देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप क्रिकेट : नेपालले न्युजिल्यान्डको सामना गर्दै

देशान्तर

काठमाडौं । बंगलादेशमा हिजोदेखि सुरु भएको यू–१९ आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज न्युजिल्याण्डको सामना गरिरहेको छ ।  

बङ्गलादेशको खान साहेब ओसमान अली रङ्गशालामा भइरहेको खेलमा टस हारेर व्याटिङ गरिरहेको नेपाली टिमले २७ ओभरको समाप्तीमा तीन विकेट गुमाउँदै ११२ रन जोडेको छ । नेपालको तर्फबाट हाल राजु रिजाल र अरिफ सेखले व्याटिङ गरिरहेका छन् ।  

यसअघि, सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । त्यसैगरी नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्डसँग र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट  प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् ।

विश्वकपमा सहभागी हुन नेपाली टोली यही माघ ६ गते नै बङ्गलादेश प्रस्थान गरेको थियो । उक्त प्रतियोगिताको तयारीमा रहेको नेपालले यही माघ ९ र ११ गते श्रीलङ्का र पाकिस्तानसँग अभ्यास खेल खेलको थियो ।

नेपाली टोलीमा राजु रिजालले कप्तानको भूमिका निर्वाह गरेका छन् भने अरिफ शेख उपकप्तान छन् । त्यसैगरी, दिपेन्द्र ऐरी, सुशील कँडेल, सुनिल धमला, सन्दिप सुनार, सौरभ खनाल, प्रेम तामाङ, दिपेश श्रेष्ठ, राजवीर सिंह, इशान पाण्डे, योगेन्द्र कार्की, सन्दिप लामिछाने, हिमांशु दत्त, र शङ्कर राना छन् ।

वैकल्पिक खेलाडीमा भने इर्साद अहमद, नन्दन यादव, ललितनारायण राजवंशी र कुशल भुर्तेल छन् ।

नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा परेको छ । समूह ‘डी’मा भारत, आयरल्याण्ड र न्युजिल्यान्ड छन् ।

त्यस्तै समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, स्कटल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘बी’मा अफगानिस्तान, क्यानडा, पाकिस्तान र श्रीलङ्का छन् । समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, फिजी, वेष्ट इन्डिज र जिम्बावे छन् ।

प्रत्येक दुई÷दुई वर्षमा हुने विश्वकपमा नेपालको यो सातौं सहभागिता हो । नेपालले यसअघि सन् २०००, २००२, २००४, २००६, २००८ र २०१२ को विश्वकपमा सहभागिता जनाइसकेको छ ।

त्यस्तै, सन् २०१० र २०१४ को विश्वकपमा भने नेपाली युवा टोली छनोट हुन सकेका थिएन । नेपालसँग पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावे र बङ्गलादेशलाई पराजित गरेको इतिहास छ ।  

 

]]>