मणि लोहनी
स्वतन्त्रता र मुक्ति सजिलै प्राप्त हुने चीज होइनन् । हरेक युगले अर्को युगमा प्रवेश गर्न ठूलै युद्ध गर्ने गरेको छ । मानव सभ्यताको सुरुवातदेखि नै बाँधिदै आएका मान्छेका निजी कुराहरुले मुक्ति पाउन आजसम्म पनि लड्नै परेको छ ।
उर्दू कथा साहित्यका महान् स्रष्टा सआदत हसन मन्टोलाई मैले निकै पछि पढें ।
२०११ को डिसेम्वरतिर । त्यसैताका शहरमा भारतीय अभिनेत्री विद्या बालनको फिल्म डर्टी पिक्चरले निकै चर्चा बटुलिरहेको थियो । दक्षिण भारतीय नायिका सिल्क स्मिताको जीवन—कथामा आधारित यो फिल्मले महिलाको बोल्डनेसको पक्षमा वकालत गरेको छ ।
संयोग कस्तो भने जतिखेर दक्षिण भारतका फिल्महरूमा सिल्क चर्चाको चुलीमा थिइन् त्यतिखेर सआदत हसन मन्टोका कथाका कितावहरु धमाधम छापिदै थिए । अहिले पनि हरेक वर्ष मन्टोका दुई नयाँ किताव छापिने गरेका छन् । आइमाईको कथा लेखेको आरोपमा बाचुञ्जेल प्रहरी र प्रशासनको ज्यादती झेलेका मन्टोको निधन भएको पाँच वर्षपछि अर्थात सन् १९६० मा सिल्क स्मिता जन्मेकी थिइन् । मन्टोका अधिकांश कथा बोल्ड छन् । तत्कालीन समयमा अश्लील भनिएका उनका कथाहरुमा नारी जातिको सम्मान र पीडाहरु छन् । त्यो समय जतिबेला महिलाहरु आत्महत्या गर्नुभन्दा पहिले आफ्नो पतिसँग अनुमति माग्थे । त्यसबेला मन्टोले महिलाको पक्ष लिए ।
महिला पनि कस्ता ? समाज जसलाई हीन मान्दथ्यो । पतित मान्दथ्यो । बाँच्नका लागि दु:ख गरिरहेका महिलाहरुप्रति मन्टोको कलम समर्पित थियो । ती महिलाहरुको स्वत्वको प्रश्न, संवेदना, उदारता, त्याग र समझदारीलाई लिएर मन्टोले अनेकौं कथाहरु लेखेका छन् ।
सिल्कको महत्वकांक्षा र उदार जीवनशैली समेटिएको फिल्म डर्टी पिक्चर हेर्नु र मन्टोका कथाहरु पढ्नु एकै समय हुन गयो ।
मन्टोका कथाहरु पढिरहेकै बेला नेपाली साहित्यिक बजारमा ‘कुमारी आमा’ उपन्यास आयो । अनुपम रोशीले लेखेको ‘कुमारी आमा’ नयाँ विषयका कारण चर्चामा रह्यो । ६ महिना नपुग्दै दोस्रो संस्करण निक्लिएको ‘कुमारी आमा’ले अनुपम रोशीलाई बोल्ड लेखिकाको रुपमा स्थापित गरायो । यौन र सम्वन्धका मामिलामा सधै दबेर बसेका नारीहरुको पक्षमा वकालत गरेकी अनुपमले आमा बन्ने प्रक्रियालाई नारीको व्यक्तिगत इच्छा र अधिकार भित्र सिमित गरिदिइन् । आमा हुनलाई कुनै पुरुषको सिन्दुर भिर्नु नपर्ने तर्क अघि सारिन् । जीवनभर कसैको दासीजस्तो बनेर सन्तान उत्पादन गर्नुभन्दा आफ्नो इच्छामा आमा बन्नु उचित भएको ठहर गरिन् । पश्चिम नेपालको बुटवल नजिकै गाउँमा सन् १९८५ मा जन्मिएकी अनुपमले विवाह नगरी पनि आमा बन्न सकिन्छ र यो महिलाको स्वेच्छिक कुरा हो भन्ने अवधारणा अघि सारिन् । एकातिर पितृसत्तात्मक पारिवारिक संरचना, अर्कोतिर ‘कुमारी आमा’ को अवधारणा नितान्त फरक छन् । महिला स्वतन्त्रता र सक्षमताको पूर्ण रुपलाई प्रस्तुत गरेको छ, कुमारी आमा उपन्यासको कथाले ।
मन्टो, सिल्क र अनुपमको कहीँ कतैबाट पनि तुलना हुन सक्दैन । तुलना गर्न पनि मिल्दैन । यी फरक फरक समयका र फरक फरक क्षमता भएका मानिसहरु हुन् । तीनै जनामा विविधता छ । अभिनय र लेखनमा रहेका यी तीनै जनाले आआफ्नो समयलाई नजिकबाट अनुभूत गरे र कर्ममा लीन रहे । हो यी तीनै जनाको केही कतै मिल्दैन । यदि मिल्छ भने तीनै जनाले वकालत गरेको स्वतन्त्रता हो । नारीलाई भिन्न र हेयको दृष्टिले हेर्ने समाज र सोचलाई यी तीनै जनाले स्वीकार्न सकेनन् । ‘नारी आफैमा सक्षम छन् ।’ मन्टो, सिल्क र अनुपम यही कुरालाई स्थापित गर्न क्रियाशील रहे । अनुपमको क्रियाशीलता अझै जारी छ ।
उर्दू साहित्यमा मन्टो एक यस्ता लेखक हुन् जो सबभन्दा बढी बदनाम भए । त्यसो त बदनामको उत्तरार्धमा नाम त रहन्छ नै, यहि आश्वासन मन्टोले आफुले आफुलाई पक्कै दिएको हुनुपर्छ । मन्टोको सबभन्दा ठुलो गल्ती यो थियो कि उनी समयभन्दा ७५ वर्ष अगाडि जन्मिए । त्यसो त समयभन्दा पहिले नै मरेर उनले खाता बराबर गरे । त्यतिबेला उनले जे लेखे त्यो अहिले लेखेको भए तिनलाई लिएर दुनियाँको कुनै पनि अदालतमा अश्लिलताको मुद्दा चल्दैनथ्यो । यो पक्का हो । सिल्क पनि समय भन्दा पहिले नै जन्मिन् । तर अनुपम समयमा जन्मेकी छिन् । मन्टो बितेको ३० वर्षपछि । उनको आफ्नै समयमा । उनलाई समयभन्दा अघि जन्मिनु पर्ने अभिशाप थिएन । तर पनि अझै कति कुराहरुमा उनको बुझाई समय भन्दा अगाडि छ । मानिसमा हुने सामान्य लोभमोहबाट उनी माथि छिन् । लोलोपोतो गर्न उनलाई आउदैन । कसैको अपमान गर्दिनन् तर आफ्नो अपमान पनि सहदिनन् । भावुकताका नाममा हुने हावादारी उडान भएका रचनामा उनी जीवन देख्दिनन् । सृजना भनेको मान्छेको यथार्थ जीवनसँग नजिक हुनु पर्छ भन्छिन् । एक से एक मानिसले राम्रा भनेका रचनामा उनी खोट देखाईदिन्छिन् । आदरका नाममा स्तुती र भजन गाउनेहरुको भीडमा उनी अलग छिन् ।
मन्टोको लेखन बनावटी थिएन । अनुपमको पनि बनावटी छैन । त्यसो त सिल्कको जीवनशैली पनि बनावटी थिएन । पब्लिसिटी स्टन्ट् यी तीनैलाई मन परेन । मानिसमा उत्तेजना पैदा गर्नका लागि न मन्टोले लेखेका हुन् न अनुपम लेख्दैछिन् । संस्कृति र समाजको चोलीबाट न मन्टोले केही निकाले न अनुपमले केही निकाल्ने छिन् ? जो नाङगो छन् तिनीहरुको कपडा कसरी खोल्नु ? हो मन्टोले ती नाङगालाई कपडा नलगाईदिएकै हो । जसरी अहिले अनुपम नाङगोलाई नाङगो लेखिरहेकी छिन् । ‘मान्छेको नाङगो सभ्यतालाई कपडा लगाई दिने काम मेरो होइन ।’ मन्टोकै करिव रहेर अनुपम भन्छिन् । उनी कुनै लप्पनछप्पन बिना नै आफुलाई लागेको सत्य बोलिदिन्छिन् । लेखिदिन्छिन् ।
अनुपम रोशीको अर्को उपन्यास छापियो ‘नाङगो मान्छे’ । पछिल्लो समय समाजमा बढ्दै गएको विवाहइतर सम्वन्ध र त्यसले मानिसमा ल्याएको विचलन थियो कथामा । कथा स्वभाविक थियो र बढी खुला थियो । मैले सोधें, ‘यी यी शब्दहरुको सट्टामा अरु शब्दहरु राखेको भए हुन्थ्यो नि ।’
‘नाङगो त नाङगो नै हुन्छ नि मणिजी । भइरहेको कुरा पढ्न चाही किन हिच्किचाउँछन् मान्छेहरु ? म त लेख्ने हो । जे देख्छु । त्यही लेख्छु । हेरौं मानिसहरुले कसरी लिन्छन् ।’ अनुपमको यही बोल्डनेस उनको लेखनको उर्जा हो । हो उनले ‘कालो छायाँ’ उपन्यास पनि लेखेकी छिन् । महिलामाथिको संस्कारित ज्यादती त्यसमा देखाइएको छ । त्यसो त दर्शन र राजनीतिका कितावहरुसँग महिनौ गुप्तवास बस्न सक्ने उनको एकाग्रता र हरेक लेखनमाथि एउटा स्पष्ट धारणा वा त्यसको उपादेयता हुनुपर्छ भन्ने उनको भनाइ मलाई मन पर्छ ।
अनुपमले लेखेकी छिन्, ‘कुनै पनि मान्छेको सृजनशीलता पढ्नु भन्दा पहिले नै गलत धारण बनाउने र पढी हाले पनि नकरात्मक दृष्टिकोणले पढ्ने अनि चाहिने भन्दा बढी आलोचना या प्रशंसा गर्ने, नेपाली साहित्यका जल्दाबल्दा हस्तीहरुले अरुको आत्मविश्वासलाई विथोल्ने भन्दा पनि आफ्नो सोचाइलाई सकारात्मक बनाउने प्रयास गर्नुपर्ने देखिन्छ ।’
गुलामी र राजनीतिक पहुँचले मात्र माथि पुगिने समयमा एउटा स्वाभिमानी लेखक वा कलाकार सधै आलोचनाको पात्र बन्ने गरेको छ । मठाधीसहरुले भनेको नमान्नेहरुले जति नै राम्रो सृजना गरे पनि उसको नितान्त ब्यक्तिगत आचरणलाई औंला उठाउने घृणित संस्कार जस्ताको तस्तै छ । यही संस्कारको बीचमा लेखिरहेका छन् धेरै अनुपम रोशीहरु ।
मान्छेका आआफ्नै स्वभाव, शैली र वाध्यता हुन्छन्, जीवन जिउने । अनावश्यक प्रचारवाजी र आफ्नै प्रभूत्व कायम गर्न अरुको निजी जिन्दगीलाई बद्नाम गर्ने प्रवृत्ति विलकुलै गलत हो । अरुले यस्तो गर्यो भन्नु भन्दा पनि आफु त्यस्तो नहुनु राम्रो कुरा हो । मिडिया र अनावश्यक प्रचारवाजीको भरमा आफुलाई उपल्लो दर्जामा पुर्याएका तथाकथित महान् मान्छेहरुको ‘मिनी सोचाइ’ले थाह छैन कहिले साँचो अर्थमा जिन्दगीको परिभाषा बुझ्छ र हरेक खाले चुनौतीलाई सकारात्मक रुपमा स्वीकार्छ ।
]]>
प्रतिक्रिया