देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घरभित्रै निस्सासिएर सातको मृत्यु

देशान्तर

ललितपुर । ललितपुर, एकान्तकुनास्थित राम राउतको घरबाट शुक्रबार दिउँसो साढे तीन बजे बाढीजस्तो गरी पानी निस्कियो। राउत के भयो भनी आत्तिँदै हेर्न जाँदा पानी त माथिल्लो तलाको बाथरुमबाट निस्किएको रहेछ जहाँ दक्षिण कोरियाली दुई नागरिक डेरा गरी बस्दै आएका थिए।

ढोका खुलै थियो। राउतले ढकढक गरे, कोही निस्किएन। बाथरुममा हेर्दा एक जना महिला बेहोस अवस्थामा भेटिइन्। राउतले तत्काल सोही घरमा बस्ने अर्की महिलालाई फोन गरेर बोलाए। बेहोस अवस्थामा भेटिएकी महिलाको अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो।

प्रहरीका अनुसार २७ वर्षे दक्षिण कोरियाली महिला किम सोलीको बाथरुममा निस्सासिएर मृत्यु भएको थियो। बिहान १० बजे नुहाउन बाथरुम छिरेकी सोलीले भित्र रहेका सबै झ्यालढोका र भेन्टिलेसन थुनेर गिजर खोल्दा उत्पन्न ग्यासले निस्सासिएर प्राण गएको अनुसन्धानमा खुल्यो।

प्रहरी त्यहाँ पुग्दा बाथरुमको धारा र गिजर खुलै थियो। भेन्टिलेसन र झ्यालढोका भने बन्द थिए। पोस्टमार्टम रिपोर्टमा सोलीको मृत्यु अक्सिजन कमीले श्वासप्रश्वास रोकिएर भएको देखियो।

ललितपुरकै ठेचोमा पुस २२ गते यस्तै घटना भयो। चुलोमा कोइला बालेर खाना बनाउने क्रममा दार्चुलाका २२ वर्षे दीपक टमाटा, १९ वर्षे ससिता लामा र २६ वर्षे दीपक टमाटा बेहोस भए। स्थानीयले तत्काल प्रहरीलाई खबर गरी पाटन अस्पताल पुर्यासएका तीन जनामध्ये २२ वर्षे दीपकको मृत्यु भयो। प्रहरी मुचुल्कामा साँघुरो र हावा वारपार नहुने स्थानमा धुवाँले निस्सासिएर एक जनाको ज्यान गएको उल्लेख छ।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार जिल्लामा कात्तिकदेखि हालसम्म सात जनाको निस्सासिएरै मृत्यु भइसकेको छ। निस्सासिएरै अचेत अवस्थामा अस्पताल पुर्यााइएका पाँच जना उपचारपछि सामान्य भएर फर्केका छन्।

चिसो बढेसँगै झ्यालढोका थुनेर मकल, ग्यास हिटर र कोइला बालेर सुत्नेदेखि हावा वारपार हुने सबै स्थान थुनेर गिजर खोलेर नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो।

परिसरप्रमुख एसएसपी पीताम्बर अधिकारी साँघुरो र खोचजस्तो स्थानमा बनाइएका बाथरुम र भेन्टिलेसनसमेत नभएका साँघुरा कोठामा पर्याप्त अक्सिजन नपुग्दा मृत्यु भएका घटना प्रहरीमा आइरहेको बताउँछन्। उनका अनुसार बाथरुममा ग्यास र विद्युतीय गिजर खतराका सूचक हुन्। कोठामा कोइला, दाउरा र ग्यास बालेर सुत्नु झन् खतरनाक देखिएको आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ।

प्रहरीका अनुसार ललितपुरकै हरिसिद्धिमा डेरा गरी बस्ने काभ्रेका राम भुजेल, श्रीमती अप्सरा भुजेल र पाँच महिनाका छोरा सबिन भुजेल पुस ९ गते निस्सासिएर पाटन अस्पताल ल्याइएका थिए। सुत्केरी श्रीमतीका लागि मकलमा कोइला बालेर सुतेका भुजेल परिवार समयमै आफन्त नपुगेको भए ठूलै दुर्घटनाको सिकार हुने थिए।

पाटन अस्पताल फरेन्सिक विभागका चिकित्सक डा। कृष्ण गौतम निस्सासिएर वा अक्सिजन कमीले मृत्यु भएका घटनामा मृतकको कानका लोती, जिब्रो, ओठ र नङसमेत निलो हुने भएकाले मृत्युको कारण सहज पत्ता लाग्ने बताउँछन्। उनका अनुसार सुरुआतमा शरीरमा अक्सिजन मात्रा नपुगेर बेहोस हुने र समयमा अस्पताल नपुर्याकउँदा मृत्यु भएका घटना अस्पतालमा आउने गरेका छन।

ुसहजै चिनिन्छ, शरीरका विभिन्न भाग कार्बन मोनोअक्साइडले निलो भएको हुन्छ, रातमा प्रशस्त हावा वारपार हुने गरी सुत्नुपर्छ,ु गौतमले नागरिकसँग भने।

प्रहरी रेकर्डअनुसार कात्तिक २१ गते ५२ वर्षका विनोदकुमार वैद्य, कात्तिक ७ गते १९ वर्षका कपिल कार्की, मंसिर १८ गते ५८ वर्षका कान्छा महर्जन र पुस ३ गते १८ वर्षकी झुपा पालको पनि निस्सासिएरै मृत्यु भएको थियो।

परिसरका डिएसपी दयानिधि ज्ञवाली घटनास्थलको मुचुल्कामा मृत्युको प्रकृति र कारण सबै घटनामा एकसमान भेटिएको बताउँछन्। उनका अनुसार हालसम्मको रेकर्डअनुसार दुई जना उमेरले ५० नाघेका बाहेक अन्य सबै युवा अवस्थाकै व्यक्तिको निस्सासिएर ज्यान गएको हो।

ुउमेर बढी वा अन्य रोगदेखि मृत्युको अन्य कारण प्रहरीले खोज्ने गरेको छ, हामीले त हत्या त होइन भन्ने आशंकामा समेत अनुसन्धान गर्ने गरेका छां, ज्ञवालीले भने।

चिकित्सकका अनुसार चिसोबाट बच्न सबैभन्दा उत्तम उपाय न्यानो कपडा नै हो। यसबाहेक आवश्यक र अनिवार्य भएमा अन्य उपकरण प्रयोग गर्दा विशेष ध्यान पुर्या्उन जरुरी छ। चिकित्सक राकेशकुमार झा शरीरलाई दिनमा जस्तै रातमा पनि प्रशस्त अक्सिजन आवश्यक पर्ने बताउँछन्। 'रातको समयमा अक्सिजन कम उत्सर्जन हुने र त्यसमा पनि कार्बन डाइअक्साइड, मोनोअक्साइड र मिथेनजस्ता ग्यास उत्पादन गर्ने वस्तुको प्रयोग गर्दा नियमित श्वासप्रश्वास बन्द भई ज्यान जानेसम्मका घटना हुने गरेका छन्,' उनले भने।

न्यानोका लागि प्रशस्त कपडा ओढ्ने, सुत्दा नाक र मुख नछोप्ने तथा सुतेको स्थानमा हावा वारपार हुने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ। 'दुर्घटनाबाट बच्ने उपाय सावधानी नै यही हो,' झाले भने।

ललितपुर प्रहरीले तीन महिनामा सातको मृत्यु र पाँच गम्भीर अस्वस्थ भएपछि सर्वसाधारणका लागि न्यानोका लागि चिसोमा प्रयोग गरिने उपकरण र स्थानबारे जानकारी राख्न सार्वजनिक अपिल नै गरेको छ। एसएसपी अधिकारीले गिजर र अन्य उपकरण सम्भव भएसम्म बाथरुमबाहिर राख्न तथा कोइला, मकल र ग्यास हिटर प्रयोग गर्दा होसियार रहन सबैलाई आग्रह गरेका छन्। 'घटना हुन नदिन सावधानी नै उत्तम उपाय भएकाले परिसरले औपचारिक रुपमै अनुरोध गरेको हो, यसबाट घटनाको संख्या घट्ने आशा गरेका छां', उनले भने।

]]>