देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालालाई मात्रै परिवारवादको आरोप किन ?

देशान्तर

डा. शेखर कोइराला, नेता, नेपाली कांग्रेस

कांग्रेस महाधिवेशन आयो, तयारी कसरी अगाडि बढिरहेको छ ?

अधिवेशनको लागि पार्टीले विभिन्न तहबाट तयारीलाई तीव्र बनाएको छ । विभिन्न समितिमार्फत ती तयारीका कामहरू भइरहेका छन् । जस्तो विधान समिति छ, नीति, व्यवस्थापन समितिहरू छ, त्यसका संयोजकहरू तोकिएका छन् । विस्तारै काम भइरहेको छ ।

तर विगतमा जस्तो तयारी र चर्चा तीब्र भएको देखिदैन नि ?

देशको स्थितिको कारणले पनि यस्तो भएको हो । यसपटक देशको अवस्था यस्तो छ र कांग्रेसले महाधिवेशन पनि गर्नै पर्नेछ । अर्को उपाय हामीसँग छैन । यसकारण पनि यस्तो देखिएको होला ।

हुनुपर्ने काम पनि समयमा नभएको कारणले पनि यस्तो भएको हो कि ? जस्तो क्रियाशील विवाद अझै टुंगिएको छैन ?

यस पटकको क्रियाशील सदस्यता वितरण आम कांग्रेसीहरूलाई चित्त बुझिरहेको छैन । स्वयम् मलाई पनि चित्त बुझेको छैन । तर जसले ल्याउनुभयो उहाँहरूलाई सभापतिले जिम्मेवारी दिनुभएको हो । भनेपछि काम त अगाडि बढ्यो नि त । समितिले प्रतिवेदन दिइसकेको छ, सभापति पश्चिमाञ्चलको भ्रमणमा हुनुहुन्छ । उहाँ आउनेबित्तिकै सही गर्नुहुन्छ । त्यसपछि त जिल्लाजिल्लामा गइहाल्छ ।

तर पनि समितिका पदाधिकारीहरू नै जिम्मेवारी पुरा नगरी आफूखुसी जिल्ला दौडाहामा हिँडिरहेका छन् ?

यो त स्वाभाविक हो नि । किनभने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ । अलिकति दौडधुप त गर्नुैपर्‍यो नि । नगरे भोट आउँदैन । बाकसबाट भोट त खस्दैन । भोट कांग्रेसका कार्यकर्ताहरूले नै दिने हो । महाधिवेशन प्रतिनिधिहरूले भोट दिने हो । त्यसैले अलिकति त घुम्नै पर्छ । तर घुमेर पनि क्रियाशीलको काम सकिएको छ । हो, त्यसमा कतिपयलाई चित्त बुझेको छैन । कति जिल्लाका साथीहरू केन्द्रीय कार्यालयमा धर्ना दिइरहनुभएको छ । त्यो आफ्नो ठाउँमा छ । त्यसलाई मिलाउनुपर्छ । कतिपय कुरामा मलाई पनि चित्त बुझेको छैन । तर चित्त नबुझेर त हुँदैन नि । चित्त नबुझ्दा नबुझ्दै पनि अधिवेशन हुन्छ । गत अधिवेशनमा पनि त्यस्तो समस्या आएको थियो ।

तर यो क्रियाशील सदस्यको समस्या सधै महाधिवेशनको पूर्वसन्ध्यामा निस्किन्छ । यसलाई दीर्घकालीन समाधान गर्ने कुनै उपाय छैन ?

तपाईंले भनेको ठीकै हो । १३ औं महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ । नेतृत्व भनेको तपाईंहरू खाली सभापतिमात्र ठान्नुहुन्छ होला तर अरू पदाधिकारीहरूमा पनि धेरै नयाँ अनुहार आउँछन् होला । उहाँहरूले यो कुरालाई अगाडि बढाउनुहुन्छ । एउटा कुरा के हो भने, नेपाली कांग्रेस एउटा पार्टी हो, संस्था हो । यो आफ्नो विधान अनुरूप चल्छ, चल्नुपर्छ । विधानले स्पष्ट के भनेको छ भने– महाधिवेशन हुनुभन्दा एक वर्षपहिले क्रियाशील सदस्यता वितरण बन्द गर्नुपर्छ । भनेपछि अधिवेशनपछि पदाधिकारी बन्छ अथवा समिति बन्छ त्यसको पहिलो बैठकबाट नै निर्णय गर्नुपर्छ कि हामी यसरी यो समय तालिकाअनुसार जान्छांै भनेर । त्यो क्यालेन्डरमा काम गरे भइहाल्यो नि । आखिर गर्न नसक्ने हैन, गर्ने इच्छाशक्ति नभएर हो । तर त्यसो गर्दा पनि विवादरहित हुन्छ भन्ने ग्यारेन्टि त हुँदैन । हामी देशको आम निर्वाचन गर्छौं त्यहाँ पनि कतिपयका असन्तुष्टिहरू त हुन्छन् नि । विवाद त हुन्छ नि । तपाईंहरू कांग्रेसमा मात्र विवाद देख्नुहुन्छ । देशकै आमनिर्वाचनमा त हुन्छ भने कांग्रेसमा हुने यो विवादलाई अस्वभाविक कसरी मान्ने ?

यो पटकको क्रियाशील सदस्यताको विवाद किन भयो जस्तो लाग्छ ?

यो भोलिको नेतृत्व प्राप्तिका लागि हो । यसमा कुनै शंका छैन । भोलि नेतृत्व कसले लिन्छ भन्ने गाउँदेखि केन्द्रसम्म लाई चासो र इच्छा छ । कोही आफू जित्नको लागि क्रियाशील थप्न चाहदैन, कोह िथप्न चाहन्छ । कोही अर्कोलाई हराउनको लागि थपिदिन्छ । त्यही त भएको छ । अनि कसैले गैरकानुनी तरिकाले क्रियाशील बाँडेको छ । जसले कानुनी तरिकाले बाँडेको छ त्यसको पनि क्यान्सिल भएको छ । भनेपछि यो समग्र गाउँदेखि केन्द्रसम्मको नेतृत्व आफ्नो पोल्टामा ल्याउने उपायको रुपमा लिइकोले नै विवाद भएको हो ।

विधान समिति, नीति तथा कार्यक्रम समितिले यतिबेलासम्म करिबकरिब काम सक्नुपर्ने होइन र ?

ढिलो त भएको छ नि । रामचन्द्रजी नीति तथा कार्यक्रम समितिको संयोजक हुनुहुन्छ, त्यसको सदस्य म पनि छु । यसको एउटा बैठक पनि बसेको छैन । आजसम्म बस्नुपर्ने हो । तर विधान समितिको भने बैठक बसेको छ । उनीहरू काम गर्दैछन् ।

विधानमा कस्तो परिवर्तन हुँदैछ ?

हामी प्रादेशिक संरचनामा गइसकेपछि यस्तै परिवेशका अन्य देशहरूमा पार्टीहरूका संरचना कस्ता छन् र यहाँ कसरी जाने भनेर सोच्नु पर्नेछ । र, त्यसलाई आधार मानेर अगाडि जानु पर्नेछ । यो पहिलो कुरा हो । अर्को सबैभन्दा महत्वपूर्ण कुरा, हामीले जिल्लाभन्दा पनि प्रदेशलाई आधार मानेर अगाडि जानुपर्ने हुन्छ । जिल्ला त हुन्छ नै तर पनि प्रदेशलाई आधार मानेर अगाडि जानु पर्ने हुन्छ । पदाधिकारीहरू थप्ने भन्ने कुरा पनि बजारमा आएको छ । तर पदाधिकारीहरू किन थप्ने भन्ने छलफल हामीले चलाउनुपर्छ । कुनै व्यक्ति विशेषलाई एडजस्ट गर्नको लागि कुनै पनि हालतमा पदाधिकारी थप्नु हँुदैन । म त्यसको विरोधमा छु । तर जरुरत छ, प्रादेशिक संरचनामा जाँदै छौं भने पदाधिकारीहरू यसरी जाने हो भनेर भन्नुपर्‍यो । जस्तो भनौं,  दुईवटा सचिव हामीले केन्द्रदेखि गाउँसम्म दियौं । त्यो के आवश्यक थियो ? त्यसले के फाइदा भयो ? म त त्यसमा नोक्सानमात्र देख्छु । दुईवटा सचिव बनाउँदा या महामन्त्री भनौं, यी दुवै पद दुईवटा बनाउँदा केन्द्रदेखि गाउँसम्म कुनै फाइदा गरेको छैन ।

कस्तो नोक्सान भयो ?

त्यसको कुनै भूमिका नै छैन । कुनै व्यक्ति विशेषलाई सम्बोधन गर्ने नाममा किन गरियो भन्ने प्रश्न त आयो नि । १२ औं महाधिवेशनभन्दा पहिले कसरी छलफल भयो भने, हामीले महामन्त्री पनि चुनावबाट आउने भन्दियौं । पहिले हामी सभापतीय प्रणालीमा थियौं । महामन्त्रीको पनि चुनाव हुने र अन्य पदाधिकारीको पनि चुनाव हुने हो भने त त्यो सभापतीय प्रणालीबाट सामूहिक नेतृत्व प्रणालीमा गयो, आधारभूत रूपमा हेर्ने हो भने । तर यदि सभापति एउटा, महामन्त्री अर्को खेमाले जित्यो भने त अप्ठेरो हुने भयो । सभापतिले मनोनीत गर्न पाउनुपर्छ भन्छु म । किनभने कांग्रेस एउटा संस्था हो, संगठन हो, पार्टी हो । विचार लिएर बनेका हौं । कम्युनिस्ट पार्टीको मान्छेलाई त लिँदैनौ नि हामी । अथवा अन्य पार्टीको मान्छेलाई त लिँदैनौ नि हामी । कांग्रेसभित्रकै मानिस हो, जो भए पनि । तर सभापतिले ती साथीहरूसँग काम लिन सक्नुपर्‍यो जो जितेर आए पनि सामूहिक नेतृत्वको हिसाबले । तर यहाँ त सुरुमै बनाउँदाखेरि दुईवटा गुट जीवनभरि रहन्छ भन्ने हिसाबले बनाइदिएको छ । अनि कहाँबाट हुन्छ । नहुने काम हामीले गर्‍यौं ।

सामूहिक नेतृत्वमा गइसकेपछि कांग्रेसमा समस्या आयो भन्ने तपाईंको बुझाइ हो ?

यसलाई कसरी लिने भन्नेमा भर पर्छ । नेतृत्व वर्गले निर्णय गर्ने हो कांग्रेसलाई कसरी लग्ने भनेर । ११ औं महाधिवेशनसम्म कांग्रेस सभापतीय प्रणालीमा थियो, सभापतिले महामन्त्री चुन्ने प्रणाली थियो । एकैपटक आएर हामीले सभापतिको पनि निर्वाचन र महामन्त्री तथा कोषाध्यक्षको पनि निर्वाचन गर्ने भयौं । र मनोनीत महामन्त्री पनि भन्यौं । जुन आफूमाथि विश्वास नभएर यस्तो भनियो भन्छु म त । हामीले आफूमाथि विश्वास नगरेकै कारण मनोनीत महामन्त्री राखेको हो नि । जो जिते पनि कांग्रेस जित्ने त हो । मैले कुनै आमुक व्यक्ति मन पराउँदिन भनेर हुँदैन नि । ऊ पनि त कांग्रेस भएरै महामन्त्री जितेको हो । उसलाई सम्मान गर्नुपर्‍यो नि । मान्दिनँ भनेर कहाँ हुन्छ ? यो किन बिग्रियो भने गुटले गर्दा बिग्रियो ।

पार्टीको सभापति भनौं वा पहिलो व्यक्ति बलियो हुनुपर्ने होइन र ?

हैन । अहिले पनि सभापति बलियो छ । यो प्रणालीमा पनि सभापति भनेको सभापति नै हो नि । उसले धेरै कुरामा रुलिङ गर्न सक्छ । तर अधिकार कसरी प्रयोग गर्नुहुन्छ त्यसमा भरपर्छ । 

पार्टीको विधानमा संघीय संरचना बनेपछि पार्टीका समितिहरू पनि त्यसरी बन्नेछन् भनिएको छ । अहिले ती समितिहरू बनाउन सम्भव छ ?

गर्न खोज्यो भने सम्भव छ । तर गर्ने छाँटकाँट म देख्दिनँ । बनाउनुपर्ने हो । किनभने चार वर्षपछि त हामी प्रादेशिक शासनमा गएर चुनाव पनि हुन्छ । अनि नेपाली कांग्रेसको अर्को अधिवेशन पाँच वर्षपछि भयो भने ? त्यसैले अहिले नै विधानमा राख्नुपर्छ । त्यसलाई महाधिवेशनले पास गरेर समितिहरू बनाउनुपर्छ । सकेसम्म यो अधिवेशनभन्दा पहिले नै हुनुपर्ने हो । तर यो अब अधिवेशनपछि जान्छ जस्तो लाग्छ ।

अहिले त चाहेर पनि सम्भव नहोला नि ? किनभने प्रदेशको प्रतिनिधित्व कसरी निर्धारण गर्ने कुनै मापदण्ड नै छैन ?

त्यसैले त प्रादेशिक संरचनामा जान्छांै भन्ने कुरा त १२ औं महाधिवेशनमा पनि थाहा थियो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हुनेछ भनेपछि त्यो गर्नुपर्ने हाम्रो काम होइन र ? स्वयम् मैले पनि गरिनँ । म पनि दोषी हो । हामीले सोचेनौ ? अब आम निर्वाचन हुन्छ प्रदेशमा, तर नेपाली कांग्रेसको सांगठानिक संरचना अहिले नै प्रदेशमा जालाजस्तो म देख्दिनँ । पास भने होला ।

केन्द्रले प्रदेशमा समन्वय गर्ने खालको विधान बन्छ ?

बन्नैपर्छ नि । केन्द्रीय समिति कार्य सञ्चालनको सबैभन्दा ठूलो निकाय हो । त्यसपछि प्रदेश समिति हुन्छ भने त्यसपछि जिल्ला, गाउँ, नगर समितिहरू हँुदै जान्छन् ।

प्रसंग बदलौं, नेपाली कांग्रेसमा कोइराला परिवारको इतिहास छ । त्यही इतिहासको विरासत कायम राख्नका लागि सम्पूर्ण कोइराला परिवार नै लागेको छ भनिन्छ । तपाईं पनि कोइराला परिवारकै सदस्य, के भन्नुहुन्छ ?

विरासत वा लिगेसी भनेको के हो ? मैले यस बारेमा धेरै बुझ्ििदनँ । तर कुरा के हो भने मान्छेले राजनीतिमा काम गर्दै जान्छ अनि कार्यकर्ताबाट निर्वाचित भएर आउँछ । त्यसरी आएपछि कुनै परिवारको लिगेसी कसरी हुन्छ ? अनि यो कोइरालावाद भयो भन्ने पनि सुनिन्छ । त्यसो भए, अमेरिकामा बिल क्लिन्टनवाद भयो भने भइगो नि । हिलारी क्लिन्टन उठ्दैछिन् । त्यस्तै जर्ज बुसका छोरा राष्ट्रपति भए । अहिले अर्को छोरा उठ्न खोज्दैछन् । के त्यो वाद भयो ? भएन । अनि नेपालमा कोइरालाहरूको चाहिँ वाद हुने ? यो मैले बुझ्न नसकेको कुरा हो । न त मैले सञ्चारकर्मीहरूले भनेको बुझ्न सकेको छु न त यहाँका बुद्धिजीवी, नागरिक समाज र कांग्रेसीहरूले भनेको बुझ्न सकेको छु । नदिए भयो, नजिताए भइहाल्यो नि । महाधिवेशनमा हराइदिए सकिहाल्छ नि । पार्टीमा खटिरहन्छ, काम गरिरहन्छ भने उसले नेतृत्वको दाबी गर्न पाउने कि नपाउने ? यदि त्यसरी नै लिगेसी भन्ने हो भने शेरबहादुरजीको लिगेसी भयो कि भएन ? आरजु देउवा पनि आउनुभयो । उहाँ सांसद, महाधिवेशन, महासमिति प्रतिनिधि भएर आउनुभएको छ । उहाँलाई लिगेसी भन्ने कि नभन्ने । पार्टीमा खट्नुहुन्छ अगाडि जानुहुन्छ । बीपीले के गर्नुभएको थिएन ? गिरिजाबाबुले काम गर्नुभएको थिएन ? सुशील कोइरालाले काम नगरेको होइन कि अरूभन्दा कम काम गरेको हो कि ? विचार गर्नुस् कसले के भन्यो ? लिगेसीको कुरा गर्नुहुन्छ भने प्रकाशमान सिंह के हो ? गणेशमान सिंहको लिगेसी होइन ? विमलेन्द्र निधि के हो ? महेन्द्रनारायण निधिको लिगेसी होइन ? यसमा के हुन्छ भने कति आउँछन् कति पछाडि पर्छन् हामी पनि पछाडि परौंला । फराकिलो भएर सोच्नुपर्छ । अहिले सञ्चारकर्मीहरूले जसरी लेखिरहेका छन्, जसरी प्रकाशन तथा प्रसारण भइरहेको छ, यसले देशको भविष्यलाई अगाडि बढाउँछ जस्तो लाग्दैन । मानिस कर्मले बन्ने हो । जसले काम गर्छ त्यो आउँछ, जसले गर्दैन त्यो आउँदैन । अरूको चाहिँ लिगेसी नहुने अनि कोइरालाको मात्र लिगेसी हुने ? मान्छेहरू परिवारवाद भन्छन् । म त बुझ्दिनँ त्यस्तो कुरा । कोइराला परिवारका पनि कतिपय व्यक्ति बाहिर छन् । उनीहरू प्रतिस्पर्धामा उत्रन सकेनन् । हामीमा पनि अहिले राजनीतिमा तीन जनामात्र छौ । राजनीति गर्ने म पछाडि पर्छु कि, शशांक अगाडि हुन्छ कि, सुजता अगाडि हुन्छे कि । प्रतिस्पर्धाको जमाना छ । जसले जितेर आउँछ त्यो आउँछ, त्यसमा किन विवाद ?

अबको परिस्थितिलाई हाक्न सक्ने कांग्रेसको नेतृत्व कस्तो हुनुपर्छ ?

नेपाली कांग्रेसमा तल्लो लेभलदेखि नै जस्तोसुकै अवस्थामा बसेका मान्छेहरू धेरै छन् । लाखौंको संख्यामा छन् । कांग्रेसको झन्डा सिरानीमुनि राखेर कांग्रेसलाई बचाएका मान्छेहरू पनि छन् । तिनीहरूले नै कांग्रेसलाई बचाइराखेका छन् । र अहिले युवाहरूको युग आएको छ । तर नेपाली कांग्रेसका युवा अहिले भन्छन् नि  ६० वर्ष ७० वर्षपछि अवकाश लिनुपर्छ । तर म त्यसको पक्षधर होइन । जसले विचार दिन सक्छ त्यो अगाडि आउने हो । तेस्रो कुरा, अहिलेका तीन जना शीर्ष नेता भनौ, जे भनेपनि उहाँहरूले कांग्रेसलाई यहाँसम्म ल्याएको त हो नि । पहिले बीपीले गर्नुभयो । पछि गणेशमान, सुवर्ण, महेन्द्रनारायण, गिरिजाबाबु सबैले मिलेर अगाडि ल्याउनुभयो । त्यसपछि उहाँहरूले यहाँसम्म पुर्‍याउनुभयो र नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी पनि भयो । उहाँहरूलाई पनि सम्मान गर्नुपर्छ । तर यहाँ त यी बूढाहरू गए हामी आउँछौ भन्ने छ । तर राजनीतिमा त्यसरी आइँदैन । युवा र पाका मानिसको मिश्रणले अगाडि बढ्ने हो । नेपाली कांग्रेस र तपाईले सोधेको एक्काईसौं शताब्दीको कांग्रेस बनाउने हो भने अब प्रविधिलाई अगाडि लिएर जानसक्नु पर्छ । अहिले हामी बीपीको समाजवादको कुरा गर्छौ तर बीपीले बोलेको कुरा र अहिलेको परिस्थितिमा त्यसलाई परिमार्जन कसरी गर्ने ? अनुसन्धान गर्न सक्नुपर्छ । अब हामीले अनुसन्धान विङ्ग राखेर कांग्रेसलाई कसरी अगाडि लाने भन्ने निक्र्यौल गर्नुपर्छ । जस्तो क्रियाशीलको विवाद निरुपण गर्न सबैभन्दा सहज तरिका के छ । मैले हेरेको थिएँ कि मोबाइलबाट आफ्नो क्रियाशील सदस्यता नवीकरण गर्न सकिने रहेछ । त्यस्तो बनाउने मान्छेहरू पनि छन् । यो कुराहरूलाई हामीले ध्यान दिएर अगाडि बढाउन सक्यौं र नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई गतिमा ल्याउन सक्यांै भने अगाडि जान सक्छौ ।

शीर्ष तीनजनाले कांग्रेसलाई यहाँसम्म ल्याएको कुरा गर्नुभयो । त्यसको मतलव उहाँहरूले विश्राम लिनु हँुदैन भन्नुभएको हो ? 

होइन, राजनीति विचारले हाँक्ने हो । उहाँहरूले वैचारिक नेतृत्व गरेर यहाँसम्म पार्टीलाई ल्याइसकेपछि त्यसको पनि उचित मूल्यांकन गरिनुपर्छ । सम्मान गर्नुपर्छ भनेको हो । उहाँहरूको योगदान छ यो देशमा । प्रजातन्त्रमा सबैलाई प्रतिस्पर्धा गर्ने हक हुन्छ त्यसैले विश्राम भन्ने नै गलत हो । उमेर हद ल्यायो भने सोचौंला । प्रतिस्पर्धा त सबैले गर्न पायो नि त । तर नेतृत्वमा आउने भन्ने कुरा त तीन जनामध्ये कसले जित्छ अथवा कांग्रेसका साथीहरूले जसलाई पत्याउँछन् उहाँमात्र आउने हो नि ।

निर्वाचनबाट पराजित मान्छे किन केन्द्रीय समितिमा बस्ने ?

हैन । त्यसरी हेर्ने हो भने, तपाईंले मलाई एउटा निश्चित क्षेत्र दिनुस् र कानमा खुस्स भनिदिनुस् र चार वर्षपछि कसलाई हराउनुपर्छ भन्नुस् म त्यसलाई चार वर्षपछि हराइदिन्छु । देशको कुनै ठाउँमा दिनुस् म हराइदिन्छु । पहिले त केन्द्रीय सदस्यहरू गाउँमा गएर लड्ने बनाउनुपर्‍यो । एक, अब नेपाली कांग्रेस जसको महाधिवेशन अप्रत्यक्ष निर्वाचनबाट हुन्छ । यदि प्रत्यक्ष निर्वाचन हुने भएको भए तपाईंले भनेको कुरा शतप्रतिशत सही हुन्थ्यो । हामी केन्द्रीय सदस्यहरू त अप्रत्यक्ष निर्वाचनबाट आएका हौं नि । त्यसमा अलिकति समस्याहरू हुन्छन् । तर तपाईंले भनेको कुरा कहाँनेर सत्य हो भने हारिसकेको मान्छे नआइदिए हुन्थ्यो भन्ने चाहना हुन्छ । जुन खराब कुरा होइन । तर त्यस्तो व्यक्ति मनोनीत भएर आए हुन्छ ।

फेरि प्रसङ्ग बदलौ, वर्तमान सरकारबारे तपाईंको मूल्यांकन के हो ?

सरकार बनेको जम्मा ८४/८५ दिन कति भयो । यसबारेमा मैले मूल्यांकन गर्नेभन्दा पनि मलाई लाग्छ प्रधानमन्त्री केपी शर्मा ओलीजीले नै गर्दा हुन्छ । किनभने सरकारको मूल्यांकन सरकारले नै गर्ने हो  हामी त प्रतिपक्ष हौं ।

मधेस समस्या समाधानको बारेमा सरकारी पहल कस्तो पाउनुहुन्छ ?

हेनुहोस् परिस्थिति एकदमै नाजुक अवस्थामा छ । तराईको आन्दोलन र भूकम्पपीडितको जुन कष्ट छ यसलाई खाली भारतको नाकाबन्दीसँग जोडेर जुन सरकारले हेरिरहेको छ नि जुन निश्चित समयसम्म मात्र चल्छ तर सधैं जनताले स्वीकार गर्दैनन् । तपार्इं आफैं बुझ्नुस् कि अहिले काठमाडौंको कुनै पनि पेट्रोलपम्पमा तेल छैन । तर काठमाडौंको सडकजाम भएर बसेको छ । कहाँबाट आयो तेल, भनेपछि यो कालोबजारबाट आयो, जोसँग पैसा छ उसले मागे जति ग्यास पाएको छ जोसित छैन उसको जीवन कति कष्टकर छ ? काठमाडौंमा पनि भने दुर्गम क्षेत्रमा कति होला ? भ्रष्टाचारको त कुरै नगरौं । त्यस्तै सम्पूर्ण उद्योगधन्दाहरू ठप्प छन् तर सरकार के भन्छ भने भारतले पारवहन सन्धि उसले मिचिरहेको छ । हामी के गर्ने भनेर सरकारले त्यो भन्न पाउँदैन । म नेपाली जनतालाई वास्तवमा नमस्कार गर्छु । अरू देशमा हुनेथियो भने के हुन्थ्यो ?

विपक्षीहरूको पनि दायित्व होला नि ?

हामीले बाध्य पार्ने भनेको संसद्मा कुरा उठाइरहेका छौं । सञ्चारमाध्यममा पनि आइरहेको छ । तर एकातिर मान्छे मर्दैछन् अर्कोतिर मन्त्रालय फुटाएर मन्त्री थपिँदैछन् । फलस्वरूप सरकार कांग्रेसले गिराउने खेलमा लाग्दैन उहाँको आफ्नै कारणले गिर्छ । त्यसलाई उहाँले बाध्यता भन्नुभयो के मन्त्रालय थपेर सुशासन हुन्छ ? एकातिर भूकम्पपीडितहरू २५ जना जति मरिसके । अर्कोतिर पूर्वविशिष्टहरूलाई सुविधा थप गर्नेतिर सरकार लागेको छ । किन गर्नुपर्‍यो ? उहाँहरूले पाइहाल्नुहुन्छ नि पहिलो कुरा दिन जरुरी छ कि छैन भनेर छलफल गर्नुपर्‍यो । यो कुराहरूलाई हामीले अबको पुस्ताले सोच्नुपर्‍यो । नयाँ पुस्ता, नागरिक समाजले यी कुराहरूलाई पनि सोच्नुपर्‍यो नि, । यो कुरा सञ्चारमाध्यमहरूमा पनि आउनुपर्‍यो । आउन त आएको छ तर अझै जोडदार रूपले आउनुपर्‍यो ।

 

]]>