देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वअर्थमन्त्री महतलाई चेम्बरको सम्मान

देशान्तर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पूर्वअर्थमन्त्री डा रामशरण महतलाई सम्मान गरेको छ ।

लन्डनबाट प्रकाशित हुने दि फाइनान्सिएल टाइमको सहप्रकाशन ‘दि बैंकर’ म्यागेजिनले पूर्व अर्थमन्त्री डा महतलाई सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको सन्दर्भमा आज चेम्बरले सम्मान गरेको हो ।

म्यागेजिनले प्रत्येक वर्ष दिँदै आएको उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार ‘एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ दि एयर’ प्रदान गरेबाट समग्र नेपाल र नेपालीको शीर उच्च भएको भन्दै चेम्बरले सम्मान गरेको हो ।

गत वैशाख १२ मा गएको भूकम्पपछि उत्पन्न चुनौतीलाई परिभाषित गरी अर्थतन्त्रलाई धर्मराउन नदिन डा महतले खेल्नुभएको भूमिका सराहनीय भएको ‘द बैंकर’ले उल्लेख गरेको थियो ।

सम्मानपछि डा महतले आफूले प्राप्त गरेको सम्मान राष्ट्रको गौरव भएको बताउँदै तत्कालीन सरकारले गरेको राम्रा कार्यको अन्तर्राष्ट्रिय क्षेत्रबाट मूल्याङ्कन भएकामा सन्तोष व्यक्त गरे ।

राजनीतिक स्थिरता र अनुशासित हुने हो भने मुलुकले बर्सेनि आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउँदै डा महतले भने, “आर्थिक समृद्धि नै मुलुकको इज्जत हो । त्यसैले सबैले त्यसतर्फ ध्यान दिनैपर्छ ।”

आफ्नो ९०औँ वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीबीच सर्भेक्षण गरी ‘दि बैंकर’ले डा महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्वमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको बैंकरका एसिया सम्पादक स्टेफानिया पाल्माले जानकारी दिएका थिए ।

सो अवसरमा अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदादेखि नै देशलाई उदारीकरणतर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्नुहुने डा महतका कारण मुलुकको अर्थतन्त्रले ठूलो फड्को मारेको बताए ।

बैंकरले १४ वर्षदेखि उत्कृष्ट अर्थमन्त्री र उत्कृष्ट गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार डा महत एसिया प्रशान्त क्षेत्र र विश्वस्तरमै उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् ।</p>

 

]]>