देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पको लगत सङ्कलनमा सहयोग गर्न तथ्याङ्क विभागको अपील

देशान्तर

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले वैशाख १२ को गोरखा भूकम्पबाट भएको क्षतिको लगत सङ्कलन कार्यमा खटिएका विभागका सर्भेक्षण टोलीलाई सहयोग गरिदिन अपिल गरेको छ । 

सङ्कलन गरेको तथ्याङ्कका आधारमा प्रत्येक आवासीय घरको क्षतिको विस्तृत आँकलन भई वास्तविक पीडितको पहिचान हुने र यसले पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न सहयोग पुग्ने भन्दै विभागले सहयोग गरिदिन आग्रह गरेको हो । 

विभागका उपमहानिर्देशक डा रुद्र सुवालले सबै घरपरिवार तथा व्यक्तिको प्राप्त विवरणबाट सामाजिक सुरक्षा कार्यक्रमलगायत अन्य कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने तथ्याङ्क सङ्कलनमा सबैको सहयोग आवश्यक भएको बताए । 

यस सर्भेक्षणमा विज्ञ सर्भेयरले ‘ट्याब्लेट’ प्रयोग गरी सङ्कलन गरेको तथ्याङ्क इन्टरनेटमार्पmत सोझै सिंहदरबारस्थित सरकारी एकीकृत तथ्याङ्क केन्द्रमा र विभागको सर्भरमा प्राप्त हुने जानकारी उनले दिए । 

प्रभावित क्षेत्रमा दिगो पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न अत्यावश्यक तथ्याङ्कका आधार तयार गर्ने उद्देश्यले दोलखा जिल्लाबाट भूकम्पप्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रम सुरु भइसकेको छ । 

अति प्रभावित उल्लिखित जिल्लामा सबै आवासीय घरको इन्जिनियरबाट विस्तृत जाँच गर्ने र ती घरमा बस्ने परिवारको आर्थिक, सामाजिक र जनसाङ्ख्यिक विवरण लिइने उपमहानिर्देशक डा सुवालले बताए । 

डा सुवालका अनुसार लगत सङ्कलनमा अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको सम्झौता बमोजिम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको सहकार्यमा समन्वय भइरहेको छ । 

अन्तर्राष्ट्रिय दातृ निकायका तर्फबाट विश्व बैंकले संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवामार्पmत जनशक्ति र अन्य आवश्यक सामग्रीको व्यवस्था मिलाएको र राष्ट्रिय गैरसरकारी संस्था स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च र काठमाडौँ लिभिङ ल्याब पनि संलग्न छन् । 

उक्त भूकम्पबाट पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलका ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र गोरखा गरी १४ जिल्ला बढी प्रभावित भएका छन् । यस भूकम्पले अन्य जिल्लामा समेत जनधन र महत्वपूर्ण भौतिक संरचनामा ठूलो नोक्सानी पु¥याएको थियो । 

]]>