देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसको अधिवेशन आजदेखि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने हुँदैछ । मुलुकभर आज पार्टीको सबैभन्दा तल्लो इकाइ गाउँ/नगर समितिको निर्वाचन हुँदैछ।

पार्टीको ४ लाख ७० हजार क्रियाशील सदस्य प्रत्यक्ष सहभागी हुने निर्वाचनले आगामी चार वर्षका लागि गाउँ/नगर समितिको नेतृत्व चयन गर्नेछ भने क्षेत्रीय तहको नेतृत्व चयनका लागि प्रतिनिधिसमेत छनोट गर्नेछ। ‘सबै गाविस/नगर समितिका लागि शुक्रबार एकैसाथ निर्वाचन हुन्छ’, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘तराई/मधेसमा आन्दोलन र हिमपातले निर्वाचन रोक्नुपर्ने अवस्था छैन।’

जिल्ला निर्वाचन अधिकृतसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै घिमिरेले कुनै स्थानमा अधिवेशन रोक्नुपर्ने अवस्था आए निर्वाचन समितिले अवस्था हेरी निर्णय लिने बताए।

पार्टी विधानको व्यवस्थाअनुसार गाउँ अधिवेशनले सभापति, सचिव, कोषाध्यक्ष र आठ जना गाउँ कार्यसमिति सदस्य चयन गर्नेछ। त्यस्तै, कम्तीमा दुई महिला, दलित, आदिवासी जनजाति एकएक, मधेसी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गसहित नौ क्षेत्रीय प्रतिनिधि छनोट गर्नेछन् भने ५० भन्दा बढी महिला क्रियाशील सदस्य भए थप एक र सयभन्दा बढी भए अझ एक जना प्रतिनिधि सहभागी हुनेछन्।

त्यसका लागि कांग्रेसका सबै तहका नेता तथा कार्यकर्ता आआफ्नो गाउँ÷नगर पुगिसकेको आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ ।

३ हजार १ सय ५७ गाविस, २ सय १७ नगर वडाबाट झन्डै साढे एक लाख क्षेत्रीय प्रतिनिधि तथा स्थानीय नेतृत्व चयन हुनेछ। गाउँ र नगर वडाबाट चयन हुने क्षेत्रीय प्रतिनिधिले माघ २२ गते हुने क्षेत्रीय अधिवेशनले केन्द्रीय प्रतिनिधि छनोट गर्नेछ। क्षेत्रीय अधिवेशन सभापति, सचिव, कोषाध्यक्षका साथै नौ जना सदस्य चयन गर्नेछ भने केन्द्रीय नेतृत्व चयनका लागि ११ सदस्यीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ।

क्षेत्रीय सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्थाअनुसार कम्तीमा दुई महिला, एकएक दलित जनजाति, एक अल्पसंख्यक, मधेसी, मुस्लिम, पिछडा वर्गसहित एघार जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। तिनै महाधिवेशन प्रतिनिधिले आगामी चार वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्नेछ।

महाधिवेशन प्रतिनिधिमध्येबाट कांग्रेसले हरेक क्षेत्रमा सात सदस्यीय महासमिति सदस्य छनोट गर्नेछ। माघ २५ गते जिल्ला कार्यसमितिको निर्वाचन हुनेछ भने फागुन २० देखि २३ सम्म काठमाडौंमा १३ औं महाधिवेशन हुँदैछ। कांग्रेसमा हाल ४ लाख ७० हजार ६ सय ५५ क्रियाशील सदस्य छन्।

यसैबीच आजको कान्तिपुर दैनिकले पार्टीको केन्द्रीय नेतृत्व छनोटमा समेत प्रभाव पार्ने भएकाले संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच गाउँ तहदेखि नै प्रतिस्पर्धा सुरु भएको समाचार प्रकाशित गरेको छ ।

समाचारमा उल्लेख छ– संस्थापन पक्षभित्र सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल दुवै प्रतिस्पर्धाको तयारीमा छन् । कोइरालाले सार्वजनिक नगरेपनि उम्मेदवारी दिने भित्री तयारी गरीरहेका छन् । उपसभापति पौडेलले एक महिनाअघिदेखि नै आफ्नो उम्मेदवारी सार्वजनिक गरी प्रचारमा जुटीसकेका छन । नेतृत्वका लागि कोइराला र पौडेल दुवैको प्रतिस्पर्धाले संस्थापन पक्षीय सदस्यहरु स्थानीय तहको अधिवेशनमा अलमलमा परेका छन् । स्थानीय तहमा कोइराला र पौडेल आ–आफ्नो पक्षीय प्रतिनिधि ल्याउनेमा भिडेका छन । आफ्ना पक्षीय प्रतिनिधि बढी ल्याउन सकेमा कोइरालालाई उम्मेदवारी दिनबाट रोक्न दबाव दिन सकिने योजनामा पौडेल छन् । कोइराला पनि पौडेललाई स्थानीय तहबाट कमजोर बनाउने रणनीतिमा लागेको देखिन्छन् । जसका कारण पौडेललाई ‘ब्याक’ गराउन सकिने उनको रणनीति छ ।  

संस्थापन पक्षभित्र चर्केको नेतृत्वको होडबाजीको फाइदा भने देउवा पक्षले लिने सम्भावना छ । देउवा पक्षीय सदस्यहरु पार्टीको भावी नेतृत्वलाई केन्द्रमा राखेर स्थानीय तहदेखि नै आ–आफ्ना समूहका प्रतिनिधि छनोट गर्न देशभर एकजुटका साथ लागेका छन । स्थानीय अधिवेशनमा प्रभाव पार्नका लागि केन्द्रीय तहका नेताहरु समेत गृह जिल्ला पुगेका छन् ।

विदेशस्थित जनसम्पर्क समितिले पनि महाधिवेशन प्रतिनिधि छनोट प्रकृया सुरु गरिसकेका छन् ।

तराई मधेसमा अवरोधको प्रयास

आन्दोलनरत मधेसी मोर्चाको प्रभाव क्षेत्र रहेका तराईका ८ जिल्लाका केही स्थानमा कांग्रेसको अधिवेशनलाई अवरोध गर्ने प्रयास मोर्चाका कार्यकर्ताहरुले गरिरहेका छन । कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा अधिवेशनलाई अवरोध नगर्न मोर्चाका नेतृत्वसँग राजधानीमा पटक–पटक छलफल भइरहेको छ ।

मोर्चाका नेताहरुको अवरोधका कारण त्यस क्षेत्रका केन्द्रीय सदस्य सांसदहरु समेत आफ्नो निर्वाचन क्षेत्रमा समयमा जान सकेका छैनन् । केही केन्द्रीय सदस्य र सांसदहरु विहिबार गएका छन् । अधिकांश अझै पर्ख र हेरको नीतिमा राजधानीमा छन् । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसकै उम्मेदवारबाट मोर्चाका अधिकांश नेताहरु पराजित भएका कारण कांग्रेस अधिवेशनलाई अवरोध गर्ने प्रयास भइरहेको  एक नेताले बताए । कांग्रेस नेता निधिले महाधिवेशन गर्न पाउनु सम्वैधानिक अधिकार भएकाले मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई अवरोध नगर्न अनुरोध गरेका छन् ।  

कांग्रेसकै अगुवाईमा मधेस आन्दोलनमा उठेका मागलाई सम्वोधन गर्ने काम भएको र बाँकी रहेका मुद्दालाई सम्वोधन गर्न समेत कांग्रेसले अग्रसरता लिने भन्दै अधिवेशनको प्रकृयालाई सदभावपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गरिदिन नेतृत्व तहसंग समेत आग्रह गर्दै आएका छन् । ‘सवै ठाउँमा एकैचोटी अधिवेशन हुन्छ । मधेसमा पनि अधिवेशन सुरु हुन्छ । कसैको अवरोध हुँदैन भन्ने हाम्रो विश्वास छ’ निधिले भने,‘मधेसका  सवै सांसद र केन्द्रीय सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा जाने क्रम सुरु भईसकेको छ ।’

]]>