देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

'नेतृत्वपंक्ति हामीप्रति एकदमै अनुदार छ'

देशान्तर

गगन थापा, युवा नेता, नेपाली कांग्रेस

१३ औं महाधिवेशनको मिति नजिकै आइसकेको छ । तपाईंलाई महाधिवेशन कत्तिको लागेको छ ?

हो महाधिवेशनको तिथिमिति नजिकिँदै गएको छ । यसको चटारो बढ्दै गएको छ, जसले गर्दा भ्याइँनभ्याइ छ । तैपनि निर्धारित समयमा हुने कि नहुने भन्ने प्रश्न यथावतै छ । किनभने अहिलेसम्म विधानको बारेमा टुंगो लागेको छैन । क्रियाशील सदस्य को भए भन्ने कुरा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । थुप्रै प्राविधिक कामहरू सम्पन्न गर्नुपर्नेछ । महाधिवेशनको मुख्य काम नीति तथा कार्यक्रम टुंगो लगाउनु हो । यस पक्षमा धेरै कम छलफल भइरहेको छ । यी कारणले गर्दा महाधिवेशन समयमा हुने हो कि हैन भन्ने प्रश्न कायमै छ । स्वाभाविक रूपमा हामी पनि पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला जाने, साथीहरू भेट्ने, त्यहाँको वातावरण के छ, अपेक्षाहरू के छन्, कसरी सोचिराख्नुभएको छ बुझ्ने प्रयासमा छौं ।

१३ औं महाधिवेशनको नीति तथा कार्यक्रम प्रस्ताव समितिमा तपार्इं पनि हुनुहुन्छ । तपार्इंहरूले पनि पार्टीलाई नीति केन्द्रित बनाउन नसक्नु भएको हो नि, हैन ?

यसलाई जसरी लिए पनि भयो । म त पार्टीको घोषणापत्र लेख्ने समितिमा पनि थिएँ । त्यो पनि नरहरि आचार्यको अनुरोधमा पार्टी सभापतिले पछाडि मेरो नाम थपी दिनुभएको हो । त्यो समितिमा भएका प्राय: मुख्य नेताहरू सबै संसदीय समितिमा पर्नुभयो । उहाँहरू त्यहाँ व्यस्त हुनुभयो । त्यहीबेला परिस्थितिले नेपाली कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी मैले निभाएँ । आजको दिनमा घोषणापत्रमा लेखेको मुख्य काम गर्न पाएकोमा मलाई गौरवको अनुभूति भएको छ । अर्थात् जिम्मेवारी पाउँदा उत्साहित भएर त्यसलाई पूरा गरेका छौं । अहिले नीति तथा कार्यक्रमको सन्दर्भमा पनि त्यही अवस्था रह्यो । समिति बन्यो । गएको बैठकमा नै के प्रस्ताव राखेको सम्झन्छु भने, हाम्रो सनातनी पाराको नीतिलाई अलिकति फेरौं अब । नीति तथा कार्यक्रम भनेर एउटा प्रस्ताव बनाउँदा नीति के ? कार्यक्रम के ? हामीले वास्तवमा यो महाधिवेशनबाट पारित गर्न खोजेको के हो त ? जुन दस्तावेज पारित हुन्छ त्यसले गर्नुपर्ने के हो ? त्यसले चार वर्षको सांगठनिक कार्यक्रम बनाएको हो कि राजनीतिक कार्यक्रम बनाएको हो ? मूलत: महाधिवेशनबाट पारित हुने दस्तावेजले नेपाली कांग्रेसको गौरवशाली परम्परा, सैद्धान्तिक आधारहरूलाई स्मरण गर्दै, आजको दिनमा हामी कहाँनेर उभिएका छौं भन्ने यथार्थप्रति सचेत रहँदै अबको चार वर्षका निम्ति नेपाली कांग्रेस हिँड्ने मार्ग यो है भनेर मार्गदर्शन गर्नुपर्छ । कार्यक्रमहरू बनाउने भनेको त भोलिको केन्द्रीय समितिले हो, जसले नीतिअनुसार कार्यक्रम बनाउँछ । त्यसैले मुख्यतया यो कार्यक्रम होइन नेपाली कांग्रेसलाई गाइडलाइन गर्ने नीतिमात्र हो । त्यसको बारेमा पहिले पार्टीमा छलफल गरेर जानुपर्छ भनेको हँु । पहिले जस्तो सीधै राजनीतिक दस्तावेज लेख भन्ने पाराले हँुदैन । यसबारेमा बैठकमा छलफल भयो तर त्यसयता बैठक बसेको छैन । मैले जे कुरा भने, यसलाई सामूहिक रूपमा सक्रिय भएर गर्नुपर्छ । यस सन्दर्भमा त हामी कमजोर भएकै हौं । तर हामीले गएको चार वर्षमा पार्टीले विशेष समयमा दिएको जिम्मेवारी निभाएका छौं । हामी जुनियर सदस्यहरूको कारणले पार्टीलाई कहिल्यै पनि क्षति हुन दिएका छैनौं । तर विषयहरूको बारेमा प्रष्ट हुँदाहुँदै पनि ठीक हामीले चाहेजस्तो किन गर्न सकिरहेका छैनौं भने, स्थापित नेतृत्वपंक्ति जुन छ त्यो हाम्रो सन्दर्भमा एकदमै अनुदार छ, जसले हाम्रो कुरा केही पनि सुन्दैन । उसले हामीलाई केही पनि आउँदैन भन्ने ठान्छ । बेकारमा पार्टीभित्रका खराब केटाहरूलाई अनावश्यक रूपमा उचालेका छन् भन्ने अहिले पनि नेतृत्वको बुझाइ छ । उनीहरूको यत्रो समस्या छ हामीसँग । सामूहिक रूपमा काम गरेर त्यो प्रवृत्तिलाई परास्त गर्न नसक्नु हाम्रो कमजोरी हो ।

तपाईंले नेतृत्वको कुरा गर्नुभयो । तर पार्टीलाई कहाँ लैजाने भन्ने नीतिको कुरा कहिल्यै आउँदै आएन । महाधिवेशनलाई नीति र नेतृत्वसँग जोडेको भए हुनेथियो होला नि ?

१३ औंदेखि १४ औं महाधिवेशनसम्मको चारवर्षे अवधिमा जाँदै गर्दा यो बीचको १२ औंदेखि १३ औं महाधिवेशनसम्म आइपुग्दाको कामको समीक्षा कसरी गर्‍यो पार्टीले ? समीक्षा गर्दै पार्टीको आगामी नीति तर्जुमा गर्ने । त्यसलाई महाधिवेशनले पारित गर्ने र त्यसैले अर्को चार वर्ष हामीलाई निर्देशित गर्छ । हामीले अर्को के सुरुवात गर्नुपर्छ भने, जो नेतृत्वमा निर्वाचित भएर आउँछ उसले त्यो नीतिको आधारमा आफ्नो चारवर्षे कार्ययोजना सार्वजनिक गर्नुपर्छ । जुन व्यक्ति नेतृत्वमा उठ्छ उसले भन्नुपर्‍यो, ‘म सभापति भएँ भने अबको चार वर्षभित्र पार्टीलाई यसरी चलाउछु, मेरो कार्यक्रमहरू यो हो, संगठनलाई यसरी लिएर जान्छु, मेरो नेतृत्वमा पार्टीमा आउने चुनौतीहरूलाई यसरी सम्बोधन गर्छु र त्यसको आधारमा म पार्टीलाई निर्वाचनमा जिताउछु, निर्वाचन जितेपछि मसँग यो भिजन छ, यसको आधारमा नेपाललाई अगाडि बढाउछु, आर्थिक सामाजिक मुद्दाहरूलाई हेर्ने दृष्टिकोण यस्तो छ, यसरी लिएर जान्छु’ । तर यस्ता कुराहरू एक पेज पनि नभरेर नेतृत्वमा पुग्ने सुविधा हामीले दिएका छौं । महाधिवेशनको दस्तावेज आउटसोर्सिङ गरेको जस्तो विज्ञहरूले बनाउनुहुन्छ । त्यो कहाँ छ अहिले हामी कसैलाई पनि थाहा छैन । कतिबेला स्वाट्ट आउँछ । अनि आधा घन्टाको छलफलपछि केन्द्रीय समितिबाट पास भएर जान्छ । अनि ढिलोगरी छापिएर महाधिवेशनमा आउँछ । त्यसैगरी ढिलागरी, खासै छलफल नै नगरी पास हुन्छ । पार्टीको मुख्य नेतृत्व गर्छु भन्ने नेताले कार्यकर्ताहरूको माझमा लिखित रूपमा यो मेरो दावा हो, मेरो दृष्टिकोण हो, कार्यक्रम यो हो, यसरी गर्छु भन्ने कुरा महाधिवेशनमा लैजानुपर्‍यो नि । कम्तीमा पनि पार्टीको सभापति हुने नेताले अरू धेरै कुरा नगरे पनि अबको चार वर्ष पार्टी यसरी चलाउँछु भन्ने कुरा त एकपटक सोच्नैपर्छ । किनकि मैले भोट माग्दै गर्दा मेरो कार्यक्रम पनि हेर्न खोज्छन् भन्ने मात्र पनि बनाउन सकियो भने पनि भोलि गएर ऊमाथि प्रश्न उठाउने ठाउँ रहन्छ । तिमीले यस्तो भनेका थियौं, यसरी पार्टी चलाउँछु भनेका थियौं, तिम्रो प्रतिबद्धता यस्तो थियो तर त्यो अनुरूप तिमीले काम गरेनौं भन्न त पाइयो ।

पार्टीको मूल नेतृत्वमा दाबी गर्नेले कम्तीमा लिखित कार्यक्रम नल्याई हामी भोट हाल्दैनौं भनेर दबाब दिने समय छैन र ?

समय छ र त्यस्तो दबाब दिनुपर्छ । जो नेतृत्वमा आए पनि पार्टीको मूल नीति त त्यही रहन्छ । त्यसैले अहिलेसम्म नेता नेताको बीचमा खाली भोटमात्र माग्ने, प्यानल तथा गुट मिलायो सकियो भन्ने परम्परा स्थापित भएको छ । हामीले नेताहरूलाई यही सुविधा दिँदै आयौं । त्यस्तो सुविधा दिने कुरालाई मात्र रोक्न पायौं भने पार्टीमा केही तरंगको अवस्था आउँछ । त्यसो गर्न पर्याप्त समय छ । पार्टीको महाधिवेशन प्रतिनिधि भएर जो आउँछ उनीहरूको बीचमा सभापतिको प्रत्याशी भएर उभिँदै गर्दा तपार्इंलाई मत दिए के गर्नुहुन्छ भन्ने प्रश्नको उत्तर लिखित दस्तावेजमा हामीले हेर्न पाउनुपर्‍यो । यत्रो ठूलो चुनौती छ । हामी अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी छौं । भर्खर संविधान बनेको छ । तराई मधेसमा आन्दोलन छ । यो आन्दोलनलाई सम्बोधन गरेर हामीले नयाँ संविधानअनुसार सयौं नियमकानुन बनाउनु पर्नेछ, तीनवटा निर्वाचन गराउनुपर्नेछ । यति धेरै चुनौती छन् । अहिले त हामी एकात्मक नेपालको पार्टीगत संरचनाभित्र महाधिवेशन गर्दैछांै । अब त हामीले विस्तारै पार्टीको ढाँचा परिवर्तन गर्दै शक्तिको विकेन्द्रीकरण पनि गर्नुपर्नेछ । यो अधिवेशनमा हामी दुई सय ४० क्षेत्रको चुनाव गरेका थियौं । तर अब चुनाव हँुदाहुँदै एक सय ६८ क्षेत्र भइसकेका छन् । हाम्रो पार्टीको सबैभन्दा शक्तिशाली संगठन जिल्लाको छ तर संविधानले जिल्लालाई केवल समन्वयकारी मात्र बनाएको छ । यो सब बीचमा कसरी गर्छांै ? त्यो फस्टम्यान हुने मान्छेले सोचिरहेको छ ? के सोचिरहेको छ ? कांग्रेस सबैभन्दा ठूलो पार्टी त हो तर पनि ४८ वर्षमा हामीले पाएको मत झन्झन् घटेर गएको छ । प्रतिस्पर्धाको राजनीतिमा पनि बिस्तारैबिस्तारै कम्युनिस्टहरूको हैसियत बढ्दै गइरहेको देखिन्छ । घोर दक्षिणपन्थीहरू संसदीय राजनीतिमा आएर सफलता पाइरहेको अवस्था छ । सबैभन्दा ठूलो चुनौती नेपाली कांग्रेस पार्टीको संरचनामा छ । नेतृत्वको उमेर र मतदाताको उमेरमा तालमेल देखिँदैन । मतदाता तलदेखि हेर्‍यो भने १८ देखि ४० वर्ष उमेरसमूहको अनुपात ६२ प्रतिशत छ । तर नेतृत्व पंक्तिमा त्यो उमेर समूहको उपस्थिति कम छ । यति धेरै प्रश्नहरू हाम्रो अगाडि छन् । नेतृत्व गर्छु भन्ने मान्छे हाम्रो अगाडि आउँदा आउटसोर्सिङ गरेको दस्तावेजमात्र हेरेर पर्याप्त हँुदैन । हामीले भनेको यो कुराले अहिले नै काम गर्छ भनेको होइन । भलै अहिले व्यक्ति मन परेको कारणले भोट हालिएला । तर यो विस्तारै संस्थागत हँुदै जान्छ नि । यही कुरा जिल्ला, क्षेत्रमा जान्छ । त्यसैले अब कुनै पनि संरचना तथा इकाइको नेतृत्व गर्ने मान्छेसँग त्यसको बारेमा स्पष्ट कार्ययोजना हुनुपर्छ । किनभने यो त एउटा व्यवस्थापकीय पोस्ट पनि त हो । जस्तै पार्टीको कोषाध्यक्ष हुन्छु भन्ने मान्छेले अबको चार वर्ष सिंगो पार्टीको स्रोतको सन्दर्भमा अहिलेको कठिन परिस्थितिमा म यसरी बदल्छु भनेर एकपटक पनि सोच्नु नपर्ने ? महामन्त्री भनेको सचिवालयको प्रमुख हो । आजको दिनमा कांग्रेसको ९० प्रतिशत समस्या सचिवालयबाट सिर्जित छ । यसको बारेमा महामन्त्रीमा उम्मेदवारी दिनेले नसोच्ने ? हामी अहिले आएर क्रियाशीलको बारेमा कुरा गर्छौं तर हाम्रो विधानले क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण हुनुपर्छ भन्छ, तर भएन । किन भएन ? किनभने सचिवालय राम्रोसँग चलेन । त्यस्तो मान्छेले म यसरी चलाउँछु भनेर एकपटक पनि भन्नु नपर्ने ? हामी खाली गुटको बीचमा चुनाव भयो, महाधिवेशनले खाली नेतामात्रै छान्यो भनेर चिन्ता गर्छौं तर त्यसलाई ब्रेक गर्ने यथोचित कोसिस गर्दैनांै । यहाँनेर समस्या छ ।

१२ औं महाधिवेशनबाट गुट अन्त्य हुने आशा जागेको थियो । किनभने तपाईंहरूको पुस्ताका नेताहरूले पनि यो विषय महाधिवेशनमा उठाउनुभएको थियो । तर पछि तपाईंहरू आफैं विभाजित भएर जानुभयो, किन ?

केही सीमित नेताहरूको काम गर्ने या सहयोग गर्ने वा केही नेताहरूसँग मात्र जोडिएको सीमित समस्या होइन यो । हाम्रो पार्टी कसरी बनिरहेको छ भन्ने कुरासँग पनि यो निर्भर छ । गुटको कुरा कसरी पनि हेर्नुपर्छ भने, आजको दिनमा एमाले, माओवादी पनि हेरौं सबै नेपालका राजनीतिक दलहरू गुटहरूको समूहजस्तो देखिन्छ । पार्टी बन्न नसकेको अवस्था छ । जीवन्त पार्टीभित्र गुटहरू बन्ने कुरा स्वाभाविक हो । जहिले पनि बन्छ, बन्नु पनि पर्छ । तर हाम्रो देशमा कस्तो भयो भने गुटहरू स्थायी र मुख्य भए तर पार्टी सहायक भयो । गुट धर्मजस्तो भयो, त्यसलाई जोगाउनको लागि ज्यानसमेत दिन तयार तर पार्टी भनेको फगत औपचारिकतामात्र हो भन्ने ढंगबाट नेपालका करिबकरिब सबै राजनीतिक दलहरू ग्रस्त छन् । यसो हुनुको मुख्य कारण भनेको सदस्यता वितरण प्रणाली हो भन्ने मेरो विश्लेषण छ । त्यसमा सुधार नगर्ने हो भने यो समस्या सधैं रहन्छ । तर माथिबाट दुईचार जनाले प्रयास गरेर यो समस्या हल हुँदैन । गएको तीनचार वर्षमा मलगायत दुईचारजना साथीहरू कुनै पनि गुटको बैठकमा सामेल भएनौं । जस्तो, पार्टीले निर्णय गर्नुभन्दा पहिला दुईवटा गुटको बैठक हुन्थ्यो महाराजगन्जमा र बूढानीलकण्ठमा । तर म चारपाँच वर्षमा कुनै पनि गुटको बैठकमा गइनँ । पार्टीको मुद्दामा राखेको धारणाको आधारमा कहिले महाराजगन्जवालाहरूले मलाई आफू निकट पाए भने कहिले बूढानीलकण्ठवालाहरूले । तर म निरपेक्ष रूपमा कुनै पनि मुद्दामा पक्षविपक्ष भइनँ । मैले विवेकको आधारमा बोलेँ । यसबाट पनि देखिन्छ कि दुईचारजनाको माथिको प्रयासबाट यसको अन्त्य गर्न सम्भव छैन । सदस्यता वितरण प्रणाली किन अवरोध भयो भने, नेपाली कांग्रेस पार्टीलाई हामी मास बेस पार्टी भन्छौं तर यो पटक्कै पनि मास बेस पार्टी होइन । जसरी कम्युनिस्ट पार्टीहरू बनेको छ यो त्यसरी नै बनेको छ । विशुद्ध क्याडरबेस पार्टी हो, जहाँ एकदम सीमित मान्छेलाई मात्र सदस्यता दिइन्छ र उसलाई मताधिकार दिइन्छ । सदस्यता दिनुभन्दा पहिले गुटको सदस्यता प्राप्त गर्छ । कुनै पनि जिल्लाको एउटा व्यक्तिले सदस्यता प्राप्त गर्नुभन्दा पहिले नै उसले कुन गुटमा रहने भन्ने कुराको टुंगो लागिसकेको हुन्छ । त्यहाँदेखि गुट सुरु हुन्छ । अनि पार्टीको संरचना गुटको आधारमा बन्छन् । हाम्रा इकाइ नै गुटको आधारमा बनेका हुन्छन् । दुईटा व्यक्ति चुनाव लड्छ, गुटको आधारमा । महाधिवेशन प्रतिनिधि पनि गुटकै आधारमा बन्छ । जित्ने पनि कुनै न कुनै गुटको सदस्य हुन्छन् । जब सिंगो संरचना नै दुईवटा गुटको लडाइँबाट बन्छ भने माथि टुप्पोबाट दुईचार जनाको प्रयासले परिवर्तन हुन कसरी सक्छ ?

उसो भए यसलाई भत्काउन कसरी सकिएला ?

यो संक्रमणकाल अर्थात् संघीय संरचनामा जाने बेलामा मेरो विचारमा कांग्रेसले र्‍याडिकल डिसिजन लिनुपर्छ । यो नै हाम्रो पार्टीको दीर्घकालीन हितमा हुन्छ । नेपाली कांग्रेस पार्टीले पार्टीभित्रको हालको क्रियाशील सदस्यता वितरण प्रणालीलाई खारेज गर्नुपर्छ र रिजिडलाई लिवरललाइज गर्नुपर्छ । अर्थात् कांग्रेसको सदस्यता दसबाह्र लाख पुर्‍याउनुपर्छ न कि यो वडामा यतिभन्दा धेरै नहुने गरी सदस्यता नदिने जस्ता व्यवस्था । त्यसैले जसले चाहन्छ जति पनि, जहाँबाट पनि, अनलाइनबाट नेपाली कांग्रेसको सदस्यता प्राप्त गर्ने व्यवस्था हुनुपर्छ । तर त्यो कतिखेरबाट कार्यान्वयनमा आउँछ भने कुनै पनि व्यक्तिले सदस्यताको लागि आवेदन दिएपछि मात्रै । त्यसभित्र हामीले एउटा परिपाटी बसालेका हुन्छौं । त्यसअनुसार सम्बन्धित कांग्रेसको कार्यालयमा गएर उसले शपथ खानुपर्छ कि म आजदेखि कांग्रेस भए भनेर । किनभने त्यो पारदर्शी भयो, लुकेर सदस्यता लिनुपरेन, सदस्य भएको कुरा सार्वजनिक हुन्छ । तर कोही मान्छेहरू के भन्छन् भने त्यसरी खुल्ला गर्‍यो भने जो पायो त्यही आउँछ । तर कोही व्यक्ति कांग्रेसको सदस्य हुन्छु भनेर फारम भर्छ, कार्यालयमा आएर शपथ खान्छ, आफ्नो फोटोदेखि लिएर, प्रमाणहरू दिन्छ भने उसको मनमा त अर्कै छ भन्ने कुराले के राख्छ र ? त्यसैले यसलाई पारदर्शी बनाउने, सदस्यतालाई खुल्ला गर्ने र कांग्रेसको तल्लो कमिटीको निर्वाचन आम सदस्यताबाट गर्ने व्यवस्था गर्नुपर्छ । मानौं कुनै गाउँमा अधिवेशन हुने भयो भने त्यहाँ ६ जना सदस्य छन् भने त्यहाँ ६ सय जनाको बीचबाट चुनाव हुने भयो । भनेपछि तलबाट गुटहरू भत्कन्छन् । माथि गुटहरू हुन्छन् तर ती मुद्दाको आधारमा बन्छन् ।

कांग्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवाद रहेको छ । बीपी कोइरालाले यी विषयमा गरेको व्याख्याको पुनव्र्याख्या गर्ने समय भएन ?

एकदम । हामीले पार्टीको वैधानिक उद्देश्य राष्ट्रियता, समाजवाद र लोकतन्त्र भन्छौं । हिजो हामी संवैधानिक राजतन्त्रबमोजिम यसलाई हासिल गर्ने भन्थ्यौं । अहिले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट आर्थिक, सामाजिक राजनीतिक परिवर्तन गर्दै न्यायपूर्ण र गतिशील समाज निर्माण गर्नु नेपाली कांग्रेसको उद्देश्य हो भन्छौं । भनेपछि माध्यम फेरियो, संवैधानिक राजतन्त्रबाट संघीय गणतन्त्र भयो । माध्यमहरू फेरियो तर मुख्य रूपमा लक्ष्य प्रष्ट छ कि समाजको न्यायपूर्ण विकास गर्ने समुन्नत समाज निर्माण गर्ने । सिद्धान्त के त ? के आधारमा त्यहाँ पुर्‍याउने ? त्यसको तीनवटा आयाम छन्, राष्ट्रियता छ, लोकतन्त्र र समाजवाद छ । जतिखेर हाम्रा संस्थापक नेताहरूले यो नै हाम्रो टुल हो भन्नुभयो । जस्तो उहाँहरूले राष्ट्रियतामात्र भन्यौं भने त्यसले हामीलाई कहीँ पुर्‍याउँदैन, यदि लोकतन्त्रमात्र भन्यौं भने त्यसले पनि हामीलाई कहाँ पुर्‍याउँदैन हामीले सँगसँगै समाजवादलाई पनि राख्नुपर्छ भन्नुभयो । यो कुरा उहाँहरूले एउटा विशिष्ट परिस्थितिमा भन्नुभयो । तर आजका दिनमा पनि हामीले राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रो सिद्धान्त हो भन्ने हो भने त्यसको व्याख्या हुनुपर्छ । कुनै पनि सिद्धान्तको सुविचारित तर्कप्रणाली हुनुपर्छ । त्यसको एउटा तर्कसंगत व्याख्या गर्ने सूत्र हुनुपर्छ । संविधान निर्माण भइसकेपछि १३ औं महाधिवेशन गरेर हेर्दै गर्दाखेरि हामीले त्यो राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त अनुरूप नेपाललाई गन्तव्यमा पुर्‍याउने जुन भनेका छौं त्यो सिद्धान्तको मूर्तरूप के हो ? आजको चेतनाको आधारमा भन्नुपर्‍यो नि त । हामीले भन्नुपर्‍यो कि नेपालको राष्ट्रियताको बाटो यो हो, लोकतन्त्रको यो हो र समाजवाद यस्तो हो भनेर । यो बाटोबाट हिँडेर यो माध्यमबाट हामी नेपाललाई समुन्नतिको शिखरमा पुर्‍याउँछांै भन्न सक्नुपर्छ । समुन्नतिको शिखर पनि प्रष्ट छ, माध्यम पनि प्रष्ट छ तर सबैभन्दा अस्पष्ट त के छ भने सिद्धान्त । जबकि यो कुरा एकदमै प्रष्ट हुन आवश्यक छ । यो प्रष्ट नहुँदा हामी अल्मलिँदा रहेछांै । जस्तो हामी अहिले अलमलमा देखियौं ।  तराई मधेस आन्दोलनभन्दा अगाडि नेपाली कांग्रेस हामी के हौं, हामी अरूभन्दा किन फरक छौं, हामी जे छांै त्यो किन छौं त्यसमा सैद्धान्तिक रूपमा प्रष्ट भएको भए मलाई लाग्छ यी कुराहरू उठ्दैनथिए । हामी संसद्मा सबैभन्दा ठूलो पार्टी भयौं तर प्रतिक्रियाले दिएको मत र स्थान अस्थायी हुने डर हुन्छ । नेपाली कांग्रेसले प्रतिक्रियाबाट प्राप्त भूमिका खोजेको होइन ।

के यो महाधिवेशनले पुनर्परिभाषा गर्छ जस्तो लाग्छ तपाईंंलाई ?

यो बिल्कुल राजनीतिक काम पनि हो । यतिबेला एउटा राम्रो के पनि भएको छ नीति तथा प्रशिक्षण प्रतिष्ठानले यसको आधार तयार गरेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानबाट विभिन्न ठाउँमा भएका कार्यक्रमबाट देशभरका कार्यकर्ताहरूले यसबारेमा के  सोच्नु हँुदोरहेछ भन्ने धारणा लिने, सबै जिल्ला, भ्रातृ संगठनहरूबाट जुन प्रकारले सल्लाह सुझाव लिने काम भइरहेको छ यो गतिमा पहिले हुँदैनथियो । त्यसलाई एक ठाउँमा राखेर विश्लेषण गर्ने, पार्टीको आधिकारिक धारणा यो हो है भन्ने, नयाँ ढंगले व्याख्या गर्नुपर्ने हाम्रो दायित्व हो । हाम्रो राजनीतिक दस्तावेज त्यसरी बन्ला कि नबल्ला भन्ने अझै पनि शंकाको विषय छ, समयको चापले गर्दा पनि । मेरो विचारमा नयाँ व्याख्यासँगै मैले अगाडि भनेजस्तै पार्टी सञ्चालन गर्न दाबी गर्ने नेताहरूलाई एक प्रकारको दबाब बन्यो भने उनीहरूले यो कुरा आफ्नो दस्तावेजमा राखेर त ल्याउँछन् नि ।

१२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट ल्याएर केन्द्रीय सदस्यमा विजयी हुनुभयो । त्यतिबेला तपाईंलाई पनि लागेको थियो होला कि म यो यो गर्छु भनेर । अब भन्नुहोस् यो अवधिमा तपाईंले गर्न चाहेर पनि गर्न नसकेका त्यस्ता कामहरू के के हुन् ?

बाहिर रहेर जसरी पार्टीले यो गरिदिए हुनेथियो त्यो गरिदिए हुनेथियो भनिन्थ्यो, सोचिन्थ्यो, पहिलोपटक भनिने ठाउँबाट आफैं गर्ने ठाउँमा पुगिएको थियो । आफैं गर्ने हो भन्ने स्थानमा पुगिएको थियो । पार्टीको सामान्य कार्यालय सञ्चालन गर्ने कुरादेखि लिएर पार्टीको बैठक सञ्चालन गर्नेसम्मका कुराहरूमा हामी पनि त ससाना ठाउँहरूबाट बैठक, कार्यालय सञ्चालन गरेर आएका थियौं, सिक्दै आएका थियौं । त्यसैले यसरी गर्नुपर्छ यसरी गर्दा राम्रो हुन्छ भन्ने सोचाइ थियो । तर मेरो त्यो आकांक्षा गलत रहेछ । कुरा के रहेछ भने, भित्र पनि भन्ने ठाउँमा मात्र पुगिएको रहेछ । फरक के मात्र रहेछ भने पहिले बाहिरबाट भनिन्थ्यो भने पछि भित्रबाटै भन्ने ठाउँ रहेछ । जिम्मेवारीको हिसाबले पनि यतिमात्रै गर्न सकिने रहेछ । पार्टीको केन्द्रीय सदस्यलाई विधानले दिएको एकमात्र जिम्मेवारी के रहेछ भने पार्टीको नीति तथा कार्यक्रमलाई तल्लो तहमा गएर व्याख्या गर्ने अथवा भाषण गर्ने । जुन मैले निर्वाधरूपमा प्रयोग गरँे । यसमा मैले कहीँ कतै तलमाथि गरिन भन्ने लाग्छ । पार्टीको मूल नेतृत्वमा मेरो कार्यसमितिमा नयाँ पुस्ता आएको छ जसले नयाँ कुराहरू ल्याएका छन्, जसलाई मैले सुन्नुपर्छ, मेरो निर्णयमा त्यसलाई प्रतिबिम्बित गर्नुपर्छ, उनीहरूलाई मैले स्थान दिनुपर्छ भन्ने दृष्टिकोणमात्र भइदिएको भए मात्र हामीले धेरै कुरा गर्न सक्थ्यौं ।

यो विषयमा पनि युवाहरूले नेतृत्वलाई कन्भिन्स गर्न सक्नुभएन, स्पेस लिन सक्नु भएन नि ?

त्यो पनि मान्छु । त्यो कमजोरी भयो । तर मेरो ठाउँबाट हेर्दा त हामीले त्यसका निम्ति अथक प्रयास गर्‍यौं भन्ने लाग्छ । कस्तो अवस्था रह्यो भने जबजब पार्टीलाई जनताको बीचमा सार्वजनिक गर्नुपर्छ, सानो गाउँको कार्यक्रमदेखि लिएर वनभोज कार्यक्रमसम्म नेपाली कांग्रेसको अनुहार बनेर को जानुपर्‍यो भने हामी नै । म त फलानोको छोरा बनेर गएको त होइन नि । नेपाली कांग्रेसको प्रतिनिधि भएर गएको हो । जनताले हामीमाथि विश्वास गरे यो अवधिमा र जनताले विश्वास गरेका छन् भनेर कांग्रेसका विभिन्न कमिटीहरूले पनि माने । र त उनीहरूले हामीलाई ठाउँ दिए । तर मुख्य नेतृत्वले भने पटक्कै मानिदिएन । मुख्य नेतृत्व भनेको जो निर्णय प्रक्रियामा हैसियत राख्दथ्यो । त्यसकारण हामी त्यहाँभित्र छिर्न सकेनौं । होला हामीले पनि सामूहिक रूपमा हस्तक्षेप गर्न सकेनौं, परम्परालाई भत्काउन सकेनौं । त्यो पनि एउटा पाटो होला । तर म त के मान्छु भने त्यो नेतृत्व वर्ग यति जड छ कि, म त पहिलो पुस्तामात्र भन्दिनँ जो हामीभन्दा अगाडिको पुस्ता छ, जसलाई गिरिजाप्रसादले मेरो उमेरसमूहको हुँदा ग्रुम गर्नुभयो, क्याबिनेट मन्त्री बनाउनुभयो, आफू नजिक राखेर काम गर्ने स्थान दिनुभयो त्यसरी ग्रुम गर्ने कोही भएन । कुनै एउटा व्यक्तिको कुरामात्र होइन नेतृत्व भनेको । यो त बन्दै जाने कुरा हो । आखिर उहाँहरूले जति प्रयास गरे पनि अबको पाँचसात वर्षपछि त पार्टीको सक्रिय नेतृत्वमा रहनसक्नु हुन्न । जसरी घरपरिवार चल्छ, अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सिकाउँदै जान्छ, पार्टी पनि त त्यस्तै हो नि ।

तपाईंको मतलब पहिलोभन्दा दोस्रो पुस्ताको नेतृत्व झन् अनुदार हो ?

हो, सुशील कोइराला, देउवा, रामचन्द्र पौडेलहरू पहिलो पुस्ताको हुनुभयो । त्योभन्दामुनि जो प्रभावशाली हुनुहुन्छ— १०, १५ जना । उहाँहरूले पनि हामीलाई बोलाउने, सिकाउने, स्पेस दिने कहिल्यै गर्नुभएन । जति लिएको हो त्यो हामीले पेलेर लिएको हो । तर त्यो कुराको सन्दर्भमा मलाई त सिकाउनेभन्दा पनि यो चार वर्षको अवधिमा एकदम चित्त दुखेको विषय के हो भने आत्मसम्मानजनक स्थान नै दिइएन । जसमा म सबैभन्दा बढी असन्तुष्ट हो । बेलाबेलामा केन्द्रीय समितिको बैठक बस्छ । हामी कति तयारी गरेर गएका हुन्छौं । देशभर घुमेर आएका हुन्छांै । हामी कुरा राख्छांै जसलाई नसुनेझै गरेर बेवास्ता गरिदिने गरिएको छ । कहिल्यै पनि प्राइभेट भेटघाट छैन । कहिल्यै पनि हाम्रो भावना बुझ्न  खोजिएको छैन । यो काम कुनै पनि नेताले गरेन । तर जनताको बीचमा जाँदा उनीहरूकै चुनावी क्षेत्रमा हामी जानुपर्‍यो । अनुहार हाम्रो चाहिने तर हाम्रो आत्मसम्मान चाहिँदैन ? म त भन्छु पार्टीको निर्णय गर्ने ठाउँमा बसेको मान्छेहरूले यो बीचको टर्निङहरूमा एकछिन अडिएर हाम्रो कुरा सुनेर गएको भएमात्र पनि पार्टीले अहिलेको अवस्था भोग्नु पर्दैनथ्यो । देशले भोगेको कुरा पनि भोग्नुपर्ने थिएन । यो तराईमधेसको आन्दोलन फरक ढंगबाट सम्बोधन भएर गएको हुनेथियो । तर कुनै पनि टर्निङहरूमा हामीलाई उनीहरूले हेर्दै हेरेनन् । उनीहरूले के बिर्से भने कुनैबेला हामी पनि यस्तै टर्निङहरूमा थियौं । जति गाली गरे पनि त्योबेलाका नेताहरूले आफूहरूलाई रोकेर हाम्रा कुरा सुनेका थिए कम्तीमा पनि महत्व दिएका थिए, हामी पनि यस्तै जीवन पार गरेर आएका हौ नि भन्ने सोचिएन । यसकारण हामी निर्णयलाई सुझाव दिने ठाउँसम्म पुग्यौं तर निर्णय गर्ने ठाउँसम्म पुगेनौं ।

तपाईं भर्खर तराईका जिल्लाहरू घुमेर आउनुभयो, ती जिल्लाहरूमा यही परिस्थितिमा कांग्रेसको अधिवेशन हुन्छ ?

मैले त्यहाँका पार्टीका साथीहरूसँग बसेर छलफल गर्दैगर्दा, नेपाली कांग्रेसले जुन संशोधनको प्रस्ताव दर्ता गरायो त्यसले अलिक सहज बनाएको छ । यद्यपि त्यसको अर्थ के होइन भने विषय परिस्थिति सबै सहज भएको छ । यो बीचको दुईतीन दिनको जुन समय छ, कांग्रेसले ४ गतेभित्र सबै विषय टुंग्याउने भनेको छ तर सबै विषय भने सकिँदैन । आन्दोलनरत पक्षसँग एउटा राजनीतिक समझदारी भयो भने १५ गतेदेखि २२ गतेसम्म सहज हुन्छ । तर भएन भने परिस्थिति झन्झन् भड्किने अवस्था भयो भने सरकारले सोचेकोजस्तो आन्दोलनकारी थाकिसके, आन्दोलन सेलाइसक्यो, पेलेर लान सकिन्छ भन्ने विषयतिर गयो भने स्थिति बडो चुनौतीपूर्ण हुन सक्छ ।

तपाईंले तराईमा के देख्नुभयो ? त्यहाँका जनताको राय के छ ? दलहरूका मागको बारेमा के धारणा के रहेको छ ?

हामीले अलिकति बढी नेपाली कांग्रेसकै कमिटीमा आबद्ध साथीहरूसँग छलफल गर्‍यौं । दुईतीनवटा कुरामा उहाँहरूको ठूलो असन्तुष्टि रहेको पाएँ । संविधान जारी गर्दाखेरि आन्दोलन चलिरहेको थियो, मान्छे मरिरहेका थिए, त्यसको बीचमा संशोधन गर्ने भनेर कांग्रेस बोकेर हिँडेको छ जुन कुरा संविधान जारी गर्नुभन्दा पहिला गर्न कसले रोक्यो ? त्यसको उत्तर खोजिरहेका छन् । किन नगरेको ? त्यो कुरा दुई दिन रोकेर पहिले नै गरेको भए हुने थियो नि भन्ने उहाँहरूको भनाइ छ । जुन कुरा हाम्रोभन्दा फरक थिएन । त्यो कुरा हामीले दुई दिन संविधान जारी गर्न ढिलाइ गरेर भए पनि सुधार गरेर जाउँ भन्दै गर्दा हामीले यहाँ दसवटा आरोप खेप्नुपर्‍यो । नेपाली माग नै होइन भन्नेसम्मको आरोप खेप्नुपर्‍यो । तर आखिर उनीहरूको कुरा त्योभन्दा फरक थिएन । अर्को कुरा संघीयताको ह्यान्डिल जसरी भयो सीमांकनको विषय पार्टीले जसरी लियो, छलफल गर्‍यो तर यसले कुनै पनि आन्दोलनलाई सम्बोधन गरेन भन्ने कुरा देखिन्छ । त्यसमा ठूलो खालको आक्रोश देखिन्छ । तर त्यो सबैको बीचमा एउटा विश्वास के छ भने कांग्रेसले समीक्षा गर्नुपर्नेबेला आएको छ । नत्र कांग्रेसको फर्किने ठाउँ सकिन सक्छ भन्ने छ । स्थानीय नेताहरू भने आन्दोलनबाट धेरै टाढा पनि रहेनछन् । उनीहरू पनि त्यहीभित्र नै रहेछन,् मिसिएका रहेछन् । आन्दोलनकै भाग भएर कांग्रेसका स्थानीय नेताहरू रहेका छन् भन्ने कुरा लाग्यो मलाई । यसले पनि आन्दोलनलाई बढी हिंसात्मक हुनबाट बचाएको मैले पाएँ । एउटा अर्को के पाएँ भने, त्यो कांग्रेसभन्दा पनि नेपालभित्रको एउटा समुदायको मान्छे भएर के कुरा अनुभुत गरिराख्नुभएको रहेछ भने, राज्यले यत्रो ठूलो दमन गर्दैगर्दा, जुन दमन अत्यन्त अमानवीय थियो जुन एउटा समुदायप्रतिको असहिष्णुताको अभिव्यक्ति थियो, त्यस्तो हुँदै गर्दा पनि कांग्रेस कत्ति पनि बोलेन । सरकार र पार्टी त फरक कुरा हो नि । राज्यका निकायले दमन गर्‍यो तर पार्टी ? यस्तै कुरा काठमाडौंमा भएको भए के हुने थियो ? कांग्रेस के गथ्र्यो ? उनीहरूको भनाइ यो रहेको छ ।

मोर्चाले आन्दोलन फिर्ता लिँदा पनि आन्दोलन पूर्णरूपमा रोकिने कुरामा आशंका गरिएको छ, तपाईंलाई के लाग्छ ?

मलाई त्यस्तो लाग्दैन । गलत बुझाइ के छ भने, यो मधेसी मोर्चाले नेतृत्व गरेको आन्दोलन हो मोर्चालाई भारतको समर्थन छ, त्यसैले भारतले चित्त बुझायो भने मोर्चाले पनि चित्त बुझाउँछ र आन्दोलन फिर्ता हुन्छ भन्ने बुझाइ पूर्णरूपमा गलत बुझाइ हो । आन्दोलनमा नेपाली कांग्रेसका सयौं मान्छेहरू छन् । खासमा त सरकारले सकारात्मक रोल खेल्नुपर्छ । कि हामीले तिमीहरूलाई हरायौं, तिमीले हार्‍यौं मधेसी मोर्चालाई पनि मिलायौं भन्ने ढंगको सन्देश दिएर यो विषयलाई बिट मार्न खोज्यौं भने कसैले चाहेर पनि रोकिन्न । हैन हामीले सम्मानका साथ तिमीहरूका कुरालाई लिएका छौं केही कुरा अहिले नै मिलेका छन् कतिपय तपाईंहरूले भनेको जस्तै हुन सक्ने अवस्था छैन, अरू पक्षहरू पनि छन् बाँकी रहेको कुराहरूलाई पनि तपाईंहरूको सम्मान र सहभागिता हुने गरेर निक्र्यौंल गर्छांै भन्ने स्पष्ट सन्देश जान जरुरी छ । संविधान कार्यान्वयनमा जाँदै गर्दा कुनै एउटा समुदाय हारेको अनुभूति हुने गरेर हामी अगाडि बढ्न सक्दैनांै र बढ्दा पनि बढ्दैनौं । तपाईंहरूलाई पनि जितको अनुभूति गराउने गरी सँगै अगाडि बढ्छौं भन्ने ढंगको वातावरण बनायो भने मलाई लाग्छ केही आपराधिक प्रवृत्ति बोकेको मान्छेहरू दुईचार दिन आउने कुरा एउटा होला तर त्यहाँका अधिकांश मान्छेहरू चाँडो यो विषय सकिएर आफ्नो अधिकार प्राप्त होस् र राष्ट्रिय अखण्डता मजबुत होस् भन्नेमा छन् । त्यसरी सोच्नेहरूको नै ठूलो संख्या छ । त्यसैले हामीले सोचेकोजस्तो यिनीहरू जे गरे पनि मान्दैनन् भन्ने पटक्कै होइन । तर यसको विपरीत टालटुल गर्ने प्रवृत्तितिर हामी गयौं भने अहिले सेलाए पनि एक महिनापछि उठ्छ । त्योबेला नउठे पनि भविष्यमा पक्कै उठ्छ । त्यतातिर लानु हुँदैन ।

 

]]>