब ४० अर्बको कारोबारबाट एक्जियाटामा जानु हो । यो कारोबारसँगै जोडिएर आएको छ ‘पुँजीको लाभकर’को विषय । अहिले ५६ अर्ब नगद भएको भनिएको एनसेललाई २०७१ मा नवीकरणबापत एकमुष्ठ २० अर्ब तिर्नुपर्ने विषयलाई आठ किस्तामा भुक्तानी गर्न दिने सुविधाको आफंै प्रस्ताव गर्ने तत्कालीन सञ्चार सचिव, पछि मुख्य सचिवसमेत भएका लीलामणी पौड्यालले अहिले आएर कानुनमा बाझिने गरी ‘कारोबारमा पुँजीको लाभकर’ को विषय उठाएर लेख नै लेखेपछि यो विषयले झनै चर्चा पाएको छ । आफू सचिव हुँदा गरेको निर्णयविपरीत पदीय दायित्वबाट बाहिरिएपछि अभिव्यक्ति दिँदा उनको नैतिकतामाथि प्रश्न उठेको छ । तर, आफू पदमा हुँदा एउटा निर्णय गर्ने र पदबाट हटेपछि त्यही विषयमा फरक बोली बोल्ने प्रवृत्ति नेपालमा रोग नै बनेको सन्दर्भमा लीलामणिले आफ्नो निर्णयप्रति नैतिक दायित्व लिएर अपवाद किन बन्थे ।

तर वर्तमान लाभकरको विद्यमान कानुनी व्यवस्थालाई हेर्दा एनसेल सेयर बिक्रीको सन्दर्भमा दुई कम्पनीबीचको कारोबार विदेशमा भएकोले कारोबार कर लगाउन मिल्ने प्रावधान नरहेको जानकारहरू बताउँछन् । एनसेलको एक खर्ब ४० अर्बको पुँजी लाभकरको सन्दर्भमा आयकर ऐन हेर्दा उक्त दुई कम्पनीबीचको कारोबार विदेशमा भएकोले कारोवार कर लगाउन मिल्ने प्रावधान नरहेको उद्योग मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू नै बताउँछन् । ‘आयकरसम्बन्धी नेपालको कानुनले नेपाली कम्पनी वा नेपालमा भएको कारोबारको मात्र पुँजी लाभकर लिन सक्ने व्यवस्था गरेको छ । एनसेलको विदेशी लगानीकर्ता कम्पनी रेनोल्ड होल्डिङ यथावत् छ । उक्त कम्पनीको मूल कम्पनीहरूको सेयर तेस्रो कम्पनीमा परिवर्तन भएको हो । उद्योग मन्त्रालयको रेकर्डमा रहेको एनसेलको लगानीकर्ता रेनोल्ड होल्डिङ नै यथावत् देखिनुले यहाँ पुँजीको लाभकरको विषय उठाउनु कानुनसम्मत देखिँदैन’, मन्त्रालयका एक अधिकारीले बताए ।

छिमेकी मुलुक भारतमा सन् २००८ मा भोडाफोनले पनि यही प्रकृतिको मुद्दा झेलेको थियो । सन् २००८ को फेब्रुअरीमा डच कम्पनी भोडाफोन इन्टरनेसनल होल्डिङले एउटा सिम्यान कम्पनी सीपीजी होल्डिङ लिमिटेडको सय प्रतिशत सेयर ११ दशमलव १ विलियन डलरमा हुचिन्स टेलिकम्युनिकेसन इन्टरनेसनल लिमिटेडबाट खरिद गर्‍यो । खरिदकर्ता सीपीजी कम्पनीले विभिन्न कम्पनीमार्फत भारतीय कम्पनी हुचिन्स इसार लिमिटेडको ६७ प्रतिशत  सेयर स्वामित्व थियो । यो खरिदबाट भोडाफोनले अप्रत्यक्ष रूपमा कारोबार भएकाले करको दायरामा आउने आदेश दियो । सो विषयले कानुनी जटिलता थपियो । अन्तत: सुप्रिम कोर्टले २० जनवरी २०१२ मा उक्त प्रकरणमा कर नलाग्ने फैसला गर्‍यो । एनसेल सेयर बिक्री सन्दर्भमा यही नजिर लागू हुने कानुनविद्हरू बताउँछन् ।

आज टेलियासेनेरा र भाइजरलाई जहाँको त्यही राखी एक्जियाटाले अर्को कम्पनी खडा गरेर त्यो कम्पनीले सेयर किनेको भए वा टेलियासोनेराले विज्ञप्ति नै ननिकाली, कारोबार अंक नै नखोलेको भए यो विषय सार्वजनिक हुन सक्दैनथियो । तर कम्पनीले इमानदारितापूर्वक यो विषयलाई सार्वजनिक गरेकोले करको किचलो झिकेर उनीहरूको इमानदारितालाई निरुत्साहित गर्न नहुने एकथरीको राय छ ।

यतिबेला एनसेलको सन्दर्भमा सिंगापुरका लगानीकर्ता जो हिजो स्मार्ट टेलिकमका लगानीकर्ता थिए । सतीशलाल आचार्य र उनको परिवारको लगानीमा संलग्नता देखिएको छ । लगानी दोहोरो भएको हो कि भन्ने आशंका गरिएको छ । तर विद्यमान कानुनमा दूरसञ्चार क्षेत्रमा दोहोरो लगानी नपाइने प्रावधान नरहेको दूरसञ्चार प्राधिकरणकै अधिकारीहरू बताउँछन् । बंैकिङ क्षेत्रमा भने दोहोरो लगानी प्रतिबन्ध छ । तर सञ्चार क्षेत्रमा खासगरी दूरसञ्चार क्षेत्रमा दोहोरो लगानीको विषय मौन भएकोले दूरसञ्चार प्राधिकरणले यससम्बन्धी नीति तत्काल बनाउन जरुरी रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

जानकारहरूका अनुसार एनसेलको हिजो पनि लगानीकर्ता व्यवहारमा ‘टेलियासोनेरा’ देखिने कागजमा ‘रेनोल्ड’ देखिने अवस्था थियो । ‘रेनोल्ड’ नै कायम भएको अवस्थामा कागजी रूपमा कम्पनीको धनी परिवर्तन भएको छैन । अहिले सुन्नमा ‘एक्जियाटा’ आयो । तर कागजमा यो देखिन्न । तसर्थ जो वास्तविक लगानीकर्ता हो, उनै अगाडि देखिने गरी नीति र नियमको व्यवस्था गर्न जरुरी रहेको अन्यथा ‘पारदर्शिता’ मर्ने जानकारहरू बताउँछन् ।

एनसेल नेपाल प्रालि २०५८ साल असार ७ गते स्पाइस नेपाल प्रालिको नामबाट नेपालमा स्थापना भएको निजी तथा वैदेशिक लगानी रहेको कम्पनी हो । स्थापना हुँदा ६० प्रतिशत वैदेशिक र ४० प्रतिशत स्वदेशी लगानी रहेको यस कम्पनीमा २०६५ साउन १ देखि वैदेशिक र स्वदेशी लगानीको अनुपात क्रमश: ८० र २० प्रतिशत कायम रहेको देखिन्छ । हाल यस कम्पनीको वैदेशिक लगानी वेस्ट इन्डिजको नेभीमा रहेको रेनोल्डस होल्डिङ लि. र स्वदेशी लगानी निरजगोविन्द श्रेष्ठको नाममा रहेको छ । वैदेशिक लगानी रहेको रेनोल्डस होल्डिङ लि.को स्वामित्व पूर्ण रूपमा नर्वेमा रहेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.सँग रहेको छ भने टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.को स्वामित्व निदरल्यान्डको टेलियासोनेरा एसिया होल्डिङस लि.सँग रहेको छ । यस प्रकारले एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस होल्डिङस लि. विदेशी कम्पनी रहेको र रेनोल्डस होल्डिङस लि.को स्वामित्व पूर्ण रूपमा विदेशमा रहेका होल्डिङ कम्पनीहरूमा रहेको देखिन्छ ।

यता टेलियासोनेरा नर्वे नेपाल होल्डीङस लि.को पूर्ण स्वामित्व निदरल्यान्डको टेलियासोनेरा एसिया होल्डिङस लि.सँग रहेको छ । यस प्रकार एनसेल नेपाल प्रा.लि.मा टेलियासोनेरा एसिया होल्डिङस लि.को अप्रत्यक्ष स्वामित्व र नियन्त्रण रहेको देखिन्छ । नेपाली सञ्चार माध्यममा आएका समाचार तथा सूचनालाई आधार मान्ने र त्यसमा विश्वास गर्ने हो भने नर्वेमा दर्ता रहेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.सँग रहेको रेनोल्डस होल्डिङ लि.को सम्पूर्ण सेयर अर्थात् शतप्रतिशत स्वामित्व मलेसियामा रहेको एक्जिएटा ग्रुपले खरिद गर्न सार्वजनिक भइसकेको छ । सो सेयरको खरिद बिक्रीको समाचार वास्तविकतामा परिणत भएमा कुनै एउटा विदेशी कम्पनीको कुनै अर्को विदेशी कम्पनीमा रहेको सेयर तेस्रो विदेशी कम्पनीले खरिद गरेको स्पष्ट हुने जानकारहरूको भनाइ छ । अर्थात् यस सेयर खरिद बिक्रीमा संलग्न सबै पक्षहरू विदेशी नै हुनेछन् कुनै नेपाली व्यक्ति वा निकाय सेयर खरिदबिक्रीमा संलग्न हुने देखिँदैन । यस सेयर खरिदबिक्रीको सन्दर्भमा सेयर खरिद र बिक्री गर्ने दुवै पक्ष विदेशी रहने, खरिदबिक्रीको कारोबार नेपाल बाहिर हुने, त्यसबापतको रकम भुक्तानी र प्राप्ति नेपाल बाहिर हुने, सो कारोबारका सम्बन्धमा नेपालमा कुनै अभिलेख खडा नहुने, सो सेयर हस्तान्तरण हुँदा ती सेयरको दाखिला खारिज नेपालमा नभई नेपाल बाहिर नै हुने एबम् स्वामित्व परिवर्तन हुने कम्पनीको स्वामित्वमा नेपालमा रहेको एनसेल प्रालिको सेयर वा स्वामित्वको संरचनामा कुनै परिवर्तन नहुने अवस्था विद्यमान रहेको एनसेलद्वारा जारी गरिएको सेयर खरिदबिक्री बारेको जानकारीबाटै स्पष्ट हुन्छ ।

प्रस्तावित सेयरको कारोवारबाट नर्वेमा दर्ता रहेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.लाई लाभ हुने विषयमा कुनै दुविधा देखिँदैन । नेपालको आयकर कानुनअनुसार सेयरको कारोबारमा भएको लाभमा आयकर लाग्ने विषयमा समेत कुनै विवाद रहेको देखिँदैन । तर उपरोक्त विवेचित लाभ नेपाल बाहिर स्थापना भएका कम्पनीहरूबीच विदेशमा नै भएको सेयर कारोबारबाट सिर्जना भएको र नेपालमा रहेको एनसेल प्रा.लि.को सेयर तथा स्वामित्वको संरचनामा कुनै परिवर्तन नभएको अवस्था रहेको हँुदा सो लाभमा नेपालमा कर नलाग्ने प्रशस्त आधारहरू रहेको जानकारहरू बताउँछन् ।

उनीहरूका अनुसार वैदेशिक कारोबारबाट भएको आय र लाभको स्रोत नेपालको आयकर कानुन र प्रचलित अन्तर्राष्ट्रिय मान्यता र प्रचलनअनुसार नेपालमा रहेको भन्न मिल्दैन । त्यस्तै सेयर खरिद गर्ने र बिक्री गर्ने दुवै कम्पनी विदेशी कम्पनी भएकोले नेपालका लागि गैरबासिन्दा व्यक्ति र गैरबासिन्दा व्यक्तिको नेपालमा स्रोत रहेको आयमा मात्र कर लाग्ने व्यवस्था रहेकोले यस लाभमा नेपालमा कर लगाउन नमिल्ने, लाभमा नेपालमा कर लगाउन नमिल्ने हुँदा कर नै नलाग्ने आयमा आयकर ऐन २०५८ को दफा ९५क. बमोजिम अग्रिम कर असुल उपर गर्न नमिल्ने विज्ञहरूको राय छ । यसैगरी सेयरको बिक्रीमा लाभ प्राप्त गर्ने निकाय टेलियासोनेरा नर्वे नेपाल होल्डिङस लि.को स्वामित्व रहेको व्यक्ति नर्वेको बासिन्दा व्यक्ति भएकोले नेपाल र नर्वेबीच भएको दोहोरो कर उन्मुक्ति सम्झौताअनुसार यस्तो लाभमा नर्वेमा कर नलाग्ने हुँदा दोहोरो कर दायित्व सिर्जना हुने गरी नेपालमा कर लगाउन नमिल्ने जानकारहरू बताउँछन् । लाभ कर बिक्री गरेर लाभ लिनेले तिर्नुपर्ने विश्वव्यापी रूपमा करको स्थापित नियम छ । त्यसमाथि बिक्री गर्नेले नाफा लिएर जान लागेको होइन । कम्पनी र सम्पत्ति बिक्री गरेर यथाअवस्थामै छोडेर जानेसँग लाभकर लिनुपर्दछ भन्ने मान्यता आफैंमा अमिल्दो रहेको उनीहरूको भनाइ छ ।

यसैगरी आयकर ऐनको दफा ९५क. मा धितोपत्र बोर्डमा सूचीकृत नभएको कुनै पनि बासिन्दा रहेको निकायमा रहेको हितको निसर्गबाट कसैलाई लाभ प्राप्त भएमा त्यस्तो लाभमा सोही निकायले तोकिएको दरले अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था रहेको भए पनि कानुनी रूपमा हेर्दा एनसेल प्रा.लि.को सेयरधनीमा कुनै परिवर्तन हुने अवस्था नरहेकोले पनि करको विषय उठाउन नमिल्ने बताइन्छ । त्यस्तै, सेयर खरिदबापतको मूल्य नेपालमा नभई नेपाल बाहिर भुक्तानी हुने भएकोले यस अवस्थामा कर असुली के कसरी हुने भन्ने सम्बन्धमा ऐन मौन रहेको जानकारहरू बताउँछन् ।

 

]]>