देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खुम्चियो वैदेशिक रोजगार

देशान्तर

मलेसिया गन्तव्यमा नाटकीय ह्रास

काठमाडौं । बहुआयामिक नकारात्मक प्रभावको कारण नेपालीको वैदेशिक रोजगार संकटमा परेको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा आएको भारी गिरावटसँगै नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स त खुम्चिएको छ नै सँगै गरिब नेपालीहरूको रोजीरोटीको बाटोमा पनि अवरोध सिर्जना भएको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा एक तिहाइ योगदान दिने वैदेशिक रोजगारमा आएको गिरावट नेपाली अर्थतन्त्रको लागि अशुभ नियतिको अर्को शृंखला हो । प्राकृतिक तथा राजनीतिक आक्रमणबाट पक्षघात भएको नेपाली अर्थतन्त्रमा रेमिट्यान्समा आएको गिरावटसँगै अर्को पीडा थपिएको हो । सँगै बेरोजगार नागरिकको व्यवस्थापनको लागि सरकारलाई थप भारको स्पष्ट संकेत मिलेको छ ।
चालू आवको मंसिर मसान्तसम्म वैदेशिक रोजगारमा जानेहरूको संख्यामा ५० हजारभन्दा बढीले कमी आएको छ । गत आवको यही अवधिसम्म दुई लाख २५ हजार ६ सय नेपालीहरू कामको लागि विभिन्न देशमा श्रम स्वीकृति लिएर गएका थिए भने चालू आवको मंसिर मसान्तसम्म एक लाख ७४ हजार नौ सयमात्र वैदेशिक रोजगारीको लागि बिदेसिएको वैदेशिक रोजगार विभागले बताएको छ ।

केवल विदेश जानेहरूको मात्र होइन विदेशबाट नेपाली कामदारहरूको लागि आउने कामदार मागको संख्यामा पनि कमी आएको छ । नेपालका म्यानपावर एजेन्सीहरूमा नेपाली कामदारको लागि आउने मागसंख्यामा भारी गिरावट आएको म्यानपावर व्यवसायीहरूले बताएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकले पनि यो संख्या ओरालो लागेको देखाउँछ । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म विभागबाट पाँच लाख ५० हजार कामदारको लागि पूर्वस्वीकृति दिइएको थियो भने चालू आवको यही अवधिमा चार लाख ८० हजारमात्र पूर्वस्वीकृति दिइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

मलेसिया जाने घटे

एकातिर समग्र वैदेशिक रोजगार खुम्चिएको छ भने अर्कोतिर सबैभन्दा बढी नेपालीहरू काम गरिरहेको र निम्नवर्गीय नेपालीको आकर्षक वैदेशिक रोजगार गन्तव्यको रूपमा रहेको मलेसिया जाने कामदारहरूको संख्या नाटकीय रूपमा ओरालो लागेको छ ।

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार मलेसिया जाने कामदारको संख्यामा अहिलेसम्म औसतभन्दा धेरै कम अथवा दुई तिहाइले कमी आएको छ । नेपालमा दसंैतिहारजस्ता चाडपर्वको समयमा वैदेशिक रोजगारीमा जाने कामदारको लागि अफसिजन भए पनि विगतका वर्षहरूमा जाने कामदारको संख्यामा पनि अहिलेको सामान्य संख्यामा कामदारहरू नगएको व्यवसायीहरूले बताएका छन् ।

मलेसियाको रोजगारीमा नाटकीय गिरावट आएको विभागले जारी गरेको तथ्यांकले नै प्रष्ट पारेको छ । गत आवको मंसिर मसान्तसम्म मलेसियमामात्र एक लाख ६ हजार दुई सय २६ कामदारहरू गएका थिए  । तर, चालू आवको मंसिर मसान्तसम्म जम्मा ३१ हजार दुई सय एक जना कामदारमात्र गएका छन् । यस हिसाबले मलेसियाको रोजगारीमा तुलनात्मक रूपले ३१ प्रतिशतले ह्रास आएको छ । त्यस्तै मंसिर महिनामा औसतभन्दा निकै कमी आएको छ । औसतमा प्रत्येक महिना २० हजारको संख्यामा कामदार जाने मलेसियामा गएको मंसिरमा जम्मा पाँच हजार कामदारमात्र बाहिरिएको विभागले जानकारी दिएको छ ।

मलेसियको रोजगारीमा ह्रास आउनुमा विभिन्न तत्वलाई कारकको रूपमा देखाइएको छ । विभिन्न निकाय तथा अधिकारीहरूले आफ्नो बचावट हुने किसिमले कारण किटान गरेका छन् । व्यवसायीहरूले सरकारले बिना तयारी ल्याएको फ्रि भिसा, फ्रि टिकटलाई मुख्य कारण ठहर गरेका छन् भने सरकारी अधिकारी तथा सरकारी नीतिको पक्षधरहरूले मलेसिया तथा नेपालको आन्तरिक अवरोधको कारण संख्यामा गिरावट आएको बताउने गरेका छन् । कतिपयले मलेसियाको मुद्राको अवमूल्यनको कारणले पनि ह्रास आएको बताएका छन् ।

मलेसियाको मुद्राको अवमूल्यन, त्यहाँको राजनीतिक अस्थिरता, असुरक्षा तथा नेपालको आन्तरिक अवरोधको वातावरणको कारण कतिपय कामदारहरू जान चाहे पनि जान नसकेको बताउँछन् वैदेशिक रोजगार विभागका निर्देशक जनकराज रेग्मी । उनी भन्छन्, ‘माग भएर पनि नेपाली कामदारहरू आफैं मलेसिया जान चाहेका छैनन्, फ्रि भिसा फ्रि टिकटमा पनि कामदारहरू जान मानेका छैनन् त्यसकारणले यसमा हाम्रो आन्तरिक तथा त्यहाँको पनि केही कारण रहेका छन् ।’ उनी विशेषगरी नेपालको आन्तरिक कारणलाई दोष दिन्छन् ।

तर सरकारी अधिकारीहरूको भनाइमा त्यति विश्वास गरिहाल्न पनि कठिन छ । विभागको तथ्यांकले आन्तरिक कारणले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको पुष्टि हुँदैन । खाडी मुलुकमा बढेको तथ्यांकले आन्तरिक स्थितिमात्रै मुख्य कारण तत्व हो भन्ने कुरालाई पुष्टि हुन दिँदैन । मलेसियामा कामदार पठाउँदै आएको रोयल गण्डकी म्यानपावरका कार्यकारी निर्देशक तारानाथ अर्याल प्रश्न गर्छन्, ‘कतार जाने कामदारको संख्यामा निरन्तर वृद्धि भइरहेको छ भने साउदी, दुबईमा पनि वृद्धि भइरहेको छ । तर मलेसियामा मात्र किन गिरावट आयो । यदि मौद्रिक भ्यालुएसन पनि कारण हो भने अहिलेको मलेसियन रिंगेटको जत्तिकै मूल्य भएका कतार, साउदी, दुबईमा किन त्यसरी नै ह्रास आएको छैन ?’

गिरावट मलेसियामा मात्र

विभागका अनुसार मलेसियाबाहेकको अन्य नेपाली कामदारहरूका अन्य प्रमुख गन्तव्यहरूमा भने खासै अन्तर आएको छैन । गत आवको कात्तिक मसान्तसम्म कुल विदेश गएका कामदारमध्ये ४५ प्रतिशत कामदार मलेसिया गएका थिए भने त्यही समयमा कतारमा २१ प्रतिशत, साउदी अरबमा १६ प्रतिशत र दुबईमा ११ प्रतिशत कामदार गएका थिए ।

त्यस्तै मंसिर मसान्तसम्म मलेसियामा ४५ प्रतिशत, कतारमा २३ प्रतिशत, साउदी अरबमा १६ प्रतिशत कामदार गएका थिए । तर चालू आवको कात्तिक मसान्तसम्म र मंसिर मसान्तसम्म मलेसियामा कुल बिदेसिएका कामदारको १८ प्रतिशतमात्र गएका छन् भने कतारमा ३१ प्रतिशत, साउदी अरबमा ३० प्रतिशत गएका छन् भने दुबईमा १२ प्रतिशत गएका छन् । यो तथ्यांकअनुसार मलेसियाको रोजगारीमा नाटकीय गिरावट आएको छ । अहिले गएका कामदारहरूमा पनि केही पुरानै माग भएकोले अझै स्पष्ट चित्र आएको छैन । मलेसियाको रोजगारीमा व्यापक ह्रास आएको स्पष्ट चित्र अझै पछि आउँछ भन्छन् रोयल गण्डकी म्यानपावरका निर्देशक अर्याल उनी भन्छन्, ‘अहिले मलेसियाको मागमा पहिलेको तुलनामा ७५ प्रतिशतले गिरावट आएको छ । जेनतेन पहिलेकै मागले धानेका कारणमात्र अहिले देखिएको छैन नत्र रोजगारीको प्रमुख गन्तव्य मलेसियामा यसरी गिरावट आउनु गम्भीर छ ।’

म्यानपावर व्यवसायीहरूले भने सरकारको बिना तयारीको अधकल्चो नीतिका कारण मलेसियाको रोजगारीमा मन्दी आएको बताउँछन् । उनीहरूले विशेषगरी सरकारले ल्याएको फ्रि भिसा, फ्रि टिकटको नीतिका कारण अहिलेको अवस्था आएको बताउँछन् । उनका अनुसार खाडी मुलुकहरूमा नेपाली व्यवसायीहरूको सीधा पहुँच कम्पनीहरूसँग भएकोले त्यहाँबाट माग ल्याउन त्यति कठिन नभएको तर मलेसियामा त्यहाँको लोकल एजेन्टमार्फत जानुपर्ने भएकोले माग किनेर ल्याउनुपर्ने अवस्थामा फ्रि, भिसा फ्रि टिकटको लागि माग ल्याउन कठिन भएको र त्यहाँका एजेन्टहरू तुलनात्मक रूपमा सहज स्थानहरूबाट कामदार मगाउन लागेकोले नेपाली कामदारको माग नै घटेको हो ।

माग पनि घट्यो

मलेसियामा नेपाली कामदारको मागसंख्यामा पनि कमी आएको छ । जस्तो अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तसम्म मलेसियाको लागि एक लाख २२ हजार ७९ पूर्वस्वीकृति दिएको विभागले चालू आवको मंसिर मसान्तसम्म त्यो संख्या घटेर २४ हजार ६ सय ११ को मात्र पूर्वस्वीकृति दिएको छ । यस हिसाबले मलेसियामा नेपाली कामदारको संख्यामा करिब एक लाखले कमी आएको छ । यसरी मलेसियाको नेपाली रोजगारीमा अर्यालले भनेजस्तो मन्दी त आएको होइन ?  तर विभागका अधिकारीहरूले भने यो मन्दीमात्रभन्दा पनि उताको आर्थिक अवस्था पनि त्यति राम्रो नभएकोले त्यहाँका कम्पनीहरूले कामदारको संख्यामा नै कटौती गरेकोले पनि यस्तो अवस्था आएको बताउँछन् ।

समाधान के ?

वैदेशिक रोजगार अधिकारीको तथ्यांकअनुसार औपचारिक रूपमा काम गर्न विदेश गएका नेपालीहरूको संख्या करिब ३४ लाख रहेको छ भने मलेसियामा मात्र १० लाख नेपालीहरू काम गरिरहेका छन् । यति धेरै नेपालीले रोजगारी पाइरहेको र अर्थतन्त्रमा ३० प्रतिशत योगदान रहेको रेमिट्यान्समा प्रत्यक्ष असर पर्ने र अन्तत: यो सरकारको टाउको दुखाइको विषय बन्ने कुरामा चेतावनी दिएका छन्, विज्ञहरूले । कुल ग्राहस्थ उत्पादनमा ३० प्रतिशत अंश रहेको रेमिट्यान्समा ४० प्रतिशत मलेसियाको हिस्सा रहेको छ । यस हिसाबले मलेसियाको रोजगारीमा आएको गिरावटको कारण रेमिट्यान्समा पनि असर पर्ने कुरामा कुनै दुईमत छैन ।

समस्या समाधानको लागि सरोकारवालाहरू बीचमा नै आरोप प्रत्यारोप चलेको छ । व्यवसायीहरू सरकारले रोजगार गन्तव्य मुलुकहरूसँग श्रमसम्झौता नगरिकन नै फ्रि भिसा, फ्रि टिकटको नीति ल्याएकोले यस्तो भएको बताउँछन् । उनीहरू श्रमसम्झौता र त्यसको प्रभावकारी कार्यान्वयनमा सरकारी पहल नै समाधानको अन्तिम अस्त्र भएको बताउँछन् । ‘अहिलेसम्म श्रमसम्झौता भएका मुलुकहरूमा रोजगारीमा कुनै फरक परेको छैन तर मलेसियासँगको श्रमसम्झौता गर्नुको विकल्प छैन र त्यसको प्रभावकारी कार्यान्वयनमात्र गर्ने हो हाम्रो त्यहाँका एजेन्सीहरूसँग बार्गेनिङ पावर बढ्छ जसले गर्दा हाम्रा कामदारहरू बढीभन्दा बढी जान पाउँछन् जुन अहिले भएको छैन ।’ व्यवसायी अर्याल भन्छन् । तर विभागका निर्देशक रेग्मी यही एउटा कारण मात्र नभएको र श्रमसम्झौता पनि भइसकेको बताउँदै भन्छन्, ‘पहिलो कुरा त मलेसियासँग श्रमसम्झौता भइसकेको हो, दोस्रो कुरा पछिल्लो सरकारी नीतिपछि वैदेशिक रोजगारीमा हामीले गुणस्तरको कुरा गरेका छौं । संख्याभन्दा पनि त्यसैले रोजगारी मर्यादित भयो कि भएन भन्ने कुरा पनि हो संख्यामात्र बढाउने तर जस्तो पायो त्यस्तै काममा हामीले किन हाम्रा नागरिक पठाउने ?’

एकातिर मलेसियाको आन्तरिक राजनीतिमा अस्थिरता छ भने अर्कोतिर त्यहाँ आर्थिक अवस्था बिग्रँदो छ । सबैभन्दा ठूलो आर्थिक साझेदार चीनमा आर्थिक संकटका सूचनाहरू देखापर्नेबित्तिकै मलेसियामा पनि त्यसको असर परेको छ । सन् २०१५ मा मात्र त्यहाँ बेरोजगार दर २.९ बाट बढेर ३ प्रतिशत पुगेको छ भने कुल ग्राहस्थ वृद्धिदर ६ प्रतिशतबाट घटेर ४ प्रतिशतमा झरेको छ  । जसको प्रत्यक्ष असर त्यहाँका उद्योगधन्दाहरूले कामदार कटौतीलाई प्राथमिकता दिएका छन् । जसको प्रत्यक्ष असर नेपाली कामदारको मागसंख्यामा आएको बुझाइ सरकारको रहेको छ । तर सरकारसँग पनि यसको उपयुक्त विकल्प भने छैन । वैदेशिक रोजगारीको ३५ प्रतिशत तथा रेमिट्यान्समा ४० प्रतिशतको योगदान दिने मलेसियाको रोजगारीमा आएको मन्दी नेपाली अर्थतन्त्रको लागि खतरा हुन सक्नेतिर विज्ञहरूले चेतावनी दिएका छन् ।

 

]]>